उकेरा कोलम

नर्सएड पवित्राको प्रसव पीडा र खुसी : जब स्तनबाट रगत चुहिन थाल्यो


नुवाकोटकी पवित्रा अधिकारीले २४ वर्षअघि कलाकार राजन काफ्लेसँग विवाह गरिन्। त्यतिबेला उनी कान्ती बाल अस्पतालमा नर्सएडको रुपमा काम गर्दै थिइन्। 

विवाह भएको दुई महिनामै गर्भवती भएकी पवित्राको आमा बन्ने चाहना भने थिएन। विना कुनै योजना गर्भवती बन्नुपर्दाको छटपटी त छँदै थियो, बच्चालाई पुग्ने दूध नआएर स्तनबाट रगत चुहिँदाको निकै दुःखदायी अवस्था पनि झेल्नुपर्‍यो उनले।

दुई छोराकी आमा पवित्रा दुवै पटक गर्भवती हुँदाका प्रसव पीडा र त्यसपछिको खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्ः

म २०५२ सालमा नुवाकोटबाट काठमाडौं आएँ। काठमाडौंमा टिक्नका लागि केही न केही काम गर्नैपर्ने बाध्यता थियो। त्यसैले एउटा पानीको प्रोजेक्टमा जागिर खान थालें। त्यो ६ महिने प्रोजेक्ट थियो। 

मेरो काम घर-घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने थियो। ६ महिनाको काम मैले चार महिनामै सिध्याएँ। त्यसबापत ७ हजार रुपैयाँ पाएकी थिएँ।

२०५३ सालमा कान्ति बाल अस्पतालमा केही कर्मचारी चाहिएको थियो। कान्तिमा मैले काम गर्ने अवसर पाएँ। ६ महिनाको तालिमपछि त्यहाँ सेन्टर सप्लाइमा काम गर्न थालेँ। मैले कान्तिमा अप्रेसनका सामान प्याक गर्ने लगायतका काम गर्नुपर्थ्यो।

काम त गर्न थालें। तर मलाई हस्पिटल लाइन नै मन परेन। कहिले काम छाडौं जस्तो लागिरहन्थ्यो। तैपनि, मेरो साथीको दाइले यहाँ राम्रो छ, जसरी पनि तिमीले काम गर्नुपर्छ भनेपछि मन बाँधेर काम गरिरहें।

०००
२०५४ साल माघ १० गते रौतहटका चित्रकार तथा मूर्तिकार राजन काफ्लेसँग काठमाडौंमै मेरो मागी विवाह भयो। एक त अपरिचित मान्छेसँग सम्बन्ध जोडियो। अर्को, उहाँको स्वभाव एकदमै कडा थियो। यो मान्छेसँग पूरै जिन्दगी कटाउन सकौंला र! भन्ने चिन्ताले मलाई सताइरहन्थ्यो। 

विवाह भएको दुई महिनामै महिनावारी रोकियो। सासुआमाले मेरो हरेक कुरा याद गर्नुहुन्थ्यो। महिनावारी रोकिएको थाहा पाएपछि उहाँले भन्नुभयो, तिम्रो महिनावारी हुनुपर्ने समय त घर्किसक्यो। गर्भवती पो भयौ कि? मैले जचाएर कन्फर्म गरेँ, हो रहेछ।  

सासुआमाले यो कुरा मेरा श्रीमानलाई भन्नुभएछ। मलाई लाज लाग्यो। विवाह भएको दुई महिनामै गर्भवती हुँदा लाजले कसैलाई मुखै देखाउन नपरेहुन्थ्यो जस्तै भयो। 

मलाई तत्कालै बच्चा पाउने मन थिएन। आफ्नो करिअरको सुरुवात नै भएको छैन भने अहिले नै बच्चा जन्माएर के गर्नु भन्ने सोच आउन थाल्यो। तर परिवारमा भने म गर्भवती भएकोमा खुसियाली छाएको थियो। श्रीमानले पनि चाँडै बच्चा जन्मेपछि काम सकिन्छ भन्ने कुरा गर्नुभयो। 

त्यसपछि मलाई घरमा त पटक्कै बस्न मन लागेन। अस्पतालमै समय कटाउन थालें। बरु यो बच्चा खेर गइदिए हुन्थ्यो जस्तो लागिरहन्थ्यो। तर आफ्नो कामलाई निरन्तरता दिन भने छाडिनँ।

गर्भवती भएको १५ दिनदेखि नै मलाई खाना खान मन लाग्दैनथ्यो। केही पाकेको गन्ध आए पनि बान्ता भइहाल्ने। मसुरोको दाल त हेर्न पनि मन नलाग्ने। मसलाहरुको गन्ध पनि त्यति साह्रो मन परेन। सधैं सादा खाना नै खाएँ। 

