मेरो बाल्यकाल पाटनको नकबहालमा बित्यो। सानोमा म निकै चुलबुले स्वभावकी थिएँ। खेल्न, कुद्न र गफ गर्न एकदमै मन पर्ने। मेरो एक जना दाइ, भाइ अनि म। दाइभाइको पछि लागेर क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिस खुब खेल्थेँ।
खेलप्रतिको लगाव देखेर बुबाले मलाई खेलाडी बन्न प्रेरित गर्नुहुन्थ्यो। उहाँ टेबल टेनिस खेलाडी। नेसनल लेभलमा नपुगे पनि कलेज लेभलमा राम्रै खेल्नुहुन्थ्यो।
म ८ वर्षको हुनेवित्तिकै बुबाले मलाई पाटन तेक्वान्दो डोजाङमा तेक्वान्दो सिक्न पठाउनुभयो। सुरुमा मैले ईश्वरमान बज्राचार्यसँग सिकें। उहाँ नै मेरो पहिलो गुरु हुनुभयो।
सानोमा मलाई डाक्टर बन्ने इच्छा थियो। तर पढाइ र खेलकुद सँगसँगै लगेँ। खेल चाहिँ रुचिका कारण खेलेकी हुँ।
०००
धनगढीका तेक्वान्दो खेलाडी दीपक विष्टसँग मेरो पहिलो भेट सन् २००० मा भएको हो। त्यतिबेला म जुनियर लेभलमा खेल्थें भने उहाँ नेसनल आइडल भइसक्नुभएको थियो।
पहिलो भेटमै उहाँ मलाई एकदमै मन पर्यो । किनभने, उहाँ गोल्ड मेडलिस्ट हुनुहुन्थ्यो। उहाँसँग भेटौँ, बोलौँ, खेलौँ जस्तो हुन्थ्यो।
विस्तारै उहाँसँग कुराकानी हुन थाल्यो। हामी पनि पाटनबाट सरेर शंखमुल बस्न थालेका थियौं। उहाँको पनि बसाइ शंखमुल नै। म टोलीमा छनोट भएपछि त उहाँसँगको भेटघाट बाक्लिन थाल्यो। हामी नजिक हुन थाल्यौं। र, हाम्रो सम्बन्ध प्रेममा परिणत भयो।

५/६ वर्षको प्रेम सम्बन्धपछि हामीले विवाह गर्ने निर्णय गर्यौं। सन् २०११ मा हामीले विवाह गर्यौं। त्यतिबेला म २३ वर्षकी थिएँ।
दीपक घरको जेठो छोरा। उहाँको घर-परिवारबाट विवाहमा कुनै समस्या भएन। उहाँ म्याचुअर भइसकेकाले पनि परिवारलाई सम्झाउन सजिलो भयो। मैलै चाहिँ सुरुमा परिवारलाई कन्भिन्स गर्न सकिनँ। तर दुई/चार महिनामा सबै ठिक भइहाल्यो।
०००
विवाह भएको दुई वर्षपछि हामीले बच्चाको योजना बनायौँ। त्यो बेला खासै खेल पनि थिएन। साफ गेम हुने भन्ने थियो। तर केही कारणबस भएन। उहाँ घरको जेठो छोरा, उहाँको र मबीच ११ वर्षको अन्तर थियो। घरबाट पनि बच्चाका लागि दबाब जस्तै थियो।
पहिलेदेखि नै म गर्भवती महिला देख्दा रमाइलो फिल गर्थेँ। दिदी गर्भवती हुँदा मलाई पेटमा भएको बच्चा चलेको देखाउनुहुन्थ्यो। त्यो बेला म निकै रमाइलो मान्थेँ। बच्चा मलाई पहिलेदेखि नै मन पर्थ्यो।
गर्भवती अवस्थामा मलाई खानामा निकै समस्या भयो। ९ महिनासम्म त राम्रोसँग खाना नै खाइनँ। खायो कि बान्ता भइहाल्ने, एकदम अल्छि लाग्ने। त्यो बेला श्रीमानले पनि अलि कडा गर्नुभयो। घरबाट बाहिर निस्कनै दिनुभएन। त्यो समय बढी नै केयरिङ भइने रहेछ। ३/४ महिना म पूरै रेस्ट गरें। त्यसपछि भने म बिहान-बेलुका एक घण्टा हिँड्ने गर्थेँ।
सुरुको ५ महिना बिताउन मलाई निकै समस्या भयो। भान्साकोठा र मेरो कोठा सँगै जोडिएको थियो। भान्सामा जे पाके पनि गन्ध आइहाल्ने। खाना पाक्यो कि रिस उठ्थ्यो।
