उकेरा कोलम

सञ्चारकर्मी कमलाको प्रसव पीडा र खुसी : श्रीमानले ‘जागिर छोड, १० हजार म दिन्छु’ भनेपछि…


झन्डै दुई दशक रेडियोमा काम गरेकी कमला पन्थी बुझ्ने भएदेखि नै विवाह नगर्ने सोचमा थिइन्। आफ्नी दिदीले भोगेको दुःख देखेर विवाहप्रति सानैदेखि उनको मोह भंग भएको थियो।

जब कमला गाउँ छोडेर सहर आइन्। रेडियो काम गर्न थालिन्, सहकर्मी पवन आचार्यसँग उनको प्रेम बस्यो। सँगै काम गर्ने मान्छेसँग विवाह गर्‍यो भने दिदीको जस्तो दुःख पाइँदैन भन्ने लाग्यो र पवनसँगै विवाह गरिन्। 

दुई बच्चाकी आमा कमलाले प्रसवका अनेक पीडा र त्यसपछिको खुसी अनुभूति गरेकी छिन्। छोरी पाएको ९ वर्षपछि छोरालाई जन्म दिएकी सञ्चारकर्मी कमलाले आफ्ना प्रसवका पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गरिन्ः

बुझ्ने भएदेखि नै म विवाह नगर्ने सोचमा थिएँ। विवाहबारे नकारात्मक हुनुको कारण मेरी दिदी थिइन्।

दिदी र मबीच १६ वर्षको फरक थियो। म सानै हुँदा उनको विवाह भएको थियो। दिदी पहिलो पटक सुत्केरी बस्न आउँदा म उसको दूध खाइदिन्थें। लगातार तीन जना बच्चा जन्माएकी मेरी दिदी माइतीबाट घर जाने बेला बिदा परेको बेला मलाई पनि लिएर जान्थिन्। 

दिदीका घरमा म उनका बच्चा हेरिदिन्थें। दिदीले बिहान चार बजे उठेर पानी लिन जाने, घाँस-दाउरा, लिपपोत गर्ने, खाना बनाउने गर्नुपर्थ्यो। एकछिन फुर्सद हुँदैनथ्यो।

दिदीको दुःख देखेर म विवाह नै गर्दिनँ भनेर बसेकी थिएँ। मेरो मनमा विवाह भनेको दुःखको संसार हो जस्तो लाग्थ्यो।

०००
उमेर बढ्दै गएपछि मलाई घरबाट विवाहको लागि प्रेसर आउन थाल्यो। म विवाह गर्दिनँ भन्थें, आमा भने छोरीले विवाह गरिनँ भने समाजले के भन्छ भनेर रुनुहुन्थ्यो। तर पनि म आफ्नै संकल्पमा अडिग थिएँ।

काठमाडौं आएपछि दाइ-भाउजुसँग बसेर कलेज पढ्न थालें। कान्तिपुर एफएममा काम गर्न थालेपछि त्यहाँका भिजेहरु प्रसुन, प्रज्ञा, सविना, रोशनी, रुपेश मिल्ने साथी बने।

हाम्रो ग्रुपमा पवनजी भने कहिलेकाहीँ सामेल हुनुहुन्थ्यो। सँगै काम गर्दै जाँदा साथीहरुले पवनजी र मलाई जात पनि मिल्छ विहे गरे भइहाल्छ नि भनेर जिस्क्याउँथे। 

२०६२/०६३ सालको आन्दोलनमा हामी सँगै काम गर्ने क्रममा मिल्ने साथी बन्यौं। म रेडियो रिपोर्ट बनाउँथें र उहाँलाई हेर्न लगाउँथें।

केही समय विदेश बसेर फर्केपछि उहाँले मलाई विवाहको लागि प्रस्ताव गर्नुभयो। त्यतिबेला मैले एउटै काममा लागेको, मेरो कामलाई बुझ्ने व्यक्तिसँग विवाह गर्दा दिदीले जस्तो दुःख पाउँदिन र कामलाई निरन्तरता दिन सक्छु भन्ने सोचेर प्रस्ताव स्वीकार गरें। तर विवाहको निर्णय लिन मलाई निकै गाह्रो भएको थियो।

०००
मलाई बच्चा साह्रै मनपर्थ्यो। किनकी म दिदी र दाइका बच्चा हेरेरै हुर्केको थिएँ।

विवाह भएको एक वर्षमा नै म गर्भवती भएँ। डाक्टरले गर्भवती भएको खबर सुनाउँदा एकछिन अलमलमा परें। के म साँच्चै आमा बन्न लागेको हो त? अब के हुन्छ? विवाह नै नगर्ने भनेर बसेको मान्छे बच्चा पो पाउने भएँ!

