भाइरोलोजिष्ट डा. लुना भट्ट शर्माको प्रसव पीडा र खुसीः पाटनका नर्स बच्चा जन्माउन भन्दा चिया खान हतारो गर्ने

भाइरोलोजिष्ट डा. लुना भट्ट शर्माको प्रसव पीडा र खुसीः पाटनका नर्स बच्चा जन्माउन भन्दा चिया खान हतारो गर्ने

काठमाडौं। डाक्टर लुना भट्ट शर्मा भाइरोलोजिष्ट हुन्। कोभिड-१९ को समयमा उनले दिएका विचार र अभिव्यक्तिले केही हदसम्म कोभिड भाइरससँग जुध्न मद्दत पुगेको थियो। सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनि यतिबेला भने कुनै संस्थामा आवद्ध छैनन्। स्वतन्त्र रुपमा काम गरिरहेकी छन्। दुई बच्चाकी आमा समेत रहेकी उनै भाइरोलोजिष्ट लुनाले उकेरासँग आफ्ना प्रसव पीडा र खुसी साटिन्ः

बुबा तत्कालीन श्री ५ को सरकारको कृषि मन्त्रालय अन्तर्गत खाद्य अनुसन्धान तथा गुण प्रविधि नियन्त्रण शाखाको प्रमुख हुनुहुन्थ्यो। सरकारी कामबाट रिटायर भएपछि युएनडीपीमा कन्सल्टेन्ट भएर काम गर्नुहुन्थ्यो। बुबा, लोकनाथ शर्मा बागलुङको हुनुहुन्थ्यो। मेरो ममी भने पूर्वतिरको कोइरालाको छोरी। बुबाको पहिलो कार्यकाल झापामा भएकाले मेरो जन्म मामाघर झापामा नै भयो। 

म जन्मने बित्तिकै पढाइको सिलसिलामा बुबा यूएस जानुभयो। उहाँ एक बर्षपछि फर्कनुभयो। हामी पनि सपरिवार ललितपुरको झम्सिखेलमा बस्न आयौं। मेरो बाल्यकाल र पढाइ-लेखाइ सबै यतै भयो। 

सेन्टमेरिज स्कुलमा केजीदेखि पढें र एसएलसी यहि स्कुलबाट दिएँ। एसएलसीपछि निजी कलेज भ्याली कलेजमा पढें। अहिले त्यो कलेज काठमाडौं बिश्वबिद्यालय भयो। ब्याचलर्समा माइक्रोबायोलोजी लिएर अध्ययन गरें। त्यो समयमा माइक्रोबायोलोजी नेपाली बिद्यार्थीका लागि नयाँ बिषय थियो। मास्टर्स पनि यहि बिषयमा गरें। 

मास्टर्स पढ्दै गर्दा मेरो बिहे भयो। मेरो श्रीमान् र म एकै विषय पढ्थ्यौं। त्यसैले हाम्रो बिहेलाई ‘लभ प्लस् एरेन्ज म्यारिज’ भन्दा ठिक होला। बिहे गर्दा म २३ वर्षको थिएँ। बिहे भएको दुई वर्षपछि म गर्भवती भएँ। हामीले प्लानमै बच्चा कन्सिभ गरेका थियौं। 

नेपालको अवस्थामा खासै योङ त हैन तर काठमाडौंमै बस्ने मानिस २५ वर्षको उमेरमा गर्भवती हुनु भनेको क्वाइट योङ नै हो। अनि मेरो पहिलो गर्भावस्थाको अनुभव पनि निकै दुखद भयो।

आफै मेडिकल फिल्डको भएकाले होला, बच्चा बसेपछि लाज कहिल्यै लागेन। पेट अलिक ठुलो हुँदासमेत म कलेज जान्थें। मेरो अर्की एक साथी पनि सँगै प्रेग्नेन्ट थिइन्। साइन्स विषय भएकाले भाइवा र प्राक्टिकल धेरै हुन्थ्यो। कलेजमा सर म्यामले हामीलाई पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो। यसरी हेर्ने हो भने, प्रेग्नेन्सीको समयमा मलाई परिवारले मात्रै हैन सर म्याम र सहकर्मी साथीहरुले समेत भरपुर सहयोग गर्नुभयो। 

लामो समयसम्म खाना खान मन नलाग्ने, वाकवाक लाग्ने भयो। मान्छेको गन्ध समेत मन पर्दैनथ्यो। मलाई सबैभन्दा मन नपरेको भनेको मरिचको गन्ध हो। त्यो बेलाको गन्ध सम्झेर अहिलेसमेत मलाई मरिच खासै मन पर्दैन। अलिअलि भने खान्छु।

