उकेरा कोलम

फेशन डिजाइनर क्षितिजा शाक्यको प्रसव पिडा र खुसी: सुत्केरी व्यथा कस्तो हुन्छ भन्ने थाहा नपाएरै मैले बच्चा जन्माएँ


'पर्खाल' नामको टेलिश्रृङ्खलाबाट अभिनय थालेकी क्षितिजा शाक्य पेशाले चाहिँ फेसन डिजाइनर हुन्। कलाकारितामा रुचि भए पनि विभिन्न कारण उनले यसलाई निरन्तरता दिन सकिनन्। त्यसैले फेसन डिजाइनिङ पढिन्। अहिले यही पेशामा सक्रिय छिन्।

क्षितिजाले 'घामछायाँ', 'नातेदार', 'कैदी' लगायतका फिल्ममा अभिनय गरेकी छन्। तमिल फिल्म उद्योग र बलिउडका केही फिल्ममा समेत उनले अभिनय गरेकी छिन्।

क्षितिजा दुई सन्तानकी आमा हुन्। उनीले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग साटेकी छन्। 
OOO
मेरो ड्याडी सिभिल इन्जिनियर। ममी ब्याङ्कर। ड्याडी न्यौपाने थरको अनि ममी चाहिँ नेवार समुदायकी।

ममी र ड्याडीको पढाइको सिलसिलामा विराटनगरमा भेट भएको रहेछ। उहाँहरूले भागी विवाह गर्नुभयो। विवाहपछि काठमाडौं आउनुभयो। ड्याडीले कन्सल्टेन्सी चलाउन थाल्नुभयो। 
म जन्मिएको चैँ प्रसूति गृहमा।

म सानैदेखि आँटिली स्वभावकी। कक्षा सात पढ्दादेखि टेलिभिजन सिरियलहरूमा काम गर्थें। त्यो समयमा मैले काम गरेको 'पर्खाल' सिरियल निकै चर्चित पनि भयो।  त्यो समयमा टेलिभिजनको क्रेज नै अलग थियो। त्यो बेलाका दर्शकले अहिले पनि  पनि मेरो पात्रका बारेका कुरा गरिरहन्छन्। खुसी लाग्छ।
त्यो बेलामा केटाहरूको धेरै प्रेमप्रस्ताव आउँथ्यो। टेलिभिजनमा क्यामेराअगाडि अभिनय गर्ने मान्छे, आफूलाई राम्रो छु भन्ने कन्फिडेन्स त हुने नै भयो। 

धेरै बोल्ने, अनी केटीहरूसँग फ्लर्ट गर्ने केटा मलाई पटक्कै मन पर्थेन। धेरै नबोल्ने, केटीको आँखामा सिधा हेर्ने समेत नसक्ने, पढाइमा मात्रै ध्यान दिने। मलाई त्यही केटा मन पर्योो। कतिले प्रेम प्रस्ताव राख्दा नाईँ भनेको थिए। उहाँलाई चैँ मैले नै प्रस्ताव राखेको।

तर मेरो प्रेम प्रस्ताव अस्वीकृत भयो। मलाई कस्तो भयो होला त्यो बेला ! त्यति धेरै केटाले मन पराउने केटी म। तर आफैँले मन पराएको मान्छेले त नाईँ पो भने।

त्यो समयमा मेरो आत्मसम्मानमा नराम्रोसँग ठेस लाग्यो नि। रिस त उठ्ने नै भयो। अनी एसएलसी दिएपछि उतैबाट प्रस्ताव आयो। मैले  केही नसोची 'ओके' भनें।

अहिले मेरो श्रीमान् उहाँ नै हुनुहुन्छ-  विनोद शाक्य।

एसएलसीको तयारी गर्दै थिएँ। त्यति नै बेला मलाई पढ्न विदेश पठाउने कुरा भयो। आफ्नो प्रेम त्यागेर विदेश जान म तयार थिइन। प्रेममा परिवार भिलेन बनेजस्तो लाग्यो। त्यसैले एसएलसी दिनेबित्तिकै विदेश पठाउलान् भन्ने डरले मैले पनि भागी विवाह गरें।

म १६ वर्षकी। श्रीमान् चाहिँ १७ वर्षको। विवाह गरेको पाँच वर्षसम्म पनि मलाई माइतमा स्वीकार गर्नुभएन। म भने घरमा कोही नभएको मौका पारेर गइरहन्थें।

