मेरै प्रसव पीडा र खुसी : गर्भवती भएको पाँच महिनामा कुकुरले टोकेपछि

मेरै प्रसव पीडा र खुसी : गर्भवती भएको पाँच महिनामा कुकुरले टोकेपछि

मलाई विवाह गर्ने खासै मन थिएन। विवाह गर्ने मन नहुनुको प्रमुख कारण थियो, गर्भवती भएपछि भोग्नुपर्ने दु:ख।

एसएलसी सकेपछि मैले केही समय बनेपा, बुडोलस्थित काभ्रे माविमा प्रशासनमा काम गर्ने अवसर पाएको थिएँ। त्यहाँ काम गर्दा शिक्षिकाहरु प्रेगनेन्ट भएर पढाउन आएको देख्दा, उहाँहरुको अनुभव सुन्दा र बढ्दै गएको पेट देख्दा मनमनै सारै डर लाग्थ्यो। ओहो! आफ्नो पेटभित्र अर्को मानव राखेर हिँड्नुपर्ने।

मलाई सधैं लाग्थ्यो, आमा बन्नु चानचुने कुरा होइन। तर समाजले विवाहपछि महिलाहरु आमा बन्नु स्वभाविक प्रक्रियाको रुपमा मात्र लिँदै आइरहेको छ। विवाह भएको महिना दिन बित्न नपाउँदै बच्चा पाउन दबाब दिइरहेको पाइन्छ।

म खासै बच्चाहरुसँग घुलमिल भइहाल्ने स्वभावको होइन। र, बच्चालाई बोकेर खेलाउन पनि खासै जादिनँ। मेरी बहिनी सरु भने सानैदेखि जसको बच्चा पनि बोक्दै हिँड्ने, खेलाउने, तेल लगाइदिन तम्सिने स्वभावकी थिइन्। 

०००
मन नभए पनि उमेर पुगेपछि घरबाट छोराछोरीको विवाह गरिदिनु स्वभाविकै हो। मेरो पनि २०६४ साल मंसिर १७ गते इसराजवादक सन्तोषभक्त श्रेष्ठसँग विवाह भयो।

विवाह अघिसम्म म साथीहरुसँग विवाह नै नगर्ने, विवाह गरे पनि बच्चा नजन्माउने कुरा गर्थें। बरु अनाथ बच्चालाई पालेर बस्छु भन्थें। तर विवाहपछि मेरो मनको भाव परिवर्तन भयो। त्यतिबेला मेरो उमेर २८ वर्ष पुगिसकेको थियो। साथीभाइ र आफन्तले पनि बच्चा जन्माउन धेरै ढिला गर्न नहुने सल्लाह दिन थाले।

नारी मासिकमा काम गर्ने भएकोले म महिला स्वास्थ्य र प्रेगनेन्सीका बारेमा अध्ययन गरिरहन्थें। 

गाइनोकोलोजिस्टहरुसँग प्रेगनेन्सीका बारेमा चासो दिएर सोधीखोजी गर्दथें। मैले नारीको प्रेगनेन्सी विशेष अंकमा कभर स्टोरी नै लेखेको थिएँ। त्यसपछि प्रेगनेन्सीको विषयमा मेरो धारणा बदलियो। र, महिलाले एक पटक त आमा बन्नैपर्छ भन्ने धारणा बन्यो।

विवाह भएको १४/१५ महिना भएपछि मेरो नियमित महिनावारी रोकियो। पक्कै प्रेगनेन्ट भएँ भन्ने लागेर प्रेगनेन्सी जाँच्ने किट ल्याएर घरमै जाँचें। नभन्दै पोजिटिभ आयो। मलाई अझै याद छ, म एकछिन कताकता हराएजस्तो भएँ। श्रीमानलाईं हेर्दा भित्रैदेखि खुसी देखें। सासुलाई भनेपछि उहाँ पनि दंग पर्नुभयो। माइतीमा पनि सबै खुसी हुनुभयो। घरको पहिलो बच्चा भएकोले पनि अलि बढी नै इमोसन जोडिएको थियो होला।

