सञ्चारकर्मी आरती लम्सालको प्रसव पीडा र खुसी : बच्चाले किक हान्दाको आनन्द

सञ्चारकर्मी आरती लम्सालको प्रसव पीडा र खुसी : बच्चाले किक हान्दाको आनन्द

एक दशकदेखि पत्रकारितामा सक्रिय आरती लम्साल हाल बिएफबिएस गोर्खा रेडियोमा कार्यरत छिन्। 

सञ्चारकर्मी अनिल परियारसँग अन्तरजातीय विवाह गरेकी आरती पछिल्लो समय जातीय विभेद विरूद्धको अभियान समेत चलाइरहेकी छन्।

विवाह भएको सात महिनामा गर्भवती भएकी आरतीसँग प्रसवका अनगिन्ती पीडा र खुसीको अनुभव छ। आरती आफ्नो प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्:

धादिङमा जन्मिए पनि म काठमाडौंमा हुर्किएँ, यतै पढें। छोरीलाई राम्रो शिक्षा-दीक्षा दिनुपर्छ, छोरीको भविष्य बनाउनुपर्छ भनेर बुबाले मलाई काठमाडौं ल्याउनुभएको थियो।

०००
१२ कक्षा पढ्दै गर्दा सन् २००९ मा मैले क्लासिक एफएममा कामका लागि अप्लाई गरेँ। सेलेक्ट भएपछि त्यहाँ काम गर्न थालेँ। बुबालाई देख्दै र सुन्दै हुर्केकाले मलाई पनि रेडियोतिरै रुचि भयो।

क्लासिक एफएममा काम गर्दा गोरखाका अनिल परियारसँग मेरो भेट भयो। त्यहाँ मलाई काम सिकाउने जिम्मा अनिलको भयो। 

काम गर्दै जाँदा म र अनिल नजिकियौं। सँगै समाचार पढ्ने, कार्यक्रम पनि सँगै सञ्चालन गर्ने। जतिबेला पनि हामी सँगसँगै हुन्थ्यौँ। सहकार्य गर्दागर्दै सामिप्यता बढ्यो भयो र त्यो सामिप्यता प्रेममा बदलियो।

तीन वर्षपछि म क्लासिक एफएम छोडेर गोर्खा एफएममा काम गर्न थालेँ। केही समय त्यहाँ काम गरेपछि एभिन्युज टेलिभिजन गएँ। काम र पढाइ दुवै निरन्तर रुपमा चल्यो। 

६ वर्षको प्रेम सम्बन्धपछि अनिल र मैले २०७२ सालमा विवाह गर्ने निधो गर्यौं। म त्यतिबेला २४ वर्षकी थिएँ।

विवाह गर्ने निर्णयमा त पुग्यौं तर अन्तरजातीय विवाह त्यति सजिलो थिएन। त्यसैले विवाहका लागि भूकम्पको समय उचित सम्झ्यौं। किनकी, विपद्को समयमा सबैको ध्यान आफ्नै सुरक्षामा हुने भएकोले हामीप्रति कसैले चासो राख्दैन भन्ने हाम्रो बुझाइ भयो।

विवाहपछि एक हप्ता पोखरामा बिताएपछि गोरखास्थित घर पुगेर काठमाडौँ फर्किएँ। त्यसपछि कामलाई नै निरन्तरता दिएँ। हाम्रो विवाहलाई मेरो बुबाले सपोर्ट गर्नुभयो। खुकुरीको धारमा हिँड्नु परे पनि म हिँड्छु, तिमीहरु अगाडि बढ भनेर बुबाले हौसला दिएपछि हामीलाई हिम्मत पनि बढ्यो। परिवारको साथ-सहयोग जस्तो ठूलो कुरा जीवनमा अरु केही नहुने रहेछ। 

०००
विवाहको सात महिनापछि म गर्भवती भएँ। पाटन अस्पतालमा प्रकाश थापा मगर भन्ने एक जना दाइ काम गर्नुहुन्थ्यो। उहाँसँगै सल्लाह लिएर मैले पाटन अस्पतालमै चेकअप गराएँ। पेटमा बच्चा आइसकेपछि अनिलको र मेरो खुसीको सीमा नै थिएन। 

गर्भवती भएको चार महिना मलाई निकै गाह्रो भयो। खानेकुरा केही नरुच्ने। त्यो अविधिमा पानीमात्र खाएर बाँचे। 

