उकेरा कोलम

क्याप्टेन कोमलको प्रसव पीडा र खुसी : जहाज हल्लिँदा मनै चिसो हुन्थ्यो


सन् २००८ देखि बुद्ध एयरबाट उडान यात्रा सुरु गरेकी कोमल बस्नेत तीन वर्षयता चेन्नईको इन्डिगो एयरलाइन्समा क्याप्टेनका रुपमा कार्यरत छिन्।

सन् २०१४ मा बुद्ध एयरकै क्याप्टेन शिखर ढकालसँग विवाह गरेकी कोमल त्यसको दुई वर्षपछि नै गर्भवती भइन्। सक्रिय जीवनशैली, पारिवारिक सपोर्ट र सकरात्मक सोचले ९ महिनाको गर्भावस्थामा खासै गाह्रो नभएको उनको अनुभव छ। 

गर्भवती हुँदाको अवधिमा खासै गाह्रो नभए पनि जन्मिएको तीन दिनमै बच्चालाई जन्डिस देखा परेर भने उनले ठूलै तनाव झेल्नुपर्‍यो। प्रसव पीडा, बच्चा जन्मेपछिको खुसी र करिअरका विषयमा क्याप्टेन कोमलले उकेरासँग साटेको अनुभव यस्तो छः

म सानैदेखि हरेक काम प्लानिङ अनुसार दत्तचित्त दिएर गर्ने स्वभावकी थिएँ। मैले पाइलटको रुपमा काम गरेको पाँच वर्षपछि सँगै काम गरेका शिखर ढकालसँग विवाह गरें।

हामी जुनियर फस्ट अफिसरको रुपमा बुद्ध एयर प्रवेश गरेका थियौं। हामी दुवैको पुर्ख्यौली घर विराटनगर। त्यसमा पनि पहिलेदेखि नै हाम्रो पारिवारिक सम्बन्ध सुमधुर थियो। 

अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेर आएपछि एफआरओ कक्षा लिने शिखर र मेरो भेट भयो। त्यसपछि हामी क्लोज साथी भयौं। एउटै पेसा भएकोले एकले अर्काको गाह्रो-साह्रो बुझ्थ्यौं। एक-अर्कालाई मन पराउने थाहा पाएपछि घरबाट मागेरै हाम्रो विवाह भएको थियो।

०००
मलाई बच्चा एकदमै मन पर्ने। एउटी महिलालाई सन्तानको मोह नहुने कुरै भएन। 

एयरलाइन्समा त्यतिबेला क्याप्टेन भएको लामो समयपछि गर्भवती हुँदाको प्रिभिलेन्स निकै राम्रो थियो। बिदा र सेवा-सुविधाहरु पनि राम्रै थियो। बच्चा पाउन नै हो भने ढिला किन गर्ने भन्ने हामी श्रीमान्-श्रीमतीबीच सल्लाह भयो। 

विवाह भएको दुई वर्ष पूरा भएपछि हामीले डाक्टरसँग सल्लाह गरेर बच्चाको प्लान गरेका थियौं। केही समयमै बच्चा कन्सिभ भइहाल्यो।

मेरो मेटमा बच्चा बस्यो भन्ने थाहा पाउँदा सुरुमा केही अचम्म लागे पनि बच्चा पाउने कुरा मन र दिमागमा सेट भएकाले सामान्य नै लाग्यो। तर करिअर र बच्चालाई सँगै लैजान गाह्रो हुने पो कि भन्ने चिन्ता भने मनको कुनामा थियो नै। तर श्रीमान् र सासु-ससुराको सपोर्टले त्यस्तो कुरा विस्तारै हरायो।

मेरा धेरै साथी तथा दिदीहरुले गर्भवती हुदा एलर्जी हुने, बान्ता हुने, खान मन नलाग्ने जस्ता कुरा सुनाउँथे। तर मलाई त्यस्तो केही भएन।

