उकेरा कोलम

प्राध्यापक बिन्दुको प्रसव पीडा र खुसी : आमाले तेरो छोरीको खुट्टा बांगो छ भन्दा सात्तो गयो


तस्बिर : कृष्पा श्रेष्ठ

तीजको रमझम। बाटोमा गरगहना र रंगीचंगी कपडा लगाएका महिलाको भीड। भीड अल्झिएको ट्याक्सीभित्र पीडाले चिच्याइरहेकी थिइन् एक गर्भवती।

भीडले ट्याक्सीलाई अगाडि बढ्नै नदिएपछि गर्भवतीले रिसाउँदै चालकलाई आदेश दिइन्- बरु मान्छे किचेर लैजाऊ, यसरी घिचिक्-घिचिक् नरोक।

ट्याक्सीभित्र चिच्याइरहेकी महिला थिइन् भगवती प्याकुरेल। भगवती प्याकुरेलले वीर अस्पताल पुग्ने बित्तिकै जन्माइन्, लैगिंक अध्ययन विभागकी प्रमुख बिन्दु पोखरेललाई।

आफू जन्मँदा सुनेका किस्सा रमाइलोसँग बयान गरेकी प्राध्यापक बिन्दु दुई सन्तानकी आमा हुन्। छिट्टै हजुरआमा समेत बन्ने तयारीमा रहेकी पोखरेलले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गरिन्ः

पाँच पुस्तादेखि हामी काठमाडौंका बासिन्दा हौं। मेरो बुबा देविभक्त प्याकुरेल पहिले कुनै सरकारी कार्यलयमा काम गर्नुहुन्थ्यो रे। तर तराईको जग्गामा खेतिपाती समेत गर्नुपर्ने भएकाले जागिर छाडेर किसान बन्नुभएको रहेछ। आमा भगवती प्याकुरेल गृहणी।

मेरो जन्म काठमाडौंको वीर अस्पतालमा भयो। दुई दिदी र एक दाइपछि जन्मिएकी म कान्छो सन्तान हुँ। जेठी दिदी र मेरो उमेरमा निकै अन्तर छ। दिदीले एसएलसी दिने समयमा म जन्मिएकी हुँ। 

मेरो विद्यालय  जीवनको पढाइ खासै राम्रो हुन सकेन। किनभने, म हड्डीसँग सम्बन्धित रोग रिमेटिजमको सिकार भएँ। घर नजिकै मलाई भर्ना गरिएको थियो। तर तीन, चार र पाँच कक्षा म स्कुल नै नगई घरमै बसेर पास भएँ। 

चिकित्सकले हिँडडुल गर्न बन्देज लगाएका थिए। एकै चोटी ६ कक्षाबाट स्कुल जान थालें। घर गैह्रिधारा, मामाघर पुतलीसडक। ६ कक्षापछि मामाघरमा बसेर पद्मोदय स्कुलमा पढें। वि.सं. २०२५ सालमा ल्याब्रोटरी स्कुलबाट एसएलसी पास गरेँ।

मैले त्रिभुवन विश्वविद्यालयबाट सोसोलोजी विषयमा स्नातकोत्तर गरें। स्नातकोत्तर अन्तिम वर्षको परीक्षा दिएको पर्सिपल्ट मेरो विवाह भयो। विवाह गर्दा मेरो उमेर २२ वर्षको थियो। त्रिभुवन विश्वविद्यालयमा सँगै पढेका साथी चिन्तामणि पोखरेलसँग मेरो प्रेम विवाह भएको हो।

कीर्तिपुरमा डेरा गरेर बस्नुहुन्थ्यो उहाँ। डेरामा बस्ने केटालाई छोरी दिन मेरो परिवार केही हिच्किचाए पनि पछि मान्नुभयो। त्यो बेलामा पढे/लेखेको केटो, घर बनाउन सक्छ, जात मिल्छ भन्ने सोच्नुभयो होला भन्ने लाग्छ। जात नमिल्ने भएको भए त समस्या हुन्थ्यो होला।

