उकेरा कोलम

प्रिन्सिपल मोहन्नाको प्रसव पीडा र खुसी : अस्पतालको बेडमा भगवान बनेर आएकी ती बुढी आमै


भारतको कालिम्पोङमा जन्मिएकी मोहन्ना मोहथे खनाल विहेपछि मात्र काठमाडौं आएकी हुन्। काठमाडौं आएपछि ज्ञानोदय स्कुलमा पढाउन थालेकी मोहन्नाले लामो समय लिटिल एञ्जल्समा काम गरिन्।

अहिले नेसनल एकेडेमीमा प्रिन्सिपल रहेकी उनले शिक्षण पेसासँगै मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्टमार्फत धेरै इभेन्टहरु गरेकी छिन्।

विहे भएको दुई वर्षपछि गर्भवती भएकी मोहन्नालाई गर्भावास्थामा धेरै असहज अवस्था भोग्नुपर्‍यो। श्रीमतीलाई धेरै गाह्रो भएपछि श्रीमानले गर्भपतनको लागि अस्पताल समेत लगेका थिए। तर आफ्नो पेटमा हुर्किरहेको बच्चालाई मेटाउन उनी मञ्जुर भइनन्। गर्भवती भएको ९ महिनाको अवधिमा आफूले भोगेको प्रसव पीडा र त्यसपछिको खुसी मोहन्नाले उकेरामार्फत यसरी व्यक्त गरिन्ः

सन् १९९८ मा विहे भएपछि म श्रीमानसँग काठमाडौं आएँ। कालिम्पोङमा हुँदै शिक्षण क्षेत्रमा काम गरिरहेकोले यहाँ आउनासाथ ज्ञानोदय स्कुलमा काम पाएँ।

श्रीमान् ट्राभल व्यवसायमा हुनुहुन्थ्यो। विहे भएको दुई वर्षमा बच्चा कन्सिभ भयो। मायाको चिनो पेटमा भएको थाहा पाएर हामी निकै दंग थियौं। तर मलाई भने गर्भ रहेदेखि नै धेरै गाह्रो हुन थाल्यो। मर्निङ सिकनेस धेरै हुने, खाना पकाएको बासनाले पनि वाकवाकी लाग्ने भयो।

हामी बुढा-बुढी मात्रै बस्थ्यौं। धेरै व्यावहारिक कुराहरु थाहा थिएन। ६ महिनासम्म मैले केही पनि खानै सकिनँ। खाए पनि पेटमा केही नै अडिदैनथ्यो। अरु त केही खान नसकेपछि बल गरेर पानी पिउँथें तर पानी पनि पिउनासाथ निस्किहाल्थ्यो।

मलाई भेट्न आउनेहरु ‘यो त बाँच्दिन कि के हो’ भन्दै फर्कन्थे। यस्ता कुराले मलाई थप तनाव हुन्थ्यो। म त मर्छु कि क्या हो भन्ने लाग्थ्यो। पेट खाली, शरीर निकै कमजोर अनि मनमा हजार नचाहिने कुरा खेलेर सिकिस्तै हुन्थें।

तीन पटक त बेहोस भएर अस्पताल नै लानुपर्‍यो। आँखा खुल्दा स्लाइन पानी दिएको अवस्थामा बिएन्डबी अस्पतालको बेडमा सुतिरहेको पाउँथें। डाक्टरहरु श्रीमानलाई ‘यिनले बच्चा पाउन सक्दिनन्, गर्भपतन गराऊ’ भन्थे।

श्रीमानले गर्भपतन गराउन अस्पताल पनि लैजानुभयो। तर मैले मानिनँ। मलाई लाग्थ्यो, भगवानले दिएको उपहारलाई म कसरी मारौं, कसरी त्यागौं।  जस्तो भए पनि जन्माउँछु र हुर्काउँछु। कति पटक त असहज अवस्थालाई पनि लुकाएर सहज देखाउन खोज्थें। 

६ महिनापछि अलिअलि खान रुच्ने र पेटमा पनि अडिने हुन थाल्यो। तर अन्न भने ९ महिना नै खाइनँ। आँप र ड्राइमिट भने खाइरहन्थें। बच्चा पाउने बेलासम्म म ५४ किलोकी थिएँ।

मेरो दिमागमा खाली नकारात्मक कुरा मात्रै खेलिरहन्थे। डर लागिरहन्थ्यो। मर्छु कि क्या हो जस्तो लागिरहन्थ्यो। बच्चा पेटभित्र कस्तो होला? सुस्त मनस्थितिको, अपाङ्ग जन्मिन्छ कि भन्ने प्रश्नले मन विचलित भइरहन्थ्यो।

म भगवानप्रति सानैदेखि आस्था राख्ने भएकोले आफू कमजोर हुँदा र आपत पर्दा भगवानलाई सम्झन्थें। भगवानका पाठहरु गर्थें, साई समितिमा गएर प्रार्थना गरिरहन्थें। मेरो एउटै भरोसा र आशा भगवानप्रति नै थियो। लाग्थ्यो, हामी भगवानकै सिर्जना हौं। भगवानले आफ्नो सिर्जनालाई कसरी दुःखी बनाउलान् त?

