शिक्षिका कल्पना पनेरु सिंखडाको प्रसव पीडा र खुसी : दुई दिनसम्म ब्यथा लाग्यो, नर्सहरू खाजा खान गएको बेला छोरी जन्माएँ

शिक्षिका कल्पना पनेरु सिंखडाको प्रसव पीडा र खुसी : दुई दिनसम्म ब्यथा लाग्यो, नर्सहरू खाजा खान गएको बेला छोरी जन्माएँ

गोरखामा जन्मिएकी कल्पना पनेरु सिंखडा नेपाल माध्यामिक विद्यालय शिक्षक युनियन (हिष्टुन) को वरिष्ठ उपाध्यक्ष हुन्। झण्डै चार दशक शिक्षण पेशामा बिताएकी उनी अस्थायी शिक्षिका हुन्। कहिले सरकारी त कहिले निजी विद्यालय चहार्दै उनले शिक्षण पेशा गरिरहिन्। कल्पनाका दुई छोरीहरू छन्। उनले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग साटिन्ः

गोरखाको बारपाकमा मेरो जन्म भयो। बुवा गुणप्रसाद र आमा डिलकुमारी किसान, वर्गीय हिसावले म निम्न वर्गमा जन्मिएँ। मेरो पछि अरु चार बहिनीहरू जन्मिए। आमाले छोरा जन्माउन नसकेको भनेर सधैं पीडा खेपिरहनपर्याे।

मलाई राम्रोसँग याद छ, म बाटोमा हिँडिरहेकी थिएँ। घरमा बहिनी जन्मेकी रहिछ। मलाई हेरेर ‘विचरा तेरो आमाले फेरि छोरी पायो’ भनेका थिए। छोरी जन्माउँदा मेरी आमालाई विचरा भनेको कुरा मेरो दिमागमा नमज्जासँग बसेको थियो।

सानैमा कन्यादान गरे छोरा जन्मन्छ रे भनेर मेरो वाल विवाह गराउन बुवाआमाले नसोच्नुभएको होइन। तर, मैले विद्रोह गरेँ। छोरीलाई नपढाउने ठाउँमा म जबरजस्ती विद्यालय जान्थेँ।

मेरो दिमागमा पढ्नैपर्छ भन्ने कुरा यत्तिकै बसेको भने हैन। मेरो आमा भन्दा जेठा मामाहरू पढ्नुभएको तर मेरी आमाले पढ्न नपाउनुभएको। म तोते बोली हुँदाखेरी नै म ‘मामाले पढेको तपाईंले किन नपढेको’ भनेर आमालाई सोध्थेँ।

उहाँलाई श्रीस्वस्थानी व्रतकथा निकै मनपर्ने रहेछ। तर, पढ्न नआउने भएकाले दराजमा पूजा गरेर राख्नुहुन्थ्यो। उहाँको आँखामा त्यो किताब पढ्न पाए भन्ने खालको भाव मैले देखेकी थिएँ।

त्यस्तै गाउँमा एकजना भाउजु हुनुहुन्थ्यो। उहाँको छोरा कोरिया गएका। हुलाकमार्फत महिनौं लगाएर विदेशबाट चिठ्ठी आउँथ्यो। उहाँलाई पढ्न नआउने भएकाले घाँस काट्न जाँदा पटुकीमा चिठ्ठी बोकेर हिड्नुहुन्थ्यो। मलाई भेट्ने बित्तिकै पढेर सुनाउन लगाउनुहुन्थ्यो। यस्ता कुराले मेरो दिमागमा जसरी हुन्छ पढ्नैपर्छ भन्ने भावना आयो।

विद्यालयमा म उत्कृष्ठ विद्यार्थीमा पर्थेँ। घरमा विद्रोह गरेर एसएलसीमा विद्यालयकै प्रथम भएँ। यो नतिजाले मेरो मनमा छुट्टै उत्साह भरेको थियो। एसएलसीमा विद्यालयकै प्रथम भएपछि गाउँकै अर्को विद्यालयमा पढाउन पाएँ।

आफैँ कमाउने भएपछि थप शिक्षा आर्जन गर्न मलाई कसैले रोक्नसक्ने कुरै भएन। गोर्खा क्याम्पसमा भर्ना गरेँ आफैले। तर घरको काम, स्कुल सबै भ्याउन समस्या भएकाले मैले घरमै बसेर अध्ययन गरेँ। मेरो रहर त क्याम्पस गएर त्यहाँको बेन्चमा बसेर साथीभाइसँग गफ गर्दै पढ्ने थियो। तर, त्यो पूरा हुन सकेन।

