उकेरा कोलम

कलाकार लुनिभाको प्रसव पीडा र खुसी : श्रीमानले गुगुल भन्दै पेटमा हात राख्दा भित्रबाट कोपरेझैं लाग्थ्यो


आफ्नो वास्तविक नामभन्दा बढी 'पवनकली' को नामले चिनिने कलाकार हुन् लुनिभा तुलाधर। कान्तिपुर टेलिभिजनमा आउने हाँस्य कार्यक्रमले उनलाई पवनकलीको नामले परिचित गराएको थियो।

फिल्म 'छड्के' बाट अभिनय थालेकी लुनिभा अहिले पनि टेलिभिजन कार्यक्रमसँगै फिल्महरुमा व्यस्त छिन्। नाटकमा पनि उनको सक्रियता उत्तिकै छ।

फोटोग्राफर तथा भिडियोग्राफर प्रमोद कार्कीसँग विवाह गरेकी उनी एक सन्तानकी आमा हुन्। लुनिभा आफ्ना प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्ः

ममीले म जन्मिँदाको कुरा गरिरहनुहुन्छ। सुत्केरी ब्यथा लाग्नुअघि काका-बाहरुले थुपारेका २२ वटा सर्ट र १५ वटा पाइन्ट घुँडा टेकेर धुनुभएको थियो रे।

कपडा धोइसकेपछि ममीलाई कटक्क पेट काटेर ब्यथा सुरु भएछ। यसो बा खोजेको कता हो कता। बिचरा ममीलाई अस्पताल लैजाने समयमा बा नै घरमा हुनुहुन्न। पछि काकाले नरदेवीबाट हिँडाएर रत्नपार्क पुर्‍याउनुभएछ। त्यहाँबाट गाडी चढाएर प्रसूति गृह पुगेपछि म जन्मिएको रे।

मेरो हजुरआमा र फुपु नर्स। अस्पतालमा जेठी फुपुका साथीहरुले नै ममीको हेरचाह गर्नुभएछ। म जन्मिने बित्तिकै सबैले 'ल प्रतिभा (दिदी) लाई माथ गर्ने छोरी जिन्मिई। कति सुन्दर' भनेर हाँसेका थिए रे। तर ममीलाई भने फेरि छोरी जन्मी, मैले जस्तै दुःख पाउने भई भन्ने चिन्ता लागेछ।

०००
सानोमा म निकै चञ्चले थिएँ। नभन है भनेर सुनाएका कुरा पनि मनमा राख्नै नसक्ने। अरुको गोपनीयता कायम गर्न नसक्ने भएकाले स्कुले जीवनमा मैले खासै साथी बनाउन सकिनँ। यसले त पोल खोलिदिन्छे भनेर मसँग साथी बन्न कमै आउँथे। अहिले पनि मेरा साथी निकै कम छन्।

हाम्रो परिवार नै गीत-संगीतमा रुचि राख्ने। हजुरबुबा उस्ताद। बुबा राजुरत्न तुलाधरले भने पैसा कमाउने चक्करमा रुचिलाई अगाडि बढाउन सक्नुभएन। तर उहाँ राम्रो कम्पोजर र गायक हुनुहुन्छ। काका ध्रुवराज तुलाधर गीतकार, फुपु प्रतिमा तुलाधर गायिका।

म पढ्नका लागि भारत पनि गएँ। भारत त गएँ तर मराठी भाषामा पढ्नुपर्ने भएकाले पढाइ पूरा नगरी बीचैमा फर्किएँ। 

विवाह गर्नभन्दा बच्चा जन्माउन बडो रहर थियो मलाई। तर विवाह लोभ भने नभएको हैन। सानैमा फुपुहरुले विवाह हेर्दा मलाई पनि रहर लाग्थ्यो। त्यसको आकर्षण थियो, गहना। विवाह गर्न पाए सधैं गरगहनाले धपक्कै बलेर बस्थें जस्तो लाग्थ्यो।

हुर्कँदै जाँदा विवाह रहरभन्दा पनि प्रेसरजस्तो हुने रहेछ। मेरा प्रेसर थिए साथीहरु। मेरा उमेरका प्राय: साथीहरुको विवाह भइसकेको थियो। म भने २५ वर्ष पुगिसकेकी थिएँ। मेरो प्लान थियो, २५ वर्षमा विवाह गर्ने अनि तुरुन्तै बच्चा जन्माइहाल्ने।

योजना अनुसार नै एक दिन बुबाको अगाडि गएँ र भने- अब मेरो विवाह गर्नुपर्‍यो। उहाँले किन? भनेर सोध्नुभयो। मैले 'सबै साथीहरुको भइसक्यो, अब म पनि गर्छु' भनें।

मास्टर्स नै सकिएको छैन, पढाइ सकेर गर्लिस् नि भन्नुभयो बुबाले। विवाहपछि पनि त धेरैले पढिरहेका छन्, केही हुन्न, त्यसपछि पनि पढिहाल्छु नि भनेर कन्भिन्स गराएँ। अनि उहाँले सोध्नुभयो- को केटासँग गर्छेस् त विवाह?