हामी भागेर एक जना दिदीको घरमा लुकेर बस्यौं। कानूनी रूपमा बाल विवाह थियो त्यो। माइतीमा सबै विवाहको विरुद्धमा हुनुहुन्थ्यो। ललाइफकाई बाल विवाह गरेको भनेर मुद्दा दर्ता हुने जोखिम धेरै थियो। अहिले पल शाहको घटना देखेर सात्तो जान्छ। त्यो समयमा यत्तिको चेतना थिएन।

हामी सँगै बस्ने भनेर भागिसकेका थियौं। शाक्यहरू अहिले त आफ्नो धर्म संस्कारमा कट्टर छन्, त्यो समयमा झनै कट्टर थिए। म यता न्यौपाने, उहाँ  शाक्य। अर्को समस्या यो पनि थियो।

हामीले भागेपछि दुवैको उमेर बढायौं। कानूनी कारबाही नहुने भएपछि सामान्य विवाहसहित म श्रीमान्को घरमा भित्रिएँ।

विद्यालयमा प्रजनन् स्वास्थ्य अनी परिवार नियोजनबारे पढेको त हो। तर 'फ्यामिली प्लानिङ' लगायतका विषयमा सोच्दै सोचिएन। त्यसैले विहे गरेको केही समयपछि नै म गर्भवती भएँ।

दुवै जना बच्चै थियौं। अब अर्को बच्चा नथप्ने योजना बनायौं।

म जोक गरिरहने मानिस। श्रीमान्लाई ‘बधाई हो, आप बाप बन्नेवाले हो’ भनेर जिस्काएकी थिएँ। उहाँले सुरुमा त कुरै बुझ्नुभएन। पछि म प्रेग्नेन्ट छु भनेपछि उहाँ डराउनुभयो। घर परिवारमा भने खुशीयाली छायो।

गर्भवती भए पनि मलाई खासै समस्या देखिएन। खाना पनि टन्न रुच्थ्यो। सानैदेखि योग, जिम गर्ने भएकाले पनि होला मलाई कमजोर महसुसै भएन। नाक भने बन्द हुन्थ्यो।

त्यो समयमा अहिलेजस्तो युट्युब थिएन। प्रेग्नेन्सी भन्ने किताब पाइन्थ्यो। त्यहाँ गर्भावस्थामा गर्ने एक्सरसाइजदेखि ध्यान दिनुपर्ने कुराहरू लेखिएको हुन्थ्यो।

ज्योति अग्रवाल मेरो चिकित्सक हुनुभयो। उमेर सानो भएकाले चिकित्सकले रिस्क लिन चाहनुभएन। अपरेशन गरेर बच्चा निकालियो। आँखाअगाडि बच्चा देखाइदिएको थियो, मैले छोरी पाएछु।

बच्चा देख्ने बित्तिकै हाँसउठ्यो। चित्रहरूमा भर्खर जन्मेको बच्चाको त छाला चाउरी परेको देखिन्थ्यो नि, मेरो छोरी त पोटिलो, पुक्क गाला परेको रहेछ।

सुत्केरी व्यथा कस्तो हुन्छ भन्ने थाहा नपाएरै मैले बच्चा जन्माएँ। अपरेशन गरेको घाउ निको हुन भने समय लाग्यो। कडा एक्सरसाइज नगर्न चिकित्सकले सुझाव दिए। अपरेशन गरेर बच्चा निकालेपछि कडा शारीरिक परिश्रम गर्न भने नसकिने रहेछ।

बच्चा हुर्काउन मलाई समस्या भएन। घरका सबै सदस्यले हुर्काउन सहयोग गर्नुभयो।

श्रीमान् परिवारले चलाउँदै आएको व्यवसायमा व्यस्त हुनुभयो, म भने खाली भएँ। रुचि फिल्ममा थियो तर श्रीमान्लाई राम्रो लागेन। जति पनि मोडलिङ र फिल्मका कामहरू गरें, सबै लुकीलुकी, घरमा थाहा नदिएर गरें।

उहाँ मेरो कलाकारितामा उति साह्रो नेगेटिभ त होइन तर एक पटक साथीहरूलाई लिएर मेरो फिल्म हेर्न जाँदा त्यहाँ सिट्टी बजाएको, मेरो शरीरका बारेमा कुरा गरेको देखेपछि चाहिँ नराम्रो लागेछ। 

