उकेरा कोलम

जुम्बा गुरु बाबाको प्रसव पीडा र खुसी : डाक्टरले गाली गर्दागर्दै रिक्स मोलेर नर्मल डेलिभरी गरें


जुम्बा गुरु बाबा तामाङ, काठमाडौंका विभिन्न फिटनेस सेन्टरमा तालिका अनुसार जुम्बा सिकाउँछिन्।

बाबाका श्रीमान् भने पूर्व फुटवल खेलाडी। तौल बढ्दै गएकाले श्रीमानसँगै बिहान मर्निङ वाक गर्न थालिन् उनी। सात वर्षअघिको कुरा सम्झँदै उनले सुनाइन्, 'एक दिन एउटा फिटनेस सेन्टरबाट गीत बजेको आवाज आइरहेको थियो। त्यहाँ के होला भन्ने उत्सुकता भयो। एक्लै मर्निङ वाक जाँदा त्यहाँ पसें। केही दिन ट्रायल जुम्बा गरेपछि मलाई रमाइलो लाग्यो। त्यसपछि पैसा तिरेर सिक्न थालें।'

राम्रो हुँदै गएपछि उनले जुन फिटनेस सेन्टरमा जुम्बा सिकिन्, त्यहाँ नै सिकाउन थालिन्। सुरुमा राष्ट्रिय जुम्बा प्रशिक्षणको प्रमाणपत्र लिइन्। केही समयपछि अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षणको प्रमाणपत्र लिइन्।

प्रायः समय जुम्बा सिकाउन ब्यस्त रहने उनी दुई सन्तानकी आमा हुन्। उनै जुम्बा गुरु बाबा आफ्नो प्रसव पीडा र खुसी उकेरासँग सुनाउँछिन्:

हाम्रो बुबाको पुर्ख्यौली थलो त संखुवासभा हो रे। तर हामी अहिलेसम्म त्यो ठाउँमा पुगेका छैनौं। बुबा दुर्गाबहादुर तामाङ नेपाल आर्मी हुनुहुन्थ्यो, अहिले अवकाश जीवन बिताइरहनुभएको छ। उहाँकै कामको सिलसिलामा हामी वीरगञ्ज आयौं। मेरो जन्म वीरगञ्जमै भयो।

हामी तीन दिदी-बहिनी मात्रै, दाजुभाइ छैनन्। म कान्छी छोरी। तीनै जना विभिन्न होस्टेलमा बसेर पढ्यौं। एसएलसी मैले वीरगञ्जबाटै दिएँ।

म १९ वर्षको हुँदै थिएँ। घरमा विवाहको कुरा चल्यो। राम्रो खानदानको केटो भनेर आफन्तले कुरा चलाएपछि मेरो विवाह पक्का भयो। श्रीमान् सोमबहादुर तामाङको पुर्ख्यौली घर रामेछाप रहेछ। तर त्यहाँबाट सबै बसाइँ सरेर काठमाडौं आउनुभएको रहेछ।

मागी विवाह भए पनि हाम्रो देखभेट भने पहिले नै भएको थियो। मोबाइल नम्बर साटासाट गरेका थियौं। बेला-मौकामा कुरा पनि हुन्थ्यो। त्यो उमेर पनि त्यस्तै होला, राम्रो केटासँग बोल्न मलाई पनि रहर लाग्यो। उसलाई पनि मसँग बोल्न रहर लाग्यो होला।

सपिङ गर्नेदेखि राम्री बन्नुपर्ने कुराहरुमा मैले खासै चासो राखिनँ। विवाहको सबै सपिङ दिदीहरु र आमाले नै गरिदिनुभएको थियो। हिँड्नुअघि फोन गरेर हामी हिँड्यौं है भन्नुभएको थियो। मलाई त निकै डर लाग्यो। 

हाम्रो विवाहमा अहिलेजस्तो विभिन्न खेल खेलाइएन। तराईमा बसोबास गर्ने तामाङ घरको विवाह, कस्तो हुने हो र! विवाहको दिन आमालाई भने झुलुक्क पनि देख्न पाइनँ। काकाले बोकेर गाडीमा राख्नुभएको थियो, म धेरै रोएकी थिएँ।

भीमफेदीको उकालोमा पुगेपछि गाडी गुड्दै गुडेन। जन्ती गएका आफन्तले सबैले गाडी धकेल्न परेको थियो। अहिले त्यो समयमा जन्ती जानेहरु सबैले त्यही कुरा सम्झाएर हसाउँछन्।

