सौन्दर्यविद् रोशनी शर्माको प्रसव पीडा र खुसी : डाक्टरले खुट्टामा समाएर तुन्द्रुङ्ग झुण्ड्याए, तर बच्चा रुँदै रोएन

सौन्दर्यविद् रोशनी शर्माको प्रसव पीडा र खुसी : डाक्टरले  खुट्टामा समाएर तुन्द्रुङ्ग झुण्ड्याए, तर बच्चा रुँदै रोएन

रोशनी शर्मा सौन्दर्य व्यवसायी हुन्। भारतमा आयुवेर्दिक तरिकाले सुन्दरता निखार्न सिकेकी उनी अहिले भने नयाँ बानेश्वरमा युनिक ब्युटी केयर सञ्चालनम गर्छिन्। विभिन्न कलाकारहरूको समेत मेकअप गरिसकेकी उनीसँग सौन्दर्य व्यवसायको १७ वर्षको अनुभव छ। अनुहारमा आएका कोठी हटाउनेदेखि गह्रौं गरगहनाले छिनेका कानहरू टाल्नेसम्मको काम उनी आयुवेर्दिक पद्दतीबाट गर्छिन्। सुन्दरता प्रकृतिले नै दिएको र त्यसलाई प्राकृतिक तरिकाले नै निखार्नुपर्ने बताउने रोशनी दुई सन्तानकी आमा हुन्। उनै रोशनीले उनको प्रसव पिडा र खुसी साटिन्।

हाम्रो थर वास्तवमा खनाल हो। तर, हामी भारतमा बस्दा यो थरले समस्या दियो। खनालभन्दा धेरैले खन्ना र खान भन्ने बुझे। त्यहाँको स्थानीयभन्दा फरक अनुहार र रङ भएकै कारण हामीलाई पाकिस्तानी सम्झने डर भयो।

छोरा छोरीलाई स्कुल भर्ना गर्ने क्रममा हामी पण्डितहरू हौं भनेपछि शर्मा लेख्न त्यहाँका कर्मचारीले सुझाएका थिए। त्यसैले हामीले उताको सजिलोका लागि शर्मा लेख्यौं यता छोराछोरीको नागरिकता बनाउन निकै सकस भयो। धेरै मेहनत गरेर छोरीको नागरिकता बनाएका हौं।

मेरो जन्म सिन्धुपाल्चोकमा भयो। म दुई वर्षको नपुग्दै कामको सिलसिलामा बुबाआमाले भारत लैजानुभयो। त्यहाँ लद्दाखमा हामी बसेका थियौं। लद्दाख भनेको प्रायः बौद्धमार्गी बसोबास गर्ने ठाउँ हो।

मैले ६ कक्षासम्म त्यहाँकै एक स्तुपामा पढें। म मात्रै हैन, मुस्लिम धर्म मान्नेहरू पनि स्तुपामा पढ्न जान्थे। हामी हिन्दु र मुस्लिमले कक्षा सकिए पनि लामा पढ्न पर्दैनथ्यो। अरु भने सबै विद्यालयकै विषयवस्तु थिए।

६ कक्षापछि फेरि मेरो आमाबुवा नेपाल फर्कनुभयो। जोरपाटीमा घर लिनुभयो। बाँकी पढाइ मैले ठमेलमा रहेको जुद्धोदयमा गरें। त्यहाँ १२ कक्षा पढ्दै गर्दा मेरो विवाह भयो।

त्यो समयमा सानै उमेरमा विवाह गरिदिने चलन थियो। मेरो विवाह हुँदा १७ वर्ष पूरा भएर १८ मा लाग्दै थिएँ। अहिलेजस्तो प्रेम विवाह गर्ने चलन त्यो समयमा कम थियो। त्यसैले हाम्रो मागी विवाह भयो। हामी दुईले कुरा समेत गर्न पाएनौं।