मैले भनें- प्रमोदसँग गर्छु नि। प्रमोद मेरी दिदीको साथी थियो। हाम्रो घरमा उसको आउजाउ भइरहन्थ्यो। केही समयदेखि प्रमोद र म प्रेममा थियौं। बुबाले उसको नाम सुन्ने बित्तिकै भन्नुभयो- बिचरा प्रमोद, दुःख पाउने भो।

०००
हाम्रो विवाह हतारमै भयो। बुबाले घरको भित्ता त रंग्याउनुभएछ तर पर्खालमा भने रङ लगाउन भुल्नुभएछ। त्यो पर्खालको फोटो हेर्दा अहिले पनि गाली खाइरहनुहुन्छ।

मलाई विवाह बित्तिकै बच्चा जन्माउने मन थियो। तर हामी दुवै एकै फिल्डका भएकोले होला, श्रीमानले बच्चा जन्माउने इच्छै देखाउनुभएन।

मेरो योजना फ्लप भयो। विवाह गर्नेबित्तिकै बच्चा जन्माउन सकिनँ मैले। पाँच वर्षपछि भने मेरो प्रेसरमा घर-परिवारले पनि साथ दियो। त्यसपछि बल्ल हामीले बच्चाको तयारी गर्यौंन।

म थाइरोइडको बिरामी। पहिले निकै दुब्ली थिएँ, अहिले मोटाइरहेकी छु। थाइरोइड सुरु भएदेखि नै लगातार मोटाउन सुरु गरेकी हुँ। धेरैको कुरा सुनेकी थिएँ- थाइरोइड भएको मानिसले बच्चा जन्माउन हुँदैन।

हामीले चिकित्सकसँग सल्लाह गर्यौं। चिकित्सकले ओके भनेपछि बल्ल बच्चाको तयारी थालियो।

पहिलो प्रयासमै बच्चा बसेजस्तो लाग्छ। किनभने, डेढ महिना मेरो महिनावारी रोकिएको थियो। गर्भवती भएँ कि भन्ने खालको कुरा दिमागमा परिसकेको थियो। तर परीक्षण भने गरेको थिइनँ।

रेडियो-अडियोमा 'परीको सरी' भन्ने भिडियो शो रेकर्ड गराइरहेका थियौं। जात्रै-जात्राका निर्देशक प्रदीप भट्टराईले त्यो शोको निर्देशन गर्नुभएको थियो। त्यही समयमा 'इन द ब्राउन एण्ड रेड वाटर' नामको नाटकको रिहरसल भइरहेको थियो। त्यो नाटक मिस क्यारिएज सम्बन्धी थियो। त्यही समयमा मेरो ब्लिडिङ भयो। महिनावारी भएँजस्तो लागेको थियो। तर चिकित्सकसँग सल्लाह गर्दा मिस क्यारिएज भयो पो भन्नुभयो।

त्यसपछि बच्चा जन्माउने हाम्रो प्रयास जारी थियो। मैले घरमा यति धेरै प्रेग्नेन्सी टेष्ट किट किनेर राखेको थिएँ। हरेक दिन परीक्षण गर्थें। नेगेटेभ देखाउँदा 'थुइक्क, पैसा मात्रै खेर' गयो भन्ने लाग्थ्यो। झण्डै एक महिनापछि भने रिपोर्ट पोजेटिभ आयो।

रिपोर्ट पोजेटिभ आएपछि म निकै खुसी भएँ। साथै, जिम्मेवारीको बोध पनि भयो। डर पनि लाग्यो।

गर्भवती भएको थाहा पाउँदा म एउटा नाटक गरिरहेकी थिएँ। पार्टी लभर, रक्सी खाएको अभिनय गर्नुपर्ने पात्र थियो त्यो। एउटा दृष्यमा भने टेबलमाथि उक्लेर उफ्रँदै नाँच्नुपर्ने थियो। म कुनै टेको बिना नै उफ्रेर टेबलमा चढ्थें। नाटक सकिन तीन दिन बाँकी हुँदा मैले गर्भवती भएको थाहा पाएको थिएँ। यो कुरा सबैले थाहा पाएपछि भने अर्को सानो टेबल राखेर कुर्सीमाथि चढ्ने दृष्य गरें।

मैले बच्चाले लगाउने साना हरिया चुरा किनेर राखेकी थिएँ। खै किन हो, पसलमा ती चुराहरु देख्ने बित्तिकै नकिनी बस्नै सकिनँ। चुरा जम्मा चार वटा मात्रै थिए। ती सबै मैले किनेर लगेकी थिएँ।