पहिलेदेखि नै मेरो प्रेसर निकै लो हुने। सुरुको तीन महिना एकदमै गाह्रो भयो। जे खाए पनि भोमिट भइहाल्ने। पेटमा केही नअडेपछि कमजोर हुने, प्रेसर लो भएर उठ्नै नसक्ने भएँ। प्रेसर लो भएपछि टाउको दुखेर फुट्ला जस्तो हुने। पेनकिलर खान नमिल्ने भएकाले अकुपञ्चर गराएर टाउको दुख्ने कम गरें। श्रीमानका साथी डा. श्याम महर्जनकहाँ लगभग एक महिना अकुपञ्चर गराएँ।

खाना खाएर केही समय आराम गरेपछि अफिस जान्थें। काममा बाहिर निस्कँदा अलि फ्रेस हुन्थें। विभिन्न मान्छेहरुसँग भेटघाट, कुराकानी गर्दा गाह्रो भुल्थें। 

गर्भवती हुँदा धेरै आराम गर्नु हुँदैन भनेर सकभर सक्रिय रहन्थें। घरको काम सकेसम्म आफैं गर्थें। अफिसको काम पनि बच्चा पाउनु दुई दिन अघिसम्म निरन्तर गरिरहें। दिउँसोभन्दा राति सुत्ने बेलामा बढी गाह्रो हुन्थ्यो। निदाउनै नसकेपछि श्रीमानले लिटिल प्रिन्सको किताब पढेर सुनाउनुहुन्थ्यो। उहाँले किताब पढ्न थालेपछि म निदाउँथें। तीन महिनापछि खानामा रुचि हुन थाल्यो।

म सानैदेखि भेजिटेरियन, माछा-मासु खाउँ जस्तो कहिल्यै भएन। एक दिन बाहिर डिनर लिने क्रममा मैले पोटेटो बेकन रोल मगाएँ। पोटेटो देखेकोले भेज होला भन्ने मेरो बुझाइ थियो। मिठो मानेर खाएँ। घर पुगेपछि श्रीमानले बेकनको अर्थ बुझाएपछि पो म छक्क परें। मनमनै सोचें, मासु त मिठै हुने रहेछ।

केही दिनपछि रेस्टुरेन्टमा मिस नेपाल रुवी राणासँग भेट भयो। म गर्भवती रहेको थाहा पाएपछि उहाँले कर गरेर मःम खुवाउनेभयो। मःम पनि मिठो लाग्यो। त्यो दिनदेखि मलाई मःम मन पर्न थाल्यो। अफिसबाट घर फर्किंदा पाटनढोका पुगेपछि मःमको बासनाले तान्थ्यो। सो कुरा थाहा पाएपछि श्रीमानले हरेक दिन एक प्लेट मःम खुवाएर घर लानुहुन्थ्यो। भेजिटेरियन मान्छे म अचानक मःमको क्रेजी बनें। मेरी सानी आमा प्रगति श्रेष्ठले समय-समयमा मासुको पकौडा बनाएर ल्याइदिनुहुन्थ्यो। 

०००
गाबहालस्थिति डा. केशरी बज्राचार्यको क्लिनिकमा नियमित परीक्षण गराउँथें। मेरो सानिमा बिन्दिया श्रेष्ठ प्रसूति गृहमै नर्स भएकोले पछि उतै देखाउन थालें। 

पेटको बच्चा पाँच महिनाको हुँदा मलाई कुकुरले टोक्यो। त्यतिबेला मंगलबजारको एम्बियन्स रेस्टुरेन्टमा मेरा श्रीमान् र उहाँका साथीहरुले ब्लुज म्युजिकको कार्यक्रमहरु गर्नुहुन्थ्यो। हरेक महिना आयोजना हुने सो कार्यक्रममा म सधैंजसो जान्थें।