डाक्टरको सल्लाहमा मैले पेटको बच्चा चार महिनाको हुँदासम्म बिहान १/२ वटा फ्लाइट उडाइरहें। कहिलेकाहीँ जहाज बढी हल्लियो मनमा चिसो पस्ने र हल्का डर भने लाग्थ्यो। चार महिनापछि भने उडान प्याकअप गरें।

पाँच महिनापछि सिभिलेटरको प्रशिक्षण लिएर घरमै बसें। तर घरमा पनि आरामका नाममा त्यत्तिकै सुतेर भने कहिल्यै बसिनँ। ममीहरुले भनेको सुनेको थिएँ, गर्भवती हुँदाको समय जति सक्रिय र फ्रेस भयो, उति बच्चा र आमालाई सजिलो हुन्छ। त्यही भएर घरको सबै कामहरु आफैं गर्थें। 

बाहिरको खाना खान मन नलागे पनि घरमा आफैंले बनाएको दाल, भात, तरकारी र फलफूल भने मज्जाले खान्थें। मासु चाहिँ कमै खान्थें। गर्भवती हुँदा ५२ केजीकी म बच्चा पाउने बेलातिर ८० केजीसम्म भएँ।

हरेक दिन बिहान र बेलुका खुबै हिँड्थें। ममीहरुले भनेको कुराहरु सुन्थें। उहाँहरु अनुभवी भएकाले ममीहरुको सल्लाहअनुसार नै म एकदमै सक्रिय भइरहें। फिट प्रेगनेन्सीले राम्रो हुन्छ भन्ने सोचले मलाई अल्छी भएर बस्न दिएन। दिउँसो घरमा सासु र ससुरासँग गफ गरेर बस्थें। उहाँहरुको इमोसनल सपोर्ट थियो। नजिकै भएकोले माइती पनि गइरहन्थें। मलाईसजिलो भएको पारिवारिक सपोर्ट नै हो। 

०००
पेटको बच्चा साढे सात महिनाको भएपछि चाहिँ निकै गाह्रो भयो। दाँतको इन्फेक्सन भएर मेरो मुख सुन्नियो। सहनै नसक्ने गरी दुखेपछि आफैंले पेन किलर खाइदिएँ। त्यसपछि बच्चा चलेको फिल नै भएन। रातभरि सुतिनँ। रातभरिमा एक पटक पनि बच्चा चलेको याद भएन। बिहान पनि चलेन।

त्यसपछि मेरो हंसले ठाउँ छोड्यो। बिहान हस्पिटलमा गयौं। सबै जाँचेपछि डाक्टरले बच्चा ठिक छ भन्नुभयो। बल्ल आनन्द महसुसु भयो। इन्फेक्सन भएको बुद्घि बंगरा पनि निकालियो। सात महिना खासै केही नभएको मलाई दाँतको कारण दुःख मात्रै भएन, सातो पनि उड्यो।

मोटाउँदै गएपछि पहिलेका लुगाहरु ठिक हुनै छोडे। मेरो र शिखरको दिदी बाहिर भएकोले लुगाहरुपठाइ दिनुहुन्थ्यो। तर मैले त्यो समय सबैभन्दा बढी शिखरकै लुगाहरु लगाएँ। उनको टिसर्टहरु नै सजिलो लाग्थ्यो। 

०००
डाक्टरले बच्चा जन्मिने समय दिएकै बेला श्रीमान् नेपाल बाहिर जानुपर्ने भयो। श्रीमान् भएकै बेला बच्चा जन्माउने मेरो रहर थियो। त्यही कारण समयभन्दा दुई हप्ता अगाडि अप्रेसन गरेर बच्चा निकाल्यौं। बच्चा त आमा-बुबा दुवैको अंश हो नि। जन्मेको बेला बुबाले पनि त हेर्न पाउनुपर्‍यो नि।’