विवाह गर्दा हामी दुवैको जागिर थिएन। तराई घर भएकाले दाल-चामल उतैबाट आउँथ्यो। हामी टाकन-टुकन रिर्सचका कामहरु गरेर जीविकोपार्जन गर्थ्यौं। संयोग के भयो भने, सोसोलोजीको हामी पहिलो ब्याच भए पनि विस्तारै यसको पढाइ अन्य कलेजहरुमा सुरु हुन थाल्यो। विवाह भएको एक वर्षमा उहाँले प्राध्यापकमा नाम निकाल्नुभयो र पाटन कलेजमा पढाउन थाल्नुभयो।

मेरो भने थेसिस पूरा भएको थिएन। पूरा हुन नसक्नुको कारण थियो, म गर्भवती भएँ। 

०००
मेरो महिनावारी रोकियो। हामीले गर्भनिरोधक साधन प्रयोग गरेका थिएनौं। बच्चा जन्माइहाल्ने योजना पनि थिएन तर साधन पनि प्रयोग गरेका थिएनौं। जे-जस्तो नतिजा आउँछ त्यसैलाई स्वीकार गर्न भने तयार थियौं। महिनावारी रोकिने बित्तिकै मलाई शंका लाग्यो, गर्भवती पो भएँ कि भन्ने।  पिसाब परीक्षण गर्दा सकारात्मक नतिजा आयो।

मेरो श्रीमान् एक्लो छोरा। दुई दिदी-बहिनी भए पनि बंश धान्ने छोरा भन्ने हुँदोरहेछ। म गर्भवती भएको थाहा पाउने बित्तिकै हामीभन्दा धेरै हाम्रो परिवार खुसी हुनुभयो। मलाई पनि केही प्रभाव परेन। करिअर सुरु हुनुभन्दा अघि नै बच्चा पेटमा आएकाले सजिलो भयो।

पाटन अस्पतालमा चेकजाँच गरियो। प्रायः महिला चिकित्सक नै हुने भएकाले सजिलो भयो। एक पटक पुरुष चिकित्सक पनि आएका थिए तर उनले शरीर चेक गरेनन्।

तराईतिर कार्सीको दाल भन्ने पाइन्छ। गर्भवती भएको बेलामा मलाई त्यो पटक्कै मन परेन। अहिले पनि मलाई त्यो दालको गन्ध नाकमा पर्ने बित्तिकै वाक्क आउँछ। त्यो बाहेक सबै खानेकुरा मलाई मनपर्थ्यो।

बच्चा जन्मिनुअघि मलाई जे गर्दा पनि असजिलो अनुभूति भयो। यही रहेछ व्यथा लाग्ने भन्ने भयो। श्रीमान् काममा जानुभएको थियो, तल डेरामा बस्ने दिदीलाई सुनाएँ। उहाँले अस्पताल जान सुझाउनुभयो। श्रीमान् कामबाट फर्कनेबित्तिकै हामी अस्पताल गयौं। अहिलेजस्तो सवारी साधन सजिलै नपाइने भएकाले पनि मैले हतार गरेको थिएँ।

अस्पताल पुग्ने बित्तिकै चिकित्सकले तपाइँको बच्चासँग साल बेरिएको छ। दस मिनेट भित्रमा प्राकृतिक रुपमा बच्चा जन्मिएन भने अपरेसन गर्नुपर्छ भने। त्यसैले नर्सहरुले प्राकृतिक रुपमा बच्चा जन्माउने कोशिस गरे, कोशिस सफल भयो। अस्पताल पुगेको आधा घण्टामा त मैले बच्चा जन्माइहालें।