गर्भवती भएपछिको तीन महिना त खासै गाह्रो भएन। त्यसपछिका ६ महिना भने मेरो लागि निकै सकसपूर्ण भयो। खाना केही नरुच्ने, भान्साको बासनाले नै उल्टी भइहाल्ने। हुँदाहुँदा मान्छे नजिक आउँदा पनि गन्हाउने भयो। गाडी चढेर अफिस जाँदा गन्हाएर बीचमै रोकेर भोमिट गर्थें। तर पनि एक दिन घरमा बसिनँ। भरमा बस्यो भने झनै बिरामी हुन्छु भन्ने लाग्थ्यो। साथीहरु यस्तो हुँदा पनि किन आएको भन्थे। 

त्यो ६ महिना धेरै रात राम्रोसँग सुतिनँ। रातभरि झ्यालबाट तारा हेर्दै उज्यालोको पर्खाइमा बस्थें। श्रीमान् भने मजाले घुरेर सुतिरहनुहुन्थ्यो। म उहाँको निद्रा बिगार्न चाहन्नथें। 

राति निद्रा नलाग्ने, दिनमा खाना गन्हाउने। निकै कष्टपूर्ण दिनहरु बिताएँ। यस्तो बेलामा जति गाह्रो भए पनि खुसी हुनुपर्छ भन्ने सुनेकोले सकभर खुसी नै भएर समय बिताएँ। मलाई जस्तो भए पनि पेटमा हुर्किरहेको बच्चालाई राम्रो होस् भन्ने चाहना हुन्थ्यो।

०००
डाक्टरले दिएको समयभन्दा एक हप्ता अगाडि नै मेरो अप्रेसन गर्नुपर्‍यो। अल्ट्रासाउन्ड गर्दा बच्चाको घाँटीको पछाडि साल रहेछ। अस्पतालमा बच्चा पछाडि फर्कियो भने सालले बेर्ने सम्भावना हुने सुनाएपछि हामीले रिस्क लिन चाहेनौं।

अप्रेसन गरेर बच्चा निकालियो। अप्रेसन गर्दा आधा भाग लठ्याउने रहेछ, मलाई थाहा थिएन। खुट्टा चलाउन खोज्छु चल्दैन। कम्मरदेखि केही नचलेको जस्तै भयो। म बेडमै चिच्याएर रुन थालें। यस्ता कुरा थाहा नहुँदा मानसिक तनाव पनि बढ्ने रहेछ। आमा बन्न लागेपछि हरेक मुभमेन्ट र अवस्थाबारे पहिले नै थाहा हुनुपर्ने रहेछ।

बच्चा निकालेर के देखाएका थिए, खुसीको आँसु बरर झर्‍यो। आमा बनेपछि साह्रै आनन्दको अनुभूति हुने रहेछ। त्यसमा पनि मनैदेखि हामीले चाहेको छोरी नै जन्मँदा फुरुङ्ग भयौं। 

अप्रेसन सकेर उठ्न खोज्दा घाउ यस्तो दुख्यो कि जमिन नै हल्लिए जस्तो भयो। ब्लिडिङ पनि भयो। फेरि पानी खाँदा सर्केर सहनै नसक्ने गरी दुख्यो।

सर्केर घाउ दुखेपछि प्रेसर पनि ह्वात्तै बढ्यो। औषधि खान दिइयो। पीडाले न बच्चालाई दूध खुवाउन सक्थें न बच्चा समाउन नै। भोलिपल्ट घर गयौं।

घर गएको राति मजाले निदाएछु। भोलिपल्ट प्रेसर नाप्न मेडिकल जाँदा त नाप्ने मान्छे नै तर्से। तुरुन्तै हस्पिटल लानुपर्ने भयो। तर म हस्पिटल जान्न भन्दै रुन थालें। नन्द नर्स हुनुहुन्थ्यो। डाक्टरले घन्टाघन्टामा प्रेसर नापेर रिपोर्ट दिन सक्ने भए घरमै बस्नु भन्नुभयो।

प्रेसर नघटाकाले औषधिको डोज बढाइयो। नुन हप्तैभरि खान दिइएन। मलाई बच्चा पेटमा हुँदाभन्दा जन्मेपछि धेरै गाह्रो भयो।

हरेक मान्छेलाई दुःख परेको बेला आमाको साथ खोज्ने रहेछ। म पनि आमाकहाँ लगिदेऊ भन्दै रुन्थें। १९ दिनसम्म त मैले बच्चालाई राम्रोसँग हेर्ने पनि सकिनँ। बच्चाको सबै रेखदेख श्रीमानले नै गर्नुभयो। विस्तारै सामान्य हुँदै गएँ र १९ दिनपछि बल्ल दूख खुवाउन थालें। एक महिनापछि आमाकहाँ गएपछि झनै सजिलो भयो।

