उकेरा कोलम

सौन्दर्यकर्मी सुष्माको प्रसव पीडा र खुसी : ज्योतिषीको कुरा पत्याएर बच्चा जन्माउने समय नै सारिएपछि...


वीरगञ्जको बिर्ता बजारमा जन्मिएकी सौन्दर्यकर्मी सुष्मा श्रेष्ठ रावल परिवारकी एक्ली छोरी हुन्। इन्टरसम्म वीरगञ्जमै अध्ययन गरेकी सुष्माको विवाह भने कैलालीका राजेश रावलसँग भयो।

राजेशका बुबा कृषि सामग्री संस्थानमा अधिकृत थिए। उनी सरुवा भएर परिवार नै वीरगञ्ज भएको समयमा राजेशसँग सुष्माको प्रेम बस्यो। र, परिवारको राजिखुसीमा विवाह भयो। 

पहिलो सन्तान जन्माएपछि बल्ल करिअर सुरु गरेकी उनी अहिले सौन्दर्यविद्हरुलाई तालिम दिन्छिन्। तीन सन्तानकी आमा सुष्माको पुरानो बानेश्वरमा आफ्नै ट्रेनिङ सेन्टर श्रृंगार घर छ। सौन्दर्यकर्मी सुष्मा आफ्ना प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गर्छिन् :

०००
मैले विवाह गरेपछि मात्रै नागरिकता बनाएँ। त्यसैले नाममा माइतीको थर हराएको छ। कम उमेरमै विवाह गरेकाले पनि थरको महत्व कति हुन्छ भन्ने थाहा पाएकी थिएँ। अब मेरो नागरिकतामा सुष्मा रावल मात्रै भए पनि अरुलाई चिनाउँदा सुष्मा श्रेष्ठ रावल भन्न मन छ।

इन्टर दोस्रो वर्षमा पढ्दै गर्दा मैले विवाह गरें। १९ वर्षकी थिएँ त्यतिबेला।

घरमा मेरा जेठाजु र देवर मात्रै। नन्द-आमाजु हुनुहुन्न। यता माइतीमा पनि परिवारकै एक्ली छोरी। अरुका ५/६ जनासम्म दिदीबहिनी देख्दा मलाई मेरा दिदी छैनन् भन्ने लाग्थ्यो। अरुका दिदीबहिनी कपडा साटेर लगाउँथे, हरेक कुरा सेयर हुन्थ्यो उनीहरुबीच। मेरो दाइ-भाइ पनि कुरा त सुन्नुहुन्थ्यो तर दिदीबहिनीको अभाव सधैं खड्किरहन्थ्यो। त्यसैले बुझ्ने भएदेखि नै एउटा धारणा बनाएको थिएँ, मैले बच्चा जन्माएँ र छोरी भइन् भने अर्को छोरी पनि अवश्य जन्माउने छु।

हामी तराईमा जन्मेका मानिस। तराईतिर एउटा बच्चा साथमा, एउटा काखमा, अनि अर्को पेटमा बोकेर हिँडेका महिला धेरै देख्थें। अझै कुनै-कुनै बच्चाले त दुईतिर एक-एक मुन्टा दूध चुसिरहेको समेत देख्थें। दूध खाँदाखाँदै त्यसरी कोख बाँड्न परेको मलाई त्यही समयमा राम्रो लाग्दैनथ्यो। मेरो बच्चा हुँदा यसरी कोख बाँड्दिन भन्ने महसुस भइरहन्थ्यो।

मैले पहिले जे सोचें त्यही नै जिन्दगीमा सार्थक हुँदै गयो। एक जना मोटिभेसनल स्पिकरको कुरा सुनेको थिएँ, तपाईंले दिमागमा जस्तो इमेज बनाउनुभएको छ, लाइफ त्यस्तै मोडमा जान्छ भन्नुभएको थियो उहाँले। नभन्दै मेरो त्यस्तै भयो। 

०००
पहिलो सन्तान मैले २१ वर्षको उमेरमा जन्माएँ। विवाह भएको दुई वर्ष भइसकेको थियो। बच्चा जन्माउने कुनै योजना थिएन। तर घरमा पनि कोही बच्चा नभएकाले घुमाउरो पारामा बच्चाको माग गरिरहेको महसुस गरिन्थ्यो। मेरो श्रीमानको भने ब्याचलर्स सकेपछि मात्रै बच्चाको योजना थियो। तर उहाँ पहिलो पहिलो वर्षमा अध्ययन गर्दागर्दै म गर्भवती भएँ।