पेटको बच्चा तीन महिनाको भएपछि नियमित चेकअपका लागि जाँदा डाक्टरले बच्चा उल्टो बसेको र जुनसुकै बेला पनि खेर जान सक्ने बताए। त्यो सुनेर म अस्पतालमै बेस्सरी रोएँ। 

त्यसपछि कमलपोखरीमा रहेको एसएमएस क्लिनिकमा गाइनोलोजिस्ट डा. विमला मल्ललाई देखाएँ। डा. विमलाले यो प्राकृतिक विधि भएको र ९ महिनासम्म साल घुमिरहने बताउनुभयो। बच्चा पेटमा भएका बेला हिँडडुल गर्यो भने जन्माउन सजिलो हुन्छ भनेर उहाँले थप काउन्सिलिङ पनि गर्नुभयो।  

चार महिनासम्म पानी मात्र खाएको म त्यसपछि त जे देखे पनि खाने भएँ। मैले त्यो बेला केक खुब खाएँ। 

मेरो पेट निकै ठूलो थियो। पेट ठूलो देखेर साथी तथा आफन्तहरु जुम्ल्याहा बच्चा छ? भनेर सोध्थे। मलाई उठ्न, बस्न र सुत्न निकै गाह्रो हुन्थ्यो। जता फर्केर सुत्यो उतै पेटको बच्चा पल्टेको थाहा पाउँथें। बच्चा पेटमा हुँदा ढाड दुख्ने समस्या पनि बढी नै भयो। 

बच्चा ६/७ सात महिनाको हुँदा पेटमा चलेको, खेलेको सबै अनुभव हुन्थ्यो। बच्चाले खुट्टा चलाउँदा, किक हान्दा सबै दुखाइ र समस्या हराएको अनुभव हुन्थ्यो। पेटमा बटरफ्लाई भएको अनुभव हुन्थ्यो। त्यो क्षण यति आनन्दको हुने रहेछ कि सबै समस्या त त्यसै गायब। 

हामी श्रीमान्-श्रीमती दुई जना मात्र बस्ने भएकाले मेरो हेरचाह श्रीमानले नै गर्नुहुन्थ्यो। श्रीमानलाई छोरीको चाहना थियो। उहाँले छोरी नै पाइदिनुपर्छ भनिरहनुहुन्थ्यो जहिले पनि।

हामी एक दिन अंग्रेजी फिल्म हेरिरहेका थियौँ। त्यसमा हिरोको नाम आयर थियो। त्यो बेला हामीले छोरी नै हुन्छ भनेर त्यही हिरोको नामबाट छोरीको नाम पनि जुराएका थियौँ, आयरा।

पेट बढ्दै जाँदा पनि मैले कामलाई भने निरन्तरता दिइनै रहेको थिएँ। तर ढाड दुख्ने समस्या बढेपछि भने काम छोडेँ। काममा जाँदा भने साथी एलिसाले मलाई निकै सहयोग र हेरचाह गर्थिन्।

०००
डाक्टरले भदौमा बच्चा जन्मिने समय दिएका थिए। जन्मने समय आइपुग्नै लाग्दा बच्चा चल्दै चलेन। साँझ-बिहान निकै चल्ने बच्चा एक्कासि नचल्दा के भयो भनेर आत्तिएँ। हस्पिटल गएँ। चेकअप गर्दा बच्चा नर्मल भएको जानकारी पाएँ। त्यसपछि बल्ल मनमा आनन्द भयो। 

डाक्टरले दिएकै समयमा मेरो बच्चा जन्मिएको हो। म भुइँमा बसेर खाना खाइरहेको थिएँ। एक्कासि पानीमाथि बसेको अनुभव भयो। मलाई व्यथा लाग्न सुरु भएको थाहा भयो। 

खाना खाएर धन्दा सकेपछि हस्पिटल जानका लागि चाहिने सबै सामान प्याक गरेँ। घर नजिकै भएकाले श्रीमान् र म हिँड्दै अस्पताल पुग्यौँ। 

अस्पताल पुगेपछि यस्तो अवस्थामा पनि लापरबाही गर्ने भनेर डाक्टरले गाली गरे। साढे एक बजेतिर नै पानी बगेको थियो। हामी भने ४ बजे मात्र अस्पताल पुगेका थियौं।