जति गाह्रो भए पनि कसैलाई भन्न सक्दिनथेँ। ड्युटीको बेला निकै थकाइ लाग्थ्यो। घर फर्केपछि सुतिहाल्न मन लाग्थ्यो। म सुतेको देखेर सासुआमा ‘अल्छी छे, छोरी पाउँछे’ भन्नुहुन्थ्यो। त्यो कुरा निकै मेरो मनमा बिझ्यो। त्यसपछि त झन् छोरी पाएँ भने म हेला पो हुन्छु कि भन्ने डरले सताइरह्यो।

बच्चाको चाहना नभए पनि निरन्तर डाक्टरकहाँ गएर स्वास्थ्य जाँच भने गराइरहन्थें। मोडेल हस्पतालमा डा. अरुणा कार्कीलाई देखाइरहेको थिएँ।

निरन्तर फ्लोअपमा त थिएँ तर मलाई पेटमा बच्चा चलेको थाहा पाउँदा पनि खुसी लाग्दैनथ्यो। माया नै लाग्दैनथ्यो। यसै पनि मलाई बच्चाहरुसँग घुलमिल हुन मन नलाग्ने त्यसमाथि यो त झन् आफ्नो चाहना विपरीत। 

०००
मंसिरको ७ गते डाक्टरले समय दिनुभएको थियो। मलाई समयभन्दा अगाडि नै व्यथाले च्याप्यो। कात्तिक ३० गते कान्तिमा ड्युटीमै थिएँ। मेरो जीउ निकै भारी भयो। गाह्रो भएकालेले घर पुग्नासाथ सुतिहालेँ। सुतेको केही बेरमा पानी बग्न थाल्यो। मेरो पेट पनि दुख्दै छोड्दै गरेको थियो। असह्य पीडा भने भएको थिएन।

मोडेल अस्पतालमा काम गर्ने भारती दिदीलाई फोन गरेर आफ्नो समस्या राखेँ। दिदीले आफ्नो अवस्थाको ख्याल राख्दै गर्नू, धेरै गाह्रो भयो भने अस्पताल आउनु भन्ने सल्लाह दिनुभयो। 

त्यो दिन घरमा कोही हुनुहुन्नथ्यो। श्रीमान् पुतलीसडक अफिसमा काममा हुनुहुन्थ्यो भने सासुआमा र बुबा पशुपतिमा भजन सुन्न जानुभएको थियो। एकैछिनमा मलाई ब्यथाले च्याप्न सुरु गर्‍यो। घरि-घरि बेस्सरी पेट दुख्ने, घरि-घरि केही नभएजस्तो हुन थाल्यो। त्यसपछि मैले आफैं अस्पताल जाने तयारी गरें।

एउटा ब्यागमा चाहिने सबै सामग्री प्याक गरें र आफूले पनि सहज हुने कपडा लगाएँ। त्यतिबेलासम्म सासुआमा पनि आउनुभयो। उहाँलाई ब्यथा लागेको कुरा सुनाएँ। त्यसपछि श्रीमानलाई फोन गरेर सबै कुरा बताएँ। उहाँले मोडेल आउन भन्नुभयो। जेठाजुको छोरालाई ट्याक्सी रोक्न लगाएर अस्पताल पुगेँ र भर्ना भएँ।  

अस्पताल पुगेपछि ब्यथाले झनै च्याप्यो। यस्तो दुख्थ्यो कि आजै मेरो अन्तिम दिन हो कि क्या हो जस्तो हुन्थ्यो। दुखाइ सहन नसकेर चिच्यायो भने नर्सले गाली गर्छन् भन्ने कुरा सुनेको थिएँ। त्यही डरले चिच्याउन पनि सक्दिनथें।

त्यो बेला मैले आमालाई निकै सम्झिएँ। ‘मैले १४ वर्षको उमेरमा बारीमा बच्चा जन्माउँदा त मरिनँ’ भनेर आमाले भनेको कुरा सम्झिएँ र आफूलाई सम्हाल्न खोजेँ।

६ घण्टा प्रसव व्यथा लागेपछि बच्चा जन्मियो। बच्चा जन्मिसकेपछि घाउमा स्टिच लगाइयो। स्टिच लगाइसकेपछि घाउ निकै दुख्यो। म चिच्याएँ। 