दीपकको मामाको छोरा हामीसँगै बस्नुहुन्थ्यो। उहाँले भाउजुलाई यस्तो बेला मिठो-मिठो खुवाउनुपर्छ भनेर निकै मिहनेत गरेर खाना बनाउनुहुन्थ्यो। मलाई भने भान्सामा जे पाके पनि खान मन नलाग्ने, रिस मात्रै उठ्ने।
.jpg)
बाहिरको खाना भने अलिअलि खाएँ। मलाई मासु् मन पर्दैनथ्यो। कोरियन खाना थोरै खान्थेँ। पिज्जा चाहिँ खुब खाएँ।
म ओम हस्पिटलमा डा. भोला रिजालसँग नियमित फलोअपमा थिएँ। उहाँले मसरुम पिज्जा आमा र स्वास्थ्यका लागि राम्रो हुने सल्लाह दिनुभएको थियो। बच्चा पेटमा हुँदा अरु स्वास्थ्य समस्या त केही भएन। खाना खान नसक्ने मात्र समस्या थियो।
दिदी, आन्टीको पेटको बच्चा चलेको, खेलेको अनुभव गरेकी म आफ्नै पेटमा बच्चा चलेको महसुस गर्न पाउँदा खुब रमाइलो मान्थेँ। एकदमै खुसी लाग्थ्यो।
हाम्रो पसल थियो। गर्भवती भएको सात महिनापछि म हिँडेरै पसल जान्थेँ। धेरै समय पसलमा बिताउँथेँ। घरमा भएको बेला भने कि सुत्थेँ कि दिनभरि ‘द कपिल शर्मा शो’ हेरेर बिताउँथेँ। बच्चा सम्बन्धी केही किताब पनि पढेँ।
गर्भवती भएकै समयमा म मास्टर्स पनि भर्ना भएको थिएँ। तर बिरामी भएर बोर्ड परीक्षा दिन भने सकिनँ।
०००
घाँटीमा साल बेरिएको हुँदा मेरो बच्चा अप्रेसन गरेर निकालिएको हो। व्यथा लागेर दुई घर खुलिसकेपछि बच्चा तल आउला भन्दा सरेर माथि पुगेको थियो। त्यतिबेला ओम अस्पतालमा विवाद भइरहेको थियो। हस्पिटलले एबर्सन पनि गराउँछ भन्थे। मलाई भने डर लागिरहेको थियो।
डाक्टरले साइड चेक पनि गरेका थिए। बच्चा हुर्किसकेको छ। पेटमा नै दिसा खायो भने पनि अप्रेसन नै गर्नुपर्ने हुन्छ। त्यही भएर रिक्स लिन नहुने कुरा भयो। डाक्टरले बच्चा निकाल्ने डेट आफैँ फिक्स गर्न भन्नुभयो।

मैले डाक्टरलाई बच्चा निकाल्नु नै पर्ने भएपछि किन दिन हेराउनुपर्यो, आजै निकालिदिनूस्, मलाई धेरै गाह्रो भइसक्यो भनें। डा. रिजालकै टिमले मेरो इमर्जेन्सी अप्रेसन गर्यो। छोरा जन्मियो।
अप्रेसन गरेर बच्चा निकालिएको हुनाले मैले प्रसव पीडा अनुभव गर्न पाइनँ। यो कुरामा भने अहिलेसम्म पनि पछुतो लाग्छ। आमा बन्दाको खुसी प्रसव पीडाको बेला पाइन्छ भन्छन्, त्यही कुरा नै मैले अनुभव नै गर्न पाइनँ।
जन्मिँदा बाबु ३.३ केजीको थियो। बच्चा निकालेपछि डाक्टरले ल्याएर छातीमा टाँसिदिँदा खुसीले मेरो आखाबाट आँसु नै खस्यो। ९ महिनासम्म कोखमा राखेर हुर्काउँदै गर्दा, बच्चाकै लागि भनेर गरेको व्यायाम, खाएको खाना अनि आफ्नो ख्याल गरेको सम्झेर मन भरिएर आयो। त्यो बेला मेरो मन खुसीले गदगद भएको थियो। आफू आमा बनिसकेपछि आमा-बुबाको पनि याद आयो।
त्यो बेला मलाई गर्भवती हुँदा व्यायाम एकदमै आवश्यक हुने रहेछ भन्ने महसुस गरें। व्यायामले नै प्राकृतिक रुपमा बच्चा जन्माउनका लागि सहयोग गर्ने रहेछ।
