उकेरा कोलम

व्यवसायी दुर्गाको प्रसव पीडा र खुसी : बच्चाले बच्चा पायो भनेर डाक्टर नै चकित परे


१६ चैत २०४१ मा दोलखामा जन्मिएकी हुन्, व्यवसायी दुर्गा खनाल। परिवार शिक्षित थियो। बुबा वाणिज्य बैंकमा जागिरे थिए। तर पनि उनले पढ्न–लेख्न खासै पाइनन्। किनभने, ८ कक्षामा पढ्दा–पढ्दै बाबु-आमाले विवाह गरिदिए।

१४ वर्षकै उमेरमा विवाह गरेकी दुर्गाका अहिले दुई छोरा छन्। श्रीमानले दोस्रो विवाह गरेकाले श्रीमानसँग उनको सम्बन्धबिच्छेद भइसकेको छ।

विवाह गरेको एक वर्षमै अर्थात् १५ वर्षकै उमेरमा पहिलो र त्यसको ८ वर्षपछि दोस्रो बच्चा जन्माएकी दुर्गा खनालले आफूले भोगेको प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गरिन्ः

शिक्षित परिवार भए पनि मेरा बाबु–आमाको रुढीबादी सोच थियो। महिनावारी नहुँदै छोरीको विहे गरिदिन पाए जिम्मेवारी कम हुन्थ्यो, धर्म हुन्थ्यो भन्नेजस्ता कुराले गर्दा म १४ वर्षको उमेरमै म विवाह गर्न बाध्य भएँ। विवाह हुँदा म कक्षा आठमा पढ्थें।

२०५७ साल वैशाख १० गते जब मैले माइतिघर छाडें, त्यही दिनदेखि मेरो जिन्दगीमा दुःख प्रवेश गर्‍यो। 

मेरो विवाह अरुको भन्दा फरक हुन पुग्यो। बाल्यकालमा अरुको विवाह हेर्दै हुर्किएकी थिएँ। घरमा रमझम, चिटिक्क पारेर रंगरोगन गरिएको। खानाका मिठा–मसिना परिकार हुन्थे अरुको विवाहमा। तर मेरो विवाह भने केबुल कार चढेर भयो।

काठमाडौंबाट गाडी रिजर्भ गरेर मनकामना लिएर जानुभयो ममी–बाबाले। केबुल कार चढाएर मन्दिरमा पुर्‍याएर लाखबत्ति बालेर कन्यादान गर्नुभयो। म त्यो समयमा रनभुल्लमा परेकी थिएँ। 

मेरा ससुरा बचनका पक्का। घमण्डी पनि तर मन भने राम्रो थियो। यदि उहाँ जिउँदो रहनुभएको भए मैले यति धेरै दुःख पाउँथे जस्तो लाग्दैन।

खैर, हाम्रो ससुराको प्रेम विवाह रहेछ। त्यसैले उहाँलाई कुलमा नमिलाउने भन्ने भएछ। त्यसैको रिसमा उहाँले म मेरो छोराहरुलाई क्षेत्रीको छोरीसँग विवाह गराउँछु भन्नुभएछ। त्यसैले म क्षेत्रीको छोरी भए पनि उपाध्याय बाहुनको बुहारी बन्न पुगें। उहाँले सबै छोराको विवाह क्षेत्रीको छोरीसँगै गराउनुभयो।

पहिलो पटक घर पुग्दा अरुको जस्तो विहे घर थिएन। मैले विवाह गरेको परिवार धनिमानी र शिक्षित थियो। म माइली बुहारी। तर मेरो श्रीमानले भने पढ्न सक्नुभएको थिएन।

०००
विवाह भएको केही समयमै म गर्भवती भएछु। त्यो समयमा जम्मा १५ वर्षकी थिएँ। मेरो श्रीमान् पनि म भन्दा एक वर्ष मात्रै जेठो हुनुहुन्थ्यो। आफैं बच्चा थिएँ, कसरी पेटमा बच्चा आयो भन्ने थाहा पाउनु र! तीन महिना भएपछि मलाई गाह्रो हुन थाल्यो।

श्रीमानसँग त बोली समेत मिस्सिएको थिएन। मलाई त्यो घरमा जेठानी दिदीले खुबै माया गर्नुहुन्थ्यो। उहाँ साथीजस्तै हुनुहुन्थ्यो। सुरुमा मैले यो कुरा उहाँलाई नै सुनाएँ। महिनावारी रोकिएको भनेपछि उहाँले थाहा पाइहाल्नुभयो। श्रीमानले त म गर्भवती भएको कुरा सात आठ महिनापछि मात्रै थाहा पाए होलान्।