हस्पिटलमा भर्ना भएँ। तर व्यथाको कुनै अनुभव नै छैन। ओल्लो-पल्लो बेडका महिलाहरु दुख्यो भनेर चिच्याइरहेका थिए। मलाई भने पेट समेत दुखेको छैन। ७ बजिसक्दा पनि व्यथा नै लाग्दैन।

डाक्टर आएर हेरेपछि एउटा औषधि खान दिए। मलाई केही भएन। आनन्दसँग निदाएँ। 

त्यो बीचमा मलाई पिसाब आउलाजस्तो हुने तर नआउने भएको थियो। पिसाब नआएपछि डाक्टरले अर्ग्यानमा पाइप हालेर पिसाब निकालिदिए। त्यो बेला भने बेस्सरी दुख्यो। लाग्यो, योभन्दा ठूलो कुनै दुखाइ नै हुँदैन। अहिले सम्झिँदा पनि सिरिङ्ग हुन्छ।  

बिहान ४ बजेतिर डाक्टर आएर सुई लगाइदिए। त्यो औषधिले पनि काम गरेन। व्यथा नै लागेन। फेरि ८ बजे अर्को सुई लगाइयो। त्यसपछि भने महिनावारी हुँदा जस्तै पेट दुखेको अनुभव भयो। सामान्य दुखाइ छ। राम्रोसँग व्यथा नै लागेको छैन। 

दिउँसोको १ बज्यो। डाक्टर आएर हेरे। उनले ६ घर खुलेको रहेछ, ८ घर खुलेपछि बच्चाको टाउको निस्किन्छ, हेर्नुहोला है भनेर गए। 

मेरा देवरानी-जेठानीहरु त्यहीँ हुनुहुन्थ्यो। एकै छिनमा उहाँहरु कपाल देखियो भनेर चिच्याउनुभयो। त्यसपछि मलाई अर्को कोठामा लगियो। डाक्टरले पोजिसनमा राखेर बल गर्न अह्राए। बल गर्नूस्, नत्र बच्चालाई गाह्रो हुन्छ, बच्चाको घाँटी च्यापिन्छ भनेर डाक्टरले भनिरहेका थिए। म चाहिँ बल गर्नै सकिरहेको थिइनँ। 

धेरै कोसिस गर्दा पनि नभएपछि डाक्टरले फेरि घर काटिदिए। बल्ल छोरी जन्मिइन्। छोरी त गोरी, झलझल बलेकी, एकदम राम्री। बच्चा देख्ना साथ मेरो मुखबाट निस्क्यो, ‘वाउ, कस्ती राम्री।’ 

डाक्टरले बच्चाको चेकअप गरे। बच्चा ल्याएर नर्सले मेरो छातीमा टाँसिदिइन्। त्यो बेला म निकै रोएँ। त्यो खुसीको आँसु थियो। अनि नर्सले भनिन्, ‘नरुनूस्, तपाइँकै बच्चा हो नि, रोयो भने आँखा दुख्छ।’

काटेको घाउ डाक्टरले सिलाइदिए। अनि त्यहाँबाट ह्विल चियरमा राखेर मलाई बाहिर ल्याए जहाँ श्रीमान् मेरो पर्खाइमा हुनुहुन्थ्यो। त्यो क्षणमा हामी तीनै जना अँगालो हालेर रोयौँ। त्यो खुसीको क्षण थियो। श्रीमानको छोरीको चाह पनि पूरा भयो। 

बच्चा जन्मेको भोलिपल्ट हामी घर आयौँ। घर आएपछि छोरीले दूध नै चुसिनन्। रोएको रोयै गरिन्। 

अस्पतालबाट घर फर्किने बेला बच्चालाई तेल नलगाउनुहोला, अहिले जन्डिस देखिएको छ भनेर प्रकाश दाइले भन्नुभएको थियो। घरमा आमाले बच्चालाई सेकेर तेल लगाइदिनुभयो। त्यसपछि बच्चालाई जन्डिस भएछ। अनि दूध नपुगेर पनि बच्चा रोएको रहेछ। मेरो निप्पल ठूलो भएकाले बच्चाले चुस्न नसकेको रहेछ। प्रकाश दाइ हेर्न आएको भएर समस्या थाहा भयो। अर्को निप्पल लगाएर दूध चुसाएपछि बच्चा रुन छाड्यो। 