अप्रेसनपछि म कसैको सपोर्ट बिना बाथरुम आउने-जाने गरेँ अस्पतालमा। बिना सपोर्ट हिँडेको देखेर आमाले गाली पनि गर्नुभयो। नहिँड्नु, घाउ च्यात्तिन सक्छ, अहिले केही नभए पनि पछि गाह्रो हुन्छ भन्नुभयो।
०००
चार दिनको अस्पताल बसाइपछि घर फर्किएँ। घरमा तीन महिना काम नै नगरी आराम गरेँ। दुई महिना दैनिक शरीर मसाज गरेँ। किनभने, मैले खेल्नुपर्छ भनेर परिवारले सम्झाइरहनुहुन्थ्यो।
बच्चा भइसकेपछि पनि मलाई मासु खान मन पर्दैनथ्यो। यस्तो बेला हेभी डाइट गर्नुपर्छ भन्ने छ। तर मैले त्यसरी केही पनि खाइनँ। मलाई घिउ त मनै पर्दैन। सादा दाल, भात, तरकारी नै खाएँ।
बाबु दस महिनाको हुँदासम्म घरबाट बाहिर गइनँ। हस्पिटल जानुपरे जान्थेँ नत्र घरकै सानोतिनो काम गरेर बिताउँथें। अप्रेसन गरेको स्टिचका कारण कुनै ट्रेनिङ पनि गरिनँ। सामान्य व्यायाम मात्रै गरेँ।
०००
बच्चा १०/११ महिनाको हुँदा एसियन खेलहरु हुने समाचारहरु बाहिरिए। त्यसपछि चाहिँ अब खेल्नुपर्छ भनेर डाक्टरसँग सल्लाह लिएँ, चेकअप गराएँ र आफ्नो ट्रेनिङ सुरु गरेँ।
बच्चा भइसकेपछि एसियन तथा साउथ एसियन गेम खेलेँ। त्यसमा सेकेण्ड मेडल आएको थियो। फाइनलमा भने म हारेँ। एसियन च्याम्पिएनसिप पनि खेलेँ। नेपालमै भएको माउन्ट एभरेष्ट गेम पनि खेलेँ, जसमा गोल्ड मेडल प्राप्त गरें। बच्चा भइसकेपछि मैले ५/६ वटा गेम खेलेँ।

विवाहपछि र बच्चा भइसकेपछि पनि खेललाई निरन्तरता दिँदा आलोचनाहरु पनि व्यहोर्नुपरर्यो। आमा बनेपछि पनि खेल्न आई, नाटक गर्न आई, बच्चा खेलाउन छोडेर आफू खेल्दै छे भन्ने जस्ता अनेक कुरा सुन्नुपरर्यो। तर मलाई त्यस्ता कुराले फरक पारेन। म अरुका लागि खेल्न आएको होइन, आफ्नो र देशको लागि खेलेको हुँ भनेर आफूलाई बलियो बनाइरहेँ।
बच्चा जन्मिएपछि खेलेका खेल म लगातार हारिरहेको थिएँ। मेडल ल्याओस् भन्ने सबैको आशा हुने रहेछ तर आफ्नो अवस्थाको भने कसैले मतलब नगर्ने।
बच्चा जन्मिएको साढे ११ महिनामा भएको एसिएन गेममा मैले गोल्ड मेडल जितेको थिएँ। त्यसपछिका खेलमा भने जित्न सकिनँ। साफमा पनि सेकेण्ड मेडल मात्र आयो। गोल्डेन पोइन्टको राउण्डमा म आउट भएँ। फिलिपिन्समा भएको एसियन च्याम्पिएनसिपमा पनि गोल्डेन पोइन्टमा गएर हारेँ।
त्योबेला मलाई भगवानले नै नखेल भन्या हो कि भन्ने फिल आयो। दुई पटकसम्म जितेको गेम हार्दा निकै बोर फिल पनि भयो।
सन् २०१६ मा फिलिपिन्सको गेमपछि अब खेल्दिनँ भनेर छोडेँ। त्यसपछि पूरै रेस्टमा बसेँ। व्यायाम, ट्रेनिङ केही गरिनँ।
०००
पहिलो बच्चा चार वर्षको भएपछि मैले दोस्रो बच्चाको योजना बनाएँ। दोस्रो बच्चाको समयमा अलिकति समस्या देखियो। प्रेगनेन्सी चेक गराउँदा नेगेटिभ रिजल्ट आइरहेको थियो। पिरियड ढिलो हुने, रिपोर्ट नेगेटिभ आउने भइरहेको थियो। नेगेटिभ आएपछि मलतब गरिनँ। शरीरको पनि कुनै ख्याल गरिनँ। त्यतिबेला शंखमुलमा घर बन्दै थियो। मैले जे काम पनि गरिदिने गरेँ। भारी सामान उठाउने पनि गरेँ।
