महिला विकास अधिकृत मञ्जुको प्रसव पिडा र खुसी : यदि केटाले बच्चा जन्माउँथे भने केटीको अनुहार कहिल्यै हेर्दैनथे

महिला विकास अधिकृत मञ्जुको प्रसव पिडा र खुसी : यदि केटाले बच्चा जन्माउँथे भने केटीको अनुहार कहिल्यै हेर्दैनथे

विराटनगर नगरपालिकामा कार्यरत मञ्जु लोहनी महिला विकास अधिकृत हुन्। क्यान्सर जितेकी मञ्जुका दुई सन्तान छन्। उनै मञ्जु लोहनीले आफ्नो प्रसव पिडा र खुसी उकेरालाई सुनाइन् :

OOO

तनहुँ जिल्ला घाँसीकुवा वडा नम्बर ४ मा म जन्मिएँ। गाउँघरमा बुबाको नाम कृष्ण थियो तर नागरिकतामा भने नुरराज लोहनी रहेछ। त्यो समयमा अहिलेजस्तो गाउँपालिका थिएन, गाउँ पञ्चायत भनिन्थ्यो।

मेरो नाम मञ्जु राखेपछि त्यो निकै युनिक नाम थियो रे। त्यसैले नाम राम्रो लागेर म पछि जन्मने बिहिनीहरुको नाम मञ्जु राखेका थिए।

मेरो बुबा फेरि गर्भे टुहुरो। त्यसैले हजुरआमाले एउटा छोरो भनेर आफूदेखि टाढा पठाउनु भएन। मेरो काका, ठुलो बुबा भने गुरुकुल बसेर पढ्नुभएको। तर घरमै बसेर संस्कृत भने पढ्नुहुन्थ्यो बुबा।

मेरो आमाले जन्माएका ४ छोराछोरी जिउँदा छौँ। जन्माउनुभएको त ७ जना तर अरू बित्नुभयो। जन्मिएकामध्ये म कान्छी छोरी। म पछि पनि दुई बहिनी जन्मिएका थिए तर दुवै बिते। त्यो पछि भाइ जन्मियो।

पाँच वर्ष लागुन्जेलसम्म पनि मेरो बोली फुटेन रे। गाउँकै एक वैद्यलाई देखाएपछि मैले आमा भनेँ रे। स्कुल जाँदा आउँदा ती वैद्य बाले यो कुरा सुनाइरहन्थे। मलाई भने कुपोषणले त्यो समयमा म बोल्न नसकेकी हुँ भन्ने अहिले पनि लागिरहन्छ।

चूडामणि लोहनी मेरो ठुलाबा हेडमास्टर हुनुहुन्थ्यो। तर घरदेखि विद्यालय केही टाढै पर्थ्यो। दुई कक्षासम्म मलाई र मेरो दिदीलाई भर्ना गरियो। त्यो समयमा होल फस्ट हुने चलन थियो। २ कक्षामा म पनि होल फस्ट भएकी थिएँ। त्यो पछि भने हामीलाई विद्यालय पठाइएन।

करिब ४ वर्षपछि दिदी र म दुबैलाई अर्को विद्यालयमा कक्षा ४ मा भर्ना गरियो। ग्याप पनि भयो र कक्षा पनि अगाडी बढाइयो। तर पनि म कक्षा ४ मा चौथो स्थानमा पास भएँ। मलाई पढ्न एकदम रमाइलो लाग्थ्यो।

माध्यमिक तह पढ्न घरबाट झन्डै १० किलोमिटर टाढा जानुपर्थ्यो। हाइवे मै थियो छन् त। तर विद्यार्थीले पैसा दिँदैन भनेर रोक्दैनथ्यो। १० किलोमिटरसम्म हिँडेरै पढ्न जान्थेँ।

एसएलसीमा भने गणित विषय लाग्यो। त्यो समयमा म खुब रोएकी थिएँ। एसएलसी फेल भएपछि फुपूकोमा गएँ। त्यहाँ दाइहरूले गणित विषय पढाउनुभयो। अर्को वर्ष राम्रो नम्बर ल्याएर पास भएँ।

आइएमा इकोनोमिक्स लिएर पढेँ। तर तीन महिनापछि साथीले धनको विज्ञान त सबैलाई आइहाल्छ नि भनिन्। मलाई पनि हो जस्तै लाग्यो र पोलिटिकल साइन्स लिएर पढेँ। पछि यही विषय लागेको समेत थियो। पछि कटाएँ र ब्याचलर्स पढ्न विराटनगर आएँ।