पहिलो बच्चाको समयमा हामी पाटन अस्पताल चेकअपका लागि गयौं। त्यहाँ प्राइभेट र जेनेरल गरेर दुईथरीको सुविधा रहेछ। हामीले प्राइभेट चेकअपका लागि त्यहाँका डक्टरहरुसँग सल्लाह गर्याैं। नियमित चेकजाँच हुन्थ्यो। उनीहरूको भनाइअनुसार सबैकुरा नर्मल थियो।

तर बच्चा जन्माउने मिती नजिकिँदै गर्दा उनिहरुले दिएको मितीभन्दा अगाडि पानी फुट्यो। पानी बग्न थालेपछि म अस्पताल भर्ना भएँ। बुधबार अस्पताल भर्ना भएको मानिस बिहीबार बेलुकासम्म पनि केही भएन। त्यतिन्जेलसम्म पेन नै भएन।

अहिले भएको भए इन्ड्युस गरेर या सीएस गरेर भएपनि बच्चा निकाल्छ तर त्यहाँ उनिहरुले वास्तै गरेनन्। न पेन हुन्छ, न डक्टरले नै हेर्छन्। पानी सबै बगेर सक्किसक्यो। त्यस्तो भएपछि मेरो परिवारका सदस्यहरुले अस्पतालमा प्रेसर दिनुभयो। अनि बल्ल शुक्रबार बिहानतिर इन्ड्यिुस गरेर मेरो बच्चा निकालियो। 

बच्चा निकाल्दा नियमित चेकजाँच गरेको चिकित्सक समेत बिदामा हुनुहुन्थ्यो। डक्टरको अनुहार देखेको डिस्चार्ज हुने दिन मात्रै हो। अन्य सिकारु नर्सहरुले मेरो डेलिभरी गराए। त्यो पनि निकै हतारमा। उनीहरूलाई मेरो बच्चा निकाल्न भन्दा चिया खान जान हतार भइरहेको थियो। मलाई पूरै एक्सपेरिमेन्टल एनिमल जस्तै बनाइयो।  

अस्पतालको यही हेलचेक्य्राइँका कारण म एक महिनासम्म उठ्न सकिन। ज्वरो आयो, हिड्न नसक्ने भएँ। न त बच्चालाई दुध खुवाउन नै सकें। मैले छोरी जन्माएँ तर उसलाई छातीमा टाँसेर न्यानो बनाउन सकिन। यो कुराले मलाई अहिलेसम्म पनि पीडा दिन्छ। 

डक्टरको लापरबाहीका कारण मैले म र मेरो बच्चा दुवैले सास्ती बेहोर्नुपर्यो। बच्चा जन्मेको पाँच दिनमा त उसलाई इन्फेक्सन भयो। पुरै शरीरभरी घाउ आएको थियो। मैले बच्चा समाउन सक्ने हुँदा उनकाे अरुसँगै बानी परिसकेकी थियाे। बोटलको दुध मात्रै खान्थिन्, मैले स्तनपान गराउनै पाइन। 

श्रीमान् र म दुवै व्यस्त। दुवैले आलोपालो गरेर बच्चा हुर्कायौं। ६ वर्ष पुगुन्जेल अब अर्को बच्चा जन्माउने भन्ने मनमा पनि थिएन र रहर पनि थिएन। तर छोरीले साथीहरू सबैको भाइ या बहिनी छ, मलाई पनि चाहियो भनेर हैरान बनाइन्। छोरीको डिमान्डसँगै हामी नभए उसको कोही छैन भन्ने चिन्ता पनि पलायो। त्यसपछि हामीले दोस्रो बच्चाको तयारी गर्याैं।

योजना जस्तै दोस्रो बच्चा पनि पेटमा आयो। पहिलो पटक बच्चा जन्माउँदा भोगेको सास्तीले निकै डर दिएको थियो। अहिलेजस्तो धेरै निजी अस्पताल पनि त्यो समयमा थिएन। हामीले ओम अस्पतालमा डा. भोला रिजालको सहयोगमा दोस्रो बच्चा जन्माउने निर्णय गर्याैं। 

फष्ट बेबीको समयमा मरिच मन परेको थिएन। सेकेण्ड बेबीको समयमा भने थुक धेरै आउने भयो। थुकेको थुक्यै गर्न मन लाग्थ्यो। त्यो बाहेक अन्य सिमटम भने उस्तै रह्यो। 