अब मलाई पो 'यु आर ब्युटिफुल', 'नाइस बडी' या 'सेक्सी' भन्दा कम्प्लिमेन्ट जस्तो लाग्छ, श्रीमान्लाई त्यस्तो लागेन।

अवस्था यस्तोसम्म आयो कि, श्रीमान्ले अप्सन दिनुभयो कि परिवार कि फिल्म। लामो समय हाम्रो झगडा पर्यो। जसका लागि जन्म दिने बाउ आमा आएँ, उसको लागि बरू फिल्म छाडिदिन्छु भनेर त्यो क्षेत्र त्यागें। 

फेशन डिजाइनिङमा डिप्लोमा गरेर आफ्नै व्यवसाय सुरु गरिरहेकी छु। यो क्षेत्रमा पनि सामान लिन कहिले भारत, कहिले चीनको बोर्डर पुगिरहन पर्छ। त्यो पनि उतिसाह्रो मन पर्दैन उहाँलाई।

यता छोरी १४ वर्ष पुगिसकेकी थिइन्। मलाई अर्को बच्चा जन्माउन खुबै रहर लागेको थियो। तर श्रीमान् तयार हुनुभएन। तै पनि हामी झुक्कियौं। म फेरि गर्भवती भएँ।

योजनाबिनै जन्मिए दुई सन्तान
दोस्रो सन्तानको समयमा भने मलाई वाकवाक लाग्ने, खान मन नलाग्ने जस्ता समस्या देखिए। दूधको चिया मलाई अत्यन्तै मनपर्थ्यो। बच्चा पेटमा आएपछि त मलाई चिया हेर्न समेत मन लागेन। अहिले चाहिँ फेरि मनपर्छ।

गर्भावस्थाको चार महिनासम्म निकै गाह्रो भयो। पछि सबै सामान्य भयो। खाना पनि मनपर्न थाल्यो, स्वस्थ्य भएँ। 

दोस्रो बच्चाको समयमा मैले खास गर्भधारण गर्नुको महसुस गरें। किनभने पहिलो सन्तानको समयमा म सानै थिएँ। पछि अनुभव पनि भयो, सासू ससूरासँग पनि छुट्टै बस्न थालिसकेका थियौं।

मलाई फोटो भिडियो खिच्न मनपर्ने। छोरीका पालामा पनि रिलवाला क्यामराले भिडियो खिचेकी थिएँ। छोराको पालामा त पत्रिकाका लागि फोटोसुट नै गराएँ। 

गर्भवती भएपछि पहिलो फोटोसुट पत्रिकाका लागि ऋचा घिमिरेले गराएकी थिइन्। उनले पूरै लुगामा खिचाइन्। मैले चाहिँ भुँडी देखाएर फोटोसुट गराएँ। तर भूकम्पका कारण त्यो फोटो केही ढिलो गरेर मिडियामा आयो।

२०७२ वैशाख १२ को भूकम्पको समयमा म सात महिनाको गर्भवती थिएँ। मानिसहरू पेट बोकेको मान्छे भनेर मलाई सहयोग गर्न आउँथे। म भने अरू नानीहरूलाई सहयोग गर्न पुग्थें।

दोस्रो बच्चाको बेला पनि चिकित्सक ज्योति अग्रवालले नै हुनुहुन्थ्यो। अपरेशन थिएटरमा लैजाँदा पनि भूकम्पको पराकम्प आउन कम भएको थिएन। त्यसैले चिकित्सकलाई अपरेशन गर्दागर्दै भूकम्प आए छाडेर नजानू भनेकी थिएँ। धन्न अपरेशनको समयमा पराकम्प गएन।

अहिले छोरी २१ वर्ष पुगिन्, छोरा ८ वर्ष। उनीहरूको नाम इरम र केभियान राखेकी छु। 

इरम भनेको उर्दू भाषामा स्वागतम् भनेको हो। केभियान भनेको चाहिँ संस्कृत भाषामा विष्णु भगवानको अवतार अनि अर्को कुन देशमा चाहिँ सुन्दर भन्ने अर्थ लाग्दो रहेछ। अहिले नाम भुलें।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....