सौन्दर्यविद् सीताको प्रसव पीडा र खुसी : डाक्टरले अप्रेसन थिएटरको हिटर निभाउन बिर्सेपछि...

सौन्दर्यविद् सीताको प्रसव पीडा र खुसी : डाक्टरले अप्रेसन थिएटरको हिटर निभाउन बिर्सेपछि...

सीता पाठक न्यौपाने सौन्दर्यविद् हुन्। तर योभन्दा धेरै फराकिलो छ, उनको परिचय। भलिबलको राष्ट्रिय खेलाडी भइसकेकी सीता नेपाल चलचित्र बोर्डकी सदस्य, नेसनल ट्रेडिङकी सदस्य, धरान सरोकार समाजकी सदस्य तथा महिला व्यवसाय प्रशिक्षण संस्थाको संस्थापक अध्यक्ष पनि हुन्।

धेरै ब्युटिसियन जन्माइसकेकी सीताले मिस नेपालका लागि स्किन एन्ड हेयर एक्सपर्टको रुपमा निर्णायकको काम समेत गरेकी थिइन्। उनीसँग सयौं सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका निभाएको अनुभव छ।

१९ वर्षको उमेरमा मानव अधिकारकर्मी सुदीप पाठकसँग विवाह गरेर धरानबाट काठमाडौं आएकी सीता दुई छोराकी आमा हुन्।

सानैदेखिको खेलाडी बन्ने सपनालाई तिलाञ्जली दिएर घरजम गरेकी सीतासँग प्रसवका पीडा र त्यसपछिको खुसीका धेरै अनुभवहरु छन्। उनले आफ्नो प्रसव पीडा र खुसीलाई उकेरामार्फत यसरी पोखिन्:

घरकी जेठी र आमा-बुबाको प्यारी छोरी थिएँ म। सानैदेखि सबैसँग घुलमिल हुनसक्ने स्वभाव थियो। खेल र मनोरञ्जनमा मेरो निकै रुचि थियो। 

स्कुले जीवनदेखि नै भलिबल खेल्थें। विभिन्न जिल्ला गएर भलिबल खेलेको छु मैले। भारत गएर भलिबल खेल्ने राष्ट्रिय टोलीमा छनोट समेत भएको थिएँ। तर बाहिर गएर खेल्न त्यति सहज थिएन। जति स्वतन्त्रता भए पनि खेल्नका लागि विदेश जान स्वीकृति दिएन परिवारले।

भलिबल खेल्न भारत जान नपाएपछि म मनैले टुटें। मनमा विद्रोह जन्मियो तर मौन बसें। तर मेरो मौनता यति कठोर बन्यो कि त्यो दिनदेखि भलिबल कहिल्यै छोइनँ। भलिबलप्रतिको मोहलाई त्यही दिनदेखि अन्त्य गरें।

०००
आइए पढ्दै थिएँ, मेरो विहेको कुरा चल्यो। त्यतिबेला म १९ वर्षकी थिएँ। काठमाडौं, सामाखुसीका न्यायाधीशसँग विहेका लागि मलाई माग्न आएको सुनेको थिएँ। घरबाट सबैले राम्रो छ भनेपछि मैले पनि स्वीकृति दिएँ।

विहे गरेर आउँदा घरमा सासु, ससुरा, नन्द, देवर सबै हुनुहुन्थ्यो। घरको म पहिलो बुहारी। घरमा बुहारीको धेरै जिम्मेवारी हुन्थ्यो। तर मलाई घर-व्यवहार निभाउन खासै गाह्रो भएन। रहन-सहन फरक भए पनि छिट्टै सिकिहालें।

पूर्वमा छोरीलाई सबै काम पहिले नै सिकाइने हुँदा नया घरमा पनि खासै अप्ठ्यारो भएन। विहेपछि घरको कामै व्यस्त हुन्थें। तर श्रीमानलाई भने मलाई पढाएर राम्रो जागिर खुवाउने रहर थियो। उहाँले पुतलीसडकमा कम्प्युटर र ल्यांग्वेज सिकाउन लानुभयो। बिहान छिटो-छिटो काम भ्याएर कम्प्युटर र अंग्रेजी भाषा सिक्न जान्थें। तर मलाई भने जागिर खानुभन्दा केही क्रियटिभ काम गरौं भन्ने लाग्थ्यो। 