काठमाडौंमा जमिनदारकै घरमा मेरो विहे भएको थियो। जग्गा–जमिन, घर–सम्पति भए पनि खान मन लागेको कुरा भने खासै थिएन। त्यसैले बच्चा पेटमा आएको झण्डै ६ महिनासम्म निकै गाह्रो भयो। पानी मुखमा हाल्दा पनि उल्टी हुन्थ्यो। ६ महिनापछि भने जे खाए पनि केही भएन।

मनका कुरा सुनाउने मानिस पनि कोही भएन। मलाई बच्चा पेटमा हुँदा जतिखेरै मर्न मन लाग्थ्यो। एक्लै बसेर रुन मन लाग्थ्यो। रोएको पनि छु। पेट बढ्दै गएपछि लाज पनि लाग्ने रहेछ। ममीलाई समेत आठ महिनापछि थाहा पाउनुभयो। ममीले नै बुबालाई सुनाउनुभयो।

काठमाडौंमै भए पनि बच्चा पेटमा आएपछि कहिल्यै नियमित परीक्षण गर्न गइनँ। कहिलेकाहीँ स्वास्थ्य चौकी भने जान्थें। साथमा पैसा हुँदैनथ्यो। माइतबाट बुबाले बेलाबेला पठाइदिनुहुन्थ्यो, त्यसैले काम चलाउँथें।

०००
सुत्केरी व्यथाले च्यापिसकेपछि मात्रै मलाई अस्पताल लगियो। थापाथली अस्पतालमै मैले पहिलो सन्तान जन्माएँ। मेरो उमेर देखेर बच्चाले बच्चा पायो भनेका थिए थापाथलीका डाक्टरहरुले।

सानो उमेर भएकाले पनि होला मलाई १२ घण्टा प्रसव पीडा भयो। बच्चा जन्मेपछि १२ घण्टा बेहोस नै भएँ।

छोराको अनुहार देखेपछि हास्नु कि रुनु भन्नेजस्तो अनुभूति भएको थियो। ऊ सानो हुँदा पनि मलाई मर्न मन लाग्ने भइरह्यो। घरबाट ससुरा अस्पताल जानुभएको थियो रे, तर काम परेर फर्कनुभएछ। ल्याण्डलाइन फोनको जमाना थियो। वाणिज्य बैंकको ल्याण्डलाइनमा अस्पतालबाटै फोन गरेर बुबालाई बोलाएँ। उहाँ आएपछि मात्रै मलाई ढुक्क भएको थियो।

घर मुलपानीमा थियो। मनोहरा खोलामा पुगेर धेरै चोटी फर्किएको छु। बच्चा सुताएर राति १० बजे, १२ बजे जान्थें तर छोराको अनुहार झलक्क आउँथ्यो। उठेर रोयो होला भन्ने लाग्थ्यो अनि फर्केर आउँथें।

बच्चा दुई वर्षको हुँदा ठूलै अपरेसन गर्नुपर्‍यो। उसलाई पत्थरी भएछ। 

०००
पहिलो बच्चा ८ वर्षको भएपछि दोस्रो सन्तान जन्मियो। दुवै बच्चा विनायोजना नै जन्मिएका हुन्। दोस्रो बच्चा पेटमा आएपछि भने ममीलाई सुनाएँ। ममीले सबै हेरविचार गर्नुभयो। पहिलो सन्तानको जति संघर्ष आमाको साथमा हुँदा गर्नु परेन।

दोस्रो सन्तानको समयमा पनि व्यथा पहिलो जस्तै लाग्यो। १२ घण्टा बेहोस पनि भएँ।

दुवै सन्तान जन्मँदा खुसीको अनुभव गर्न पाइनँ। किनभने, खुसीभन्दा दुःखले धेरै सतायो। आफ्नो सन्तान हुँदा खुसी त भइहाल्छ तर त्यसको स्वाद लिन नपाएकोमा नमज्जा लाग्छ।

दुई सन्तान जन्मिएपछि मैले जागिर खान खोजें। नजिकमा पहुँचवाला मानिस थिए। त्यसैले मन्त्रालयमा जागिर खान गएँ। सबैले सुरुमा पढाइ सोधे। पढेको छैन भन्दा उहाँहरुले नै पढाइका लागि हौसला दिनुभयो। 

म नेपाल एयरलाइन्समा जागिरका लागि गएको थिएँ। त्यहाँका एमडीले पनि पढाइ नै सोध्नुभयो। त्यसपछि मैले पढ्न तयारी गरें। आठ कक्षा पढेपछि सिधै एसएलसी दिएँ। प्लस टु सक्काएँ। अहिले स्नातक पढ्दैछु। स्नातकोत्तर गर्ने सोच छ।

जेठो छोरा आनन्द पढाइका लागि विदेश जाने सोचमा छ भने कान्छो छोरा आकाश सात कक्षामा पढ्छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....