व्यवसायी सन्ध्याको प्रसव पीडा र खुसी : बच्चा पेटभित्रै छ भन्दा सबै अचम्म मान्थे

व्यवसायी सन्ध्याको प्रसव पीडा र खुसी : बच्चा पेटभित्रै छ भन्दा सबै अचम्म मान्थे

काभ्रे, धुलिखेलकी सन्ध्या आचार्य विहेअघिसम्म विभिन्न संघ-संस्थामा आवद्ध थिइन्। जे गरे पनि आफ्नै काम गर्नुपर्छ भन्ने सोच भएकी सन्ध्या संघ-संस्थाकै कार्यक्रममा भेटिएका कैलालीका पदम पाण्डेसँग विहे गरेपछि भने आफ्नै व्यवसायमा लागिन्।

विहेपछि श्रीमान्-श्रीमती मात्रै बस्ने हुँदा उनले गर्भवती भएका बेला धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्योब। सल्लाह दिने र सहयोग गर्ने कोही नहुँदा प्रसवको समयमा मानसिक र शारीरिक रुपमा समेत उनलाई धेरै गाह्रो भयो। बच्चा पेटमा आएपछि महिलाको पेट बढ्ने, मोटाउने हुन्छ। तर सन्ध्या भने झन्-झन् दुब्लाउँदै गइन्।

एकातिर राम्रोसँग बच्चाको विकास भएन भन्ने तनाव, अर्कोतिर प्रसवको बेला भोग्नुपरेको भयानक पीडा, उनका लागि निकै सकसपूर्ण रह्यो। 

दोस्रो बच्चाको प्लान गरिरहँदा डिम्बासयमा सिस्ट देखिएपछि फेरि अर्को तनाव थपियो। तर डाक्टरको सल्लाहमा दोस्रो बच्चा जन्माउने निर्णय गरेकी सन्ध्याले प्रसवका बेला भोगेका पीडा र खुसी उनकै शब्दमाः

१४ वर्षअघि कैलाली, टीकापुरका व्यवसायी पदम पाण्डेसँग विहे गरें। विहेपछि हामी दुई जना मात्रै काठमाडौंमा बस्न थाल्यौं। हामीले नयाँ कामको थालनी मात्र गरेका थियौं, विहे भएको ३/४ महिनामै मेरो महिनावारी रोकियो।

महिनाबारी समयमा नहुँदा प्रेगनेन्ट भएँ कि भन्ने शंका लाग्यो। मेडिकलबाट किट ल्याएर प्रेगनेन्सी जाँचें। पोजिटिभ आयो। के-के न गल्ती गरेजस्तो भयो, डराएँ। भर्खरै विहे भएकोले अरुलाई भन्न पनि लाज लाग्यो। 

एकातिर, करिअरको पिक टाइम थियो। अर्को, हामी बुढाबुढी मात्रै बस्थ्यौं। कोही सहयोगी, आफन्त थिएन। हामी बच्चा नपाउने कि भन्ने सल्लाह लिन डाक्टरकहाँ गयौं। डाक्टरले कहिले पनि पहिलो सन्तान अबोर्सन गर्नुहुँदैन भन्ने सल्लाह दिएपछि हाम्रो सोच बदलियो। प्रेगनेन्ट हुँदैमा करिअर रोकिँदैन भनेपछि हामीलाई केही हौसला मिल्यो।

मैले कतिको करिअर सुरु हुँदै गर्दा बच्चालाई बाधा सम्झेर अबोर्सन गरेको देखेको, सुनेको थिएँ। तर डाक्टरले पहिलो बच्चा अर्बोसन गर्दा पछि बच्चा कन्सिभ हुन गाह्रो हुने बताएपछि हामीले बच्चा जन्माउने निधो गरेका थियौं। 

मेरो मनमा लाजले डेरा गरेकाले गर्भवती छु भन्ने कसैलाई भान हुनै दिइनँ।

०००
गर्भवती हुँदा मलाई पूरै ८ महिना बासनाको एलर्जी भएर भोमिट भइरह्यो। खाना मिठो नहुने, खायो कि निस्किहाल्ने भयो। अरु प्रेगनेन्टमा मोटाउँछन्, पेट पनि ठूलो देखिन्छ। म भने १० किलो घटें। दुब्लाएको देखेर साथीहरुले तिमीलाई के भो, सन्चो छैन भने डाक्टरलाई देखाउ भन्थे।

