उकेरा कोलम

बाल आश्रम सञ्चालक मेनुकाको प्रसव पीडा र खुसी : अविवाहित विदेश गएकी फर्कँदा ठूलो पेट थियो, लाजै मर्नु भयो


मेनुका कोइराला बाल आश्रम सञ्चालक हुन्। २२ जना अनाथ बालबालिकाहरूलाई आश्रय दिएकी उनले यो काम २०७२ सालदेखि सुरु गरेकी हुन्।

मेनुकाका श्रीमान् र मेनुका मिलेर चलाएका ‘हाम्रो सुनौलो संसार’ नामको बाल आश्रम काठमाडौँको गागलफेदिमा छ। २२ जना अनाथ बालबालिकाको आमा बनेकी मेनुका आफै पनि दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माएको ११ वर्षपछि दोस्रो सन्तान जन्माएकी उनै मेनुकाले आफ्नो प्रसव पिडा र खुसी उकेरासँग यसरी साँटिन्ः

OOO

ललितपुरको सानो गाउँ भन्ने ठाउँमा मेरो जन्म भयो। तर मेरो पुर्ख्यौली थलो भने सिन्धुपाल्चोक हो। हामी यतै जन्मियौँ। बुबा ठमेलमा पर्यटकका लागि गहना, माला बेच्ने काम गर्नुहुन्थ्यो। अहिले घरमै आराम गर्दै बस्नुभएको छ। आमा गृहिणी भइहाल्नुभयो। मेरा दुई भाइहरू छन्।

हामी तीनै जना दिदी भाइले जोरपाटीको अरुणज्योति विद्या मन्दिरबाट एसएलसी दियौँ। त्यसपछि जावलाखेल ललितपुरमा भएको नेसनल मल्टिपल कलेजबाट प्लस टु गरेँ। पढाइकै सिलसिलामा सिंगापुर गएँ र होटेल म्यानेजमेन्टमा हाई डिप्लोमा गरेँ।

सिंगापुरमै मैले बिहे गरेँ। सुरेशकाजी श्रेष्ठ मेरो श्रीमानको नाम। हाम्रो अन्तरजातीय विवाह भयो। सिंगापुरमा पढ्न बस्दा आफ्नो खर्च, पढाई खर्च सबै आफैले व्यवस्थापन गर्नुपर्थ्यो। त्यही सिलसिलामा म काम गर्न गएको ठाउँमा सुरेशकाजीसँग भेट भयो। माया बस्यो अनि उतै कानुनी विवाह गर्‍यौ।

घरमा मैले यस्तो केटोसँग बिहे गर्न लागेको भनेर आमाबुबालाई भनेको थिएँ। मेरो श्रीमानले पनि उतैबाट हामी दुइको सम्बन्धबारे आफ्नो परिवारलाई बताउनुभयो। हाम्रो खुसी हेरेर परिवारको राजिखुसीमै बिहे भयो।

पढाई पुरा गरेपछि एक वर्षका लागि वर्किङ भिसा पाएका थियौँ। तर त्यही समयमा पिआर नभएका सबैलाई आ–आफ्नो देश फर्काउने नीति ल्यायो सरकारले।

हामीले एक वर्षको वर्किङ भिसा सक्काउने बित्तिकै त्यहाँ बस्न मिलेन अनि नेपाल फर्कियौँ।

नेपाल फर्कँदा म ८ महिनाको गर्भवती थिएँ म। बिहे भएको झन्डै एक वर्षपछि म गर्भवती भएछु। बच्चा जन्माइहाल्ने दुवैको योजना थिएन। तर थाहै भएन। गर्भवती भएको चार महिनापछि मात्रै मेरो पेटमा बच्चा रहेछ भन्ने थाहा पाएँ।

म महिनावारी भइरहेँ। फल्स मेन्चुरेसन पनि हुने रहेछ। त्यो बेलामा थाहा भएन। तीन महिनासम्म प्रत्येक महिना हल्का रगत आउँथ्यो। तर चौथो महिनामा सहनै नसक्ने गरेर पेट दुख्यो।

मलाई भने तीन महिनासम्म कम रगत आएकाले पेट दुखेको होला भन्ने लाग्यो। खप्नै नसक्ने भएपछि अस्पताल जँचाउन गयौँ। एक्कासि डाक्टरले 'कङ्ग्याचुलेसनस्, यु ह्याव बेबी' भन्छ।

सुरुमा त हामी दुवै अलमलमा पर्यौं। हामीलाई भिडियो एक्स रे गरेर बच्चा पनि देखायो अनि जेण्डर पनि भनिदियो। नेपालमा छोरा र छोरी के हो भन्न नपाउने भए पनि विदेशमा पाउने रहेछ। उनीहरूले बेबी ब्वाइ छ भनेर भनिहाले। हामीले चार महिनामा नै छोरा पाउने भयौँ भन्ने थाहा पायौँ।

बच्चा पेटमा आएपछि मलाई सिफुडहरु निकै मन पर्न थाल्यो। प्राउन जति खाए पनि अघाउँदैनथेँ। अनि मलाई चकलेट खुबै मनपर्ने।