चुरा श्रीमानलाई देखाएँ। सुरुमा त उहाँले कुरै बुझ्नुभएन। पछि भने 'म बच्चा पाउने भएँ क्या' भनें। फिल्ममा देखिन्थ्यो, श्रीमती गर्भवती हुनेबित्तिकै श्रीमानले उचालेर नचाएको। म अलि मोटो भएकाले त्यतिसम्मको आश नभए पनि श्रीमान् खुसीले दंग पर्लान् भन्ने लागेको थियो। तर उल्टो श्रीमान् त दु:खी पो हुनुभयो। म आफैं बच्चा छु, अर्को बच्चाको जिम्मेवारी कसरी निभाउने, हुर्काउने भन्ने भएछ उहाँलाई।

फिल्ममा गर्भवती महिला डाँडाबाट फूलको थालीसहित लडेको हेरिन्थ्यो नि त। त्यही भएर मलाई चप्पल लगाउन डर लाग्थ्यो। हिल लाउने त कुरै भएन। फ्ल्याट चप्पल पनि लगाउन हुँदैन भन्थे। त्यसैले म एक इन्चको जुत्ता खोज्दै हिँड्थें।

थाइरोइडको बिरामी भएकाले रंगीन अल्ट्रासाउण्ड गर्न चिकित्सकले सुझाएका थिए। हामीले त्यसै गर्यौंह। अल्ट्रासाउण्डमा सुनेको बच्चाको ढुकढुकीले बल्ल मेरा श्रीमान् उत्साहित हुनुभएको थियो। जब श्रीमानले मेरो पेटमा हात राख्नुहुन्थ्यो, गुगुल आवाज आउँथ्यो। हामीले नजन्मँदै बच्चाको नाम गुगुलु राखिदिएका थियौं। श्रीमानले बाहिरबाट गुगुल भन्दै पेटमा हात राख्दा भित्रबाट कोपरेको अनुभूति हुन्थ्यो।

बच्चा पेटमा आएको सात हप्ता भएको थियो। दिउँसो पाते च्याउ राखेको पिज्जा खाएँ। घरमा पनि आमाले च्याउकै तरकारी बनाउनुभएको रहेछ। च्याउको तरकारीले मलाई एलर्जी भयो। ठूलाठूला डाबर निस्किन थाले। बच्चालाई असर गर्ला कि भनेर औषधि खान पनि मिलेन। तर मेरो मुटुको धड्कन नै पो कम हुन थाल्यो।

त्यसपछि बुबाले अस्पताल लैजानुभयो। सुई लगाउनुपर्ने रहेछ तर सुईले पेटको बच्चालाई असर गर्ने रहेछ। चिकित्सकले नजन्मिएको बच्चा प्यारो कि छोरीको ज्यान प्यारो भनेर भनेछन्। त्यसपछि सुई लगाइयो। भाग्यवस् बच्चालाई केही असर गरेन। अहिले पनि रातको समयमा च्याउ खान डर लाग्छ।

गर्भावस्थामा मलाई गुलियो मन परेन। पिरो र अमिलो भने खुब खान्थें। सुरु-सुरुमा भातमा पानी, नुन, हरियो खुर्सानी र अमला कुटेर मिसाएर खान्थें। 

केही महिना बितेपछि फेरि कान दुख्ने समस्या भयो। त्यही असरले म अहिलेसम्म पनि एउटा कान राम्रोसँग सुन्दिनँ।

चार महिनासम्म पेटमा बच्चा बढेन, म मात्रै बढें। चार महिनापछि भने बच्चाको तौल बढ्न थाल्यो। यो बाहेक गाह्रो खासै भएन। मैले एकदमै राम्रो र रमाइलो गर्भावस्था बिताएँ। पोतो आएन, कुनै दाग देखिएन।

०००
एक जना साथीको श्रीमती बच्चा जन्माउन नसकेर बितेको खबर सामाजिक सञ्जालमा आइरहेका थिए। सुत्केरी भएको २१ दिनमै बितेको त्यो खबरले मेरो ब्लड प्रेसर बढायो। ब्लड प्रेसर बढेको थाहा पाएपछि चिकित्सकले अस्पताल भर्ना हुन बोलाए।

श्रीमान् कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो। सपिङ गरेको थिएन। ससुरा बुबालाई लिएर सपिङ गर्न निस्किएँ। ९ किलो त कपडा धुने सरफ मात्रै किनेकी थिएँ। 

बिरामी भएकाले चिकित्सकले नर्मल डेलिभरी त कुनै हालतमा गर्न दिन्थेन। सुरुमै थाहा थियो, सिजरिङ गरेरै बच्चा जन्माउने हो। सात बजेलाई बच्चा निकाल्ने समय दिएको थियो। अस्पतालको शौचालयको चप्पल एकदमै चिप्लो थियो। सिंढी चढेर माथि जानुपर्थ्यो।