अल्ट्रासाउन्ड गर्दा पेटभित्रको बच्चा निकै सानो देखियो। म त दुब्लाएँ नै, पेटको बच्चा पनि बढ्न सकेनछ। यसले मलाई पीडा दियो। त्यसपछि खानाको सप्लिमेन्ट प्रोटिन, भिटामिनहरु धेरै खाएँ।

प्रेगनेन्सीपछि मेरो गोरो अनुहार चाया-पोतोले भरियो। आफ्नै अनुहार ऐनामा हेर्न मन नलाग्ने भयो। बेकारमा विहे गरेछु जस्तो लाग्थ्यो। अनुहारमा चाया-पोतो, शारीरिक रुपमा कमजोर तथा मानसिक तनावले बच्चा किन पाउन लागें जस्तो हुन्थ्यो। आमा बन्नु महिलाका लागि ठूलै सम्झौता जस्तो लाग्यो। 

गर्भवती भएको समयमा एक्सरसाइज गर्नुपर्छ, एक्टिभ हुनुपर्छ भन्ने सुनेकोले म अति एक्टिभ थिएँ। यति हिड्थें कि सबैले कति हिँड्छौ समेत भन्थे। 

८ महिनापछि श्रीमान् सामान लिन भारत जानुभयो। म माइती धुलिखेल गएँ। डाक्टरले दिएको समय आउन निकै दिन बाँकी थियो। श्रीमान् गएको दुई दिनपछि अचानक पानी बग्यो। आमालाई भनेपछि दुखेको छ कि छैन सोध्नुभयो। खासै दुखेको भने थिएन। दिउँसो ३ बजेतिर पानी बग्न सुरु भएको थियो, आमाले साँझ ७ बजेतिर धुलिखेल हस्पिटल लैजानुभयो। आमा अनुभवी भएकोले म ढुक्क थिएँ।

अग्लो शरीर, दुब्लाएर पेट समेत नदेखिने। अरु बिरामीहरु किन आएको नानी भनेर सोध्थे। अचम्म मान्दै बच्चा खोई त? भन्थे। मैले बच्चा पेटभित्रै छ भन्दा यस्तो पातलो मान्छेले कस्तो बच्चा पाउला भन्थे। 

ब्यथा नलागेपछि अस्पतालमा ब्यथा लाग्ने इन्जेक्सन लगाइदिए। इन्जेक्सन लगाएपछि ब्यथा सुरु भयो। बयान गर्नै नसक्ने पीडा भयो। आमा बन्नु त महिलाका लागि अर्को जन्म नै रहेछ।

राति १२:५३ मा बच्चा जन्मियो। जब बच्चा छातीमा राखिदिए, अचम्म लाग्यो, मेरो शरीरबाट अर्को मानव जन्म्यो। खुसी लाग्यो, रुन पनि मन लाग्यो। ८ महिना आफूले महसुस मात्रै गरिरहेको मान्छे आफ्नोसामु पाउँदा दंग परें।

बच्चा जन्मिँदा साढे दुई केजीको थियो। मलाई छोरी लिन पनि डर लाग्थ्यो। आमा र दिदीले बच्चा बोकेरै मेरो दूध खुवाइदिन्थे।

बच्चा जन्मिएपछि डाक्टरले भन्नुभयो- दुई वर्षसम्म बच्चालाई आफ्नो दूध खुवायो भने अनुहारको चाया-पोतो सबै जान्छ। तर मलाई विश्वास लागेको थिएन। नभन्दै छोरीले ठ्याक्कै दुई वर्ष मेरो दूध खाइन्। मेरो अनुहारको चायाँ-पोतो पनि सबै हरायो।

