उकेरा कोलम

छायाँकार शवनमको प्रसव पीडा र खुसी : बल गर्दा स्लाइन-पानीको सुई नै बांगिएपछि…


रिलवाला भिडियो क्यामेरा थियो। घामको प्रकाशले गर्दा कपडाले मुख छोप्दै ट्रलीमा बसेर फिल्म खिचिरहेकी थिइन् शवनम मुखिया।

'फिल्म सुटिङ हेर्न मानिसहरु छायांकनस्थलमा जम्मा भएका थिए। काम सकेर कपडा उठाउँदा वरपरका मानिस चिच्याए- केटा भनेको त केटी पो रहेछ,' नेपालको पहिलो महिला छायाँकार शवनमले आफ्नो अनुभव सुनाइन्।

फिल्म निर्देशन हुँदै विभिन्न डकुमेन्ट्री समेत निर्माण गरेकी शवनम सामाजिक क्षेत्रमा व्यक्तिगत कुरा गर्न त्यति मन पराउँदिनन्।

उनले अन्तरजातीय विवाह गरेकी हुन्। बच्चा जन्मिने बेलामा लामो प्रसव पीडा भोग्नु नपरेको अनुभव सुनाउँछिन् उनी। शवनमले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग यसरी साँटिन्:

मेरो जन्म इलाममा भयो। म जन्मेलगत्तै हाम्रो परिवार झापा हुँदै काठमाडौं आयो। प्रारम्भदेखि नै मेरो पढाइ काठमाडौंमै भएको हो।

बुबा श्याम मुखिया जागिरे हुनुहुन्थ्यो भने आमा सुनिता गृहणी। हाम्रो ठूलो-बुबा त्यो समयमा मन्त्री हुनुहुन्थ्यो, त्यसैले हाम्रो बुबालाई काठमाडौंमै सेटल गराउनुभयो। 

सानैदेखि म जिद्धि स्वभावकी थिएँ। जे गर्न हुँदैन भन्यो त्यही गर्न मन पराउने। घरमा रिलवाला क्यामेरा थियो। सबैले छुन हुँदैन भनेर गाली गर्थे। त्यसैले मेरो रोजाइ क्यामेरा हुन पुग्यो। 

म फोटोमा यति धेरै प्यासिनेटेड थिएँ कि, कुनै म्यागजिन देख्यो भने, त्यसको फोटो काटेर सत्यनास बनाउँथें। अनि फोटोहरु मात्रै टालेर छुट्टै नोट तयार पार्थें।

त्यो समय अहिलेजस्तो डिजिटल क्यामेराको थिएन। रिलको फोटो नेपालमा धुलाउने ठाउँ समेत थिएन। ठूलीआमाको मद्दतले हङकङ, थाइल्याण्डबाट फोटो धुलाएर ल्याउँथें। आफूले खिचेको फोटो अरुले हेर्दा बडो आनन्द आउँथ्यो।

घरमै फोटो खिच्दाखिच्दै मैले फोटो पत्रकारिताको छोटो कोर्स पनि गरें। क्यामेरा बोकेर आन्दोलनको फोटो खिच्न जाँदा यो केटी के गरिरहेकी होली भनेर सबै जना ट्वाँ पर्थे।

०००
मेरो विवाह १९ वर्षको उमेरमा भयो। लभ म्यारिज गरें। म मुखियाकी छोरी, क्षेत्रीसँग अन्तरजातीय विवाह गरें। विवाह हुनुभन्दा अघि मैले विद्युत प्राधिकरणमा काम थालिसकेकी थिएँ।

विहे गरेको झण्डै दुई वर्षपछि हामीले बच्चाको योजना बनायौं। गर्भनिरोधक साधन लामो समयसम्म प्रयोग गर्दा बच्चा नहुन सक्छ भन्ने डर थियो। योजना अनुसार नै म गर्भवती भएँ।

जतिखेरै उल्टी आउने, सहन गाह्रो हुने भएको थियो त्यतिबेला। उल्टी हुँदा, गाह्रो हुँदा मैले मेरो आमालाई धेरै सम्झिएँ। आमाको महत्व त्यतिबेला धेरै हुने रहेछ।

