उकेरा कोलम

कलाकार सिर्जना सुब्बाको प्रसव पिडा र खुसी : म नर्मल डेलिभरीमै अडिए तर चिकित्सकले बच्चालाई केही भए हाम्रो जिम्मा छैन भनेर कागज पो गराए !


मण्डला थिएटरको अध्यक्ष समेत हुन् कलाकार सिर्जना सुब्बा। थिएटर कलाकारबाट अभिनय यात्रा सुरु गरेकी उनी आमा समेत हुन्। ३ दर्जन बढी नाटकमा अभिनय गरिसकेकी उनले 'लुट', 'डाइङ क्यान्डल', 'कबड्डी कबड्डी', 'नेचर गाई' लगायतका फिल्ममा समेत अभिनय गरेकी छिन्।

मोरङको राजकाजमा जन्मिएकी उनले धेरै नाटकको निर्देशन समेत गरेकी छिन्। किसान परिवारमा जन्मेकी उनको गाउँ कलाले भरिपूर्ण छ। उनका आफन्तहरू पनि कलाकार छन्। त्यसैले पनि होला बल्यकालदेखीकै फिल्मको हिरोइन बन्ने सपना बोकेर उनी काठमाडौँ आइन्।

ठुलो पर्दाको हिरोइन बन्ने, हरियो डाँडामा नाच्ने सपना बोकेर राजधानी आएकी उनी संयोगले नाटकतिर पुगिन्। अहिले नाटक सँगै फिल्ममा अभिनय गरिरहेकी उनी एक सन्तानकी आमा समेत हुन्। फिल्म क्षेत्रकै पदम सुब्बासँग विवाह गरेकी उनले गर्भावस्थामा गरेको फोटो सुटको निकै चर्चा भएको थियो। उनै सिर्जनाको प्रसव पिडा र खुसी :

OOO

म घरको जेठी छोरी। तर विवाह भने कान्छोबाट सुरु भयो। सुरुमा कान्छो भाइले बिहे गर्‍यो। भदा जन्मियो। त्यसपछि जेठो भाइले बिहे गर्‍यो। जेठी बुहारी गर्भवती भएको समयमा मैले बिहे गरेँ।

बिहे खासै नौलो लागेन। किनभने सधैँ देखिरहेको, चिनिरहेको केटा पदम सुब्बासँग बिहे भयो मेरो। मानिसहरू सबैले विवाह भनेको नयाँ जीवन हो भन्थे, मलाई पनि खुबै नयाँ जीवनमा प्रवेश गरियो भन्ने लागेको पनि हो। तर बिस्तारै खासै नयाँ लागेन वैवाहिक जीवन। फरक यत्ति हो विवाह भन्दा अघि मानिसहरूले बिहे कहिले  गर्ने भनेर सोधेर हैरान पार्थे। बिहे भएपछि अब बच्चा कहिले भनेर हैरान बनाउने रहेछन्।

OOO

म मोरङमा जन्मिएँ। हाम्रातिर पहाड थिएन, जता हेर्‍यो त्यतै सम्म जमिन। फिल्महरूमा पहाड देखिन्थ्यो, जसले मलाई सधैँ आकर्षित गर्‍यो। त्यसैले मेरो सपना थियो, हरियो पहाडमा उक्लेर हिरोसँग नाच्ने।

त्यही सपना बोकेर म काठमाडौँ आएँ। तर सोचेजस्तो नहुने रहेछ जीवन। फिल्ममा नाच्न अभिनय सिक्ने क्रममा नाटकका साथीहरूसँग ठोक्किएँ। यतै रस बस्दै गयो। यतै मन बस्दै गयो। हरियो पहाडमा नाच्नुभन्दा दर्शकको अगाडि प्रत्यक्ष अभिनय गर्नमै रमाउन थालेँ म। त्यसैमा मज्जा लाग्न थाल्यो।

नाटक र फिल्ममा अभिनयमै व्यस्त थिए। धेरैले बिहे कहिले गर्ने हो त सिर्जना भनेर सोधिरहन्थे। तर मलाई मलाई बिहे भन्दा बच्चाको खुबै रहर। बिहे नगरे पनि बच्चा जन्माउन पाए हुन्थ्यो नि भन्ने लागिरहने क्या।