माइतमा मेरो ममी निकै कडा स्वभावको हुनुहुन्थ्यो। सायद छोरीलाई कसैले केही गरिदेला कि भन्ने डर पनि होला। उहाँ मलाई लगाउन मन लागेको कपडा समेत लगाउन दिनुहुन्थेन। त्यसैले विवाह अगाडिसम्म मैले पाइन्ट समेत लगाएकी थिइनँ। सधैं कुर्ता-सुरुवाल मात्रै लगाउँथें।

विवाह गरेको केही समयपछि मलाई मेरो सासु-आमाले सोध्नुभयो- तिमीलाई पनि पाइन्ट लगाउन मन छ? मन छ भने लगाऊ है, राम्रो देखिन्छ।

यो कुरा मैले श्रीमानलाई सुनाएँ, उहाँले पाइन्ट किनेर ल्याइदिनुभयो। मैले माइतीभन्दा धेरै स्वतन्त्रता घरमा पाएँ।

०००
विवाह भएको तीन महिनापछि म गर्भवती भएँ। फेमिली प्लान बनाउन नपाउँदै मेरो पेटमा बच्चा आएको थियो। 

महिनावारी रोकियो। जाँच गर्ने किट पाइन्थ्यो, ल्याएर चेक गरें। नभन्दै डबल धर्का देखायो। बच्चपना गएकै थिएन, बच्चा पेटमा आयो भनेर सुरुमा त डराएँ। मेरो श्रीमान् पनि डराउनुभएको थियो।

तर, घर-परिवारमा भने खुसियाली छायो। मेरो सासु-आमा यस्ता कुरामा धेरै अनुभवी। उहाँले नै सबै हेरविचार गर्नुभयो। ससुरा पनि उस्तै माया गर्ने।

सुरुको चार महिना मलाई चिकेनको गन्ध मन परेन। अन्डा त अरुले पकाएको बसना आउँदा समेत रिस उठ्थ्यो। मुखमा राख्नै नसक्ने हुन्थ्यो। बफ खाँदा भने केही भएन। अरु कुरा सबै सामान्य नै भयो। 

हाम्रो होटल थियो। बच्चा पेटमा आएपछि मलाई कहिल्यै केही काम लगाउनुभएन। छिटो कहिल्यै उठाउनुभएन। बिहान ढिलो गरेर उठ्दा पनि आँखा अगाडि ब्रेकफाष्ट रेडी हुन्थ्यो।

त्यो समयमा ठेलामा बर्गर पाइन्थ्यो। अहिले रेष्टुरेन्ट, होटलतिर पाइनेजस्तो बर्गर हैन, बम रोटीलाई बीचमा काटेर त्यहाँ ससेज, टमाटर प्याज भुटेर राखिन्थ्यो। अहिले सम्झँदा पनि मुख रसाउँछ।

मेरी नन्द पनि गर्भवती हुनुहुन्थ्यो। सासुले दुवैलाई पचास-पचास रुपैयाँ पैसा दिएर ठेलाको त्यो बर्गर खान पठाउनुहुन्थ्यो। त्यतिबेला मेरो सबैभन्दा फेवरेट खानेकुरा त्यही थियो।

सासुले म्याक्सी किनिदिनुभएको थियो। म त्यो लगाएर भुँडी हल्लाउँदै हिँड्थें। लाज भन्ने नै लागेन। मैले मेरो गर्भावस्था निकै रमाइलोसँग बिताएँ। आफूलाई जन्म दिने आमाको याद पनि धेरै आयो त्यो समयमा।

चार महिनापछि अल्ट्रासाउन्ड गर्दा बच्चाको ढुकढुकी सुनिएको थियो। श्रीमानलाई भित्र पस्न नदिने तर मलाई भने उहाँलाई सुनाउन मन लाग्ने। धेरै रिक्वेष्ट गर्दा पनि उहाँलाई भित्र छिर्न दिएनन्। 

पछि बच्चा चल्न थाल्यो। त्यो समयमा पनि म निकै उत्साहित भएर श्रीमानलाई देखाउँथें। उहाँ पनि हातले छामेर खुसी हुनुहुन्थ्यो। अस्पताल जाँदा श्रीमानको हात समाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। तर प्रवेश नै गर्न दिँदैनथ्यो। यो निकै दुखद कुरा लाग्थ्यो मलाई।

आठ महिना पुगेपछि सासुले बच्चाका लागि कपडा, डसना, मेरा लागि पटुकी किनमेल गरेर ठिक्क बनाइसक्नुभएको थियो। हरेक आफन्तको घरबाट घिउ जम्मा भइसकेको थियो। बच्चाको अनुहार हेर्न म भन्दा मेरो परिवार र आफन्तहरु बढी आतुर हुनुहुन्थ्यो।