आमाले पहिल्यै विवाह गरेपछि छिट्टो उठ्नुपर्ने, सासुलाई नसोधी केहि पकाउन नहुने जस्ता कुराहरू सिकाउनुभएको थियो। खाना पकाएपछि चाख्न हुँदैन भन्ने थियो। मलाई यी कुराहरू सधैं भारी लागे। यीनै कुराले नै मलाई म अब बुवाआमाको साथमा छैन भन्ने महसुस गराइरह्यो।

घरमा आमालाई पढाउने भए मात्रै आफू बिहेका लागि तयार भएको बताएकी थिएँ। यो कुरा केटा पक्षले स्वीकार पनि गरेको थियो। तर, बिहे भएको तीन महिनामै म गर्भवती भएँ। त्यो समयमा हामी दुवै अल्लारे थियौं। म १८ की, मेरो श्रीमान् अजय त्यस्तै २० वर्षजति हुनुहुन्थ्यो होला। फ्यामिली प्लानिङ गर्नभन्दा अगाडि नै पेटमा बच्चा आइहाल्यो।

बच्चा पेटमा आएको कुरा पनि सुरुमा त थाहै भएन। फिल्महरू हेर्दा बेहोस भएको या वाक्कवाक्क गरेको देखाउँथ्यो। मलाई यी दुवै भएन। सुतेर उठ्दा हल्का रिंगाटा लाग्ने, जतिबेलै निन्द्रा मात्रै लागिरहने, खान मन नलाग्ने भयो। सुतिरहने, आलस्य हुने र खाना नखाने गरेपछि पहेँलो हुँदै गएँ। जन्डिस भयो कि भन्ने ठानेर अस्पतालमा परीक्षण गराउन जाँदा पो गर्भवती भएको थाहा पाएँ।

बच्चा पेटमा आइपछि सबैभन्दा धेरै खुसी मेरो माइती हुनुभयो। म एउटी छोरी, भाइ थियो तर दुर्घटनामा बित्यो। त्यसैले पनि बुबाआमा धेरै खुसी हुनुभएको होला। घरमा पनि खुसी नभएको हैन, तर जेठाजु जेठानीको दुई सन्तान जन्मेकाले बच्चाको कमी थिएन।

मेरो श्रीमान् भने खुसी हुन सक्नुभएन। सायद जिम्मेवारी सम्झेर डराउनुभयो होला। यत्ति छिट्टै बच्चा जन्माएर कतै गल्ती पो गरियो कि भन्ने परेको हुनसक्छ। हामीले सानै उमेर भएकाले गर्भपतन गराउनेबारे पनि सल्लाह नगरेको हैन, तर मेरो सासुआमाले मान्नुभएन। उहाँले ‘मैले १६ वर्षमा बच्चा जन्माएँ, मेरो बुहारीले पनि जन्माउँछे, त्यो पनि नर्मल’ भन्न थाल्नुभयो।

बच्चा पेटमा आएको तीन महिनापछि मात्रै मलाई खाना खान मन नलाग्ने हुन थाल्यो। मुसुरोको दाल हेर्नै मन नलाग्ने भएको थियो। मासु काटेको देख्यो भने त्यहिँ वाक्क गरिदिन्थें। भान्सामा छिर्नै मन लाग्दैनथ्यो। तर, बुहारी मान्छे विकल्पै थिएन। नाक थुनेर भए पनि खाना पकाइदिन्थें। जे खाए पनि स्वाद आउँदैनथ्यो। यो दुई महिनासम्म भइरह्यो। अमिलो भएको खानेकुरा दहि, मोहिसँग भने केहि खाना खानसक्थें।

सेतो छाला, निलो ओठ भएको छोरा जन्मिएको रहेछ। डाक्टरले ल छोरा जन्मियो भनेर खुट्टामा समाएर तुन्दुङ्ग झुण्ड्याएर देखायो तर बच्चा रुँदै रोएन। मेरो शरीरबाट रगतको भल बगिरहेको थियो, तर, ध्यान भने बच्चा रोएन भन्नेमा मात्रै गयो।