खाना नरुच्ने, वाकवाक आउने, कमजोर महसुस हुने भएपछि युरिन टेष्ट गरियो। नभन्दै नतिजा सकारात्मक आयो। सुरुमा त ला अब के गर्ने होला भन्नेजस्तो अवस्था भयो।

सुरुको तीन महिना म नर्कमै पुगेजस्तै भयो। उज्यालो प्रकाश देख्नै नसक्ने, अँध्यारो कोठामा थुनिएर बस्नुपर्ने। एक चम्चा जुस खाएँ भने चार चम्चा भोमिट हुन्थ्यो। ट्वाइलेट जाँदा समेत समातेर लैजानुपर्थ्यो। मर्छु जस्तो अनुभूति भएको थियो।

तर, चार महिना टेक्ने बित्तिकै सबै समस्या हटे। जति पनि खान सक्ने, ज्यान हल्का भएजस्तो, फुर्तिलो भएजस्तो भयो। त्यो बेला सासु-ससुरा टीकापुर बस्नुहुन्थ्यो। मेरो श्रीमान्, देवर र म धनगढीमा बस्थ्यौं। घरमा छोरी मान्छे म मात्रै थिएँ। फुर्तिलो हुनुपर्ने बाध्यता पनि थियो होला।

बच्चा सात महिनाको पुगेपछि म माइती वीरगञ्ज गएकी थिएँ, तिहार मनाउन। त्यो समयमा अलि गाह्रो भयो। अर्चला वैद्य लगायतका चिकित्सक वीरगञ्जमा हुनुहुन्थ्यो। अस्पतालमा गएर चेक गराउँदा त हेमोग्लोबिन ६ मात्रै छ भन्यो। सामान्य मानिसको ११ बढी हुनुपर्थ्यो रे।

निकै न्यून मात्रामा हेमोग्लोबिन भएकाले रगत दिनुपर्छ भनेर चिकित्सकले अस्पताल भर्ना हुनुपर्ने बताउनुभयो। तर मलाई भने धनगढी फर्कनु थियो। उहाँले भनेको मिलेन होला भनेर मन्जु अग्रवाल भन्ने अर्का चिकित्सकलाई देखायौं। उहाँले पनि त्यही रिपोर्ट देखाउनुभयो। दुवै चिकित्सकले यात्रा गर्न पूर्ण रुपमा बन्देज लगाइदिनुभयो। मैले वीरगञ्जकै नारायणी अस्पतालको प्रसूति गृहमा बच्चा जन्माउनुपर्ने भयो।

जन्मे-हुर्केकै ठाउँमा मान्छेले मान्छे जन्माउँदाको अवस्था बडो रोचक रह्यो। मेरो ममी-बुबा काठमाडौंमा हुनुहुन्थ्यो। घरमा हजुरआमा, काकी लगायत हुनुहुन्थ्यो। टोल-छिमेकबाट मलाई भेट्न आउनेको भीड हुन्थ्यो। सबैले थरीथरीका कुरा सुनाउँथे। 

म भने दुखाइ कति हुन्छ भन्नेमा चासो देखाउँथें। सबैले मरेर बाँच्नपर्छ भन्नुहुन्थ्यो। मेरो सात्तो जान्थ्यो।

चिकित्सकले डेट दिएको थियो। तर एक दिन अगाडि नै पेट अलिअलि दुखेजस्तो भएको थियो। त्यसैमाथि हेमोग्लोबिन परीक्षण गर्नका लागि पनि अस्पताल जानुपर्ने भयो। चिकित्सकले कस्तो छ भनेर सोध्दा चस्सचुस्स घोचेजस्तो छ भनेको थिएँ। उहाँले त लौ त्यसो भए भर्ना हुनुपर्छ पो भन्नुभयो। 

यसो प्रसूति गृहको वार्डतिर हेरेको त सबै भुँडी ठूला भएका महिला कम्मरमा हात लगाउँदै ऐय्या र आत्था गर्दै यताउता गरिरहेका रहेछन्। त्यहाँ पनि मेरो सात्तो गयो। मलाई त यस्तो दुखेको हैन, घरै जाने भनेर सँगै गएकी काकीलाई हैरान बनाएँ। केही सिप नलागेपछि उहाँले घर ल्याउनुभयो।

घर आइसकेपछि रातितिर त चिकित्सकले भनेजस्तै गरेर पेट दुख्न थाल्यो। घरका सबै मानिसहरु ब्ल्यांकेटदेखि मिश्री काँडा पानीदेखि सबै सामान रेडी बनाएर बस्नुभएको रहेछ। राति नै मलाई अस्पताल कुदाएर लगियो।