अर्को समस्या मेरो काम अनि मन बुझ्ने जीवनसाथी भेटिएन भने त यति धेरै मिहेनत गरेर बनाएको करियर नै चौपट हुनसक्छ नि। त्यसले पनि मलाई विवाह गरिहाल्ने आँट आएन।  

तर बिहे नगरी पनि त भएन नि। पदमसँग भेट भयो। एकै क्षेत्रका व्यक्ति। पक्कै करिअरमा समस्या नहोला भन्ने लाग्यो अनि विवाह गरे।

OOO

एक त मेरो उमेरले बढ्दै थियो। बच्चाको रहर प्रलय थियो मनमा। अब बिहे नै नगरी बच्चा पाउन पाए भन्ने लाग्ने म विवाहपछि किन ढिला गर्थे र। बिहे गर्ने बित्तिकै बच्चाको योजना बनाउन थालेका थियौँ। बिहे भएको छोटो समयमै म गर्भवती भएँ।

कला क्षेत्रको मानिस भएकाले पनि होला, बच्चा भनेको मेरो आफ्नै क्रियसन हो भन्ने लाग्थ्यो। अरूका लागि यो सामान्य र प्राकृतिक लाग्न सक्छ। मेरा लागि भने ठुलो अवसर थियो। बच्चा जन्माएपछि कलाकारको करियर सकिन्छ भन्ने सोचाइ भएको ठाउँमा यो मेरा लागि चुनौती पनि थियो।

योजना अनुसार म गर्भवती भएँ। सुरुका ४ महिना मेरो पेटमा केही अडेन। त्यो समयमा मलाई रङसँग एलर्जी भएको थियो। ती रङ्गहरू खानामा देखिन्थे। पेटमा खाना नअड्ने मात्रै हैन, गन्ध नै मन नपर्ने भयो।

तारेको, भुटेको खानेकुरा देख्यो कि वाक्क आउने। बेसारको रङ, तेल तैरिएको समेत देख्न मन नलाग्ने भयो। अझ रातो रङसँग त दुस्मनी नै भयो। अरू मानिसले रातो रङ्गको लुगा लगाएर मेरो अगाडी आयो भने पनि रिस उठ्थ्यो। रिस कन्ट्रोल गर्नै गाह्रो हुन थाल्यो। अचम्मै हुन थाल्यो गर्भवतीमा।

गन्धले दाल भात तरकारी खान नसके पनि मैले सुन्तला भने धेरै खाएँ। सुन्तलाले नै सास धानेर राख्यो भन्दा फरक पर्दैन। तर जाडो महिना त्यसमा सुन्तला। चिसो गढ्ने समस्या। चिसो गढे निमोनिया हुने जोखिम। तर अरू खाना पेटमै नअडिएपछि  भोकै बस्ने कुरा भएन। चिसो लाग्थ्यो, खोक्दै भए पनि सुन्तला नै खान्थेँ।

निकै दौडधुपको जिन्दगी थियो मेरो। गर्भवती भएपछि एक्कासि ब्रेक लाग्यो। गर्भ बसेको तीन महिनापछि एकदमै रुन मन पो लाग्न थाल्यो। छेउको मानिसले नरो भनेर सम्झाउँथे, तर के गर्नु मन लागेर रोएको। जति नरो भन्दा पनि घुक्कघुक्क भइहाल्ने। आँसु नै नरोकिने। बढी भावनात्मक हुने रहेछ गर्भवती हुँदा।

त्यो समयमा मलाई सबैभन्दा धेरै खड्केको भनेको भोक हो। मानिसलाई भोक नलाग्दा कति धेरै पिडा हुँदो रहेछ भन्ने अनुभूति त्यही समयमा भयो। शरीर फिट राख्ने चक्करमा धेरै डाइटिङ गरिन्थ्यो पहिले।

भोक नलागे कस्तो मज्जा हुँदो हो भन्ने लाग्थ्यो। तर बच्चा पेटमा आएको समयमा भोक भनेको के रहेछ भन्ने अनुभूति भयो। अहिले लाग्छ, बरु म कन्ट्रोल गर्छु तर बेस्मारी भोक चाहिँ लागिरहोस्।