बच्चाले दूध चुस्दा मेरो निप्पलको सबै छाला गएर एकदमै दुख्थ्यो। त्यो दुखाइ यस्तो थियो कि बच्चाले अब नचुसे हुन्थ्यो लाग्थ्यो। त्यो घाउ २५ दिनपछि सन्चो भयो। 

०००
नानी १८ महिनाकी भएपछि करिअरलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो। त्यही बेला म अमेरिका जाने भएँ। बच्चा छोडेर हिँड्नुपर्दाको पीडा असह्य थियो। तर छोरी भएपछि हाम्रो लाइफ नै चेन्ज भयो। प्रगति पनि गरियो। छोरी जन्मिएपछि हाम्रो लक लाग्यो। 

अहिले नानी मामाघर बस्छिन्। बुबा-आमाले नै हेर्नुहुन्छ। कामको सिलसिलामा हिँडिरहनु पर्दा छोरीले हामीसँग समय बिताउन पाइनन् भन्ने लागिरहन्छ।  

०००
प्रसव पीडा जति दर्दनाक हुन्छ, उति नै पतिको साथ र प्रेमले त्यो दर्द मेटाउन मद्दत गर्छ। उसले मेरो पेट नै बोकेर हिँड्न नसके पनि सबै जिम्मेवारी बहन गर्छ भने त्यसको सुखानुभूति अलग हुन्छ।

मैले आफूलाई बलियो बनाएँ। त्यो पीडामा रुने-कराउने गरिनँ। किनभने, मलाई शारीरिक पीडा त थियो तर मानसिक रुपमा मेरा श्रीमानलाई झन् चिन्ता थियो। सानो-सानो कुरामा, सानो-सानो घाउमा रोएर घर नै उचाल्ने आफ्नी बुढीले प्रसव पीडा कसरी सहली भन्ने पिर थियो मेरा श्रीमानलाई। 

मेरो घरमा सबैको तनावको विषय नै सानो-सानो कुरामा हंगामा मच्चाउने मेरो बानी थियो। यसले बच्चा हुने बेलामा अस्पतालमा नै हंगामा गर्छे भन्ने सबैलाई लागेको थियो। तर त्यसको ठ्याक्कै उल्टो भयो। अस्पतालमा त म सबै भन्दा ज्ञानी, नरुने, नकराउनेमा परेँ।

०००
आमा हुनु भनेको आफ्नो बाबु-आमालाई, उहाँहरुको प्रेम र त्यागलाई बल्ल बुझ्नु हो। आफ्नो भोक निद्रा र आफ्ना लागि समय खोज्न बिर्सनु हो। अभिभावकत्व भनेको कुनै पनि मानिसले अर्को मानिसको जीवनमा खेल्ने सबैभन्दा महत्त्वपूर्ण भूमिका हो। आफ्नो सन्तानलाई मानवताको बहुमूल्य पाठ सिकाउने महत्वपूर्ण समय हो। 

मातृत्वले दिएको आनन्द अरू कुनै कुराले दिनै सक्दैन जस्तो लाग्छ। भावनाको त्यो सागरमा डुबुल्की नमारी जीवनको अरु पाटोको कल्पना पनि गर्न सकिन्नँ। पहिलो प्राथमिकता नै आफ्नो सन्तान हुनु हो। मिठो सुखको अनुभूति हो। जिन्दगीको सबैभन्दा सही निर्णय हो, जसले जीवनको नयाँ उद्देश्य दिन्छ। 

छोरीको हाँसो, मुस्कान र नयाँ-नयाँ उपलब्धिहरूले गर्व महसुस हुन्छ। अनि आफ्नो जीवनमा आइपरेका जति पनि दु:खहरु सहजै भुल्न सकिन्छ।

कामबाट घर फर्किएपछि उसको अँगालो र बोलीले सबै थकान भुलाइदिन्छ। छोरीमा आफ्नो बालापन पाउँछु म। ऊ खुसी हुँदा म खुसी हुन्छु अनि ऊ रुदाँ म पनि सँगै रुन्छु। मलाई लाग्छ, आमाभन्दा आत्मीय नाता संसारमा अरु कुनै छैन।

यो पनि

१ फागुन, २०७८, १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।