वरपर सबै आफन्तले घेरेका थिए। ऐय्या आमा! भन्यो भने व्यथा झनै लामो हुन्छ भनेर गाली गर्थे। अनि मेरो पालो ऐय्या काकी! भनें। उहाँ पनि आमा नै हो भन्दै फेरि कराउन थाल्छन्। मलाई त्यतिबेला निकै रिस उठेको थियो। तर वरपर बसेका मानिसले भने केके भनेर हँसाइरहन्थे। म रुनु न हाँस्नु हुन्थें। त्यसैमाथि हजुरआमा काँडा पानी लिएर मुखमा घुसाउन खोजेको खोज्यै गर्ने। अझै नभएर तातो-तातो जेरी ल्याएर खुवाउन खोज्दै हुनुहुन्थ्यो। म अगाडि आउने सबैलाई गाली गर्थें।

म मान्छे अलि ज्याद्रो नै हो। मान्छेले मान्छे जन्माउनै पर्छ। पेटमा आइसकेपछि जसरी हुन्छ जन्माउनैपर्छ भन्ने कुरा दिमागमा आइसकेकाले दह्रो बनेको थिएँ। 

०००
अलि उमेर पुगेपछि बच्चा जन्मायो भने धेरै माया लाग्ने होला भन्ने लाग्थ्यो तर हैन रहेछ। पहिलो सन्तान छोरी जन्मिएपछि उसको नाङ्गो शरीरको स्पर्शले स्वर्ग पुगेजस्तै लाग्यो। मेरो उपलब्धि भनेको यो हो भन्ने भयो। शब्दमा भन्नै सकिँदैन, यो एउटा मिठो अनुभूति हो।

पहिलो सन्तान जन्माएपछि बल्ल मैले करिअर सुरु गरें। नानी स्कुल जान थालेकी थिइन्। अब के गर्ने त भन्ने भयो। मेरो देवरले पनि यत्तिकै बस्नुभन्दा केही तालिम लिए राम्रो हुने सुझाउनुभयो। पत्रिकामा तालिमको अवसर भनेर लेखेको विज्ञापन भेटियो। फोन गरेर बुझ्दा ब्युटिसियनको तालिम खुलेको रहेछ।

मलाई पढाउन खुबै मनपर्ने। सन्तान जन्माउनुअघि एक विद्यालयमा पढाउँथें। ब्युटिसियनको तालिम लिँदा विभिन्न विषयमा बुझाउनुपर्ने पनि हुन्थ्यो। मेरो शैलीलाई सबैले मन पराउनुभयो। हरेक कक्षामा म प्रथम भएँ। जहाँ तालिम लिएकी थिएँ, त्यहीँ पढाउन थालेंकी थिएँ।

०००
पहिलो सन्तान जन्मेको झण्डै ६ वर्षपछि मैले दोस्रो सन्तान जन्माएँ। त्यतिबेला ब्याचलर्स पढ्दा बाँकी रहेका ब्याक पेपरको परीक्षा दिँदै थिएँ। साथमा ब्युटिसियनका लागि तालिम दिने काम पनि जारी थियो। दोस्रो पटक योजनाबद्ध रुपमै म गर्भवती भएकी थिएँ।

पहिलो सन्तान जन्माउँदा जस्तै दोस्रो जन्माउँदा पनि तीन महिना नर्क गएजस्तै भयो। निकै गाह्रो। उज्यालो देख्नै नहुने, केही खानै नहुने। तीन महिना कटेपछि फेरि फुर्तिलो बनिहालें।

दोस्रो सन्तानको समयमा श्रीमान् बैंकमा काम गर्न थाल्नुभएको थियो। उहाँको सरुवा काठमाडौं भएकाले हामी सबैले धनगढी छाडेर यतै बस्न थालेका थियौं।

आमा-बुबाका साथ सुष्मा।

सबै कुरा पहिलो सन्तानको समयमा जस्तै भयो। तर बच्चा जन्माउने समयमा भने एउटा रमाइलो घटना घट्यो। नियमित चेकजाँचका लागि अस्पताल गएकी थिएँ। परीक्षणपछि चिकित्सकले अस्पताल भर्ना गरिहाल्नुपर्छ भने। बच्चा नालले बेरिएको जानकारी पनि दिए। तर ज्योतिषीले मेरो परिवारलाई बच्चा मुलमा परेको छ भनिदिएछ। मेरो परिवार आध्यात्मिक भएकोले ज्योतिषीको कुरा पत्याए। चिकित्सकको समेत ब्रेन वास गरेर मुल परेको समय कटेपछि मात्रै बच्चा जन्माइएको थियो।