प्लस टु पास गरेपछि गोरखामा माओवादी पार्टीको संगठन विस्तारको काम हुन थाल्यो। मैले पढाउने विद्यालयका शिक्षकहरूको सक्रियता देखेर म पनि पार्टीलाई सहयोग गर्न थालेँ। मेरो काम पिँढी सम्मेलन गर्ने थियो। महिलाहरूलाई एकजुट बनाएर म कसरी एकात्मक पितृसत्ताले हामी अन्यायमा परिरहेका छौं भन्नेकुरा सुनाउँथे। सम्पत्तिमा बराबर अधिकारका कुरादेखि अन्य मुद्दाहरू थिए जसले मलाई माओवादी पार्टी मन पर्दै गइरहेको थियो।

२०५३ सालतिर हो। हामी एउटा घरको धन्सारमा बसिरहेका थियौं। तर खै कसरी हो, पुलिसले चारैतिरबाट घेर्न भ्याइसकेछ। म भण्डै १० फिट माथिबाट हाम फालेर भागेँ। झोला प्रहरीले बरामत गर्यो। त्यो समयमा देव गुरुङ लगायतका कार्यकर्ता पक्राउ परेका थिए। भागेर सुरक्षित ठाउँमा पुग्दा मेरो खुट्टा खाली थियो। हात र शरीर लगलग काँपिरहेका।

झोला भेटेपछि मलाई राज्यविद्रोहको मुद्दा लाग्यो। म र मेरी बहिनीको नामसहित खबरदारीको सूचना सधैं मेरो घरमा टाँसिरहन्थ्यो। कि जेल जानुपर्ने, कि गाउँ छाड्नुपर्ने वातावरण सिर्जना भयो। मेरो आमाबुबा रुन थालेपछि म काठमाडौं आएँ।

यहाँ आएपछि पनि मेरो सोच पढाइ गर्ने नै थियो। तर, पार्टीले बुर्जुवा शिक्षा हैन व्यावहारिक शिक्षा चाहिने भन्दै बहिष्कार गर्न लगाउँथ्यो। मैले यो कुरा मानिन। समाजसँग विद्रोह गरिरहेका कारण मेरो आफन्तले जसरी हुन्छ बिहे गर्न सुझाए। आमा बुवाको प्रेसर र आफन्तको प्रयास टार्न सकिन। आफन्तले नै छानेका धादिङको हरिकृष्ण सिंखडासँग विवाह गरेँ।

हामी निम्न वर्गको भएकाले दाइजो दिन नसकिने र मेरो वैचारिक अवस्था मैले सबै सुनाएँ। हरिकृष्ण सिंखडा इन्जिनियरको विद्यार्थी हुनुहुन्थ्यो। उहाँको र मेरो विचार मिल्यो। तर, उहाँको परिवारले मेरो पृष्ठभूमि मन पराउनुभएन। हामीले केहि उहाँका र केहि मेरा मानिस भेला पारेर यज्ञ भइरहेको ठाउँमा सामान्य विवाह गर्याैँ।

बुर्जुवा भनेको शिक्षा हासिल गर्ने मेरो मोह र धार्मिक यज्ञमा विवाह गरेको भन्दै पार्टीले मलाई टाढा बनाउँदै लग्यो। म पनि आफ्नै पारिवारिक जीवन र काममा लागेँ। बिहे भएको केहि समयपछि नै म गर्भवती भएँ। हामीले कुनै योजना बनाएका थिएनौं बच्चाको।

मेरो श्रीमान् व्यावसायिक इन्जिनियर बन्नुभएको थिएन। परिवारले हामीलाई सहमतिविपरीत विवाह गरेकाले टाढा बनाएको थियो। काठमाडौंमा जीवन धान्न म २१ सय तलब लिएर एक बोर्डिङमा पढाउँथे। मेरो श्रीमान् जस्तो काम पनि गर्नुहुन्थ्यो।

