डिजाइनर सम्झनाको प्रसव पीडा र खुसी : गर्भवती हुँदा शारीरिक स्वास्थ्य मात्र हेरिन्छ, मानसिक स्वास्थ्य झन् महत्त्वपूर्ण रैछ तर वास्तै गर्दैनन्

डिजाइनर सम्झनाको प्रसव पीडा र खुसी : गर्भवती हुँदा शारीरिक स्वास्थ्य मात्र हेरिन्छ, मानसिक स्वास्थ्य झन् महत्त्वपूर्ण  रैछ तर वास्तै गर्दैनन्

२०६७ सालमा सङ्खुवासभाबाट भागेर श्रीमानसँग सम्झना पौडेल काठमाडौँ आइन्। उनको श्रीमान् क्षेत्री, उनी बाहुन। अन्तर्जातीय विवाह गर्न उनीहरूले आँट देखाए पनि परिवारले भने त्यो सहन नसक्ने भए उनीहरू भाग्ने पर्यो। त्यसपछि भने यतै बसेर आ-आफ्नो काममा व्यस्त भएका छन्। यहाँ आएपछि पनि पढाइलाई बिचैमा छाडेनन्।

सम्झना अहिले पोते सम्बन्धी समानको डिजाइन गर्छिन्। पोतेको सामना व्यवसाय उनले सुरु गरेको धेरै भएको छैन। लकडाउन समयमा घरैमा बसेर उनले विभिन्न सीप सिके। सबैभन्दा बढी पोतेको सामानमा आकर्षित भएपछि यसैलाई निरन्तरता दिइरहेकी छिन्।

अहिले उनीसँग करिब चालिसजना महिलाहरूसँगै काम गर्ने गर्छन्। उनले पनि विभिन्न डिजाइन बनाएर पोतेको अन्तर्राष्ट्रिय स्तरसम्म व्यापार गर्ने योजना बनाउँदै छिन्।

काठमाडौँ आएपछि धेरै उतारचढावदेखि उनले आफ्नो मानसिक स्वास्थ्यमा पनि त्यत्ति नै चुनौतीको सामना गर्न पर्यो। श्रीमान् कामको सिलसिलामा प्राय बाहिरै हुँदा उनले यहाँको भिडभाड निकै एक्लो महसुस पनि गर्न पर्यो। स्नातकोत्तर गरेको मान्छेले सरकारी जागिर नगरेर यस्तो पोतेको काम किन गर्न पर्यो? भन्ने लगायतका थुप्रै कुराहरू उनले सुनिन्। उनी अहिले दुई सन्तानकी आमा पनि हुन्।

उनै सम्झनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा 'हेप्पिनेस एन्जाईटी' ले गर्दा आफ्नो गर्भावस्था र मातृत्व अनुभवमा पारेको असरबारे यसरी अनुभव साटिन् :

000

अन्तरजातीय विवाह गरेर हामीलाई त केही असर परेन। तर समाजले गर्दा परिवारमा एकदम गाह्रो भयो। भागेर हामी काठमाडौँ आयौँ। त्यसपछि यतै नै छौँ। हामीले यहाँ आएर पनि पढाइलाई निरन्तरता दियौँ। पढाइमा म राम्रो थिएँ। त्यै भएर एक पटक ट्युसन पढाउने सरले मलाई ट्युसनको लागि छान्नु हुँदा एकदम खुसी भएको थिएँ। त्यसले गर्दा मलाई त 'हेप्पिनेस एन्जाईटी' नै भयो।

कसलाई सुनाऊँ, के प्रतिक्रिया जानु भनेर मेरो त श्वास नै अड्किइला जस्तो भएको थियो। यहाँ चिन्ने मान्छे पनि कोही थिएन। एक्लो महसुस गरेको रहेछु। त्यो बेलामा मानसिक स्वास्थ्यबारे अहिले जसरी खुलेर कुरा गर्ने चलन पनि थिएन। मलाई त अहिले नै मरिन्छ जस्तो पनि हुन्थ्यो।

यहाँ आएको पाँच वर्षपछि बाबु जन्मियो। त्यस बेलासम्म कोही पनि मान्छे चिनेको थिइन। श्रीमान् सधैँ काममा जानुहुन्थ्यो। हस्पिटल जाँदा एक्लै जानुपर्दा दिक्क पनि लाग्थ्यो। त्यसबेला मलाई ढाड एकदम दुख्थ्यो। यता-उता फर्कन पनि नसक्ने भएको थिएँ। मलाई त किड्नीमा पो केही भयो कि भन्ने लागेको थियो।

गर्भवती भएको नै थाहा भएन। किनभने बाबु पेटमा आएको तीन महिनासम्म पनि मेरो महिनावारी भइरहेको नै थियो।

अरू बेलाको जस्तो रगत नगए पनि महिना-महिनामा रगत गएपछि महिनावारी भएको भन्ने भयो। ढाड अति दुखेपछि हस्पिटल गयौँ। त्यहाँ पो डाक्टरले गर्भवती भएको तीन महिना भयो भनेर भन्नुभयो। कसै कसैलाई यस्तै हुन्छ रे।