दुई महिनापछि भने मलाई एकदम धेरै भोक लाग्थ्यो। भर्खर खाना खाएको छ, हात चिसै छ तर भोक लागिहाल्ने। बुहारी मान्छे धेरै चर्न हुन्न भन्थे। तर, म भोक खप्नै नसक्ने। राती खाना खाएर सबै सुत्थे, श्रीमान्ले बिस्कुट ल्याएर राखिदिनुहुन्थ्यो, आधा रातमा उठेर खान्थें।

पाटन अस्पतालमा डा. मिरा राणाले मलाई हेर्नुभएको थियो। मेरो रेगुलर चेकअप पाटनमै भयो। म निकै इमोसनल मानिस। म बच्चासँग एक्लै गफ पनि गर्थें। पेटमा कुनै समय चलेन भने कहाँ छौं बाबा भनेर पेट छाम्नेदेखि एक्लै गन्थन गरिरहन्थें।

पेटमा बच्चा चलेको दिनदेखि मेरो स्तनबाट पानी बग्न थाल्यो। चिकित्सकलाई देखाउँदा धेरै मातृत्त्व अनुभूति गर्दा त्यसो भएको बताउनुभयो। नौ महिना लागेपछि घरमै ‘लेवर पेन’ सुरु भयो। अस्पताल गएपछि तीन दिनसम्म बस्नुपर्यो। मज्जासँग पेट दुख्थ्यो। तर, फेरि ठिक हुन्थ्यो। अहिलेजस्तो भएको भए अपरेशन भइसक्थ्यो तर त्यो समयमा मेरो सासुले दिनुभएन।

तीन दिनपछि फेरि ‘लेवर पेन’ सुरु भयो। छिट्टो बच्चा हुन्छ भनेर मेरो सासुले तातो घिउ र मह खान दिनुभयो। पेट दुखेर मर्नु हुँदा समेत तनतनी घिउ र मह पिउँथे म। मेरो बलले मात्रै बच्चा जन्मिएन। अपरेशन गर्न सासु नमान्ने, यता मैले बच्चा जन्माउन नसक्ने भयो। अन्त्यमा भ्याकुम लगाएर बच्चालाई तानियो।

बच्चा साँढे ४ किलोको जन्मियो। सेतो छाला, निलो ओठ भएको छोरा जन्मिएको रहेछ। डाक्टरले ल छोरा जन्मियो भनेर खुट्टामा समाएर तुन्दुङ्ग झुण्ड्याएर देखायो तर बच्चा रुँदै रोएन। मेरो शरीरबाट रगतको भल बगिरहेको थियो, तर, ध्यान भने बच्चा रोएन भन्नेमा मात्रै गयो। केहि समयपछि चिकित्सकले दुई झाप्पड बच्चालाई हान्यो, अनि बल्ल च्याँ गरेर रोयो। बच्चा रोएपछि मात्रै ढुक्क भयो।

बच्चा छातीमा टाँसिदिएका थिए। मलाई यो संसारमा म मात्रै आमा बनें भन्ने अनुभूति भएको थियो। उसको हातखुट्टा सबै हेरें, आँखा कोट्याई कोट्याइ हेरें। नर्सले तपाईंलाई दुखेको छैन भनेर सोध्दै थिए, मैले सबै पीडा भुलिहालें।

भ्याकुम लगाएर निकालेकाले बच्चाको टाउको लामो थियो। सधैं यस्तै हुने हो कि भन्ने भयले म अत्तालिएको थिएँ। तर, तेल लगाउँदै मिलाउँदै गर्न थालेपछि साइजमा आयो।

सानोमा मेरो छोरा निकै रिसाहा थियो। उसलाई रिस उठ्ने बित्तिकै हात बाँधेर काँप्न थाल्थ्यो। केहि समय बेहोस समेत हुन्थ्यो। चिकित्सकलाई देखाउँदा कम रिस उठाउन भन्थे र पछि आफैँ ठिक हुने बताउँथे। नभन्दै हुर्कँदै जाँदा उ निकै ज्ञानी भइसकेको थियो।