४ महिना कटेपछि भने भोक लाग्ने भयो। खानाको गन्ध पनि बिस्तारै घट्दै गयो। पेट बढ्दै गयो।

जिन्दगी सामान्य अवस्थामा फर्केपछि म नियमित काममा जान थाले। हुन त बच्चा पेटमा आए पनि मेरो काम त रोकिएको थिएन। काम सँगै विभिन्न योगाहरू गरेँ। बच्चा ८ महिनाको पुगेपछि प्रेग्नेन्सी फोटो सुट गराएँ।

धेरैले मेरो फोटोमा आलोचना गर्नुभयो। कुकुरले पनि जन्माउँछ बच्चा, यसरी भुँडीको फोटो खिचेर देखाउनुपर्ने, के गर्‍या यो भन्ने खालका प्रतिक्रिया आए। सुरुमा त नराम्रो पनि लाग्यो।

तर पछि मैले आफ्नो खुसी क्यामरामा कैद गर्न पनि नपाउने भन्ने लाग्यो। मेरो गर्भावस्था मैले नै इन्जोए गर्न नपाउने पनि हुन्छ र ! पछि नेपाली समाजको सङ्कीर्ण सोच देखेर दुख पनि लाग्यो। गर्भावस्था भनेको एक महिलाका लागि कति उल्लासपूर्ण समय हो भन्ने कुरा खुलेर देखाउन समेत नपाउने समाजमा रहेछु भन्ने भयो। यसमा चैँ साँच्चै दुख लाग्यो।

बच्चा पेटमा भएकै समयमा मैले नाटक पनि गरेँ। नाटकमा गर्भवती पुलिसको भूमिका निभाएकी थिएँ। अनुप बरालले निर्देशन गरेको नाटक 'महाभोज' बाट राम्रो प्रतिक्रिया आयो। दङ त परिने नै भयो नि। गर्भावस्थामा पनि अभिनय गर्न पाएँ।

बच्चा जन्माउने दिन नजिकिँदै थियो। काम र दौडधुप सँगसँगै राम्रो चिकित्सक र अस्पतालको खोजी पनि जारी थियो।

बच्चा जन्माउने रहर भएकै कारण हामी पुरै योजनामा थियौँ। गर्भावस्थामा केही समस्या नआओस् भनेर धेरैसँग सल्लाह गरेका थियौँ। अस्पताल पनि महँगो नै रोज्यौँ।

नर्भिक अस्पतालका चलेका चिकित्सकसँग हामीले रेगुलर चेकअप गरायौँ। एउटा चिकित्सकको मात्रै भर नलागेर दुई ओटा चिकित्सकलाई देखाउने गर्थ्यौँ। रिपोर्ट क्रस चेक गराउँदा ढुक्क हुन्थ्यो मनमा।

सुरुदेखि नै मलाई नर्मल डेलिभरी गर्ने रहर थियो। कुनै हालतमा सिजरिङ गरेर बच्चा जन्माउँदिन भन्ने लागेको थियो। बच्चाको स्वास्थ्य र मेरै करियर दुबैलाई हेरेर मैले नर्मल डेलिभरीका लागि चिकित्सकसँग सल्लाह पनि गरेको थिएँ।

जति नै समय अस्पतालमा बस्नुपरोस्, जति नै पैसा खर्च गर्नुपरोस्, बच्चा त नर्मल नै जन्माउने हो भन्ने मेरो अडान भने पुरा हुन सकेन।

नर्भिक अस्पतालमा बच्चा जन्माउने तयारी भयो। जन्म र मृत्यु हामीले सोचेर र योजना बनाएर हुँदैन, यी कुरा प्रकृतिलाई नै छाडिदिनुपर्छ भन्ने मेरो सोचाइ चिकित्सकले पुरा गरिदिएनन्।

व्यथा लाग्न थालेपछि अन्तिम समयमा चिकित्सकले बच्चाको मुटुको धड्कन कम हुँदै गएको छ भनेर डर देखाए। चिकित्सकहरू त्यत्तिमा अडिएनन्, कागजमा हस्ताक्षर नै गर्न लगाए बच्चालाई केही भए हाम्रो जिम्मा छैन भनेर।

