बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

बिन्दु पन्त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, काठमाडौँ शाखाको वरिष्ठ उपाध्यक्ष हुन्। अहिलेसम्म आफूले प्रस्तुतकर्ताको रूपमा मात्रै लोक दोहोरीमा काम गरेपछि सानैदेखि यस क्षेत्रप्रति आकर्षण रहेको उनी बताउँछिन्।

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा र खुसी साटिन् :

OOO

पर्वत जिल्लाको फलेवास नगरपालिकामा हो मेरो जन्मस्थान। मेरो बुबा त्यहाँको विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो। मेरो बाल्यकाल त्यहीँ बित्यो।

एसएलसी पर्वतबाटै गरेँ। एसएलसी पास भएपछि पर्वतमै प्रवीणता प्रमाण पत्र तहमा भर्ना भएँ।

मेरी बहिनी र म एकै कक्षामा पढ्थ्यौँ। बहिनी पढेकोपढ्यै गर्ने अनि म चाहिँ राजनीति कार्यक्रम र आमसभामा हिँडेर फुर्सदै नहुने।

म सानैदेखि अलि बोल्न बाठो। राजनीतिमा पनि चासो भएकाले विद्यार्थी जीवनमै राजनीतिमा लागेकी थिएँ।

आइए पढ्न भर्ना त भइयो तर पढाई भन्दा राजनीति धेरै भयो। कहिले कता जुलुसमा, कहिले कता आन्दोलनमा। त्यो २०४७ सालतिरको कुरा हो।

यस्तो पाराले मैले पढ्दिन भन्ने महसुस गरेर मलाई मामाघरमा पढ्न राखिदिनुभयो। मेरो मामाघर काठमाडौँ थियो।

काठमाडौँमा म सरस्वती क्याम्पसमा कमर्स पढ्न थालेँ। डिप्लोमा पढ्दापढ्दै बुबा आमाको सल्लाहमा मागी विवाह भयो।

रहर त मलाई प्रेम विवाह गर्ने थियो। तर छोरी भएर जन्मिएपछि आमाबुबाको इज्जत धान्नुपर्ने कर्तव्य आउँदो रहेछ। २२ वर्षको उमेरमा आमा बुबाले खोजिदिएको केटोसँग बिहे गरेँ।

त्यो समयमा मेरो श्रीमान् अच्युत पन्त प्रहरी निरीक्षक हुनुहुन्थ्यो। हाम्रो बिहेको समयमा उहाँको पोस्टिङ डोल्पा जिल्लामा थियो। म काठमाडौँ नै बसेर एक विद्यालयमा पढाउने काम गर्थेँ। अहिले उहाँ एसएसपी हुनुहुन्छ।

विवाह भएको तेह्र महिनामा म गर्भवती भएँ। महिनावारी रोकियो, वाक्क वाक्क लाग्यो। सधैँ ठिक समयमा महिनावारी हुन्थेँ। रोकिने बित्तिकै गर्भवती भएको थाहा भइहाल्यो। मैले परीक्षण समेत गरिनँ।

बच्चा पेटमा आएपछि सुरुमा त डर लाग्यो। के हुने, कस्तो हुने होला भनेर मुटु ढुकढुक हुन्थ्यो। पेटमा बच्चा आउँदा म पनि डोल्पामा थिएँ। जेठमा हाम्रो विवाह भएको थियो। दसैँमा उहाँ घर आउनुभयो अनि मलाई पनि सँगै लग्नुभयो।

मेरो श्रीमानलाई खाना खुवाउने, यता उता हेर्ने एक जना सहयोगी थिए। मेरो पेटमा केही नअडिएको देखेर दिनदिनै थरी थरीका परिकार बनाएर यो खाए केही हुँदैन, त्यो खाए केही हुँदैन भन्थे।

ती सहयोगीले मलाई भनेको रमाइलो कुरा अझै याद आउँछ। उनले भनेका थिए' तपाई राम्री हुनुहुन्छ। त्यही भएर अरूले रिसले आँखा लगाए र तपाईँलाई वाक्क वाक्क लाग्यो। तपाईँलाई त आँखा लाएर हैरान पारे' भन्थे। मलाई भने भित्रभित्रै हाँसो उठ्थ्यो।

उनले मासुका थरी थरीका परिकार बनाउँथे। कहिले कलेजो भुट्थे त कहिले के। मलाई भने जे खायो, सर्लक्कै त्यही पेटबाट निस्कन्थ्यो।

खाना नखाए पनि म अलि बलियै थिएँ। रिँगटा लाग्ने, कमजोर अनुभव भने भएन। पेटमा बच्चा हुँदा कहिले दुधभात खाऊँ जस्तो लाग्थ्यो। पेटमा पुगेपछि फेरि वाक्क आउँथ्यो र नाक लाग्थ्यो।

कहिले ज्वानोको झोलसँग भात खाऊँ जस्तो लाग्थ्यो त्यो पनि उस्तै हुन्थ्यो। जे खाए पनि त्यो एक छाक मात्रै भयो। त्योपछि फेरि खानै मन लाग्दैनथ्यो।

बच्चा पेटमा भएपछि पिसाब भने छिनछिनमा लागिरहने। थोरै पानी खाए पनि ट्वाइलेट गइरहनुपर्ने। मलाई त पानी खान पनि दिक्क लाग्थ्यो।

बच्चा जन्मेपछि जति पानी खाए पनि तिर्खा नमेटिने। पिसाब लागेको पनि थाहा नहुने तर ट्वाइलेट गएपछि खाएको पानी भन्दा धेरै पिसाब आउने। त्यो सम्झँदा अहिले पनि अचम्म लाग्छ।