सिंगापुर सधैँ गर्मी ठाउँ हो। चकलेट मन परे पनि बच्चा पेटमा आएको समयमा मलाई रातको १२ बजे स्ट्रबेरी फ्लेभरको आइसक्रिम खान मन लागेको थियो। यो बाहेक खान मन नलाग्ने भन्ने केही भएन।

मलाई पहिलेदेखि नै ग्यास्ट्रिकको समस्या थियो। वाक्क वाक्क आउने, पेट दुख्ने लगायतको समस्या पहिले पनि हुन्थ्यो। त्यसैले त चार महिनासम्मनि गर्भवती भएको थाहा पाइन। बच्चा पेटमा रहुन्जेल पनि ग्यास्ट्रिकले धेरै दुःख दियो।

बच्चा आठ महिनाको भएपछि हामी त्यहाँ बस्न मिलेन अनि नेपाल आयौँ। बच्चा पेटमा हुँदा यात्रा गर्न हुन्छ या हुँदैन भनेर चिकित्सकको सल्लाह पनि लिएनौँ।

अविवाहित विदेश गएकी छोरी फर्कँदा ठुलो पेट बनाएर आएकी छे। नेपाल आएपछि मलाई लाज मर्नु भयो। विवाह भइसकेको थियो। तै पनि समाजले अनि बुबा आमाले के सोच्नुभयो होला भन्ने लाग्ने रहेछ। 

बिहे त भइसकेको थियो। तर घर भित्रिएकी थिइन। श्रीमान् बाहेक घरतिरका कसैलाई मैले चिनेको पनि थिइनँ। आमासँग त सहज नै हुन्थ्यो। तर बुबा अनि भाइको अगाडी भने साह्रै गाह्रो हुन्थ्यो।

फेरि घरतिर नभित्र्याइसकेकाले माइत जानु बाहेक मेरो अर्को विकल्प पनि थिएन। बच्चा भइसकेपछि मात्रै म घरमा भित्रिएकी हुँ।

विदेशबाट आउने बित्तिकै चेकजाँचका लागि थापाथली अस्पताल गएँ। तर सुरुमा अस्पतालले मेरो चेकअप गर्नै मानेन। आठ महिना पुगिसकेको र सुरुदेखि नहेरेको भनेर निकै दुःख दिए। अन्त्यमा सुरुदेखि सबै रिपोर्ट हेरेर मात्रै मलाई चेकअप गर्न माने।

थापाथली अस्पतालमा करिब दुई महिना जाँच गराइयो। त्यो बिचमा विदेश र नेपालको फरक धेरै महसुस भयो। सिंगापुरमा अस्पताल आफैले फलोअपका लागि फोन गर्थ्यो, बोलाउँथ्यो। नेपालमा आफै गएर लाइन बस्दा समेत समयमा पालो नआउने रहेछ।

त्यहाँ श्रीमान् र श्रीमती दुबैलाई भित्र लैजान्थ्यो। यहाँ श्रीमानलाई लैजान नमिल्ने रहेछ। प्रसवको मामिलामा मलाई नेपाल भन्दा विदेश धेरै राम्रो लाग्यो।

बच्चा जन्माउने मिति नजिक आइसकेको थियो। घरमै बस्दा मेरो पिसाब फुस्किएको जस्तो अनुभूति भयो। दुई पटकसम्म कन्ट्रोल नै नहुने गरेर पानी गयो। त्यो पिसाब जस्तो थिएन, चिपचिपे थियो।

मलाई अप्ठ्यारो भएको ममीले ख्याल गरिरहनुभएको रहेछ। उहाँले नै यसलाई अप्ठ्यारो भयो कि क्या हो भन्नुभयो। पिसाब कन्ट्रोल भएन भनेपछि उहाँले काकीलाई बोलाएर ल्याउनुभयो। हाम्रो काकी स्वयंसेविका हुनुहुन्थ्यो।

काकीले दुई पटक पानी बगिसकेछ, अस्पताल लैजानुपर्छ भन्नुभयो। खाना खाएर बिहानको करिब ११ बजेतिर हामी थापाथली अस्पताल आयौँ। अस्पताल आइपछि तीन घर खुलिसकेको रहेछ भनेर भर्ना गरियो। तर साँझसम्म पनि बेथा लागेन।

डाक्टरले बेथा लाग्ने औषधी दिए अनि बल्ल पिडा हुन थाल्यो। त्यो समयमा नजिक जो भए पनि बेस्मारी समाउँदो रहेछु। पछि यसले मेरो हात निलो डाम बसाइदिई, घाउ बसाइदिई जस्ता कुरा सुनाउनुभएको थियो।

साँझदेखि सुरु भएको बेथा बिहानसम्मै रह्यो। त्यो क्षण सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ। बिहान मात्रै बच्चा जन्माउने कक्षमा लगियो। मैले छोरा जन्माएँ।