०००
डेलिभरीको लागि डाक्टरले दिएको समयभन्दा ठिक हप्ताअघि मलाई व्यथा लाग्न सुरु भयो। कति गाह्रो हुने रहेछ व्यथा। सहनै नसक्ने गरी दुख्थ्यो। 

मलाई पाटन अस्पताल लगियो। मसँगैको वार्डमा एक जना बिरामी हुनुहुन्थ्यो। ती बिरामी कुर्ने एक जना बुढी आमा हुनुहुन्थ्यो। उहाँले मलाई सोधी-खोजी गर्नुहुन्थ्यो। उहाँहरुका टन्नै मान्छे थिए, मेरो भने बुढा र म मात्रै। त्यसैले होला, उहाँ मलाई खुब माया गर्नुहुन्थ्यो।

डाक्टरले अप्रेसनका लागि लैजान खोज्दा ती आमाले मान्नुभएन। उहाँले चिनेका डाक्टरहरुसँग गएर ‘त्यो नानीले नर्मल बच्चा पाउनुपर्छ’ भन्नुभयो।

२८ घन्टाको लगातारको व्यथाले मलाई साह्रै गाह्रो बनाएको थियो। ती आमाले तातो तताएर ढाड सेकिदिने, हर्लिक्स बनाएर खुवाउने गर्नुभयो। आफ्नै छोरीलाई जस्तो व्यवहार थियो उहाँको। मेरा लागि उहाँ त भगवान नै बनेर आउनुभयो।

फल्स लेबर पेनको इन्जेक्सन दिएर बच्चा निकालियो। ओहो! बच्चा निकाल्दाको व्यथा कस्तो डरलाग्दो, ढुङ्गै निल्थें जस्तो। स्टिच लगाउँदा त मृत्युको अघि नै पुगेजस्तो दुखाइ।

लामो समय लेबर पेन हुँदा धेरैको पाठेघर तल झर्ने समस्या आउने रहेछ। जसले पिसाब चुहिने समस्या पनि हुने रहेछ। त्यसैले म अहिले नियमित एक्सरसाइज गर्छु। मेरो अनुभवमा लामो समय व्यथा लगाइराख्न चाहिं महिलाको स्वास्थ्यको लागि पनि राम्रो होइन रहेछ।

त्यस्तो भयानक पीडाबाट गुज्रिरहेको बेला बच्चा के रोएको थियो, एकदमै आनन्द महसुस भयो। एकछिन अघिसम्मको त्यो पीडा त कता हरायो कता।

बच्चा रोएको आवाज आएपछि बाहिरबाट के जन्मियो भनेर सोधको सुनें। छोरी भन्नासाथ अब यसले पनि यस्तै पीडा सहनुपर्छ भन्ने लाग्यो।

मलाई छोरा जन्माउँछु जस्तो लागेको थियो। जसले पनि मेरो पेट हेरेर मोहन्ना तिम्रो पेटमा छोरा छ भन्थे। छोरा या छोरी भन्ने विषयमा हामी श्रीमान्-श्रीमतीले बाजी नै ठोकेका थियौं। उहाँलाई चाहिं छोरी नै चाहिने, छोरी नै जन्मिन्छ भन्ने। उहाँले छोरी जन्मे एउटा, छोरा जन्मिए अर्को पनि पाउनुपर्छ भन्नुहुन्थ्यो। पाटन अस्पतालमा छोरी जन्मेको थाहा पाउनासाथ मान्छेकै हुलमा खुसीले उफ्रेर नाच्नुभएको रहेछ। 

टाँका लगाएर आराम गर्दै थिएँ, दूध खुवाउन बच्चा लिएर आए। तर छोरीले दूध तान्नै सकिनन्, पम्पले तान्न खुवाइयो। राम्ररी नतानेपछि दूध गानिएर अर्को तनाव भयो। व्यथाभन्दा पनि चर्को दुख्दो रहेछ। पछि सहज हुँदै गयो। मैले तीन वर्षसम्म छोरीलाई दूध खुवाएँ।