पाटन अस्पतालमा मैले मेरो पहिलो सन्तान छोरी जन्माएँ। एउटा मात्रै छोरो भएको घरमा विवाह गर्दा र छोरी जन्मँदा फेरि अर्को जन्माउनुपर्ने सोचले पीडा दिँदोरहेछ। म छोरी जन्मँदा जति खुसी थिएँ, फेरि छोरा नजन्माई हुँदैन भन्ने दबाबले उत्तिकै दुःखी। अहिलेको जस्तो छोरी मात्रै जन्माउने चलन त्यो समयमा थिएन। म अहिलेजत्ति जेण्डरबारे सचेत पनि थिइनँ।

बच्चा स्वस्थ जन्मियो। मेरो सबैभन्दा खुसीको कुरा नै बच्चा स्वस्थ छ भन्ने भयो। आमा बन्दा सबैभन्दा डर लाग्ने कुरा बच्चाको स्वास्थ्य पनि रहेछ। अपाङ्ग जन्मिएला, अस्वस्थ जन्मिएला कि भन्ने डर आमाको मनमा बसिरहने रहेछ।

तर, झण्डै एक महिनापछि माइति जाँदा ममीले बच्चालाई तेल लगाउँदै हुनुहुन्थ्यो। उहाँले तेरो छोरीको एउटा खुट्टा त बाँङ्गो छ भनेर भनिदिनुभयो। मेरो त सात्तो गयो। तुरुन्तै अस्पताल लग्यौं। चिकित्सकले यो सामान्य हो भनेपछि मात्रै ढुक्क भएँ। हाम्रो देशमा असामान्य जन्मेको बच्चालाई वातावरण नै छैन।

बच्चा हुर्काउने क्रममा साह्रै समस्या हुने रहेछ। मेरी छोरी दुई दुई महिनामा बिरामी भइरहने। चार वर्षसम्म बच्चा बिरामी भएरै समस्या। यस्तो गरेर जन्माइयो, केही भयो भने भन्ने डर हुँदो रहेछ।

०००
छोरी जन्मेको तीन वर्षपछि म फेरि गर्भवती भएँ। त्यो बीचमा पार्टटाइम पढाउने काम गर्थें। दोस्रो सन्तानको समयमा हामी क्वाटरमा बस्न थाल्यौं। बच्चा हुर्काउन क्वाटरमा सजिलो हुनेरहेछ। किनभने, आफू काममा गए पनि महिला र उनीहरुका बच्चा क्वाटरमै बस्थे। 

दोस्रो पटक खाना नरुच्ने समस्या भएन। पार्ट टाइम पढाउँथे, जीवन सक्रिय नै थियो। बच्चा जन्माउने दिन, व्यथा लाग्न लागेको थाहा पाएँ। नुहाइधुवाइ गरें। अहिलेको जस्तो हातैपिच्छे फोन थिएन। श्रीमानलाई खबर गर्न सकिनँ। 

क्वाटरमा छोरीलाई साथी हुन्छ भनेर उसकै उमेरको एक बच्चा राखेका थियौं। दुई बच्चालाई लिएर ट्याक्सी चढेर अस्पताल गएँ। ल्याण्डलाइन फोनबाट आमालाई भने खबर गरेकी थिएँ। यताबाट म ट्याक्सीमा जाने, उताबाट आमा अस्पताल आउने भयो। श्रीमान घरमा आएपछि क्वाटरका मानिसले अस्पताल गएको छ भनिदिएपछि मात्रै अस्पताल आउनुभएको थियो।

दोस्रो सन्तान छोरा जन्माएँ। सँगै क्वाटरमा बसेकी अर्की महिलाले भने दोस्रो सन्तान पनि छोरी जन्माउनुभयो। उहाँको अनुहारमा देखिएको चिन्तित भावभंगी मेरो आँखामा अहिले पनि आउँछ।