०००
चिकित्सकले दिएको डेट आउनै बाँकी थियो। बिहान चार बजे घरमै मेरो वाटर ब्याग फुटेछ। सुरुमा त मलाई ला, बेडमै सुसु गरेछु क्या हो जस्तो लाग्यो। तर त्यो छुट्टै खालको चिपचिप लाग्ने थियो। श्रीमानलाई देखाएपछि उहाँले ट्वाइलेटसम्म समातेर पुर्याउनुभयो। त्यहाँ पुगेपछि झनै पानी धेरै आयो। आफन्तहरु र सासु सबैको सल्लाहमा अस्पताल लगियो।

शिक्षण अस्पतालमा मैले नियमित चेकजाँच गराएकी थिएँ। अस्पतालमा गएको केही समय बितिसक्दा पनि बच्चा जन्मिने ब्यथा लागेन। चिकित्सकले औषधि हालिदिए। पहिलो एक पटक राखे, केही भएन। दोस्रो पटक राखे, फेरि केही भएन। तेस्रो पटकको पालोमा भने निकै नराम्रोसँग पेट दुख्न थाल्यो। नर्मल दुखाइ र औषधी राखेपछिको दुखाइ निकै फरक हुने रहेछ।

एक छिन निदाउँथें, फेरि दुख्थ्यो अनि चिच्याउँथें। अघिल्लो दिन बिहान अस्पताल गएका थियौं। बच्चा अर्को दिन बिहान जन्मियो। चिकित्सकले बधाइ छ, तपाईंको छोरी जन्मिएको छ भनेर छातीमा टाँसिदिएका थिए। त्यो निकै मिठो अनुभव थियो।

डेटभन्दा अगाडि नै जन्मिएको भएर होला, छोरीलाई २४ घण्टा भेन्टिलेटरमा राखियो। सासुले ज्वानोको झोल खुवाएकाले होला, दूध राम्रोसँग आयो। बोटलमा दोहेर बच्चालाई दूध खुवाउन लगिन्थ्यो।

दूध गानिएर दोहेर फाल्नुपर्ने भएको थियो। मेरो नजिकै अर्को सिजरिङबाट जन्मेको बच्चा थियो। दूध नआएकाले बच्चा रोइरहेको थियो। खै के सुर चल्यो, आमाको पावर भनेको त्यही होला, म खुरुखुरु गएँ र त्यो बच्चालाई टन्न दूध खुवाइदिएँ। बच्चा पनि रुन छाड्यो, मलाई पनि आनन्द भयो।

प्रेसर हाई भएकाले अस्पतालमा ८ दिनसम्म बसें। त्यसपछि मात्रै घर जान पाएँ।

मेरो श्रीमानले बच्चा हातमा राखेपछिको अनुभव सुनाइरहन्नुहुन्छ। एक हातमा बच्चा राखेर हेर्दा आफ्नै केटीको रुप जस्तो लागेको र रोएको भन्नुहुन्छ। मलाई पनि आहा मेरो बच्चा भन्ने भएको थियो। बच्चा मेरो भन्ने लाग्ने तर स्याहार्न नआउने हुँदा भने नराम्रो लाग्थ्यो।

विवाह गर्दा ५५ केजीको मान्छे, सुत्केरी हुँदासम्म ७५ केजी पुगेकी थिएँ। सबैको स्याहार-सुसार यतिधेरै थियो कि, बच्चा भुईंमा नबसेरै हुर्कियो।

पहिलो बच्चा १८ महिनाको पुगेपछि फेरि म गर्भवती भएँ। यो बच्चा पनि मेरो योजनाको थिएन। बच्चा बसिसकेपछि नराख्ने कि भन्ने सोच पनि नआएको हैन। तर मेरो सासु-आमाले बच्चा छिट्टै जन्माए सँगै हुर्किन्छ, राम्रो हुन्छ भनेर अरु सोच्नै दिनुभएन।

दोस्रो सन्तानको समयमा अन्डा अलिअलि गन्हाएको थियो। त्यो बाहेक अरु केही भएन। सबै सामान्य।  