पढ्दै गर्दा महिला विकास कार्यालयमा अस्थायी जागिर खान थालेँ। हाकिमले, रिस उठ्यो भने फनक्क कलम घुमाएर जागिर खोसिदिन्छु भनेर धम्क्याउँथ्यो। अहिले त महिलाहरूको अवस्था नाजुक छ, त्यो समयमा त झनै बेहालै थियो।

ब्याचलर्स पढ्दै गर्दा मेरो विवाह पनि भयो। यसले केही समय पढाइमा अवरोध गर्यो। अङ्ग्रेजी विषयमा कमजोर थिएँ, त्यो लाग्यो पनि।

घर परिवारले खोजिदिएको केटोसँग मैले बिहे गरेँ। हाम्रो घरको शासन कडा थियो। केटा मानिसको अनुहार हेर्न हुँदैन, बोल्नै हुँदैन, हेर्लिस् नि फेरि भन्ने खालको कुरा सधैँ भइरहन्थ्यो।

सायद त्यसैले होला, अहिले समयमा ठ्याक्कै प्रश्नको जवाफ फर्काउन सक्दिन।

बिहे हुँदा २६ वर्षको थिएँ। त्यसको दुई वर्षपछि गर्भवती भएँ।

गाउँघरमा हुँदै भाउजूहरू गर्भवती हुँदा, गन्हाउने लागेको रहेछ, बच्चा पेटमा आएछ भनेर कुरा गरेको सुनिन्थ्यो। कस्तो होला यो गन्हाउने लाग्ने भन्ने लाग्थ्यो।

महिनावारी रोकिनुअघि नै मलाई पनि गन्हाउने लाग्यो। त्यो भनेको वाक्क वाक्क आउने, खान मन नलाग्ने रहेछ। यस्तो मलाई ४ महिनासम्म भयो। त्यो पछि पनि केही खानेकुरा खाऊँ जस्तो लागेन।

गर्भवती भएपछि नियमित चेकअप कोसी अस्पतालमा गराएकी थिएँ। बच्चा जन्माउने डेट साउनको पहिलो हप्ता दिएको थियो।

तर असारको १९ गते बिराम लाग्यो। बिराम लाग्नु भनेको पानी बग्ने, ढाँड दुख्ने आदि हो। बिराम लागेपछि विराटनगर अस्पताल गएँ।

घरदेखि अस्पतालसम्मको दुरी ४४ किलोमिटर पर्थ्यो। सामान्य होला भनेर बिना तयारी अस्पताल गएको त बच्चा जन्माउने बेला भएछ भनेर भर्ना गरिदियो।

अस्पताल भर्ना गरेपछि रातभर बेथा लाग्यो। त्यो क्षण निकै अत्यासलाग्दो थियो। बिचमा अताल्लिएर अपरेसन गरिदेओ भनेको थिएँ तर चिकित्सकले मानेनन्। कपडाहरू पनि साथमा लगेका थिएनौँ।

भोलिपल्ट बिहान ९ बजे मात्रै बच्चा जन्माएँ। पहिलो सन्तान छोरी जन्मिइन्।

बिहे भएको घरमा सास आमा हुनुहुन्थेन। ससुरा मात्रै हुनुहुन्थ्यो। तर उहाँ निकै व्यवहारिक हुनुहुन्थ्यो। ओइ रामु (राम कुमार भट्टराई), खाना पकाएर दे भनेर जतिखेरै ससुरा बा कराइरहनुहुन्थ्यो। अनि श्रीमानले पकाएर खुवाउनुहुन्थ्यो। छोरा मानिस मात्रै भए पनि सुत्केरी हुँदा शरीर बिग्रिएन।

तर समस्या के आइलाग्यो भन्दा, आठ वटा टाँका लगाइएको थियो बच्चा जन्माएपछि घाउमा। सजिलो होस् भनेर मिश्रीको काडा पानी खुवाउन मेरो श्रीमानलाई अह्राउनुभएको रहेछ।

श्रीमानले पनि माया गरेर खान्न खान्न भन्दाभन्दै कर लगाएर काडा पानी खुवाउनुभयो। त्यो खाएपछि त मलाई डायरिया भयो, भोमिट पनि भयो।

