उकेरा कोलम

‘सिंगल मदर’ विन्दुको प्रसव पीडा र खुसी : सुत्केरी भएर माइत जाँदा आफन्तसँग श्रीमान्को ‘लभ’ परेछ 


सिन्धुपाल्चोकमा जन्मिएकी विन्दु खत्री दुई सन्तानकी आमा हुन्। १५ वर्षको उमेरमा विवाह गरेकी उनले पहिलो सन्तान २१ वर्षको उमेरमा जन्माइन्। अहिले श्रीमान्सँग सम्बन्ध विच्छेदको तयारीमा रहेकी विन्दु श्रीमान्सँग अलग बस्न थालेको दुई वर्षजति भयो। सधैं झगडा र कुटपिट मच्चन थालेपछि सम्बन्ध विच्छेदको अवस्थामा पुगेको उनी बताउँछिन्।

चाबहिल चोकमा धागो पसल सञ्चालन गरिरहेकी उनी आफैँ दुई सन्तानलाई हुर्काउने हिम्मत भएको बताउँछिन्। कलिलो उमेरमा विवाह र युवा अवस्थामा सम्बन्ध विच्छेदको अवस्थामा पुगेकी विन्दुले उकेरासँग प्रसव पिडा र खुसी साटिन् :

OOO

मेरो जन्म सिन्धुपाल्चोकमा भयो। बुवा प्रहरीमा जागिरे हुनुहुन्थ्यो, अहिले रिटायर्ड लाइफ बिताइरहनुभएको छ। आमा गृहणी हुनुहुन्छ। मेरा ४ दिदिबहिनी अनि दुई दाजुभाइ।

निम्नबर्गीय परिवारमा जन्मिए पनि आमाबुवाले पढाउनुभयो। १० कक्षासम्म सिन्धुपाल्चोकमै पढें। १० पास गरेपछि काठमाडौं आएँ।काठमाडौंमा प्लस टु पढ्दै एक कस्मेटिक पसलमा काम गर्न थालें। पढाइमा समय दिन नपाउँद बीचमा पूरा गर्न सकिन।

कामकै सिलसिलामा भेट भएको हो मेरो श्रीमान्सँग। उहाँ होटल लाइनमा काम गर्नुहुन्थ्यो। श्रीमानको परिवार पनि सिन्धुपाल्चोक कै हुनुहुन्थ्यो। तर, पछि पाँचखाल बसाइ आउनुभएको रहेछ।

घर परिवार सबैको सहमतिमा हाम्रो विवाह भयो। विवाह गर्दा म १५ वर्षकी थिएँ, श्रीमान् त म भन्दा पनि कान्छो हुनुहुनथ्यो। विवाहपछि २ लाख रूपैयाँ लगानी गरेर धागो पसल राख्यौं। कस्मेटिक पसलमा काम गरेकाले यो व्यवसायमा कम लगानी राम्रो आन्दानी हुन्छ भन्नेबारे मलाई थाहा थियो।

विवाह भएको चार वर्षपछि श्रीमान् कामको सिलसिलामा मलेसिया जानुभयो। घर व्यवहार र धागो पसल मैले हेरेँ। दुवैको मेहनत र लगनले काठमाडौंमा केही जग्गा पनि जोड्यौं। चार वर्ष मलेसियाको बसाइपछि श्रीमान् नेपाल आउनभुयो।

विवाहको सात वर्ष भइसकेकाकाले आफन्त र परिवारले बच्चाको विषयमा सोधखोज गर्न थाले। विवाह सानैमा भए पनि मानिसहरूले विवाह गरेको समय हेर्ने रहेछन्। हामीले पनि बच्चाको तयारी थाल्यौं तर सफल हुन सकेन।

विभिन्न अस्पतालदेखि धामी झाँक्री सबैतिर बच्चाका लागि दौडधुप गरियो। अन्धविश्वास हो या साँच्चै एक जना झाँक्रीले मेरोमा बिगार परेको रहेछ भनेर फुकफाक गरिदिए। नभन्दै त्यसपछि मेरो गर्भमा बच्चा आयो।