दोस्रो सन्तान जन्माउँदा पनि स्याहार-सुसार श्रीमानले नै गर्नुभयो। सुत्केरी श्रीमती छुन हुँदैन भन्ने समाजमा श्रीमानले साथ दिएको देखेर खुसी लाग्थ्यो।

श्रीमानले सहयोग गर्छ भन्दा मख्ख पर्थें
दुई वटा कोठा लिएर बसेका थियौं। दुई जना मात्रै थियौं। पानी धारामा कोठैपिच्छे आउँदैनथ्यो। तलबाट माथि ओसार्नुपर्थ्यो। मेरो गर्भावस्थामा श्रीमानले धेरै सहयोग गर्नुभयो।

त्यतिखेर पुरुषले श्रीमतीको काम सघाउने चलन आइसकेको थिएन। तर मेरो श्रीमानले मलाई हरेक कुरामा साथ दिनुहुन्थ्यो। माइतीतिर पनि राम्रो श्रीमान् पाएकी छ भनेर प्रशंसा गर्थे, म पनि मख्ख पर्थें। अहिले पो थाहा भयो, त्यसमा मख्ख पर्ने कुरै छैन, जिम्मेवारी त दुवैको बराबर हो। 

मलाई त हाम्रो देशमा पनि अन्य देशले जस्तै प्रसव कक्षमा श्रीमान् अनिवार्य गर्नुपर्छ जस्तो लाग्छ। श्रीमानलाई पनि आफ्नो सन्तान हो भन्ने बोध हुनु जरुरी छ।

नायिका प्रियंका कार्कीले हामी गर्भवती भयौं भन्दा तहल्का मच्चाउने समाजलाई गर्भवती महिला मात्रै हुने हैन भन्ने सिकाउन जरुरी छ। जसका लागि प्रसव कक्षमा श्रीमान् हुने व्यवस्था मिलाउनुपर्छ। 

हाम्रो सरकारले १५ दिन पुरुषलाई दिन्छ। प्यारेन्टल लिभ भनेर दिन्छ तर त्यो सुत्केरी बिदा हो। हाम्रोमा त सुत्केरी बिदा समेत पुरुषहरु घुमेर बिताउँछन्। पेटमा बोक्न नसके पनि जिम्मेवारी लिन जरुरी छ। श्रीमती गर्भवती छ भनेर बाहिर यौन सन्तुष्टि लिने समाजलाई परिवर्तन गर्न जरुरी छ।

अवसर गुमाउँदा पनि पछुतो नलाग्ने रहेछ
पहिलो सन्तान पेटमा आउँदा थेसिस पूरा गर्न सकिनँ। थेसिस नभएकाले प्राध्यापकमा अप्लाई गर्न नपाए पनि मैले त्यो समयमा अर्को एक अवसर भने पाएँ। सिजी ग्रुपले कम्प्युटरको तालिम दिएको थियो। दस जनाको कोटा, ६ जना केटा र ४ जना केटी। त्यो ४ जनामा म पनि छनोट भएकी थिएँ।

पहिलो तीन महिनाको तालिममा म सहभागी भएँ। लगत्तै ६ महिनाको तालिम पनि दिने भयो। गर्भावस्थामै तीन महिनाको तालिम लिएकी मैले ६ महिनाको तालिम भने लिन पाइनँ। 

पहिलो सन्तान जन्मेको २२ दिनपछि नै मलाई एक गैरसरकारी संस्थाले कामका लागि अफर गरेको थियो। बच्चा सानो भएकाले घरबाट पनि काम नगरिदेओस् भन्ने सोच्नुभयो। त्यसैले मैले त्यो अवसर पनि गुमाएँ। 

पछि कलेजहरुमा पार्ट टाइम पढाउने काम भने गर्न थालें। महिलाका लागि राम्रो काम पढाउने भन्छन्। यो कुरा सही पनि हो। छोटो ब्रेक लिएर बच्चालाई दूध चुसाउन पाउने, पार्ट टाइम पढाउँदा त झनै बच्चालाई सुताएर उठ्ने समयमा आइपुग्न भ्याइने हुन्छ।