त्यो कार्यक्रममा श्रीमानसँग जाँदै गर्दा गुडिरहेको बाइकमै मलाई कुकुरले टोक्यो। मेरो जिन्स च्यातिएर घाउ नै भयो। हामी दुवै जना एकदम डरायौं। कार्यक्रम स्थलमा पुगेपछि प्रेगनेन्सीमा रेबिजको सुई लगाउन हुन्छ कि हुँदैन भनेर धेरै जनासँग सोधीखोजी गर्यौं। पछि चिकित्सकको सल्लाहमा रेबिजको पाँच वटा सुई र टिटीको सुई लिएर ढुक्क भयौं।

आठ महिना हुँदा नारीको कभर स्टोरीको लागि नायिका करिष्मा मानन्धरको घर टौखेल पुगेको थिएँ। उहाँको फोटोसुटका लागि फोटोग्राफर राजीव श्रेष्ठ पनि जानुभएको थियो। त्यहाँ करिष्मा दिदीले मलाई मिठो खाना मात्रै होइन, छिनछिनमा आराम गर्न सल्लाह दिनुभयो। उहाँले ‘सिर्जना तिम्रो पेटमा छोरी नै छ, छोरी नै पाउ है’ भन्नुभएको अझैं याद छ।

९ महिना पुगिसक्दा पनि म अफिस गइरहन्थें। मलाई अफिसमा देख्दा राजेश कोइराला दाइ ‘तिमीले प्रसूति गृह नै यतै बनाउन लाग्यौं कि क्या हो?’ भनेर जिस्क्याउनु हुन्थ्यो।

प्रेगनेन्सीको समयमा मलाई इरिटेसन हुन्थ्यो। झनक्क-झनक्क रिस उठ्थ्यो। एक त आफ्नै शरीर परिवर्तन हुँदै, भित्र अर्को शरीर बढ्दै जाँदा शारीरिक र मानसिक रुपमा परिवर्तन हुनु स्वभाविकै हो। त्यसमा पनि दुई घरको फरक संस्कार र रहनसहनले गर्दा हुने, नदेखिने दबाबले पनि असर गर्दोरहेछ।

जन्मेर हुर्केको घरको रहनसहन, संस्कार र विहेपछि श्रीमानको घरको एउटै सोचको नहुन सक्छ। त्यसमा आफूलाई ढाल्न कोसिस गर्दागर्दै पनि कतिपय अवस्थामा तयार नहुँदा मानसिक रुपमा कमजोर हुने मैले अनुभव गरें। 

यस्तो केही परिस्थितिमा मलाई श्रीमानले सपोर्ट गर्नुभयो। जसले गर्दा मेरो इरिटेनिको लेबल घट्थ्यो। 

५/६ महिनापछि बच्चा पेटमा यस्तो चल्थ्यो कि कहिले छाम्दा खुट्टा जस्तो लाग्ने, केही क्षणपछि टाउको जस्तो फिल हुने। त्यस्तो चल्ने बच्चा एक/दुई पटक चलेको चाल नपाउँदा आत्तिएर हामी हस्पिटल पनि पुग्यौं। त्यति बेला बिन्दिया माले निकै सहयोग गर्नुभयो।

०००
बच्चा जन्मनु एक दिनअघिको राति श्रीमानका साथी तबलाबादक विदुर राजकर्णिकार र उहाँकी श्रीमती सम्झना भाउजुले मलाई लायकु किचेनमा खाना खान लैजानुभयो। हामी रातको १२ बजेसम्म त्यही थियौं। घर फर्केको  तीन घण्टा जति पछि पानी बग्यो। म र श्रीमान् नै निकै आत्तियौं। सासुले अण्डा र मिश्री काँडा बनाएर खुवाउनुभयो। आन्टीलाई फोन गरेर हामी बिहानको चार बजेतिरै थापाथलीस्थित प्रसूति गृह पुग्यौं। बनेपामा पनि खबर गरिसकेका थियौं। मा, बा पनि आत्तिएर हस्पिटल पुग्नुभयो। 

पानी बग्यो तर ब्यथा पटक्कै लाग्दैन। ब्यथा लाग्ने सुईं दिएको छ, एकछिन दुख्छ, फेरि हराउँछ। समय-समयमा आएर खोई घर खुल्यो भन्दै हेर्दै फर्कन्थे। मलाई डाक्टर र नर्स अगाडि देख्यो कि रिस उठ्थ्यो। मलाई अप्रेसन गरिदेऊ भनेर कराइरहन्थें।