ज्यान गल्ने, रिंगाटा लाग्ने, केहि खानै मन नलाग्ने भएपछि म र श्रीमान् केएमसी अस्पतालमा जाँच गराउन गयौं। महिनावारी पनि रोकिएकाले बच्चा पेटमा आयो होला भन्ने पहिल्यै लागेको थियो। नभन्दै रिपोर्ट पोजेटिभ आयो। हामी श्रीमान् श्रीमती नै खुसी भयौं।

चिकित्सकले रिपोर्ट पोजेटिभ आउने बित्तिकै के खाने, के नखाने सबै राम्रोसँग बताइदिनुभयो। एक प्रकारको डर पनि लाग्यो तर खुसीले डरलाई जित्यो।

सुरुको तीन महिना निकै गाह्रो भयो। खानेकुरा देख्यो कि वाक्क आउने, रिंगाटा लाग्ने, झर्को लाग्ने लगायतका समस्याहरू देखियो। तर यो सबै सामान्य हो भनेर डाक्टरले भनेका थिए।

खान मन नलागे पनि जसरी पनि खाउ भनेका थिए। त्यसैले म मन नलागे पनि खान्थें। बच्चा पेटमा हुँदा फलफूलमा अलि बढि जोड दिन्थें।

चार महिना लागेपछि बल्ल खानेकुरा पेटमा अड्ने भएको थियो। आमा बन्न सजिलो छैन भन्ने कुरामा म ढुक्क थिएँ। त्यसैले साना दुःखहरूलाई वास्ता गरिन।

७ महिना लागेपछि मेरो मुटुको धड्कनले राम्रोसँग काम गर्न सकेन। धड्कन नै नचल्ने, मुटु दुख्ने, स्वाँ–स्वाँ धेरै हुने भयो। त्यसपछि मलाई अस्पताल भर्ना गरियो। चिकित्सकले आराम पुगेन भनेर एक महिना अस्पतालमै भर्ना गरेर राखिदियो।

अचम्म के भयो भने, म नौ महिनासम्मै सक्रिय रूपमा काम गरिरहें। यहि धागो पसलमा बस्थें। पेट सानो थियो। अझ भनौं पेटै देखिँदैनथ्यो। पसलमा आउनेहरूले म नौ महिनाको गर्भवती छु भनेर थाहै पाउँदैनथे।

समस्याले गर्दा डेट आउन भन्दा अघिदेखि नै मलाई अस्पतालमा भर्ना गरियो। ब्यथा लाग्नै पाएन, डेट दिएको दिन नजिकिने बित्तिकै स्वास्थ्य समस्या भएको भन्दै चिकित्सकले अप्रेसन गरिदिए।

बच्चा जन्माउने समयमा लाग्ने ब्यथा कस्तो हुन्छ, मलाई थाहा छैन। बच्चा निकालिसकेपछि छोरा जन्मियो भन्ने हल्ला सुनेजस्तो लाग्यो। तर शरीर पूरै बेहोस नै थियो। बच्चालाई दुई दिनसम्म आईसीयूमा राखियो। मैले पहिलो सन्तानको अनुहार दुई दिनपछि मात्रै देख्न पाएँ।

नर्मल डेलिभरी गर्ने मेरो ठूलो चाहना थियो। तर, स्वास्थ्य समस्याले गर्दा त्यसो गर्न सकिन। मलाई यो कुराले सधैं नराम्रो लागिरहनेछ। पहिलो सन्तान जन्मेपछि सासु ससुराहरूले हेरचाह गर्नुभयो। त्यस्तो धेरै माया नपाए पनि आफ्ना मान्छेको कमी भने भएन।

पहिलो सन्तानको पास्नी धुमधामसँग गरियो। छोराको पास्नी (साढे छ महिना) सक्किने बित्तिकै म बिरामी परें। रिंगाटा लाग्ने, खान मन नलाग्ने जस्ता लक्षण देखियो। सुतेको ठाउँबाट उठ्नै मन लाग्दैनथ्यो। जँचाउन श्रीमान् श्रीमती नै केएमसी अस्पताल गयौं।