०००
दुई दिन अस्पताल बसेर घर गएँ। घरमा एक जना लुगा धुने र अर्को खाना पकाउने मान्छेको व्यवस्था गरिएको थियो। तर मलाई उनीहरुले लुगा धोएको, खाना पकाएको चित्तै नबुझ्ने। ११ दिनमा न्वारन सकेपछि आफैं पकाउन थालें। लुगा पखाल्न पनि आफैं जान्थें। मलाई यो गर, त्यो नगर भन्ने कोही थिएन। मनमौजी थियो। 

गर्मी महिना भएकोले म खासै घाममा बस्न सकिनँ। तेल लगाउन आउने दिदीलाई तेल लगाउनै दिन्नथें। घरमा रेखदेख गर्ने बुढापाका कोही थिएनन्। एउटा म्याक्सी लगाएर हिँड्थें। न कम्मरमा पटुका, न टाउकोमा नातो न त चोलो नै। त्यसको परिणाम अहिले भोग्दैछु। जिउ, ढाढ, कम्मर दुख्ने, जाडो महिनामा हात-खुट्टा सुन्निने समस्या देखिएको छ।

हाम्रा पुर्खाले सबै कुरा मिलाएर यस्तो नियम बनाएका रहेछन्। तेल मालिस, सुत्केरी खाना र स्याहार नगर्दा पछि शरीरले देखाउँदो रहेछ भन्ने कुरा हामीभन्दा पुर्खाले बुझेका रहेछन्।

जन्माउन जति गाह्रो भए पनि बच्चा हुर्केपछिको आनन्द भने केहीसँग पनि तुलना नहुने रहेछ। छोरी भिपास्यना स्नातक तेस्रो वर्षमा पढ्दै छिन्। मेरो इभेन्टको धेरै जिम्मा पनि उनले गर्छिन्। छोरी जन्मँदा श्रीमान् धेरै खुसी भए पनि बेस्ट फ्रेन्ड भने मेरो बनिन्।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

व्यवसायी सन्ध्याको प्रसव पीडा र खुसी : बच्चा पेटभित्रै छ भन्दा सबै अचम्म मान्थे

१४ वर्षअघि कैलाली, टीकापुरका व्यवसायी पदम पाण्डेसँग विहे गरें। विहेपछि हामी दुई जना मात्रै काठमाडौंमा बस्न थाल्यौं। हामीले नयाँ कामको थालनी मात्र गरेका थियौं, विहे....

डा. रबिनको सुख-दुःख : जसको डरले दसैँमा घर गएनन् उनीहरूकै उपचारमा डेढ वर्ष खटिए

दैलेखको नारायण नगरपालिकाका रबिनले २०५१ मा दैलेखकै ‘त्रिभुवन मावि’बाट एसएलसी पास गरेपछि काठमाडौँ हान्निए। २०५१ मा ‘अस्कल क्याम्पस’मा भर्ना भएर २०५३ मा राम्रो अङ्कसाथ आइएस्सी....

हिजोका कुरा : भजन सुनेर हुर्केका प्रशन्नध्वज पंकपपतिर कसरी मोडिए ?

होस सम्हालेदेखि नै संगीतको ध्वनीसँगै हुर्के प्रशन्नध्वज। बिहान ३ बजेदेखि बागबजारस्थित उनको घरमा गीत-संगीतको माहोल जम्थ्यो। हजुरआमा (बज्यै) प्राणदेवी प्रधान उज्यालो नहुँदै हरदिन भजन गाइरहनुहुन्थ्यो।....

ब्याच नम्बर ६९ : चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर मैले भएर पनि दिइनँ

साँच्चै त्यो घटना सम्झिँदा अहिले पनि मेरो चित्त दुख्छ भन्या। यो इन्टेलिजेन्स सूचना हो। सार्वजनिक नगरौँ। यदि सार्वजनिकै गर्नुपर्ने भए जसले सूचना दिएको हो उसको....

चौथो अंगमा स्तम्भकार सरिता तिवारी : लेख्ने अग्रगामी, व्यहोरा भने पश्चगामी

एउटा कुहिएको आलुले सिंगो बोराकै आलुलाई असर पारेझैं मिडियामा काम गर्ने केही पुरुष सम्पादक, रिपोर्टर र स्तम्भकारको महिलालाई हेर्ने दृष्टिकोणले समग्र मिडियालाई नै असर पार्छ।....