गर्भवती भएपछि मैले पाटन अस्पतालमा परीक्षण गराएँ। सबै कुरा अस्पतालको राम्रो हुँदाहुँदै पनि मलाई परीक्षण गर्ने नर्सहरु निकै छुच्ची थिए। पहिलो पटक गर्भवती हुँदा केही थाहा हुँदैनथ्यो, उनीहरुको व्यवहारले चित्त दुख्थ्यो।

चिया अत्ति धेरै खान्थें। बच्चा पेटमा आएपछि चियामा कमी र माछा-मासुमा बढी ध्यान गयो। त्यो अहिलेसम्म पनि जारी छ। 

म पहिले ब्याटमिन्टन खेलाडी पनि हुँ। अलि ज्यांगो शरीर थियो। फुर्तिली उस्तै थिएँ। त्यसैले सात महिनासम्म मानिसहरुले म गर्भवती भएको थाहै पाएका थिएनन्। 

जावलाखेलबाट अफिस लगनखेलसम्म म हिँड्दै जान्थें। बच्चा जन्माउने समयसम्म पनि कपडा धुन्थें। सायद त्यसैले होला, मलाई प्रसव पीडा लामो समयसम्म भएन।

मैले एकै छिनमा यत्तिधेरै बल गरेछु कि, हातमा लगाएको स्लाइन पानीको सुई नै बाङ्गो भएछ। अरुलाई बल धेरै लगाऊ भनेर कराइरहेका नर्सहरु मलाई भने कम बल लगाऊ भनेर गाली गरिरहेका थिए।

बच्चा जन्माएपछि अरु महिला ह्विचेयरमा बसेर बाहिर निस्किरहेका थिए। म हिँडेरै बेडसम्म पुगेर, त्यति अग्लो बेडमा सजिलै चढेकी थिएँ।

०००
हाम्री छोरी जन्मिइन्। बच्चा पेटमा हुँदा आफ्नो बच्चाको अनुहार जस्तो कल्पना गर्‍यो त्यस्तै बन्छ भन्ने सुनेकी थिएँ। मलाई मेरो आँखीभौं निकै पातालो लाग्ने। बच्चा पेटमा हुँदा आँखीभौं, आँखा र नाक उसको बाउको जस्तो होस् भन्ने सोच्थें। नभन्दै छोरी त सोचेजस्तै दुरुस्तै जन्मिइन्। छाला मेरो जस्तो जाओस् भन्ने सोच्न भुलेछु, उसको बाउको जस्तै हल्का कालीकाली जन्मिइन्। 

छोरीको अनुहार देख्ने बित्तिकै आएको इमोसन अन्य समयको भन्दा फरक हुने रहेछ। शब्दमा भन्न पनि नसकिने, रुन पनि मन लाग्ने, हाँस्न पनि मन लाग्ने। आमाको याद भने अत्ति आउने रहेछ।

समाजले छोरा पाउन दिएको त्यो दबाब
हामी श्रीमान्-श्रीमती दुवैको सहमति थियो, जे जन्मेपनि एउटा मात्रै जन्माउने। त्यसैले छोरी जन्मेपछि हामीले अर्को बच्चा नजन्माउने निर्णय गर्‍यौं। तर साथीभाइ र समाजले दिएको प्रेसर थेग्न हम्मे-हम्मे पर्‍यो। 

सन्तान नजन्माउँदा जन्माउनैपर्ने प्रेसर, जन्माएपछि छोरा जन्माउनुपर्ने प्रेसर। म जिद्धि स्वभावको भएकाले मात्रै यसलाई पचाउन सक्यौं। नत्र शारीरिकदेखि मानसिकसम्मको तनाव त्यो समयमा मलाई निकै परेको थियो।

अहिले बल्ल छोरा र छोरी बराबरी भन्ने धारणा आएको छ। गाउँघरतिर अझै पनि छोरा पाउनैपर्ने बाध्यता छ। यस्तो अवस्थामा सबै कुरा पार गरेर हामीले एउटा छोरी मात्रै जन्मायौं। अहिले छोरी एक एनजिओमा काम गर्छिन्।

आमा, बहिनी, नन्द लगायत परिवारमा भएकाले मलाई बच्चा हुर्काउँदाको अनुभव थाहै भएन। सबै उहाँहरुले नै गर्नुभयो। मैले फिल्म कलेज पढ्नेदेखि डकुमेन्ट्री बनाउनेसम्मको काम बच्चा जन्माएपछि नै सुरु भएको हो।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....