मैले दोस्रो सन्तान पनि छोरी नै जन्माएँ। जे सोचेको थिएँ, त्यही भयो।

अहिलेको जस्तो अवस्था भएको भए अपरेसन हुन्थ्यो होला। तर त्यो समयमा नर्मल बच्चा जन्मेको थियो। चिकित्सकले दिएको डेटभन्दा झण्डै १५ दिनअघि मैले बच्चा जन्माएको थिएँ। 

०००
छोरी जन्मेको झण्डै पाँच वर्षपछि मैले १५ लाख लगानी गरेर आफ्नै काम सुरु गरें। व्यवसाय सुरु गर्नुअघि चिना हेराएकी थिएँ। चिना हेर्ने मानिसले काम त सुरु गर तर तिम्रो सन्तान प्राप्तिको योग छ भनेको थियो। मलाई उसको कुरामा खासै विश्वास लागेन।

आफ्नै तालिम सेन्टर श्रृंगार घर सुरु गरेको केही समयमै महिनावारी भएजस्तो हुने तर हल्का मात्रै रगत देखिने भयो। पहिलेदेखि ने हेमोग्लोबिन कम भइरहने शरीरमा अहिले पनि त्यस्तै भएको होला भन्ने लाग्यो। 

एक जना मिल्ने साथीलाई यो कुरा सेयर गरें। उहाँले बच्चा पेटमा आएको समयमा पनि यस्तो लक्षण देखिन्छ भन्नुभयो। तेस्रो सन्तान जन्माउने मेरो कुनै योजना थिएन। त्यसैले मन झसंग भयो।

उहाँले नै युरिन टेष्ट गर्ने किटको बारेमा बताउनुभयो। किनेर परीक्षण गरें। नभन्दै दुई वटा लाइन देखायो। मलाई भने आफू गर्भवती भएको पटक्कै विश्वास लागेन। अन्य अस्पतालमा पनि परीक्षण गरें। अल्ट्रासाउन्ड गरेर हेरेपछि मात्रै पत्याएको थिएँ।

मेरो मनले त्यो समयमा पाप पनि सोच्यो। १५ लाख लगानी लगाएर व्यवसाय सुरु गरेको छु। बच्चा जन्माउनतिर लागे त खत्तम हुन्छ। यो कुरा परिवारमा कसरी सुनाउनु।

धेरै ठाउँमा मैले मेरो समस्या सुनाएँ। अब बच्चा राख्दिनँ, परिवारलाई थाहै नदिई फाल्छु भन्ने सोच आएको थियो। तर पाटन अस्पतालमा काम गर्ने चिकित्सकको मनोपरामर्शले मैले तेस्रो सन्तान जन्माएँ।

दुई छोरी जन्मेका थिए। घरमा फेरि छोराको अभाव खड्केको थियो। परामर्शपछि पनि बच्चा हेर्छु, छोरा भए राख्छु, छोरी भए राख्दिनँ भन्ने धारणा पैदा भएको थियो। तर त्यही रात एकदमै रगत बग्यो। मेरो नराम्रो सोचाइका कारण मेरो बच्चा गयो भन्ने भान भयो र एकदमै रोएँ।

भोलिपल्ट पाटनका उनै चिकित्सककहाँ गएर रुँदै मेरो बच्चा जसरी हुन्छ बचाइदेऊ भनें। छोरा भए पनि, छोरी भए पनि मेरा लागि बराबर हो, जसरी पनि बच्चा चाहियो भनेर रोएँ। बच्चा सकुशल रहेको थाहा पाएपछि घर-परिवारमा भनें। सबैजना खुसी हुनुभयो।

अचम्म के भयो भने, दुई छोरी जन्माउँदा तीन महिना नर्कको जस्तो जीवन बिताएको मलाई तेस्रो पटकमा केही भएन। खान मन नलाग्ने, चक्कर आउने, हेमोग्लोबिन कम हुने जस्ता समस्या भएनन्। मन दह्रो थियो। पेटमा आएपछि धर्तिमा ल्याउनैपर्छ भन्ने भावना मनमा थियो। केही समस्या नआएरै छोराको रुपमा मैले तेस्रो सन्तान जन्माएँ।

अहिले जेठी छोरी इशा २३ वर्ष, कान्छी छोरी इसीता १६ वर्ष र छोरा इशान ९ पूरा भएर १० वर्षमा लाग्दैछन्। एउटी टिनएज केटी, एउटी टिनएजमा दौडिरहेकी र अर्को टिनएजमा पुग्न लागेको। उनीहरुको मानसिकता बुझ्ने कोशिससँगै म व्यवसाय पनि गरिरहेकी छु।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....