उकेरा कोलम

९० वर्षीया आमैको प्रसव पीडा र खुसी : ९ पटक सुत्केरी हुँदा ११ सन्तान, 'अनि मैले आफैं नाल काटें'


चीनमाया सुयँलले लौरी टेक्ट थालेकै तीन दशक भइसक्यो। नहोस् पनि किन? उमेर सोध्नेहरुलाई उनी औंला भाँच्दै सुनाउँछिन्- चार बीस दस। 

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिकामा जन्मिएकी चीनमाया त्यही हावापानीमा हुर्किइन् र त्यहीँ रमाइरहेकी छिन्। पुराना किस्सा र अहिले परिवर्तन हुँदै गइरहेको कुरालाई उनी बडो रोचक ढंगले सुनाउन माहिर छिन्।

चीनमाया ९ पटक सुत्केरी भइन् र ११ सन्तान जन्माइन्। समयले जति नै फड्को मारे पनि उनलाई आफूले बच्चा जन्माउँदाको झझल्को अझै ताजा छ। आफूले जन्माएका सबै सन्तान साथमा छैनन् तर उनको मनमा भने सबै छोरा-छोरी अझै बाँचिरहेका छन्।

९० वर्षको उमेरमा समेत फुर्तिली, टाठी आमैले आफूले झण्डै एक दर्जन सन्तान जन्माउँदाको पीडा र खुसी उकेरासँग यसरी साँटिन्:

म पाण्डेकी छोरी। हुनेखाने परिवारमै जन्मेकी थिएँ। तर भाग्यको खेला कहाँदेखि कहाँ पुगियो, अहिले सम्झँदा पनि झसंग हुन्छु।

कुन घटना कुन मितिमा भयो भन्ने थाहा छैन। दिमागमा सम्झना छ त केवल घटनाको मात्रै। म भर्खर तरुनी हुँदै थिएँ। घरमा पारि ज्यामरुङको केटो मलाई माग्न आएको भन्ने थाहा भयो।

घर-परिवारले मेरो कन्यादान गरे। ज्यामरुङको भिरालो पाखामा घर थियो। बाउ-आमाले खुब जोडा मिलाएर बिहे गरिदिए भनेर सबैले कुरा गर्थे। उसको र मेरो उमेर लगभग उस्तै जस्तो थियो।

बिहे गरेको छोटो समयमै उसलाई कालले चुँडेर लग्यो। पैसा कमाउन घरदेखि टाढा गएको थियो। के कारणले ज्यान गयो थाहा भएन। एकै चोटी घरमा लास आइपुगेको थियो।

म कलिलै उमेरमा बिधवा भएँ। सन्तान पनि जन्मिएका थिएनन्। त्यो समय अहिलेजस्तो थिएन। एक्ली आइमाई बाँच्न निकै गाह्रो हुन्थ्यो। समाजले पोई टोक्वै भनेर उस्तै हेला गर्थे। मेरै कारणले श्रीमान् मरेको भनेर आरोप लगाउँथे।

म त्यो समयमा निकै हिम्मतिली थिएँ। हुन त अहिले ९० वर्षको उमेरमा पनि केही कम छैन। त्यो बेलाको जोस झनै धेरै थियो।

जिन्दगीभर एक्लै बस्न सकिँदैन भन्ने ठानेर श्रीमान् बितेको ६ महिना पनि नपुग्दै मैले आफैंले दोस्रो बिहे गरें।

बिहे गरेर दिएको घरभन्दा ठ्याक्कै पारिपट्टिको सुयँल थरको मानिससँग मैले दोस्रो बिहे गरेकी थिएँ। बिहे गर्दाको कथा छुट्टै छ।

सुयँलले दुई वटा बिहे गरिसकेको थियो। जेठीको सन्तान नै भएको थिएन भने माइलीले छोरी छोरी मात्रै जन्माएकी थिइन्। मसँग बिहे गरे छोरा पाउँछे भनेर हेराउनेले भनिदिएछ। त्यसैले कान्छी श्रीमतीको रुपमा मैले सुयँलसँग बिहे गरेकी थिएँ।