कान्तिमा सँगै आइसियुमा काम गरेका डाक्टर पारस भट्टराईलाई मेरो बच्चा हेर्न बोलाइयो। उहाँको नाम सुनेपछि मलाई निकै लाज लाग्यो। लाजले गर्दा डाक्टर पारसको अगाडि मैले आँखा नै खोलिनँ। 

उहाँले बच्चा लिएर जानुभयो। जन्मेपछि बच्चा रुनुपर्छ भन्ने छ। बच्चा रुवाउनका लागि उहाँले प्याट्ट-पुट्ट पार्नुभयो। उहाँले बच्चाको सबै चेकअप गरेर बच्चा हेल्दी छ। साढे ३ केजीको छ भनेका सबै कुरा मेरो कानमा परिरहेको थियो। तर आँखा खोलेर हेर्न भने सकिरहेको थिइनँ। 

नर्सले ‘हेर्नूस्, तपाईंको छोरा निकै राम्रो छ’ भनेर छातीमा टाँसिदिइन्। त्यो समय मलाई निकै गौरवको अनुभव भयो। छोराको अनुहार हेरेपछि भने बच्चा जन्माउन नचाहेको त्यो क्षणको नमिठो क्षण सम्झिएँ। एक्कासि छोराको माया लागेर आयो। सासुआमाले छोरी पाउँछे भन्नुभएको थियो, मैले छोरा पाएँ भनेर मनमा घमण्ड पनि पलायो। छोरालाई छातीमा टाँसिरहँदा पूरै संसार जितेजस्तो लाग्यो। अब मलाई कसैले केही गर्न सक्दैन। अब त श्रीमानले हेला गरे पनि बाँच्न सक्छु जस्तो लाग्यो। छोरो जन्मेको थाहा भएपछि श्रीमानको अनुहारमा पनि छुट्टै खाले खुसी थियो। 

स्टिच लगाइएको घाउले निकै दुःख दियो। स्टिच नसामा परेका कारण मलाई हेमाटोमा भएछ। सुन्निने र दुख्ने भएका कारण धेरै असहज भयो। पाँच दिनको अस्पताल बसाइपछि म घर फर्किएँ। 

मसँग अस्पतालमा काम गरेका थुप्रै अनुभव छन्। अरुलाई बच्चाको स्याहार गर्नुपर्छ, दूध यसरी चुसाउनुपर्छ भनेर सिकाउने म आफैंले भने त्यो कुरा थाहा पाउन सकिनछु। बच्चा ठूलो भएकाले मेरो दूधले नपुगेर निकै रुन्थ्यो। स्तन ठूला भए पनि पर्याप्त मात्रामा दूध आएन। बाबुले चुस्दा निप्पलमा घाउ भएर रगत आउँथ्यो। 

बच्चाको न्वारन नहुँदासम्म कसैलाई नछोई सुत्केरीले एउटा कुनामा बस्नुपर्ने चलन थियो। कुनामा बस्दा मलाई मायाको, केयरको अभाव खट्किरह्यो। बरु खान-लाउनको कमी होस्, तर साना कुराको ख्याल आफ्नाले गरिदिए हुन्थ्यो भन्ने मात्र लागिरह्यो। कुनामा एक्लै बस्नुपर्दा ढोका थुनेर रोइरहन्थेँ। 

न्वारनका बेला माइतीबाट आमा भेट्न आउनुभएको थियो। बाबु रोएको रोयै गर्थ्यो। त्यो देखेपछि आमाले दूध नपुगेर छोरो रोएको भनेपछि पो म झसंग भएँ। त्यसपछि बजारबाट ल्याक्टोजिन ल्याएर खुवाउँदा छोराले स्वाट्टै पार्‍यो।

एक महिनापछि सुत्केरी बस्न भनेर माइती नुवाकोट गएँ। सुत्केरीमा जति खाए पनि शरीरमा लागेको थिएन। माइत जाँदा जम्मा ४५ केजीकी थिएँ। मेरो अवस्था देखेर आमाले आफ्नो ख्याल गरिनस्? आफ्नो शरीर रहे पो अरुको ख्याल गर्न सकिन्छ, छोरो हुर्काउन बाँकी नै छ भन्नुभयो। आमा ज्वाईंसँग पनि कराउनुभयो- श्रीमतीको ख्याल राख्नुपर्दैन? श्रीमती पछिसम्म चाहिँदैन कि के हो? म अवाक् भएर सुनिमात्र रहेँ। 