०००
छोरी दुई महिनाकी भएपछि म काममा जान थालें। म एफएममा बिहानै ट्राफिक अपडेट गर्थें।

हामी संयुक्त परिवारमा बस्थ्यौं। सासुआमाको नशा सम्बन्धी समस्या भएकोले बच्चा हेर्न सक्नुहुन्नथ्यो। म्यानेज गर्न गाह्रो हुने अवस्था देखेर एक दिन श्रीमानले दुईमध्ये एक जनाले जागिर छोड्नुपर्ने बताउनुभयो। उहाँले त सजिलैसँग ‘तिमी जागिर छोड, १० हजार म दिन्छु’ पो भन्नुभयो। पवनजीको त्यो कुरा सुनेर मैले टेकेको जमिन नै भासिएको जस्तो अनुभव भयो। मैले सपनामा पनि नसोचेको कुरा सुन्दा रिस पनि उठ्यो। केही भन्नै आएन, आँखाबाट आँसु मात्रै झरिरह्यो। 

पढ्नका लागि मैले कति दुःख गरें। केही गर्छु भनेर गाउँबाट काठमाडौं आई दाइ-भाउजुको छोराछोरी हेरेर पढें। सबै सपना चकनाचुर भए जस्तो भयो। मैले पनि श्रीमानलाई भनें, ‘तपाईं काम छोड्नूस् न! तपाईंले पाउने तलब म दिन्छु।’ मैले यसो भनिरहँदा उहाँ अलमल्ल पर्नुभएको थियो। त्यसपछि भने यो कुरा फेरि उठेन।

म काममा जान थाले अतिथिलाई स्टुडियोमा बोलाएको थिएँ। लामो समयको ग्यापपछि पहिलो अन्तर्वार्ता थियो। डर लागेको जस्तो भइरहेको थियो। अन्तर्वार्ता शुरु भयो तर म कहाँ-कहाँ हराइरहेकी थिएँ। प्रश्न गर्न पनि मलाई गाह्रो भइरहेको थियो। औडाहा जस्तो भएर आयो। सकिन त सकियो तर त्यो आधा घन्टाको समय पनि वर्षौं लागे जस्तो भयो।दिक्क लागेर आयो मन भरियो आँखाहरु रसाए। अमिलो मन गरेर म रूँदै स्टुडियोबाट घर फर्किए मैले रुँदै जागिर छोड्छु भनें।

त्यसपछि मलाई जागिर छोड भन्ने मेरा श्रीमान् हौसला दिन थाल्नुभयो। केही बितेको छैन, केही परिवर्तन भएको छैन हिजो तिमीले जहाँ छोडेको छौ, आज पनि तिमLले उठान गर्ने ती मुद्दा जहाँका त्यहीँ छन्। ध्यान दिएर आफूले पहिले उठान गर्ने विषय सम्झ, त्यतिभए पुग्छ। श्रीमानले यत्ति भनेपछि साँच्चिकै म एकाग्र भएर ध्यान दिन थालें। अध्ययन गर्न थालें, झनै खारिएर आएँ। कन्फिडेन्स झनै बढ्यो।

छोरीलाई आमाकहाँ छोडेर काममा जान थालें। अफिसबाट समय मिलाएर दूध खुवाउन दगुर्थें। पहिले चलाइरहेको टक शोलाई निरन्तरता दिएँ। पहिलेभन्दा धेरै व्यस्त बन्दै गएँ। एफएम सँगसँगै सञ्चारिका समूहको  सचिव भएँ। साथै एउटा आइनजिओमा पनि काम गर्न थालें। टाढा जाँदा छोरीलाई पनि सँगै लिएर जान्थें।

छोरी १४ महिनाकी हुँदा विदेशमा जाने मौका मिल्यो। विदेशमा हुँदा दूध गानिएर निचोरेर फ्याल्नुपर्थ्यो। त्यो पीडा पनि अचम्मकै थियो।

०००
६ वर्षकी हुदासम्म अर्को बच्चा पाउने कुरा गर्दा छोरीले नाइँ भन्थिन् तर ७ वर्ष भएपछि भाइ भए पनि बहिनी भए पनि चाहियो भनेर हैरान पार्न थालिन्। टोलका बच्चाहरु घरमा ल्याएर खेलाउँथिन्। बेलुका उनीहरु घर फर्कँदा रोएरै जात्रा गर्न थालिन्।

त्यसपछि हामीले दोस्रो बच्चाको प्लान गरेका थियौं। तर त्यही बेला मेरो बाइक दुर्घटना भयो। डाक्टरले कम्तीमा पनि एक वर्ष बच्चा कन्सिभ नगर भन्नुभएकोले त्यसको एक वर्षपछि दोस्रो बच्चा जन्माउने निधो गर्‍यौं।