बिहे गरेपछि हामी तीनै जना श्रीमतीलाई सुयँलले एकै घरमा राख्यो। कहिलेकाहीं ठाक्कठुक्क बाहेक हामी मिलेरै बस्थ्यौं। बिहे गरेको झण्डै तीन महिनापछि मेरो पेटमा बच्चा आयो।

छोरा पाउन भनेर ल्याइएकी मलाई सन्तान पेटमा आएपछि चिन्ता भने लाग्यो नै। तर मनमा छोरा नै पाउँछु जस्तो भने लागेको थियो। पेट डोलो परेर आएको थियो, अरु देख्नेहरुले पनि छोरै पाउँछे भन्थे।

त्यो समयमा अहिलेजस्तो के खाने, के नखाने भन्ने नै थिएन। पहिलो सन्तानको पालामा माटोको बसना हरर आउँथ्यो, खान्थें पनि। त्यो बाहेक खानेकुरामा छनोट नै थिएन। बच्चा जन्माउने बेलातिर पनि म सक्रिय रुपमा काम नै गरिरहेकी थिएँ।

अहिलेजस्तो बच्चा जन्माउन अस्पताल जाने चलन पनि थिएन त्यो बेला। मैले घरमै बच्चा जन्माएँ। संयोग पनि कस्तो! नभन्दै मैले पहिलो सन्तान छोरै पाएँ। छोरो पाएपछि सुयँल धेरै खुसी भयो।

बाटो खुलाउन म चाहिएको रहेछ। त्यसपछि त जेठीले पनि सन्तान जन्माइन्। माइलीले पनि छोरा पाइन्। एक पटक त हामी तीनै जना एकै पटक दोजिया समेत भएका थियौं।

सन्तान बढ्दै गएपछि सुयँलले मलाई छुट्टै राख्यो। अरु दुई भने सँगै बसे। मलाई सबै ठाउँबाट देख्ने माथिको घरमा घर बनाएर राखेको थियो। अहिले त्यो घर भूकम्पले भत्कियो। त्यहाँबाट सबै देख्ने तर केही मर्दापर्दा भने मानिसलाई जान सकस हुने ठाउँ थियो त्यो।

पहिलो सन्तान जन्माउँदाको याद ताजा भए पनि अरु सन्तान जन्माउँदाको याद खासै छैन। राम्रो स्याहार सुसारको कमीले गर्दा कोही राम्रोसँग हुर्कनै पाएनन्, कोहि हुर्किए पनि बोल्न नसक्ने, हिँड्न राम्रोसँग नसक्ने खालका भए।

९ पटक सुत्केरी भएछु। दुई पटक भने जुम्ल्याहा पनि पाएँ।

पहिलो पटक जुम्ल्याहा बच्चा जन्माउँदा दुई वटा छ भन्ने थाहै थिएन। पेट भने निकै ठूलो थियो। छुट्टिएर बसेकाले घरमा साना बच्चा र म मात्रै थियौं। यताउता जान नसके पनि घरकै काम भने गरिरहेकी थिएँ। रातभर ढिकी जाँतो नगरे खाने अन्नै हुन्नथ्यो।

धेरै बच्चा जन्माइसकेकाले ब्यथा कसरी लाग्छ भन्ने कुरा मैले थाहा पाइसकेकी थिएँ। रात छिप्पिदै थियो। छोराछोरी सबै सुतिसकेका थिए। त्यही समयमा मलाई ब्यथा लाग्यो।

घर अरु छिमेकीको भन्दा टाढा। ब्यथा लाग्यो भनेर कसैलाई बोलाउनै भ्याइनँ। बोलाउन जाने मानिस पनि भएन। रातको समयमा सुतेका छोराछोरीलाई उठाउन मनले मानेन।

एक्लै बच्चा जन्माउनुपर्ने रहेछ भन्ने लाग्यो। हिम्मत गरेर नजिक रहेको खाँबोमा अढेस लाग्न पुगें। पुराना कपडाहरु ओछ्याएँ र बल गरेर कन्न थालें। 