चिकित्सकले परीक्षणपछि धेरै गाली गरे। किनभने म त फेरि गर्भवती भएछु। गर्भवती भएको पनि दुई महिना भइसकेछ। बच्चा फाल्न पनि नसकिने, जन्माउन धेरै रिस्क।

अप्रेसन गरेको घाउ राम्रोसँग निको भएकै थिएन। सुई लगाउनुपर्छ भने बच्चा जन्मने बित्तिकै चिकित्सकले भनेका थिए तर अटेर गरेको थिएँ। मेरो श्रीमान्लाई पनि अस्पतालमा धेरै गाली गरे, मलाई पनि धेरै गाली गरे।

डाक्टरको गाली खाएर म धेरै रोएँ। त्यो बेलादेखि मेरो आँखामा नरोकिएको आँशु अहिलेसम्म झरिरहेको छ। हामी श्रीमान् श्रीमतीको जिन्दगीमा खटपट सुरु भएको यहि दोस्रो बच्चा पेटमा आएदेखि हो।

पहिलो सन्तानको पालोमा जस्तै दोस्रो सन्तानको समयमा पनि गाह्रो भयो। खान मन लाग्दैनथ्यो। वान्ता भइरहन्थ्यो।

पहिलो बच्चा जन्मेपछि शरीर तन्दुरुस्त नहुँदै अर्को बच्चा पेटमा आएको थियो। काखमा सानो बच्चा, अनि पेटमा पनि बच्चा। मलाई त्यो समय सम्झेर अहिले पनि रुन मन लाग्छ।

अप्रेसनको घाउ राम्रोसँग निको नभएकाले पनि होला, दोस्रो बच्चा पनि ब्यथा सुरु हुनुभन्दा अगाडि नै निकालियो। पहिलो बच्चा जस्तै दोस्रो बच्चा पनि छोरा जन्मियो भन्ने थाहा पाएँ तर उसको अनुहार दुई दिनसम्म देख्न पाइन। पाँच दिनपछि चिकित्सकले डिस्चार्ज गरिदियो।

अहिले म २७ बर्षकी भएँ। सुत्केरी हुँदा केहि समय माइती बस्ने चलन छ। म माइत जाँदा र सुत्केरी हुँदा एकजना आफन्तलाई साथमा राखेका थियौं। उनी यति नजिककी आफन्त थिइन् कि, मेरो श्रीमान् उनको मायामा पर्लान् भन्ने सोच्दै सोचिन। 

मेरो श्रीमान् नराम्रो मान्छे हैनन्। एकदमै मेहनती र इमान्दार छन्। म भन्दा कान्छो हुन्। अल्लारे उमेरमा मेरै गल्तीका कारण उनी अर्कीसँग मायामा परे। मेरो सुन्दर घर म आफैले बिगारेँ जस्तो लाग्छ कहिलेकाहीँ। त्यसो भन्दैमा मैले हिम्मत भने हारेकी छैन।

हामी छुट्टिएर बस्न थालेको दुई वर्ष भयो। मेरा दुई छोराहरू छन्। उनीहरूको नाममा केही पैतृक सम्पत्ति माग गरेर मुद्दा दायर गरेकी छु। मलाई दिनलाई त उसँग पनि हुनुपर्यो, छैन भन्ने थाहा छ।

जिन्दगी सम्झेर कहिलेकाहिँ निराश बन्छु। फेरि हिम्मतिलो पनि बन्छु। आफैँले व्यापार गर्न जानेकी छु, हातमा सीप छ भने म किन डराउने भन्ने लाग्छ। छोराहरूलाई उनीहरूको उज्यालो भविष्य देखाउन नसके पनि आफैँ देख्ने बनोस् भन्ने इच्छा छ।

धेरै समाजसेवी दिदिहरू साथमा हुनुहुन्छ। उहाँहरूले हिम्मत दिनुहुन्छ। कान्छो छोरोलाई समाजसेवी दिदिकै सहयोगमा निःशुल्क पढाएकी छु। जेठो छोरोको पढाई खर्च जुटाउन दिनरात मेहनत गर्छु। जेठो छोरो ६ र कान्छो छोरो ५ वर्षका भए।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....