गर्भवती भएकै तीन महिनापछि थाहा पाउँदा त बान्ता आउने, गाह्रो हुने केही अनुभवै छैन। म फेरी पहिला देखि नै पातली नै हो। ३९ केजी देखि ४२ केजी भन्दा बढी मेरो तौल भएको रेकर्ड नै छैन। बाबु जन्मिने समयसम्म चैँ ५२ केजी भएको थिएँ।

शारीरिक स्वास्थ्यमा त्यति धेरै समस्या नभए अगाडि एन्जाईटीको औषधि समेत खाइसकेको हुनाले गर्भवती समयमा पनि निकै बेचैन महसुस गरेँ। म गर्भवती हुँदा ०७२ सालको भूकम्प गएको थियो। बाबु जेठमा जन्मिएको, वैशाख २९ गतेसम्म त ठुलो भूकम्प नै आइरहेको थियो। त्यसले गर्दा पनि धेरै आत्तिएको थिएँ। भूकम्पमा आत्तिएर बाहिर निस्कन खोज्दा त म लडेको पनि छु। श्रीमान् त्यसबेला पनि बाहिरै हुनुहुन्थ्यो।

लडेर सानो चोटपटक पनि लाग्यो। हस्पिटल जाँदा त त्यहाँको अवस्था झन् भयावह देखिन्थ्यो। घाइतेहरू र शवहरू धेरै थियो। त्यस्तो अवस्थामा एन्जाईटीको औषधी खान पनि भएन। सकेसम्म कन्ट्रोल गरेँ।

बच्चा जन्माउन जेठ १४ गतेको डेट थियो। २ गते नै चेकअपको लागि अस्पतालजाँदा आमा र बच्चा दुवै सानो भएकाले अप्रेसन गर्नुपर्छ भन्दै तयार भएर बस्नु भन्नुभयो। मलाई सकेसम्म नर्मल डेलिभरीबाटै आमा हुन मन थ्यो। त्यसबेला नराम्रो लाग्यो।

सात गते बेलुका मलाई व्यथा लागेको रहेछ। त्यसबेला व्यथा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन। सुरुमा लामो समयको अन्तरमा दुख्न थाल्यो। पछि जति समय बित्दै गयो त्यति नै कम समयको अन्तरमा दुख्ने रहेछ। मलाई के भइरहेको छ भनेर श्रीमानलाई मैले भनेको पनि थिइन। आफैलाई पनि त्यो प्रसव व्यथा हो भन्ने नै लागेको थिएन। भूकम्प आइरहेको भएर हामी नजिकैको स्कुलको चौरमा बस्न जान्थ्यौँ।

त्यहाँ कुरा गर्दैगर्दा यो दुखाइ व्यथाको नै हो भन्नेभयो। आर्थिक रूपमा हामी तयार भएर बसेको भए पनि धेरै सामानहरू किन्न बाँकी नै थियो। त्यो तयारीपछि पानी पनि बग्न थाल्यो। श्रीमानलाई त्यसपछि भनेँ। उहाँले पत्याउनु नै भएन।

रातिको नौ बजेतिर अस्पताल गयौँ। अस्पताल जाँदा त घरहरू खुल्न थालिसकेको रहेछ। केही घण्टामै मैले नर्मल नै बाबु जन्माएँ।

त्यसपछि'के भयो ?' भनेर सोधेँ। उहाँहरूले 'के चाहिएको थियो ?' भन्नुभयो। त्यस बेलाको माहौल नै त्यस्तो भए पनि होला! अर्को कोठामा राख्दा फेरी एन्जाईटीले झ्याप्पै हान्यो। त्यसभन्दा अगाडि प्रसव दुखाइले नै एन्जाईटीलाई जितेको रहेछ। बच्चा जन्मिएपछि आनन्द भयो। खुसी पनि भएँ। त्यत्ति नै बेला श्वास रोकिएको जस्तो भयो।

म त भर्खर सुत्केरी भएको जुरुक्क उठेर गाह्रो भयो मलाई भन्दै अर्को ठाउँमा पुगेर 'यस्तो यस्तो औषधी दिनु' भन्न थालेछु। शान्त हुन केही समय लाग्यो।

बाबु धेरै सानो थियो। मुसा जस्तो सानो, अनि रातो। बाबुलाई जन्म दिइसकेपछि कसलाई सुनाऊ, कसलाई सुनाऊ भएर खुसीले गर्दा त्यसो भएको रहेछ। त्यसबेला आमालाई पनि धेरै सम्झिएँ। तर सङ्खुवासभाबाट कोही पनि आउनुभएन। पछि एन्जाईटी औषधि ल्याइदिनु भएको थियो। फेरी स्तनपान गराउनु पर्छ भनेर मैले औषधी लिइन।

बच्चा स्याहार गर्न एक जना आन्टी राखेका थियौँ। उहाँले नै सबै हेरिदिनुभयो। सुत्केरीको बेलामा धेरै खाना रुच्छ, खानु पर्छ भन्ने सुनेको थिएँ। तर मलाई त केही पनि रुचेन। खानै मन लागेन। खानै पर्छ भनेर पानी हालेर खाना निल्थेँ। दूध त आउँथ्यो, तर बाबु धेरै रुन्थ्यो। झगडा गर्थ्यो। आफू पनि प्राय एक्लै हुँदा 'कहिले एकरात आरामले सुत्न पाइन्छ होला' भन्ने लाग्थ्यो।