डाक्टरहरु गफ गर्दै अप्रेसन गरिरहेका थिए। मलाई बच्चा निकालेको थाहा नै भएन। बच्चा निकालेर छातीमा राखिदिएपछि पो झसंग भएँ। कस्तो प्यारो अनुभूति, स्वर्गमै पुगे जस्तो लाग्यो। दुई मिनेटजति छातीमा राखेपछि बच्चा शिखरलाई दिए। मलाई भने दुई घण्टापछि रुममा लगेपछि मात्र बच्चा दिइयो। 

दूध नआएकोले ३/४ दिनसम्म बच्चाले मेरो दूध खान पाएन। पछि विस्तारै दूध आउन थाल्यो। सुरुमा खाएन। पम्पले निकालेर बोतलबाट खुवाउन थाल्यौं। त्यही बानी परेपछि हरेक दुई घण्टामा पम्पले दूध निकालेर बोतलमा राख्दै खुवाउँथे। फ्लाइटमा जाने बेला पम्पले दूध निकालेर फ्रिजमा हालेर जान्थें। बच्चाले ६ महिनासम्म मेरो दूध खायो। 

०००
दुई दिनपछि हस्पिटलबाट घर फर्कें। घर फर्केको केही दिनपछि बिसिजी खोप लगाउन हस्पिटल लैजाँदा छोरालाई जन्डिस देखियो। उसलाई एनआइसीमा राखियो। मेरो जीवनकै सबैभन्दा ठूलो पीडा थियो त्यो। बच्चालाई भेट्ने त कुरै छोडौं, हेर्न समेत दिँदैनथे। तीन दिनको हस्पिटल बसाइमा मेरो हालत खराब भएको थियो। 

घरमा राम्रो सुत्केरी स्याहार पाएँ। तेल लगाउने दिदीले मालिस गरिदिने, शिखरको ममीले सन्तुलित खाना खुवाउने गर्नुभयो। अप्रेसन गरेको घाउ निको नभएसम्म बच्चालाई खुवाउने, डाइपर लगाइदिनेदेखि सबै काम उहाँले नै गर्नुभयो। 

८० किलोको म चार महिनाभित्र ५८ केजीमा झरें। बच्चाको पास्नीको बेला त ५५ केजी  भएँ। गर्भवतीमा फिट भएर होला, तौल सजिलैसँग घट्यो। बच्चा तीन महिनाको हुँदा ट्रेनिङ गरेर चार महिनामा त प्लेन उडाउनै गएँ।

बिहानको उडानमा छोरालाई सासुले सुताउनुहुन्थ्यो। त्यो बेला बच्चाको याद भने निकै आउने। के गरिराखेको होला, के खायो होला जस्ता कुरा मनमा आउँथ्यो। 

०००
बच्चाको पास्नीपछि हामी भारतको चेन्नई गयौं। बच्चा चेन्नई हाम्रो करिअरको प्लस प्वाइन्ट बन्यो। बच्चालाई तेल लगाउने दिदीलाई पनि सँगै चेन्नई लग्यौं। जसले गर्दा हामीलाई करिअरमा अघि बढ्न गाह्रो भएन।

अहिले बच्चा चार वर्षको भयो। फ्लाइटबाट फर्केर आउँदा दगुर्दै काखमा आएर बस्छ। मेरो करिअरका लागि बच्चा कहिल्यै बाधा बनेन। झन् प्रगति हुँदै गयो। 

मेरो अनुभवमा हरेक गर्भवती महिलालाई श्रीमान्, परिवार र अफिसबाट मेन्टली सपोर्ट भयो भने ९ महिनाको समय खासै गाह्रो नहुने रहेछ। 

आमा बनेपछि सोच र व्यवहारले मलाई थप परिपक्व बनाउँदै लग्यो। आमा बनेपछि जीवन र दृष्टिकोण पनि फराकिलो हुने रहेछ। बच्चा पाएपछि ममा आत्मविश्वास पनि ह्वात्तै बढेको अनुभव भयो। मातृत्वको शक्ति अपरम्पार रहेछ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....