०००
विहे भएको तीन महिनापछि महिनाबारी रोकियो। जँचाउन जाँदा गर्भवती भएको थाहा भयो। म पाटन हस्पिटल देखाउन जान्थें। किनकी साथीहरुले पाटनमा जचाउँदा आइरन चक्की दिन्छ भनेका थिए। मेरो दिमागमा पाटनमा देखाए मात्रै आइरन चक्की दिइने होला भन्ने थियो। 

आमा-सासुले जति काम गर्यो, शारीरिक रुपमा सक्रिय भयो उति बच्चा जन्माउन सजिलो हुन्छ भन्नुभएको थियो। त्यसैले ९ महिनासम्म कुनै दिन पनि आलस्य भएर बसिनँ। हरेक दिन जोश र जाँगरका साथमा काम गरिरहन्थें।

पाँच तल्लाको घरमा तल-माथि गरिरहनुपर्थ्यो। घरको कामले नै मलाई पूरै एक्सरसाइज पुग्थ्यो। न कहिले भोमिट भयो, न अल्छी नै लाग्यो। तर पहिलो बच्चाको पालामा चिकेन र काउलीको बासना भने सहनै सकिनँ। अंगुर चाहिं धेरै खाइयो। दूध पनि खान मन लाग्थ्यो।

गर्भवती हुँदा खासै समस्या आएन। तर बढेको पेट देखेर भनेर साह्रै लाज लाग्थ्यो। कसैले थाहा पाउला भनेर ओढ्नेले छोपेर हिड्थें। श्रीमानसँग बस्न पनि लाज लाग्ने, कुरा गर्न पनि लाज लाग्ने।

लाजकै कारण पाँच महिनापछि माइती पनि गइनँ। अहिले सोच्छु, जीवनकै खुसीको क्षणमा पनि लाजले लुकेरै बसें। अहिले प्रेगनेन्सीमा रमाएका आमाहरु हेर्दा म दंग पर्छु। साँच्चै मातृत्वमा रमाउने हाम्रो नैसर्गिक हक हो नि। पहिले यस्तो बुझ्ने दिमाग नै कहाँ थियो र?

०००
डाक्टरले तोकेकै समयमा व्यथा लाग्यो। पिसाब आएजस्तो, दिसा लागेजस्तो उकुसमुकुस भयो। सहनै नसक्ने भएपछि मलाई अस्पताल लगियो। प्रसूति गराउने कोठामा मजस्ता थुप्रै महिला थिए। कोही चिच्याइरहेका, कोही दौडिरहेका कोही असिनपसिन भइरहेका देखिन्थे। म पनि चिच्याउने, कराउने गरिरहेको थिएँ।

भोलिपल्ट ३ बजे डाक्टर आएर बच्चा बांगो तरिकाले बसेकोले नर्मल डेलिभरी नहुने भयो, अप्रेसन गर्नुपर्ने भयो भन्नुभयो। त्यसपछि अप्रेसन गरेर बच्चा निकालियो।

अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भए त्यति लामो प्रसव पीडामा किन राखियो? अहिले पनि छक्क पर्छु। म यति छटपटिएको हुन्थें कि मर्छु जस्तो लाग्यो।

जब बच्चा निकालेर देखाए, म त हेरेकोहेर्यै भएँ। अचम्मको स्नह हुने रहेछ। ओहो! मेरो पनि बच्चा भएछ, म पनि आमाको कोखबाट यसरी नै जन्मेको हुँ भन्ने लाग्यो।

मलाई छोरीको रहर थियो। छोरी नपाउँदा केही न्यास्रो चाहिं लाग्यो। तर बच्चाको आँखासँग आँखा जुध्दा अपार प्रेम बस्यो। भगवानकै अनुपम उपहार पाएजस्तो भयो। 

आमा भएपछि बच्चालाई दूध खुवाउने रहर जुनसुकै आमाको पनि हुन्छ। तर म अभागी आमा भएँ। दूध नआएकोले पहिलो छोराको पालामा आफ्नो दूध एक थोपा पनि खुवाउन पाइनँ। पम्पले चानियो, चाकु, ज्वानोको झोल खाएँ तर दूध आएन। 