बच्चा पेटमा आउँदा अवसरहरु धेरै आएका थिए। तर त्यो समयमा उमेर बाँकी छ भन्ने अनुभूतिले काम गर्दोरहेछ। मलाई फिल नै भएन, अवसर गुमाएँ भने। अहिले सोच्दा मात्रै मेरो बाटो त्यो समयमा बच्चा नभएको भए अर्कै हुनसक्थ्यो भन्ने आउँछ।

हजुरआमा बन्ने तयारीमा
मेरी छोरी ऋचा दन्त चिकित्सक बनिन्। तर खै त्यसमा मन नलागेर होला, धरानबाट पब्लिक हेल्थमा मस्टर्स गरिन्। छोरा रिसव अष्ट्रेलियामा छ। 

छोराछोरी दुवैको विवाह भइसकेको छ। छोरीले पढाइका कारण बच्चा जन्माएकी थिइनन्, अहिले उनीहरु तयारीमा छन्। छोरा बुहारीको भने बच्चा जन्मने तयारीमा छ। आगामी अगस्टमा चिकित्सकले समय तोकिदिएको छ। म हजुरआमा बन्दैछु।

अहिले सासु मसँगै बस्नुहुन्छ। तर छोराछोरी हुर्काउने समयमा उहाँसँग बस्न पाइनँ। अहिले बुहारी पनि मसँग बस्दिनन्। विवाह गरेको तीन महिनामै उनी अष्ट्रेलिया गएकी हुन्। त्यसैले म सासु भइसकें भन्ने अनुभव नै हुँदैन।  

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सिल्क उद्यमी जानकी जो व्यवसायमा जमिन्, राजनीतिमा डुबिन्

रेशमका कपडा उत्पादन, डिजाइनिङ र व्यापारमा संलग्न जानकीले गोसाई भेन्चर र किम्बु द शेरी वर्ल्ड कम्पनी सञ्चालन गरेकी छिन्। किम्बु द शेरी वर्ल्ड कम्पनीले नेपालमा....

कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन 

अदृश्य भावीको स्वागतमा सुत्केरी बस्ने कोठामा रातभर बत्ती बालिन्छ। भावीले नवजात शिशुको ललाटमा जन्मको छैटौं दिन केही लेख्छ भन्ने यो विश्वास नेपालको समाजमा व्यापक छ।....

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

यहाँ हामीले कुरा त प्रसव पीडा र खुसीको गर्छौं। तर मेरो जिन्दगीमा भने हरेक कुरा राजनीतिसँगै जोडिन पुग्छ। त्यसैले मेरो प्रसव पीडा र खुसीको साक्षी....

डा. अच्युतबिक्रमको उपचार अनुभव : फोक्सोको ८० प्रतिशत भागमा निमोनिया भएका डिआइजी खरेल भाग्यले बाँचे

कोरोना भाइरस संक्रमण भएपछि खरेललाई श्वास फेर्न असहज भएछ। त्यसपछि उनी नेपाल प्रहरी अस्पताल पुगेछन्। बेलुका अस्पताल पुगेका उनी अस्पताल भर्ना भए।  राति करिब १०....

हिजोका कुरामा विश्वम्भर प्याकुर्‍याल : नारायण गोपाल र रानी ऐश्वर्यबीच प्रेमको हल्ला सतप्रतिशत गलत

साहित्य, संगीत, कलाका पारखी प्याकुर्‍यालले विभिन्न साहित्यिक एवं अर्थतन्त्र सम्बन्धी पुस्तक लेखेका छन्। उनको ‘इन्द्रेणीको गुम्बजभित्र’, हरिभक्त कटुवालले सम्पादन गरेको ‘बान्की’ मा ‘तीन वटा घाउ’ लखुकथा  प्रकाशित....