खाँबोमा अढेस लगाएर, खुट्टा तनक्क तन्काएर बल गरें। कडै बल लगाएपछि बच्चा जन्मियो। तर अझै ब्यथा लाग्न छाडेन। पेटमा अझै बच्चा भएजस्तो लाग्यो। नभन्दै पहिलो बच्चा जन्मेको एकैछिनको फरकमा अर्को बच्चा पनि निस्कियो। एकै चोटी दुई वटा बच्चा जन्मिए। पहिलो पटक छोरा-छोरा जुम्ल्याहा जन्मिएका थिए।

एक्लैले बच्चा जन्माएपछि बाँकी काम पनि गर्नैपर्यो। मान्छे खोज्न कता जानु। मैले आफैंले आफ्नो नाल काटें। दुई छोरालाई अर्को ठाउँमा पुछपास गरेर राखें। पेट खाली भएजस्तो भयो। पकाएर दिने कोही थिएन। आफैंले आगो फुकें र आधा रातमा खाना बनाएर खाएँ। 

अर्को पटक पनि जुम्ल्याहा नै जन्माएँ। त्यसमा छोरा र छोरी थिए।

गरिब परिवार। वर्षेनि जुम्ल्याहाका दरले खाने पेट बढिरहेको थियो। आफैंले पाएका सन्तान देखेर आफैंलाई अत्यास लाग्थ्यो। म अलि जफती भएकाले मात्रै सहन सकें। सुयँल थला नपरुन्जेलसम्म मेरो हातल उस्तै रह्यो। लामो समय थला परेर ऊ बितेको पनि एक बीस बढी भइसक्यो।

जति पाए पनि एक्लै
मैले जम्मा ६ छोरा र पाँच छोरी पाएँ। धेरै जन्माएकाले सबैलाई राम्रोसँग हुर्काउन सकिनँ। कति छोराहरु हुर्किएर ठूला भएपछि बिते, कतिलाई सानैमा गुमाएँ। जन्माएका पाँच छोरीहरु भने सबै छन्। छोरामा जेठो मात्रै छ, अरु सबै बिते।

माइलो छोरो ठूलो भइसकेको थियो। बिहे पनि गरिदिएकी थिएँ। बाख्रा धपाउन जाँदा लड्यो, ठाउँका ठाउँ बित्यो। भर्खर बिहे गरेकी बुहारी अर्कैसँग पोइल गइन्। साइलो छोरा राम्रोसँग हिँड्न र प्रष्ट बोल्न सक्दैनथ्यो। मलाई खुबै माया गर्थ्यो। 
एउटी उस्तै केटी खोजेर बिहे गरिदिएकी थिएँ। तर ऊ पनि चाँडै नै छाडेर गयो। बुहारी माइतै बस्छिन्। अरु भने सानैमा बिते।

अहिले चार वटी छोरीको घरबार राम्रो छ। ज्वाइँहरु निकै असल पाएकी छु। साइँली छोरी भने राम्रोसँग बोल्न नसक्ने लठेब्री भइन्। उनको पनि उस्तै केटो छानेर बिहे गरिदिएकी थिएँ तर ऊ घरमा बस्न सकिनँ। अहिले साइँली छोरी र म सँगै बस्छौं।

जेठो छोरोको घर नजिकै छुट्टै घरमा हामी दुई आमा-छोरी बस्दै आएका छौं। साइँली छोरी भाँडा माझ्न त सक्छिन् तर पकाउन जान्दिनन्। यत्तिको उमेरमा पनि आफैं पकाउँछु। दुःख बिमार परे छोराले हेर्छ।

खनाती पनि जन्मिसक्यो
मलाई मेरा नाति-नातिना, पनाति-पनातिना कति भए थाहै छैन। जेठो छोराका छोराहरु मात्रै चार भए। उनीहरुले दुई-दुई जन्माउँदा आठ पनाति-पनातिनी त घरमै छन्।

कतिलाई त चिन्दिनँ पनि। छोरापट्टिको जेठो छोरा अर्थात् मेरो जेठो नातिको छोरी पनातिनीले खनातीलाई जन्म दिएकी छन् भन्ने सुनेकी छु। खनाती देखे उसले मलाई ढुंगाले हान्न पर्छ रे भन्छन्। अहिलेसम्म हाम्रो देखभेट भने भएको छैन।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....