पछि मात्र थाहा भयो, बच्चा बसिसकेको रहेछ र बसेको ठाउँनेर रगत जमेको रहेछ। बच्चा बसेको ठाउँसम्म रगत आइपुग्यो भने बच्चा खेर जाने डाक्टरले बताए। त्यतिबेला एकदमै डर लाग्यो। मैले ख्याल नगरेर बर्बाद गरेँ भन्ने लाग्यो। खासमा रिपोर्ट नेगेटिभ आएको भएर मतलब नभएको हो।
औषधि-उपचार गरेपछि दुई महिनापछि भने रगत जमेको हराउँदै गयो।

दोस्रो बच्चाको समयमा पनि खाना नरुच्ने, बान्ता हुने भयो। मैले डा. रिजाललाई नै देखाइरहेको थिएँ।
०००
दोस्रो बच्चा प्राकृतिक रुपमै जन्माउने निर्णय गरेको थिएँ। तर आफन्तले खेलाडी मान्छे, फेरि पनि खेल्नुपर्छ, रिस्क नमोल भनेर सल्लाह दिएपछि दोस्रो बच्चा पनि अप्रेसन गरेरै निकालियो। छोरा नै जन्मिँदा बाबु ३.८ केजीको थियो।
चार दिन हस्पिटल बसेर घर फर्किएँ। घर आइसकेपछि मैले आफूलाई एक्टिभ बनाउने प्रयास गरेँ। पटुकी बाधेँ। पटुकी बाँध्नु पेटका लागि राम्रो मानिन्छ। सुत्केरीमा नै स्वास्थ्यको ख्याल राख्यो भने पछि धेरै समस्या नहुने रहेछ।
०००
दोस्रो बच्चा जन्मेपछि भने मैले तीन महिना मात्र आराम गरेँ। तीन महिनापछि जेठो छोराको स्कुलमा बच्चाहरुलाई ट्रेनिङ दिन सुरु गरेँ। त्यहाँ हप्तामा एक पटक सिकाउन जान्थेँ।
ट्रेनिङलाई निरन्तरता दिन्छु, खेल जीवनमा फर्किन्छु भनेर मैले सोचेकै थिइनँ। फाइट खेल्न मेरो शरीरले सक्दैन जस्तो लागेको थियो। नयाँ खेलाडी, नयाँ-नयाँ टेक्निकहरु पछ्याउन सक्दिनँ कि भन्ने थियो।
बाबु १८ महिनाको भएपछि मैले फेरि खेल्न सुरु गरेँ। खेल्नका लागि ट्रेनिङ पनि सुरु गरेँ। त्यसपछि आठौँ राष्ट्रिय खेल खेलेँ। नेपालमै भएको १३औँ साफ गेम पनि खेलें। र, डबल गोल्ड मेडल जितें।
इन्डोनेसियामा भएको गेममा भने म पाचौँ भएँ। त्यसमा आठ दिन मात्र ट्रेनिङ गरेको थिएँ। कास्य पदक भने हात पारेँ।
यो पटक पनि मेरो आलोचना भयो। दुई-दुई वटा बच्चा भएकी आयशा फेरि खेल्न आई भनेर कुरा काटे। तर आलोचना मात्रै होइन, मेरो सपोर्ट गर्नेहरु पनि धेरै हुनुहुन्थ्यो।
बच्चा भइसकेपछि महिला कमजोर हुन्छन्, केही गर्न सक्दैनन् भन्ने जुन सोँच छ, त्यो मलाई कमजोर मनस्थितिको उपज जस्तो लाग्छ। खानपान र व्यायामा ध्यान दिने हो भने आमा बनिसकेपछि पनि महिला कमजोर हुँदैनन्। यस्तो मानसिकता सबैले हटाउनु जरुरी छ।
०००
अहिले मेरो ठूलो छोरा आठ वर्ष र सानो चार वर्षका भए। मलाई आमा भगवान हो लाग्छ। कति धेरै त्याग गर्नुपर्छ आमा हुनका लागि। आमाजस्तो बलियो, आमा जस्तो एडजस्ट गर्ने, त्याग गर्ने र आमाजस्तो माया गर्ने संसारमा कोही हुँदैन।
अहिले म ट्रेनिङ लिइरहेको छु। र, बच्चाहरुलाई सिकाउँदै पनि छु। अहिले खेल छोड्छु भन्ने दिमागमा आउन छोडेको छ। बल, बुद्धि र क्षमताले भ्याएसम्म खेलिनै रहन्छु जस्तो लाग्छ।
यतिबेला म एसियन गेम र र पाकिस्तानमा हुने साफ गेमको तयारीमा छु। खेलाडी भनेको हरेक समय तयार नै रहनुपर्छ।
यो पनि