चार महिनापछि बच्चा ठूलो छ भन्यो। बागबजारमा अल्ट्रासाउण्ड गर्न पठाइयो। एक जनाले भन्नुभएको थियो, यहाँ जेन्डर पनि हेर्न पाइन्छ। श्रीमानले जेन्डर नसोध्न भन्दाभन्दै पनि मलाई यतिधेरै उत्सुकता जाग्यो कि सोधें, डक्टर के छ? उहाँले किन चाहियो भन्नुभयो। मेरो त सात्तो गयो। मैले फेरि सोधें, गर्ल र ब्वाई के छ भनिदिनु न भनेर कर गरें। उहाँले छोरा छ त भन्नुभएन तर सिम्बोलमा भने बताइदिनुभयो।

खै किन हो, छोराको समयमा म निकै सक्रिय भएँ। छोरीको पालोमा म अलि अल्छी नै थिएँ।

६ महिनामै पेट यतिधेरै ठूलो भयो कि सबैले डेट सोध्थे। म एक महिना भन्थें। एक महिना कटेपछि फेरि सोध्थे, म अरु एक महिना भन्थें। डल्लो मान्छे, त्यहीमाथि मोटो। पेट पनि ठूलो भएपछि सबैले सोधेर हैरान बनाउँथे।

०००

टिचिङमै मैले अर्को बच्चा पनि जन्माएँ। 

घरमै बिहानको चार बजे डाढ दुख्न थाल्यो। सुत्नै नसक्ने गरी ढाँड दुखेपछि मैले सासुलाई भनें। उहाँले ज्वानोको सुप बनाएर ल्याइदिनुभयो।

घर नजिकै एक जना आन्टी हुनुहुन्थ्यो। ढाड दुखेर एक ठाउँमा बस्न नसक्ने भएपछि म हिँडेकी थिएँ। उहाँले गुन्द्रुक पकाएको छु, आउ भात खान भन्नुभयो। मलाई गुन्द्रुक खासै मन नपर्ने। तर त्यो दिन गएँ र गमगम गुन्द्रुक-भात खाएँ। त्यो स्वाद अहिलेसम्म पनि भुल्न सक्दिनँ।

धेरै गाह्रो भएपछि सासुले अस्पताल लैजानुभयो। म भने ब्यथा थाहा पाउँछु, जान्न भन्दै थिएँ।

टिचिङमा बेड नै रहेनछ। सासुले सबै चिकित्सकहरुलाई गाली गर्न थाल्नुभयो। गाली पाएपछि मात्रै बेड मिलाइदिए। बोल्नेको पिठो बिक्छ भनेको त्यही रहेछ जस्तो लाग्यो।

बच्चा ठूलो भएकाले भोलिपल्टलाई सिजरिङ गर्ने समय दिइयो। मलाई भने जसरी हुन्छ नर्मल बच्चा जन्माउने रहर थियो। 

यसको कारण के थियो भने, मेरो नन्दको सिजरिङ भएको थियो। सिजरिङ गर्दा बच्चा निकाल्न त सजिलो भयो तर त्यसपछिको पीडा निकै दर्दनाक लाग्यो। 

मैले बच्चा नर्मल जन्माउन बेडमा समाएर जबरजस्ती कन्न थालें। मर्छु तर सिजरिङ गर्दिनँ भन्ने अठोट मनमा लिएकी थिएँ। मस्त बल लगाएर कनेको देखेर चिकित्सक गाली गर्दै आइन् र मलाई थचारेर बेडमा राखिन्। त्यो बेलासम्म बच्चाको टाउको निस्कन लागिसकेछ।

चिकित्सकले बच्चालाई असर गर्नसक्छ भन्दै गाली गरेका थिए। टाउको निस्कन आँटेपछि भने मलाई लेवर रुपमा लगियो। बच्चालाई रिक्स हुँदाहुँदै पनि मैले नर्मल डेलिभरी गरें।

परिवारको साथ, सहयोग र हेरचाहका कारण मेरो गर्भावस्था अरुको भन्दा सजिलो भयो। राम्रो पनि भयो।

अहिले छोरी ६ कक्षामा पढ्छिन्, छोरा ४ कक्षामा पढ्छ। छोरी १२ वर्षकी भइन्, छोरा १० वर्ष। दुवैको पढाइ राम्रो छ। छोरी महिनावारी भएपछि भने आमालाई धेरे डर लाग्ने रहेछ।

मेरी आमाले हामीलाई स्वतन्त्रता दिनुभएन। उहाँ डराउनुभएको रहेछ भन्ने अहिले मलाई लाग्छ। म मेरो छोरीलाई दिन चाहेजति स्वतन्त्रता दिन सकिरहेकी छैन। यो कुराले भने नराम्रो लागिरहन्छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....