आमाको दूध खान नपाएको बच्चालाई बिरामी भइहाल्ने रहेछन्। मेरो अनुभवमा आमाको दूध खाएको र नखाएको बच्चाको शारीरिक विकासमा पनि धेरै फरक पर्दोरहेछ। मेरो छोरालाई पनि चिसोले छोइहाल्ने, ज्वरो आइरहने भयो। हुर्काउन निकै गाह्रो भयो।

घरमा सासु पनि बिरामी भइरहने भएकोले स्याहार नपुग्ने देखेर न्वारन सक्नासाथ माइती धरान गइहालें।

एयरपोर्टमा बहिनी लिन आएकी थिइन्। मैले बच्चा बोकिरहेको थिएँ। ऊ त ट्वाल्ल परी। म गोरी, मोटी थिएँ। बहिनीले मेरो बच्चा पनि त्यस्तै गोरो, टलक्क टल्केको, मोटो होला भन्ने सोचेकी रहिछ। तर दुब्लो र कालो देखेर उसले एकछिन त अर्कैको बच्चा पर्यो कि भन्ने समेत सोचेकी रहिछ।

माइतीमा बहिनीले बच्चालाई मजाले पाउडर लगाएर गोरो देखाएर राख्थी। हेर्न आउनेलाई कालो भनिदेलान् कि भन्ने डर बहिनीलाई थियो। घामले डढेर पनि बच्चा बढी कालो भएको थियो। पास्नीपछि विस्तारै आफ्नै रुपमा आइहाल्यो।

संयुक्त परिवारमा बसेकोले बच्चा हुर्काउन खासै गाह्रो भएन। घर र माइती दुवैतिरको एक्लो बच्चा भएकोले हातहातमै हुर्कियो। 

०००
दोस्रो बच्चा पेटमा आउँदा म नेपाल चलचित्र विकास बोर्डमा कार्यरत थिएँ। घर, बच्चा र अफिसको जिम्मेवारी निभाइरहें।

सकारात्मक सोच्नुपर्छ भनेर सबैले सिकाएको हुँदा कहिले पनि नकारात्मक भाव मनमा आउन दिइनँ। सकभर खुसी हुन खोज्थें। 

९ महिना पूरा हुँदै थियो। ब्यथा लागेपछि र पाटन अस्पताल लगियो। पहिले जस्तो लामो समय प्रसव पीडामा नराखी अप्रेसन गरियो।

सबै नर्मल नै थियो। तर अप्रेसन थिएटरमा डाक्टरहरुले ब्याकको हिटर निभाउन बिर्सिएछन्। जसले गर्दा मेरो ढाड पोल्यो।

अप्रेसन गर्दाको दुखाइले होला, तत्कालै हिटरले पोलेको मलाई थाहा भएन। चौंथो दिन बाथरुम जाँदा पो एक्कासि ऐनामा कम्मरभन्दा माथि पूरै कालो देखें। म चिच्चाएँ। अगाडि अप्रेसनको घाउ दुख्ने, पछाडि पोल्ने। धेरै गाह्रो भयो। यो विषयमा पछि अस्पताल प्रशासनले माफी नै माग्यो।

संयोगले हिटर निभाउन बिर्सिने डाक्टरले अवार्ड पनि पाएका रहेछन्। कसैको करिअर किन बिगार्नु भनेर हामीले ठूलो इस्यु बनाएनौं।

२/३ दिनसम्म बच्चा लिन पनि सकिनँ। पहिलो बच्चाले दूध खान नपाएको तनाव थियो तर सानो छोराको पालामा दूध चाहिं आयो। उसले साढे २ वर्षसम्म नै मेरो दूध खायो। दुई छोरालाई नियाल्दा मैले आमाको दूधको महत्वबारे बुझें। 

दुवै छोरा मेरा साथी जस्तै छन्। जेठो छोरा सक्रिय कम बोल्ने र बुबासँग बढी मिल्छ। कान्छो सुभम भने मसँग बढी मिल्छ। उसको हरेक कुरा मसँग सेयर हुन्छ।

२८ कात्तिक, २०७८, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।