महिनावारी रोकियो, शरीर कमजोर भयो। वाक्क–वाक्क लाग्यो। अहिलेजस्तो प्रेग्नेन्सी चेक गर्नका लागि सजिलै किट पाइँदैनथ्यो त्यो समयमा। अस्पताल नै जानुपथ्र्यो। अस्पताल जाँदा नभन्दै रिपोर्ट पोजेटिभ आयो। गर्भवती भएको पाँच महिनासम्म मलाई जिराको गन्ध पटक्कै मन परेन। गुँदपाक भने खाउँ–खाउँ लाग्थ्यो। अरू सबै गन्हाउथ्याे।

त्यो समय अहिलेजस्तो आधुनिक थिएन। श्रीमान्श्रीमती सँगै जानुपर्ने भन्ने पनि हुँदैनथ्यो। पाटन अस्पतालमा मैले रेगुलर चेकअप गराएको थिएँ। अहिले पाटन अस्पतालकाे बर्थ सेन्टर राम्रो बनाएको रहेछ, त्यो समयमा त खत्तम थियो। म गर्भवती भएको थाहा पाएपछि मेरो सासु आउनुभयो। बच्चाकै कारण हाम्रो परिवार एक भयो।

चिकित्सकले दिएको डेट भन्दा केहि दिन छिटो गरेर मेरो पेट दुख्यो। अस्पताल गइयो। मलाई कुर्न सासु र मेरो बहिनी बसेकी थिइन्। मलाई दुई दिनसम्म ब्यथा लाग्यो। त्यो समयमा अब फेरि बाँचुलाजस्तो लागेको थिएन।

अस्पतालमा नर्मल डेलिभरी हुँदासमेत अलिकति काटेर टाँका लगाउने चलन रहेछ। मेरो सासुले यो कुरा ख्याल गर्नुभएछ। नर्सहरू खाजा खान गएको समयमा मैले बेडमै बच्चा जन्माएँ। नर्स बोलाउनु भन्दा उहाँ मान्नुभएन। बच्चा जन्मिसकेपछि मात्रै नर्सहरू आए र नबोलाएको भन्दै गाली गरे। मेरो सासुले भने जे भयो राम्रै भयो भन्दै हुनुहुन्थ्यो।

मैले मेरो पहिलो सन्तान छोरी पाएँ। परिवारमा जति खुसी छाउनुपथ्र्यो, त्यति छाएन। मेरो मनमा पनि पहिलो सन्तान त हो भन्ने भयो। संयोग कस्तो भने, मेरी सासुले पनि सातओटा छोरी छोरी जन्माएर छोरो बल्लतल्ल जन्माउनुभएको थियो। त्यसैले छोरी जन्मँदा सबैभन्दा धेरै दुःखी उहाँ नै हुनुहुन्थ्यो।

छोरी जन्मेको २२ दिनपछि म फेरि पढाउन जान थालेँ। २१ सय तलबले के पुग्थ्यो र विभिन्न ठाउँमा ट्युसन पनि पढाउँथे। बच्चा आफन्तकोमा छाड्दै पढाउन हिड्दै गर्न थालेँ। त्यो समय हामी आर्थिक रूपमा निकै कमजोर थियौं। श्रीमान बल्ल व्यावसायिक इन्जिनियर बन्दै हुनुहुन्थ्यो।

बच्चा बिरामी परिरहने, घरमा समय दिन नभ्याउने। त्यसैमाथि ट्युसन समेत थपिएपछि मैले सोचेजस्तो काम गर्न सकिन। बिद्यालयमा राम्रो काम गर्न नसकेपछि गाली त खाइने नै भयो।

पहिलो सन्तान जन्मेको एक वर्ष पूरा भएर अर्को वर्षमा लाग्दै थियो। म त फेरि गर्भवती भएछु। बच्चालाई दुध खुवाएको समयमा बच्चा हुँदैन भन्ने सुनेकी थिएँ। त्यसैले सुरक्षित साधन प्रयोग गरेका थिएनौं। दोस्रो बच्चा झुक्किएर भएको भन्दा फरक पर्दैन। महिनावारी रोकिने, वाकवाक लाग्ने, रिंगटा लाग्ने जस्ता पुराना लक्षण यो समयमा पनि दोहोरियो। 

मैले मेरो शरीरलाई दोस्रो बच्चाको समयमा मायै गरिन। अस्पताल समेत गइन, परीक्षणका लागि। पहिलो सन्तानको अनुभव छँदै छ भनेर घरमै बसेँ। पहिलो बच्चाको समयमा आइरन चक्कीहरू अस्पतालले दिएको थियो, आएकी थिएँ।