करिब साढे दुई महिना घर-माइत गरेर आराम गरेँ। त्यसपछि बाबुलाई घरमै छोडेर ड्युटी जान थालेँ। धेरै समयको बिदा पनि मिल्दैनथ्यो। मलाई पनि काम नै छोडेर घर बसिरहन मन लागेन। घरमा सासुआमाले नातिको स्याहार गर्ने भएकोले पनि होला, ढुक्कले काम गर्न सकेको। काममा हुँदा दूध चर्किन्थ्यो। घर पुगेर बाबुलाई दूध चुसाउन पाए आनन्द हुन्थ्यो भन्ने लागिरहन्थ्यो।

०००
छोरो दुई वर्षको भएपछि साथी-भाइ तथा आफन्तले अर्को बच्चा जन्माउन सुझाव दिन थाले। छिटो-छिटो बच्चा हुर्काएपछि अरु काम आनन्दले गर्न सकिन्छ भनेर एक किसिमको दबाबजस्तै आउन थाल्यो। त्यसपछि मैले दोस्रो बच्चाको तयारी गरेँ।

दोस्रो बच्चा पेटमा हुँदा पनि मलाई पहिलाको जस्तै खान मन नलाग्ने, बान्ता हुने, गन्हाउने हुन्थ्यो।

यस पटक पनि नियमित फलोअपका लागि डा. अरुणा कार्कीकैमा गएँ। पहिलो बच्चाको राम्रो रेस्पोन्स भएका कारण पनि उहाँलाई नै देखाइरहेँ। 

दोस्रो बच्चाको लागि पनि डाक्टरले डेट मंसिरमै दिनुभएको थियो। कात्तिककै महिना थियो। फलोअपका लागि अस्पताबाट बिदा लिएको थिएँ। त्यो दिन मलाई एक्कासि गाह्रो भयो। पेट दुख्ने र एकैछिनमा ठिक हुने भइरह्यो। त्यतिबेला हामी परिवारसँग छुट्टिएर बसेका थियौं।

श्रीमान् कामविशेषले आफन्तकोमा जानुभएको थियो। हामीसँगै बस्ने भान्जालाई आफूलाई ब्यथा लागेको हुनाले मामालाई फोन गरेर घर बोलाउन भनें।

श्रीमान् र म मोटरसाइकलमा मोडल अस्पताल गयौं। अस्पताल पुगेपछि यस्तो दुखाइ भएको मान्छे मोटरसाइकलमा आउने? बाटोमै बच्चा जन्मेको भए के हुन्थ्यो भनेर डाक्टरले गाली गर्नुभयो। 

०००
दुई घण्टाको प्रसव पीडापछि मैलै दोस्रो छोरालाई जन्म दिएँ। छोरीको चाहना थियो तर फेरि पनि छोरा नै जन्मिएपछि मन खिन्न भयो। छोरीको अनुभव गर्न नपाउने भएँ भन्ने लागिरह्यो।

छोरा साढे दुई केजीको मात्र थियो। नर्सले हातमा राखिदिँदा मुसा समातेको जस्तो अनुभव भएको थियो। शरीरको सबै छाला चाउरिएको थियो। छोरो सानो देखेर होला उसको बाबाले पनि खासै लिन मन गर्नुभएन। 

मेरो बेडकै छेउमा एक जना दिदी दुई दिनदेखि ब्यथा खपेर बसेकी रहिछिन्। मैले दुई घण्टामै छोरा जन्माएको देखेर चिच्याउँदै उनले भनिन्, ‘अरुको त छिट्टै हुने रहेछ, मलाई मात्र यस्तो किन?’

तीन दिनपछि अस्पतालबाट घर फर्किएँ। पहिलो पटकको बच्चा जन्माउँदाका दुःखबाट सिकेर होला, दोस्रो पटक चाहिँ अलि सजिलो  भयो। दुवै बच्चा सानै भए पनि हुर्काउन सहज नै लाग्यो। श्रीमानले पनि धेरै सहयोग गर्नुभयो। 

अहिले जेठो छोरा २३ र कान्छो छोरा २० वर्षका छन्। जेठो छोरा इन्जिनियरिङ गर्दैछ। कान्छो आर्ट पढ्छ। पढाइमा पनि दुवै जना अब्बल नै छन्। कान्छो छोरालाई भने बाबाले जस्तै आर्ट गर्न मन पर्छ। 

अहिले यसो सोच्छु- मेरो जिन्दगी सोचेभन्दा धेरै सफल भयो।

जीवन भनेको संघर्ष हो। जीवनमा धेरै उथलपुथल आउँछन्। ती सबैलाई सामना गर्दै अघि बढ्नुपर्छ। मैले धेरै कुरा आफ्नी आमाबाटै सिकें। आमा भनेको पृथ्वी हो। मलाई सबै आमाहरुको एकदमै माया लाग्छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....