बाबु रोएको सुन्दासुन्दा निकै तनाव हुन्थ्यो। एकदिन त अति भएर मैले बाबुको कानमा औँलाले हान्दिए। बाबु त हुरुक्क हुने गरेर रोयो। त्यस पछि उ मज्जाले सुत्यो। अहिले सम्झिँदा कस्तो नराम्रो लाग्छ।

त्यसबेला आफै पनि केटाकेटी नै थिएँ। के गर्ने, के नगर्ने भयो। ठुलो मान्छेको साथ पनि भएन। हामी गर्भवतीको समयमा शारीरिक स्वास्थ्यको मात्र कुरा गर्ने रहेछौँ। मानसिक स्वास्थ्यमा पनि यसबेला धेरै उतारचढाव हुन्छ भनेर थाहै थिएन। मलाई झन् शारीरिक भन्दा पनि मानसिक स्वास्थ्यको कारण गाह्रो भयो।

बच्चा रोयो भने पनि मैले दूध नखुवाएर रोएको सुन्नुपर्थ्यो। त्यस्तो भनेपछि झन् नराम्रो लाग्थ्यो। लामो समयसम्म बाबुलाई मैले एक्लै सम्हालेँ। केही कुरा जानेर गरेँ। केही नजानेर गरेँ। त्यसले गर्दा धेरै कुराहरू छुट्यो भन्ने लाग्छ।

आफैले आफैलाई सम्झाउने बाहेक अन्य उपाय नै थिएन। त्यसबेला मह र घिउ खुवाउनु पर्छ, बच्चा दह्रो हुन्छ भन्थे। बाबुलाई त्यही मात्र खुवाएँ। अहिले एकदम पछुतो लाग्छ। छ/सात महिना पछि त बाबुलाई पखालाले धेरै सतायो। दह्रो हुन्छ भनेर खुवाएको बाबु त्यसले निकै गाह्रो बनायो।

बाबु र नानीबिच छ वर्षको अन्तर छ। नानीको पालोमा हामीले योजना नै बनाएको हो। त्यसबेला पनि एलर्जीले मलाई धेरै सताएको थियो। तर नानी गर्भमा छ भनेर एक महिनामै थाहा भइसकेको थियो। बाबुको अनुभवमा त नानी आरामले जन्मियो र हुर्कियो भन्ने लाग्छ।

नानीको समयमा अलि सतर्क पनि भएँ। ३० वर्ष भित्र दुइजना सन्तान जन्माउने मेरो इच्छा नै थियो। त्यही भएर पनि नानीको समयमा मानसिक रूपमा अझ बलियो भएको पनि महसुस गरेँ।

उसको बेलामा 'बेबी सावर' ट्रेन्ड चलेको थियो। साउन १४ गतेको डेट थियो। असार २६ गते शनिवारको दिन बेबी सावर गर्ने भनेर सबै तयारी गरेँ। त्यहिबेला पानी बग्न थालिहाल्यो। केही दुखाइ भएको थिएन। पानी बगेपछि अस्पताल गएर हेरेर आउँ, अनि बेबी सावरको तयारी गरौँ भनेर गएँ। पछि त तीन घर खुलिसक्यो रे। यता सब जना दङ्ग पर्नुभयो । तत्काल भर्ना भइहाल्न पर्यो। त्यसबेला पनि भर्ना भएको केही समयमै नानी जन्माइहाले।

नानी पनि सानै थिई। तर बाबुको भन्दा नानीको अलि बनावट मिलेको थियो। त्यसबेला पनि स्तनपान राम्रोसँग नै भयो। लकडाउनको समय थियो। त्यसले गर्दा अलि तनावको माहौल त थियो नै।

नानीको पालोमा त आमा पनि आउनुभएको थियो। अनि सहज महसुस गरे। बाबुको समयमा सुत्केरी स्याहार राम्रोसँग नभएर होला अहिले पनि बेलाबेला बेस्सरी ढाड दुख्ने गर्छ। नानी साढे दुई बर्सकी भइन्। अहिले पनि स्तनपान गराई राखेको छु। उसलाई मंटेश्वरीमा पनि राखेको छु।

अहिले बाबु ३ कक्षामा पढ्दै छ। चकचके भए पनि बाबु निकै समझदार छ। दुवै जना स्कुल जाँदा त खाली हुन्छु। त्यै समयमा मैले केही गरौँ न त भनेर आफ्नै व्यवसाय सुरु गरेँ। प्रसवमा जति गाह्रो भयो त्यो भन्दा गाह्रो उनीहरूलाई स्वस्थसँग हुर्काउन भयो। अझै त धेरै उनीहरूलाई नै समय दिनु छ। धेरै कुरा सिकाउनु छ। बुझाउनु छ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२१ माघ, २०८०, २२:५०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।