ऋामा र सासु मसँगै हुनुहुन्थ्यो। बिहान ४ बजे हस्पिटल पुगेको मान्छेलाई साँझ ८ बजेसम्म त्यत्तिकै ब्यथाको औषधि दिएर राखियो। पछि डा. केशरीले आन्टीले तिम्रो छोरीले बल गरेन, अप्रेसन नै गराउनुपर्ने भयो भन्नुभयो।

राति ९ बजेतिर अप्रेसन थिएटरमा लगियो। म अप्रेसन गरेर बच्चा जन्माउन पाएको दंग थिएँ। त्यतिबेलासम्म मेरो आमा र श्रीमान् मात्रै हस्पिटलमा हुनुहुन्थ्यो। मलाई अप्रेसन रुममा लगेर तलको भाग लठ्याइयो। चिकित्सकको ७/८ जनाको टोली थियो। साथमा बिन्दिया मा पनि सँगै हुनुहुन्थ्यो। कसैले मलाई गीत सुनाउँदै हुनुहुन्थ्यो। कट्कट् काटेको आवाज चाहिं सुनेको थिए, तर कहाँ काटेको, के गरेको केही अत्तोपत्तो थिएन। 

एक्कासि बच्चा रोएको आवाजले म झस्किएँ। मेरो छात्तीमा बच्चा राखेर ल छोरी हेर भन्दा मैले संसार जितेको महसुस भयो। ठूला-ठूला आँखा, कालो कपाल अनि मलाई पुलुपुलु हेरेर मुखले खान खोजेको जस्तो एक्सन थियो छोरीको। ओहो! त्यो बच्चालाई कहिले ट्याप्प समाएर राखु जस्तो भयो।

एक छिनपछि टाँका सिलाएर मलाई वार्डमा लगियो। बिन्दिया माले छोरीलाई मेरो दूध खुवाउन लगाउनुभयो। लामो समय त्यहीँ नर्स भएकोले उहाँलाई यसको सबै अनुभव थियो। दूध खुवाउँदा बच्चालाई उहाँले नै समाउनुभएको थियो।

लामो समय पानी बगेकोले बच्चालाई इन्फेक्सन भएकोले ८ दिनपछि मात्रै अस्पतालबाट घर पठाइयो। त्यति सानो बच्चालाई सियोले घोचेर औषधि दिइन्थ्यो। ऊ चिच्चाएर रुँदा मलाई गाह्रो हुन्थ्यो। हस्पिटलमा हुँदा कहिले बिन्दिया मा, कहिले मा, कहिले नन्द बन्दना त कहिले शोभा आन्टी बसेर हाम्रो केयर गर्नुभयो।

हस्पिटलमै आमाजु आएर छोरीको छैठी पूजा गर्नुभएको थियो भने न्वारनको दिन घर पुगेका थियौं।

एक महिनापछि माइतीबाट मासु खुवाउन आएपछि माइती गएँ। पूरै दुई महिना माइतीमा सुत्केरी स्याहार पाएँ। मलाई घामको एलर्जी थियो, घाममा बस्यो कि टाउको दुख्ने। त्यही कारण घाममा त्यति बसिनँ। हिटर र आगो मात्रै ताप्थें। घाममा कम बस्दाको परिणाम होला, अहिले जिउहरु कटकट दुख्ने हुन्छ। 

मलाई बच्चा फकाउन त्यति नआउने। तर आफ्नो बच्चा भएपछि केयर गर्ने, खेलाउने र रमाउने त्यत्तिकै हुँदोरहेछ। मेरी छोरी सानोमा उसले भनेकै  समयमा दूध खाइहाल्नुपर्ने स्वभावकी थिइन्। दूध खान खोज्दा खान पाइन भने रोएर जात्रै गर्ने। त्यसका लागि मैले ब्रेस्टमा चेन भएको लुगाहरु डिजाइन गरेर बनाउन थालें। त्यस्तो लुगाले छोरीले खान खोज्नासाथ खुवाउन सजिलो हुन्थ्यो। 