दोस्रोको पालोमा आइरन चक्की नै खाइन। आइरन चक्की नखाएकाले रहेछ मलाई इँट्टामा पानी पर्दा आउने गन्ध निकै मनपथ्र्यो। इँटा सबै कोपरेर खाउँजस्तो लाग्थ्यो।

पुरानो विद्यालयलाई समय धेरै दिन सकिँन। त्यसैले विद्यालय परिवर्तन गरेँ। साना कक्षामा मात्रै पढाउन थालेँ। माछापोखरीमा बस्थ्यौं, तर निकै टाढा झोर भन्दा माथिको एक विद्यालयमा पढाउन जान्थें। गाडी जाने बाटो बनेको थिएन, दैनिक एक घण्टा हिँड्थें। 

असोजमा बच्चा जन्माउने मिति थियो। पेट ठूलो हुँदासम्म म विद्यालय जान्थेँ। स्कुलका सहकर्मीहरू ब्यथा लाग्यो भने ट्याक्सी समेत पुग्दैन भनेर बिदा बस्न सुझाइरहन्थे।

दोस्रो बच्चा मैले शिक्षण अस्पतालमा जन्माएँ। पहिलो सन्तान जन्माउने समयमा दुई दिन ब्याथा लागेको थियो। तर, दोस्रो सन्तानको प्रसव पीडा लामो समय भएन। चार घण्टामा बच्चा जन्माइहालेँ। भाग्य भनौं या दुर्भाग्य, यो सन्तान पनि छोरी नै जन्मिई।

नयाँ सन्तानको आगमनमा परिवारमा खुसी छाउन सकेन। आमाले छोरी मात्रै जन्माएर भोगेको पीडा, सासुले छोरी मात्रै जन्माएर भोगेको पीडा र मैले छोरी जन्माएर भोगेको पीडा फरक हुन सकेन। तर, मानिसहरू समाज परिवर्तन हुँदै गइरहेको बताउँथे।

दोस्रो छोरी कमजोर जन्मिई। मेरो लापरबाहीको नतिजा उसले भोग्नुपर्यो। सबैतिरबाट छोरा जन्माउनैपर्ने प्रेसर आएको थियो। पानी ओसार्दा, दौडधुप र धपेडीले पेटमा तेस्रो सन्तान बच्चा आएको रहेछ र मिसक्यारेज भयो। यतिधेरै रगत बग्यो कि, म कल्पना समेत गर्न सक्दिन।

मलाई मेरो पेटमा बच्चा आएको समेत थाहा थिएन। पहिलेको बच्चा पेटमा आउँदाजस्तो समस्या पनि भएको थिएन। मिसक्यारेज भएपछि मैले मेरो पाठेघर अस्पताल गएर सफा गरेँ। सानो डल्लो बनिसकेको रहेछ। योपछि मैले छोरा जन्माउँछु भन्ने योजना सधैँका लागि बन्द गरेँ। जे छ, यहि दुई छोरी छन् भन्ने लाग्यो। उनीहरूलाई राम्रो गुणस्तर भएको बोर्डिङ स्कुलमा भर्ना गरेर पढाउन थालेँ।

छोरीहरू पढ्न जान थालेपछि शिक्षण पेशासँगै अधुरो पढाइ पूरा गर्न थालेँ। ब्याचलर भर्ना भएँ। मेजर इंग्लिसमा ब्याचलर भर्ना गरेर पढ्न थालेँ। रेगुलर पास पनि गरेँ। अहिले मेरी जेठी छोरी स्वेता अष्ट्रेलियामा प्रोफेसनल एकाउन्टिङमा मास्टर्स पढ्दैछिन्। कान्छी छोरी श्रीया नेशनल मेडिकल कलेज, वीरगञ्जमा तेस्रो वर्षमा अध्ययनरत छिन्।

मेरो मनमा एउटै गिल्टी बाँकी छ, बच्चालाई समय दिन नसक्नु। अहिले जति पनि साथीहरू करियर भन्दै बच्चालाई अलपत्र पारेर हिड्नुहुन्छ। उहाँहरूलाई यहि भन्छु, बच्चालाई समय दिनुस्। मैलेजस्तो मनमा ग्लानी लिएर बस्नुपर्दैन। करिअर र बच्चा सँगै लान एउटा महिलालाई सहज नहुने रहेछ। सकेसम्म बच्चाकाे हेरचाहलाई प्राथमिकतामा राख्नुपर्छ।

६ कात्तिक, २०७९, १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।