जसले गर्दा घाउमा लगाइएको टाँका फुस्किएछ। ३५ दिनसम्म ओछ्यानबाट उठ्न सकिन। यो भट्टराइकी बुहारी त उठ्दिन होला भन्थे गाउँघरतिर। तर पछि सबै ठिक भयो।

नियमित काममा फर्कर्नैपर्थ्यो। म छोरीलाई साथै लिएर कार्यालय जान्थेँ। एकतातिर छोरी सुताउँथेँ र अर्कोतिर फर्केर काम गर्थेँ। कहिलेकाहीँ कार्यालय सहयोगीहरूले पनि बच्चा हेरिदिएर सहयोग गर्थे।

छोरी जन्मेको दुई वर्षपछि म फेरि गर्भवती भएँ। कामको सिलसिलामा ताप्लेजुङ पुगेकी थिएँ। उस्तै गन्हाउने लाग्यो। मलाई कालो दाल निकै समयसम्म खान मन लागेन। काउली निकै गन्हाउँथ्यो।

तर बच्चा जन्माउने समयमा भने ताप्लेजुङबाट घरै आएकी थिएँ। संयोग कस्तो भइदियो भने दोस्रो बच्चा जन्माउने समयमा नेपाल बन्द भइदियो।

मेरो देउरानी पनि गर्भवती थिइन्। देवर वैदेशिक रोजगारीका लागि गएका थिए। ससुरा र मेरो श्रीमान् दुवै घरमा थिएनन्। घरमा उनै गर्भवती देउरानी र म मात्रै थियौँ। त्यही समयमा बेथा लाग्यो।

न त डाक्टर खोज्ने मानिस छ, न गाडी नै चलेको छ। छिमेकी भने फेला परे। उहाँहरू औषधी व्यापारी हुनुहुन्थ्यो। तिनै छिमेकीको मद्दतले दोस्रो सन्तान घरमै जन्माएँ। दोस्रो सन्तान छोरा जन्मियो।

त्यो समयमा बच्चाको न्यूनतम तौल साँढे २ केजी हुनुपर्छ भनेका थिए चिकित्सकले। नभन्दै मेरा दुवै बच्चा उत्ति तौलका मात्रै भए।

बच्चा भनेका आफ्ना क्रियसन रहेछन्। मातृत्वको परिभाषा त अहिले पनि शब्दमा वर्णन गर्न सक्दिन। किनभने अहिले छोराछोरी ठुला भइसके तर  आफूलाई के खाए होलान्, के गर्दै होलान् भन्ने चिन्ताले नछाड्ने रहेछ।

छोरी जन्मेपछि एम्बुलेन्समा घर जाँदा हामीसँग चिकित्सक पनि गएका थिए। ती चिकित्सकले संसारमा सबैभन्दा गाह्रो काम बच्चा जन्माउने रहेछ, यदि केटाले बच्चा जन्माउँथे भने केटीको अनुहार कहिल्यै हेर्दैनथे भन्दै थिए। त्यो कुरा मलाई सधैँ याद आइरहन्छ।

कामको सिलसिलामा कहिले कहाँ, कहिले कहाँ पुगियो। बाल अधिकारका कुरा, उनीहरूको खुसीका कुरामा खासै ध्यान दिन पाइएन। त्यो कुरा मनमा खट्किरहन्छ।

आफूले उनीहरूलाई चाहिँदो माया दिन नसकेकाले उनीहरू जति नजिक हुनुपर्थ्यो त्यति भएनन् कि भन्ने लाग्छ।

बच्चा सुतिरहेको हुन्थ्यो, आफूलाई हतार हुन्थ्यो। ओछ्यानबाट सिधै बाथरुममा मुख धोइदिएपछि बच्चा उठ्थ्यो। त्यो समयमा उसलाई राम्रोसँग उठ्ने समय पनि दिन सकिएन। यी कुराले नरमाइलो लाग्छ।

अहिले छोरी स्तुति विदेशमा छिन्। उनको बिहे अलि सानै उमेरमा गरिदियौ। नातिनी छिन्। छोरा राजेश एमबिए थर्ड सेमेष्टरमा पढ्दैछ।

उनीहरूलाई हेर्दा खुसी लाग्छ। 

१ माघ, २०७९, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।