बच्चा पाँच महिनाको हुँदा म माइती आएँ। गण्डकी अस्पतालमा नियमित चेकजाँच गरेँ।

नेपाली परम्परा र संस्कार अनुसार माइतीमा बच्चा जन्माउन हुँदैन भन्ने रहेछ। त्यसैले डाक्टरले दिएको मिति नजिक आएपछि म दिदीको घरमा गएँ।

दिदीकै घरमा बस्दा मलाई ढाड दुख्यो। बिस्तारै पेट दुख्न थाल्यो। परिवारका सबैले अस्पतालमा गए पनि खप्नै पर्छ भनेर घरमै राखिदिनुभयो।

मेरो दिदीको छोरो मलाई खुब माया गर्थ्यो। दुखेको ठाउँमा मालिस गरिदिन्थ्यो अनि फेरि खेल्न जान्थ्यो। बेलाबेलामा आएर सोधिरहन्थ्यो। लामो समयसम्म पेट दुखेपछि बल्ल ट्याक्सीमा गण्डकी अस्पताल पुर्याइयो।

अस्पतालमा पुगेपछि पनि लामो समयसम्म व्यथा लाग्यो। डाक्टरले बल लगाऊ भन्थ्यो तर म भने सास झनै माथिमाथि तान्दो रहेछु। अस्पतालमा पनि लामो सङ्घर्ष गरेपछि बल्ल मैले मेरो पहिलो सन्तान छोरीको अनुहार देख्न पाएँ।

बच्चा जन्मेपछि छातीमा टँसाइदियो। मेरी आमाले मलाई जन्माउँदा पनि यस्तै भएको थियो होला है भन्ने लाग्यो।  

मेरी छोरी निकै क्युट। आमा भएँ भनेर मन ढक्क फुल्यो। नर्मल डेलिभरी भएको थियो।

बच्चा पेटबाट निस्केपछि निकै भोक लाग्यो। ज्वानोको झोल र भात टन्न खाएँ।

बच्चा जन्मेपछि दूध टन्न आयो। बच्चाले पुरा दूध खानै सक्थेन। गानिएर निकै दुख्थ्यो। उही दिदीको छोरा, जसले मलाई निकै माया गर्थ्यो। उसले खाइदिन्थ्यो।

मेरो पिडा देख्न नसकेर उसले दूध खान्थ्यो। मेरी छोरीलाई पनि निकै माया गर्थ्यो।

पहिलो सन्तान छोरी जन्मेको तीन वर्षपछि म फेरि गर्भवती भएँ। यो हाम्रो योजना नै थियो। छोरा, छोरी जे जन्मेपछि पहिलो सन्तानलाई साथी जन्माइदिने।

बच्चा पेटमा आएको दुई महिना जस्तो भएको थियो होला, कामको सिलसिलामा गोरखपुर गएका थियौँ। त्यहाँ छोरा छ कि छोरी हेर्न पाइने रहेछ।

जे भए पनि मतलब त थिएन। तर मनमा छुट्टै हुटहुटी भयो, मेरो पेटमा छोरा छ कि छोरी। परीक्षण गराएँ। छोरा देखायो।

जाँच गराएपछि त झनै मनमा अर्को कुरा खेल्न थाल्यो। यो नतिजा सही होला या गलत। दोस्रो सन्तान पनि गण्डकी अस्पतालमा नियमित चेकजाँच गराएँ। पहिलो सन्तानको समयमा जस्तै यो पटक पनि खाना जे खाए पनि वाकवाक लाग्यो। उस्तै लक्षणहरू देखिए।

आज भन्दा २० वर्षअघिको कुरो। अहिलेजस्तो छोरा छोरी छुट्टिने कुरो साँचो हो या झुटो पक्का थिएन। मेरो दिमागमा मात्रै छोरा हुन्छ कि छोरी भन्ने थियो। बच्चा जन्मने बित्तिकै डाक्टरलाई पनि यही सोधेछु, छोरा भयो कि छोरी? डाक्टरले छोरा भएको बतायो। अनि बल्ल ए, गोरखपुरवालाले जाँच गरेको सही रहेछ भन्ने लाग्यो।

श्रीमानको पोस्टिङ जता पनि हुन्थ्यो।

उहाँसँग बस्न, हिँड्न मलाई पनि रहर लाग्थ्यो। एक पटक बुटवलमा पोस्टिङ हुँदा छोराछोरी लिएर म पनि गएकी थिएँ। तर त्यहाँ बच्चाको पढाई राम्रो पाइन। एक वर्ष बसेपछि मैले छोराछोरीका लागि घरमै बस्छु भनेँ र आएँ।

छोरीलाई एलए स्कुलमा हालेँ। छोरालाई नजिकैको विनायक स्कुलमा राखेँ। छोरीलाई बिहान ८ बजे गाडी लिन आउँथ्यो अनि बेलुकी ७ बजे घर ल्याइदिन्थ्यो। छोरा नजिकको विद्यालयमा भएकाले धेरै समय म सँगै हुन्थ्यो।

मेरा दुई छोराछोरीमा मैले धेरै भिन्नता पाएँ। छोरीलाई स्कुल आउजाउले ठिक्क हुन्थ्यो तर छोरालाई मैले पढाउन पाउँथेँ। घरमा पढ्न नपाएपछि छोरीको पढाई छोराको तुलनामा कमजोर थियो। तर उनी पनि अब्बल विद्यार्थी नै थिइन्।

अहिले छोरी युकेमा इन्जिनियर छिन्। छोरा एमबिबिएस तेस्रो वर्षमा पढ्दै छ।

यो पनि

१५ माघ, २०७९, २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।