दोस्रो बच्चाको पालामा झन् बढी गाह्रो भयो। सधैं भोमिट भइरहने। बच्चा नै नपाउँ कि भन्ने पनि लाग्यो। एक पटक किचेनमा काम गर्दागर्दै रिंगटा लागेर झन्डै ढलेछु। छोरीले समातेर मेचमा राखी पानी पट्टि लगाइदिइन्। औषधि खाएपछि ठिक भयो।

०००
छोरालाई पनि अप्रेसन गरेर निकालियो। कोभिडको समय थियो। बच्चा जन्मेको १५ दिन जति पछि धेरै गार्हो भयो। टाउको दुखेर देखाउन जाँदा प्रेसर एकदमै बढेछ। ज्वरो पनि आयो। घाँटी खसखस भयो। कतै कोभिड त भएन भनेर डर पनि लाग्यो। तर पिसिआर गर्दा नेगेटिभ आयो।

कोरोनाको समय भएकोले बाबुलाई घरमै बसेर धेरै समय दिन पाएँ। अहिले छोरा एक वर्षको भयो। उसलाई आमाकहाँ छोडेर काममा निस्कन्छु। आमा ८४ वर्ष पुगिसक्नुभएकोले एक जना सहयोगी पनि राखिदिएको छु। 

अहिले सोच्दा लाग्छ, आमा हुनु संसारको सबैभन्दा सुखद पल हो। तर आफ्ना नानीहरुको बहानामा कामबाट भाग्नु भनेको बच्चालाई आफ्नो कमजोरी देखाउनु हो।

छोरी जन्मेपछि म झन् वैचारिक रुपमा सबल बन्दै गएँ। कामको दायरा पनि बढाउँदै लगें। आमा बनेपछि नै जीवनका धेरै गतिविधि र सम्बन्धलाई व्यवस्थित बनाउन सक्ने क्षमता बढ्ने रहेछ।

कामबाट फर्किंदा दुई छोराछोरी खेलिरहेको देख्दा, हाँसेको देख्दा सबै कुरा भुल्छु। सन्तानहरु नै मेरो जीवनको उडान र प्रगतिको मार्गदर्शक र करिअरको लागि लक्की चार्म पनि हुन् भन्ने लाग्छ। आमा भएपछि थाहा हुने रहेछ, जीवनको सही अर्थ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सिल्क उद्यमी जानकी जो व्यवसायमा जमिन्, राजनीतिमा डुबिन्

रेशमका कपडा उत्पादन, डिजाइनिङ र व्यापारमा संलग्न जानकीले गोसाई भेन्चर र किम्बु द शेरी वर्ल्ड कम्पनी सञ्चालन गरेकी छिन्। किम्बु द शेरी वर्ल्ड कम्पनीले नेपालमा....

कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन 

अदृश्य भावीको स्वागतमा सुत्केरी बस्ने कोठामा रातभर बत्ती बालिन्छ। भावीले नवजात शिशुको ललाटमा जन्मको छैटौं दिन केही लेख्छ भन्ने यो विश्वास नेपालको समाजमा व्यापक छ।....

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

यहाँ हामीले कुरा त प्रसव पीडा र खुसीको गर्छौं। तर मेरो जिन्दगीमा भने हरेक कुरा राजनीतिसँगै जोडिन पुग्छ। त्यसैले मेरो प्रसव पीडा र खुसीको साक्षी....

डा. अच्युतबिक्रमको उपचार अनुभव : फोक्सोको ८० प्रतिशत भागमा निमोनिया भएका डिआइजी खरेल भाग्यले बाँचे

कोरोना भाइरस संक्रमण भएपछि खरेललाई श्वास फेर्न असहज भएछ। त्यसपछि उनी नेपाल प्रहरी अस्पताल पुगेछन्। बेलुका अस्पताल पुगेका उनी अस्पताल भर्ना भए।  राति करिब १०....

हिजोका कुरामा विश्वम्भर प्याकुर्‍याल : नारायण गोपाल र रानी ऐश्वर्यबीच प्रेमको हल्ला सतप्रतिशत गलत

साहित्य, संगीत, कलाका पारखी प्याकुर्‍यालले विभिन्न साहित्यिक एवं अर्थतन्त्र सम्बन्धी पुस्तक लेखेका छन्। उनको ‘इन्द्रेणीको गुम्बजभित्र’, हरिभक्त कटुवालले सम्पादन गरेको ‘बान्की’ मा ‘तीन वटा घाउ’ लखुकथा  प्रकाशित....