पाटन अस्पताल भन्दा धेरै फरक पायौं, ओम अस्पताल। डा. भोला रिजाल पनि निकै सहयोगी। पहिलो बच्चाको तुलनामा दोस्रो बच्चा जन्माउन निकै सजिलो भयो। पहिलो बच्चाको समयमा जस्तो मैले एक महिनासम्म बेडरेष्ट गर्न परेन। बच्चा र म दुवै स्वस्थ भयौं। दोस्रो सन्तान पनि मैले छोरी पाएँ। 

एउटा रमाइलो कुरा पनि सेयर गरिहालौं। ओम अस्पताल त्यो समयमा सबैभन्दा महंगो अस्पतालमा गनिने रहेछ। त्यहाँ जाने आमाहरू छोरा जन्माउने पक्का गरेर मात्रै जाने रहेछन्। मेरो भन्दा छेउमा रहेकी एक महिलाले छोरा जन्माएकी रहिछन्, उनले सोधिन्, तपाईंको पनि छोरा हो। मैल जन्माउनै बाँकी भएपनि पहिल्यै थाहा पाएको कारण हैन छोरी हो भनें। अनि उनले, ए छोरी भएर पनि यहाँ आको भन्नुभयो। छोरी जन्माउन पनि यति महंगो अस्पतालमा भनेर उहाँले भन्नुभएको सुनेर मलाई भने छक्क लाग्यो।

पहिलो बच्चाको समयमा मैले आफैले स्तनपान गराउन पाएको थिइनँ, बच्चलाई होल्ड गर्न पाएको थिइनँ। दोस्रो पटक यी सबै चाहना पुरा गरें। बच्चालाई तेल लगाउने मानिस त राखिएको थियो तर सक्ने भएपछि म आफैले तेल लगाइदिने, उसको हेरचाह गर्ने गरें।

मैले बच्चा हेरचाहसँगै जापानमा पीएचडी अध्ययनका लागि स्करलसिपमा फर्म भरेको थिएँ। कान्छी छोरी डेढ वर्षको हुँदा स्कलरसिपमा नाम निस्कियो। छोरी छाडेर पढ्न जानुपर्ने भयो।

सुरुमा त मेरो मनै मानेन। सबैले कर गर्दा पनि बच्चा छाडेर कसरी जानु भन्ने भयो। त्यो समयमा मेरो श्रीमान् पुने विश्वविद्यालयमा पीएचडी गर्दै हुनुहुन्थ्यो। उहाँले थेसिसको काम मात्रै बाँकी रहेको भन्दै बच्चा हेर्ने बताउनुभयो। साना दुई छोरी छाडेर म जापान पढ्न गएँ।

कान्छी छोरीलाई बोतलको दुध खुवाउँदै टाढा लगिएको थियो। मलाई देख्यो भने रुन्छ भनेर। म रुँदै प्लेन चढेको थिएँ। जापान गएको दुई महिनासम्म पनि म रुन छाडिन। त्यसपछि भने बिस्तारै बानी पर्दै गयो। दुव् छोरीको जन्मदिन जनावरीमा पथ्र्यो, त्यही भएर वर्षको एक महिना भने जसरी भएपनि म नेपाल आउँथें।

त्यो समयमा वेवक्याम हुन्थ्यो। बच्चाले इन्टरनेटबाट मलाई हेर्थे, मैले उनिहरुलाई हेर्थें। ४ वर्षसम्म म अनलाइन आमा भएँ। ग्रयाजुयसन भएकै दिन बेलुकाको टिकट काटेर म नेपाल आएँ। मेरो कान्छी छोरी त आमालाई पहिलोपटक कहाँ देखेको भन्दा एयरपोर्टमा भन्छिन्।

मेरो श्रीमान् टीयूमा प्रोफेसर हुनुहुन्थ्यो। उहाँ मिटिङमा जाँदा समेत छोरीलाई साथै लैजानुहुन्थ्यो। एउटा टेवलमा केही खानेकुरा राखेर छोरीलाई छाड्ने र मिटिङ सकेर आउने गर्नुहुन्थ्यो। दुवै छोरीहरु मेरो श्रीमानले हुर्काएकाले उनीहरु बोल्ड र कन्फिडेन्ट छन्।

बाउले हुर्काएका बच्चाहरु झनै धेरै कन्फिडेन्ट हुने रहेछन्। त्यसैले म त अन्य बाउहरुलाई पनि बच्चा आमाको जिम्मा मात्रै नलगाउ, आफूसँग हिडाउ भन्छु।

अहिले जेठी छोरीले इन्जिनियरिङ सकिन्। कान्छि छोरीको ए लेवल पूरा भयो। दुवै छोरीहरु म जत्रै भएका छन्। 

१० पुस, २०७९, १९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।