ट्वाइलेटबाट फर्कँदा चिप्लिएर लडें। पेट बजारियो। म रुन थालें। श्रीमान् निदाइरहेका थिए, अत्तालिएर उठे। केही समयपछि नर्स आएर हार्टबिट सुने। बच्चाको धड्कन सुनेपछि मात्रै म आत्तिन छाडें। आफ्नोभन्दा नजन्मिएको बच्चाको माया धेरै लाग्यो मलाई।

त्यसपछि अप्रेसनका लागि डेलिभरी रुममा लगियो। लठ्याउने सुई देखेर सात्तो गयो। यदि त्यस्तो सुई लगाइदिन्छन् भन्ने थाहा पाएको भए नर्मल डेलिभरी नै गर्ने भनेर जिद्दी गर्थें होला।

बच्चा झिकेपछि नयाँ डाक्टरलाई स्टिचिङ गर्न दिए। नयाँ डाक्टर काम सिक्न पाएँ भन्दै अर्को डाक्टरलाई धन्यवाद भनिरहेका थिए। आफूलाई भने यसले के गडबड गर्ला भनेर टेन्सन भइरहेको थियो।

०००
अल्का अस्पतालमा बच्चा जन्माएँ। आँखा नजिकै ल्याएर बच्चा देखाइदिए। सेतो पिठोजस्तो तर निलो भएको छोरा जन्मिएको रहेछ।

मैले मेरो पेट भित्रको पानी खै भनेर डाक्टरलाई अर्धचेत अवस्थामै सोधें। उहाँले पानी त थिएन, बोसो मात्रै थियो भनेर जोक मार्नुभयो। छोरो राम्रो छ भनेर १० मा ८ नम्बर दिनुभयो।

मेरा श्रीमानलाई छोरी मनपर्ने। मलाई पनि छोरी नै भए हुन्थ्यो जस्तो लागेको थियो।

वार्डमा सारियो। एक दिन त सुतेरै बित्यो। भोलिपल्टदेखि मलाई ज्वरो आयो। दुई दिनमा दुई सय मानिस भेट्न आए। कोबाट इन्फेन्सन भयो थाहै भएन। ९ दिनपछि मात्रै घर आएँ। बिचरा मेरो बच्चा, जन्मेदेखि नै ल्याक्टोजिन खाएर हुर्कनुपर्‍यो। 

१२ वैशाख २०७२। घर गएको दुई दिन भएको थियो। आमाहरु न्वारन गर्न सेल पकाउँदै हुनुहुन्थ्यो। मैले खाना समेत खाएको थिइनँ। एक्कासि धर्ति हल्लिन थाल्यो। भूकम्प गएछ। काम गर्ने बहिनीले उचालेर बाहिर निकालिन्। एक सेकेण्ड मात्रै ढिला भएको भए पनि छोरालाई दराजले थिच्ने थियो।

भूकम्प गएपछि परकम्प कति गए-गए। मुसलधारे पानी कति-आयो आयो। मेरा लागि भनेर बनाएको पालमा ५० देखि ७० जना बस्थ्यौं। घरमा जान सक्दिनँ भनेर मेरा लागि सानो शौचालय बनाइदिएका थिए। राती पानी पर्दा त मानिसजति मैले शौच गर्ने ठाउँमा अनि दिसा चैं म बस्ने ठाउँमा तैरिन आइपुग्थ्यो।
भूकम्पको धक्काले रिंगाटा लागेर होला, छोराले २४ घण्टासम्म आँखै खोलेन। 

अवस्था सामान्य हुँदै गएपछि बच्चा छाडेर हिँड्न थालें। बच्चा दुई महिनाको हुँदा पहिलो पटक छोडेर पवनकलीको सुटिङमा गएकी थिएँ।

'कबड्डी' फिल्म सुटिङ गर्दा भने एक महिनासम्म छोरालाई सँगै लान पाएँ। छोरा हेर्न बहिनी पनि सँगै गइन्। छोरालाई कबड्डी टिमले भत्ता पनि दिएको थियो।

बच्चा लिएर नाटक गर्न धेरै जिल्ला पुगें। नाटकको समयमा कलाकारले नै बच्चा हेर्थे। कुनै सिनमा त सबै कलाकार मञ्चमै जानुपर्थ्यो। हेर्ने मानिस कोही हुँदैनथ्यो।

झापामा नाटक गर्दा, एक माडवाडीको भवनमा थियो कार्यक्रम। नाटक गर्ने समयमा बच्चा निदाइहाल्यो। राख्ने ठाउँ समेत भएन। एक बेन्चमा पत्रिका ओछ्याएर सुताएर नाटक खेल्न गएकी छु म।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....