छोरा जन्मेको तीन बर्षपछि फेरि म गर्भवती भएँ। दोस्रो बच्चाको समयमा पनि हामीले कुनै योजना बनाएका थिएनौं। बच्चालाई स्तनपान गराइरहेको समयमा बच्चा बस्दैन भन्ने सुनेकाले प्रजनन रोक्ने कुनै साधन प्रयोग गरेनौं। 

दोस्रो सन्तानको समयमा भने वाक्कवाक्क आयो। मैले वाक्क गरेको देखेर मेरो सासुले बच्चा सानै छ भनेर गाली गर्नुभयो। के भनेको होला भन्ने लागेको थियो चिकित्सकलाई देखाउँदा ठ्याक्कै गर्भवती भएको रहेछु।

जे हुनु भयो, बुद्धि बिगार्ने काम नगर्नु भन्नुभएको थियो घरमा। मलाई पनि एउटा छोरी भए हुन्थ्यो भन्ने लागेको थियो। बाटोमा हिँदा छोरीका राम्रा–राम्रा कपडा हेर्दै हिँड्थें। छोरी भइदिए कस्तो रमाइलो हुन्छ होला भन्ने हुन्थ्यो। मेरो श्रीमानको पनि यहि चाहना थियो।

छोरीको समयमा म लामो समयसम्म कमजोर बनिँरहें। छोराको समयमा जस्तो भोक अन्तिम समयसम्म लागेन। बल गरेर केहि खाना खान्थें। बच्चा जन्माउने दिनसम्म पनि ज्यान सुकेर लौरो जस्तै थियो।

दोस्रो बच्चा पनि पाटनमै जन्माउने भयौं। ब्यथा उस्तै लाग्यो। दोस्रो बच्चा पनि जन्माउन गाह्रो भएन भ्याकुम लगाउन पर्यो। किनभने यो बच्चा पेटमा निकै कमजोर थियो।

खाना नरुचेकाले बच्चा जम्मा ढाई केजीको जन्मियो। उसले भित्रबाट बल लगाउनै नसकेपछि भ्याकुम लगाएर दोस्रो बच्चा निकालियो। सोचेजस्तै दोस्रो बच्चा छोरी जन्मिइन्।

कमजोर भएकाले छोरीलाई धेरै हेरचाह गर्नपर्यो। घरमा सासु र नन्द भएकाले बच्चा जन्माइसकेपछिको जिम्मेवारी भने मैले भन्दा उहाँहरूले नै धेरै निर्वाह गर्नुभयो।

दोस्रो बच्चा पेटमा हुँदा, ‘कुछ–कुछ होता हे’ भन्ने फिल्म हलमा लागेको थियो। मेरो श्रीमान्ले मलाई त्यहि फिल्म देखाउन लैजानुभएको थियो। हामीले त्यहि बेलामा सल्लाह गर्यौं छोरी जन्मिए नाम अञ्जली राख्ने भनेर। त्यसैले हामीले छोरीको नाम अञ्जली राख्यौं।

पहिले छोरी जन्माउन निकै उत्साहित थिएँ, केहि समयपछि उनी अर्काको घर बिहे गरेर जाँदैछिन्। छोरीलाई बिदाई गरेर अर्काको घर पठाउँदैछु भन्ने सम्झेर निकै चित्त दुख्छ। छोरा भएको भए अर्काको घर जानुपर्थेन भन्ने महसुस हुन्छ।

त्यसो त छोरा आशिष पनि साथमा छैन। वैदेशिक रोजगारीको सिलसिलामा सात समुन्द्र पारी पुगेको छ। छोरा भए पनि छोरी भए पनि आखिर छाडेरै जान्छन् भन्ने तीतो सत्यले बेला–बेला मन पोल्छ।

३० असोज, २०७९, २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।