०००
बच्चा तीन महिनाको भएपछि म नियमित अफिस जान थालें। अफिस गएपछि दिउँसो बोतलको दूध खुवाउन सुरु गरें। दिउँसो बच्चालाई सासुले हेरिदिनुहुन्थ्यो। मैले अफिसमा ढिलो गएर छिटो फर्किने व्यवस्था मिलाएको थिएँ।

बच्चा ७ महिना लाग्दै गर्दा इमाडोलमा घर बनाउन सुरु ग¥यौं। सासु दिनभरि उतै बस्नुपर्ने भएकोले हामीले छोरी नूरलाई बेबी जोन प्री-स्कुलको डेकेयरमा राख्यौं। तर मलाई अफिस बस्दा उसको मात्रै याद आउने। कामकाजी महिला भएकोले छोरीलाई दिनुपर्ने समय दिन पाइनँ कि भन्ने अहिले पनि लाग्छ। तर उनी स्कुल नजाने भनेर कहिले रोइनन्। 

छोरीलाई सानैदेखि चिसोले छोइहाल्ने, रुघा लागिहाल्ने। रुघा लाग्यो कि कान पाक्ने। त्यो समस्याले उनलाई धेरै नै पिरोल्यो। महिनामा एक/दुई पटकसम्म पनि एन्टिबायोटिक्स खानुपर्थ्यो। दुखेर छोरी रातभरि रुन्थिन्। पछि  इनटी सर्जन डा. कुञ्जन आचार्यले उपचार गर्न थालेपछि कान पाक्ने समस्या हल हुँदै गयो।

छोरीलाई फेरि टन्सिलले दुःख दियो। घरमा खुवाउन नसकिने, बिरामी भएपछि पनि खुवाउनको लागि डेकेयरमा समेत लैजान्थें।

उनी ७ वर्षको उमेर हुँदा ४/५ दिन केही खाइनन्। तिहारको समय थियो, कुकुर पूजाको दिन प्रायः सबै क्लिनिक बन्द थिए। उनलाई हेर्ने डाक्टर आचार्य पनि भारतमा हुनुहुन्थ्यो। बागबजारस्थित इनटी हस्पिटलमा तीन दिन भर्ना गरेर राख्यौं। मेरो जीवनको सबैभन्दा गाह्रो क्षण पनि त्यही थियो। 

अहिले छोरी नूर १२ वर्षकी भइन्। उनी मेरो साथी जस्तै छिन्। सबै कुरा मसँग सेयर गर्छिन्। अहिले उनले आफ्नो बुबाले बजाउने इसराज बाजा बजाउन पनि सिकिरहेकी छिन्। छोरी घरमा हुँदा घरको रौनक नै बढ्दो रहेछ। 

छोरी २/३ वर्षकी भएपछि घरबाट छोरा एउटा पाउनुपर्छ भन्ने प्रेसर पनि नआएको होइन। तर हामीलाई छोरा र छोरीमा केही फरक लाग्दैन। त्यसमा पनि छोरी नै मनपर्ने। पहिले-पहिले कमाउने, पाल्ने र मृत्युपछिको संस्कारको लागि छोरा चाहिन्छ भन्ने मान्यता थियो। तर अहिले छोरीहरु छोरा सरह कमाउँछन्। आमाबाबुलाई हेर्छन् र मृत्युपछि पनि सबै कर्महरु छोरीले पनि गर्ने थालेका छन्। त्यसैले छोरा-छोरी बराबरी भन्ने सोच सबैमा छ। 

केही समयअघि छोरी र म ‘आमा’ चलचित्र हेरि रहेका थियौं। चलचित्रमा सुरक्षाले दाहसंस्कार गरेपछि कपाल खौरेको देखेपछि नूरले ममी मैले पनि पछि कपाल खौरिनुपर्छ भनेर सोधिन्। म एकछिन ट्वाँ परे। तर मनदेखि खुसी भए। म छोरीकी आमा भएकोमा गर्व गर्छु।

यो पनि

२५ पुस, २०७८, १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।