भारत जानुभएका श्रीमान् न्वारनको अघिल्लो दिन मात्रै आइपुग्नुभयो। 

सुत्केरी स्याहारका लागि म माइतीमै बसें। जाडो महिना थियो। आमाहरुले घाममा राखेर तेल लगाइदिनुहुन्थ्यो। धेरै तेल लगाएपछि सिकसिको लागेर नुहाउन जान्थें। सुत्केरी मान्छे त्यो पनि पुस-माघको जाडोमा नुहाउँदा धेरै गाली पनि खाइयो।

सुत्केरी भइसकेपछि खाना भने मज्जाले खान्थें। बच्चा ५/६ महिनाको भएपछि काममा फर्कें। बच्चा लिएरै पसलमा जान्थें।

मैले स्टोनको व्यवसाय भर्खरै सुरु गरेको थिएँ। त्यही भएर समय त दिनै पर्थ्यो।

बच्चा छोरी पाँच वर्षकी भएपछि मेरो डिम्बासयमा सिस्ट देखियो। डा. भोला रिजाललाई देखाउन गएँ। उहाँले सिस्ट रगत र मासुको नभई पानीको फोकामात्रै भएकोले उप्रेसन जरुरी नभएको बताउनुभयो। अर्को बच्चा भएपछि त्यो सिस्ट आफैं हराउने बताउनुभयो। डा. रिजालकै सल्लाह अनुसार आफ्नो स्वास्थको लागि हामीले दोस्रो बच्चाको प्लान गरेका हौं।

०००
दोस्रो गर्भ चार महिनाको भएपछि २०७२ सालको भुईंचालो गयो। त्यतिबेला मसँगै प्रेगनेन्ट भएका धेरै महिलाले अबोर्सन गराए। भुईंचालोमा बच्चा जन्मिँदा नर्मल नहुने पुरानो मान्यता रहेछ। म पनि अबोर्सनको लागि अस्पताल गएँ। तर डाक्टरले भनिए जस्तो केही नहुने आश्वासन दिए। भुईंचालोका बेला धेरै दगुर्ने, भाग्ने गरिएकाले एक महिना बेड रेस्ट गर्न भनियो।

दोस्रो बच्चाको पालामा हात र खुट्टामा पूरै एलर्जी हुन्थ्यो। एलर्जीको औषधि पनि खान नहुने भएकोले निकै गाह्रो भयो।

दोस्रो बच्चाको पालि भने खाना मजाले रुच्थ्यो। फुड सप्लिमेन्ट प्रोटिन पनि धेरै खाएँ।

समय भएपछि पहिले जस्तै पानी बग्यो। घर नजिकै बस्ने स्टाफ नर्सलाई चेक गराएपछि हस्पिटल गएँ। ब्यथा सुरु भएपछि पनि धेरै समय लाग्यो बच्चा जन्मिन। बिहान १० देखि साँझ ५ बजेसम्म ब्यथा सहनुपर्यो । 

छोरी ७ वर्षकी भएपछि मेरो छोरा जन्मियो। बच्चा ३ किलो ९ सय ग्रामको रहेछ। डाक्टरहरुले अप्रेसन गरेर निकाल्नुपर्ने बच्चा रहेछ भन्दै जानुभयो। बच्चा जन्मिएपछि मेरो शरीरको एलर्जी पनि गायब भयो। 

छोरा हेल्दी थियो। छोरी ३ महिनाकी हुँदाजत्रो त छोरा पाउनेवित्तिकै थियो। आमाले गर्भावस्थामा खाएको खानाले बच्चाको विकासमा प्रभाव पार्ने रहेछ। छोराले पनि दुई वर्षसम्म नै मेरो दूध खायो।

आमा भनेको बच्चाको मामिलामा स्वार्थी हुने रहेछन्। आमा अलराउन्डर पनि हुनुपर्ने रहेछ। पहिलो शिक्षक, डाक्टर, नर्स, चित्र, गीत, नृत्य सिकाउने पहिलो गुरु नै आमा हुने रहेछ। आमाको एउटै सपना हुने रहेछ, सन्तान ठूलो भएपछि आफ्नो आइडलको रुपमा आमालाई लेओस्।

मेरो करिअरको उचाइ बढ्दै गएको पनि आमा बनेपछि नै हो।

यो पनि

१९ मंसिर, २०७८, १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।