यसरी बच्चाकै ज्यानको खतरामा परेपछि नर्मल डेलिभरी गराउने मेरो सपना पुरा भएन। सिजरिङ प्रविधिबाटै बच्चा जन्माएँ। तर यसले मलाई जिन्दगीभर थकथक गराइरहनेछ।

जिन्दगीमा मेरो विवाहदेखि बच्चासम्म सबै योजना अनुसारै भयो। तर बच्चालाई नर्मल डेलिभरी दिन भने सकिनँ। हाम्रो सिस्टम नै यस्तै हो या प्रविधिको विकल्प नभएको हो मैले अहिलेसम्म बुझ्न  सकेको छैन।

अप्रेशन गरेर मैले छोरा जन्माएँ। सुरुमा कस्तो होला, के होला भन्ने एक्साइटमेन्ट त थियो। तर जन्मेपछि मलाई छोरो नयाँ मान्छेजस्तो लागेन। नौ महिनादेखि पेटमा बोकिहिँडेको भएर हो कि, अरू मानिसहरू नौलो तरिकाले मेरो छोरोलाई हेर्थे।

मलाई भने धेरै पहिलेदेखि चिनिरहेको मानिस भेट भएजस्तो लाग्यो। सुरुमा बच्चा जन्माउने बित्तिकै मैले हात खुट्टा सकुशल छ छैन हेरे। सररर सबैतिर हेरेपछि ठिक छ भन्ने भयो। अनि बल्ल आँखा बन्द गरेँ।

बच्चालाई देख्ने बित्तिकै भने के बोल्ने के नबोल्ने मेसो नै नहुने रहेछ। आमाको धेरै याद आउने रहेछ। सायद मातृत्व भनेको त्यही हो कि !

बच्चा पेटमा हुँदा सुन्तला मात्रै खाएको परिणाम बच्चा जन्मेपछि देखियो। जन्मने बित्तिकै निमोनिया भयो। खोकी लागेर हैरान बनायो। अप्रेशन गरेको घाउ, त्यसैमाथि खोकी। शिथिल बनायो।

घाउ निको हुँदै गएपछि घर गएँ। तर बच्चा जन्मेको २० दिनमै मेरो श्रीमान् कामको सिलसिलामा विदेश नगई भएन। माइती टाढा भएकाले जान सकिन। दिदी बहिनीको सहयोग नै सुत्केरी अवस्थाबाट उम्कन सकेँ।

बच्चा जन्माएको ४ महिना लाग्दै गर्दा कोरोना महामारी सुरु भयो। यसले धेरैलाई घाटा भयो होला, तर मलाई भने नाफा भयो। बच्चासँग धेरै समय बिताउन पाएँ।

दैनिकी सामान्य बन्दै गएपछि बच्चा घरमा छाडेर हिँड्न थालेँ। तर के गर्नु, तन जता भए पनि मन भने बच्चा तिरै जाने रहेछ। बच्चाले खायो कि खाएन होला, लडेर चोट पो लाग्यो कि, रोयो कि भन्ने भइरहने रहेछ।

अहिले छोरो ४ वर्ष पुग्न आँट्यो। स्वस्थ छ। चकचक गरिरहन पर्ने स्वभावको छ।

अहिले फिल्मको सुटिङका लागि बच्चा छाडेर हिँड्न थालेको छु। लामो समयका लागि टाढा जाँदा भाइ बुहारीकोमा छाड्ने गरेकी छु। जेठो र कान्छो भाइका पनि दुई छोरा नै छन्। मेरो छोरा छुच्चो छ, झगडा गरेर हैरान बनाउँछ।

हामी तिनै जनाको छोरो जन्मियो। अहिले परिवारमा छोरी भए हुने भन्ने चाहना छ। अरू साथीहरूले पनि अब अर्को बच्चा कहिले हो, छोरी पाउन पर्दैन भनेर झकझकाइरहन्छन्। म भने सबैसँग जोक मारिरहन्छु, म त तयारै छु, बुढा साथमा हुनुपरेन!

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....