बच्चा त जन्मियो, तर बच्चा जन्मेपछि झनै धेरै पिडा भयो। किनभने बच्चाको साथी (साल) त भित्रै अड्किएछ। त्यो बेलामा मेरो शरीर यति नमिठो गरेर गिजोलियो नि, बाँच्छु भन्ने पटक्कै लागेको थिएन। साथी निकाल्ने समयको पिडा खप्न नसकेर म बेहोसै भएँ।

केही गरे पनि साथी निस्किएन। मेरो एक जना आफन्त नर्स हुनुहुन्थ्यो। उहाँले डाक्टर नर्सको लापरबाहीले ज्यान जाने भो भनेर हल्ला मच्चाउन थाल्नुभयो। उहाँले गाली पनि गर्नुभयो। त्यसपछि अपरेसन कक्षमा लगेर पुरै सफा गरियो। त्यो क्युरेट गरेर बच्चा फालेपछि गरिएको सफा जस्तै हुने रहेछ। एक या दुई पाउन्ड ब्लड पनि चढाउन परेको थियो। नर्मल डेलिभरी भए पनि पाँच दिनसम्म अस्पतालकै निगरानीमा बसियो। पूर्ण रूपमा निको हुन एक महिना लाग्यो।

बच्चा जन्माउँदा २३ वर्षकी थिएँ। अहिले हेर्दा त्यो उमेर धेरै सानो लाग्छ तर पनि मातृत्वको अनुभूति रमाइलो लागेको थियो। आफैलाई अचम्म लागेजस्तो कस्तो-कस्तो।

छोरा हुर्कँदै गयो। अर्को बच्चाको सोचै आएन। म पनि बाल आश्रमको काममा, व्यवसायतिर व्यस्त हुन थालेँ। तर पहिलो सन्तान जन्मेको ११ वर्षपछि फेरि गर्भवती भएछु।

पहिलो सन्तान योजनामा थिएन। पहिलो जस्तै, यो पटक पनि एक्सिडेन्ट भयो। मेरो पिरियडको समय नजिकै भएकाले हामीले अस्थायी साधन प्रयोग गरेका थिएनौँ। क्यालेन्डरले धोका दियो भनौँ, म ११ वर्षपछि गर्भवती भएँ।

दोस्रो सन्तानको समयमा पनि मलाई मुड स्विङ लगायतका केही समस्या भएन। नेपाल मेडिकल कलेजमा नियमित चेकजाँच गराएँ। तर ६ महिना कटेपछि भने सुगरले समस्या दियो। ग्यास्ट्रिककै कारण जे खाए पनि घाँटी बोल्ने, पेट पोल्ने समस्या भने भइरह्यो।

यही समस्याले गर्दा मैले नर्मल डेलिभरी गर्न सकिन। सुगर बढेकाले डाक्टरले दिएको मिति भन्दा अघि अप्रेशन गर्नुपर्‍यो।

सुरुमा त पहिलो बच्चा नर्मल भएकाले नर्मल नै गराउन खोज्नुभएको थियो। मलाई व्यथा लाग्ने औषधी चढाएपछि खप्नै नसक्ने गरेर गाह्रो भएको थियो। तीन घर खुलेपछि कसै गरेर पनि बच्चा जन्माउन सकिनँ। पेटमा भएको बच्चाले साथ दिएन भन्दा रहेछन् मेडिकल भाषामा।

बाहिरबाट मात्रै बल गर्दा बच्चाको टाउको सुन्निने हुनसक्छ भनेर अप्रेशन गरिदिए।

त्यो समयमा आफूलाई निकै दुख्थ्यो। डाक्टरहरू भने आउँदै अलिकति दुखाइदिन्छु है भन्दै हेर्दै जान्थे। उनीहरूले हातले घर खुलाउन खोज्दा दुखेर मर्नु हुन्थ्यो। कात्तिक महिना थियो, चिसो बढिसकेको थियो। जति कपडा चेन्ज गरे पनि पानी बगेर भिजिहाल्थ्यो। लुगलुग काँप्दै चिसो कपडामा लुटपुटिएर बस्दा निकै पिडा हुन्थ्यो।

लामो प्रसव पिडा खेपे पनि नर्मल डेलिभरी भएन। अनि अप्रेशन भयो। अप्रेशन गर्दा व्यथाको पिडा र अप्रेसनको पिडा दुवै भोगेँ।

छोरो अहिले १२ वर्षको भयो, ७ कक्षामा पढ्छ। छोरी जन्मेको १४ महिना जति भयो। दोस्रो सन्तान छोरी जन्माउँदा छोरो बुझ्ने भइसकेको थियो।

उसको बाबाले घुमाएर म गर्भवती भएको कुरा सुनाउनुभयो। उसको अनुहार हेर्दा सुरुमा खुसी थिएन। उ म भए पुगिहाल्यो नि भन्थ्यो। तर छोरी जन्मेपछि भने खुसी भयो।

उसलाई सबैभन्दा खट्केको तिहारमा टिका लगाउँदा रहेछ। मेरो पनि बहिनी भयो, तिहारमा आफ्नै बहिनीको हातबाट टिका लगाउन पाइयो भनेर खुसी भयो।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....