ब्रान्ड प्रमुख अनिताको प्रसव पीडा र खुसी : पहिलो सन्तान जन्माउँदा भएको पीडा सम्झेर दोस्रो बच्चा जन्माउने आँटै आएन

ब्रान्ड प्रमुख अनिताको प्रसव पीडा र खुसी : पहिलो सन्तान जन्माउँदा भएको पीडा सम्झेर दोस्रो बच्चा जन्माउने आँटै आएन

नेपाली साङ्गीतिक क्षेत्रको चर्चित हस्तीहरूको परिवारको सदस्य भएर भिन्न पहिचान बनाउनु चुनौतीकै विषय हो। अनिता थापा आचार्यले त्यो चुनौती सहजै स्वीकार गरिन् र कर्पोरेट क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल भइन्। उनको परिवार नेपाली गायन क्षेत्रको हस्ती भक्तराज आचार्यको परिवार। उनको श्रीमान्को पृष्ठभूमि गर्व लायक छ। तर उनले आफ्नो स्वतन्त्र परिचय निर्माण गरिसकेकी छिन्। अहिले उनी सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एन्ड मार्केटिङ प्रमुख हुन्।

उनीसँग म्यागेजिन, अपार्टमेन्ट बिजनेस अनि टेलिभिजनमा मार्केटिङ गरेको अनुभव छ। २०६९ मा गायक सत्यराज आचार्यसँग विवाह बन्धनमा बाँधिएसँगै आफ्नो पाँच वर्ष परिवारसँग बिताइन्। त्यसबिचमा मातृत्वको तितो, मिठो अनुभव पनि बटुलिन्। अनि फेरी आफ्नो क्षेत्रमा सक्रिय भइन्।

उनै अनिताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीसँग साटेको मातृत्व अनुभव :

000

मेरो श्रीमान् नेपालको लोकप्रिय गायकमध्ये एक। म दश कक्षामा पढ्दा नै स्कुलको कार्यक्रममा उहाँ 'चिफ गेस्ट' को रूपमा आउनुभएको थियो। उहाँले त्यस बेलादेखि मलाई याद गर्नु भएको रहेछ। पछि बाटोमा पनि देखि रहनुभएको रहेछ। मैले भने उहाँलाई खासै यादै गरेको रहेनछु।

एक दिन जावलाखेलमा साथीहरूसँग हाम्रो जम्काभेट भयो। उहाँ म सँग बोल्नुभयो। त्यस बेला म म्यागेजिनमा काम गर्थेँ। त्यतैको भिजिटिङ कार्ड बनाएको थिएँ। उहाँले त्यो लिएर, 'मेरो धेरै कार्यक्रम हुन्छ, तिमीलाई बोलाउँछु है' भन्नुभएको थियो। उहाँले मलाई रिपोर्टर सोच्नु भएछ। पछि बेलाबेला फोन पनि गर्नुहुन्थ्यो।

कति कार्यक्रमहरूमा भेट पनि भयो। अनि फोन आउने क्रम बढ्यो। एक दिन उहाँले मलाई सिधै विवाहको प्रस्ताव गर्नुभयो।

माया गर्छु भनेर प्रस्ताव आएको छैन, सिधै बिहेको प्रस्ताव आएको देखेर म त जिल्ल परे। मैले त सिधै हुँदैन भनेँ। मैले त्यस्तो केही सोचेको पनि थिइन नि त। त्यसको केही समय दुबैबिच 'ज्ञाप' भएको जस्तो भयो।

पछि उहाँ फेरी बोल्न थाल्नुभयो। उहाँले मेरो बारेमा घरमा पनि भन्नु भएको रहेछ। सासू आमाले पनि यही केटी हुन्छ भन्नुभएछ। त्यसपछि चैँ हामी प्रेम सम्बन्धमा पनि रह्यौँ।उ हाँको बारेमा झन् धेरै कुराहरू थाहा भयो।

मेरो घरमा पनि उहाँले नै कुरा गर्नुभएको हो। मेरो घरमा चैँ पहिला हुँदैन कि जस्तो कुरा भएको थियो। किनभने उहाँ म भन्दा दश वर्ष जेठो हुनुहुन्थ्यो। तर, व्यवहारमा त अहिले पनि बच्चा जस्तो हुनुहुन्छ। दुवैतिरको परिवारमा सहमति भयो अनि हाम्रो विवाह भयो।

उहाँको उमेर ढल्किँदै थियो। बालबच्चा भनेको समयमै पाएको राम्रो नि त। त्यसपछि हामीले बच्चाको प्लान गर्यौँ। बिहे भएको दुई वर्षपछि छोरा भयो।

तर,गर्भवती 'फेज' त्यति उत्साहजनक र रमाइलो भएन। गर्भावस्थामा खानेकुराले मान्छेको मुड चेन्ज गर्छ भन्छन्। खानै मन नलागेपछि जिन्दगी नै बेकार जस्तो लाग्छ भन्थे। मलाई त्यस्तै भयो।

आठ महिनासम्म मलाई सबै खानेकुरा एकदम गन्ध आउने। बान्ता नै हुने त होइन तर, एकदम धेरै गन्ध आएर केही खानै सकिन। मेरो समकालीन साथीहरूको गर्भवतीको समयमा तौलसँगै खुसी पनि बढेको देखेको थिएँ। तर, मेरो त तौलसँगै खुसी पनि घट्दै थियो। गर्भको बेलामा त मेरो छ किलो तौल घट्यो।

डाक्टरले पनि गाली गर्न थालिसकेका थिए। फलफूल र  'ड्राईफ्रुट्स' खाएर नै मेरो गर्भवती 'फेज' सक्यो। धन्न त्यतिले पनि शरीरमा राम्रो गरेछ। मेरो तौल घटे पनि बच्चाको राम्रो भएछ। अनि डाक्टरले पनि, 'जति खायौँ गतिलो चिज खाएछौ' भन्नुभएको थियो। त्यो बेला अनुहारमा चैँ एकदम चमक आएको थियो। ज्यान त सानो भएको कारण कसैले पनि म गर्भवती भएको भन्ने नै थाहा भएन।

त्यसबाहेक गर्भवतीमा अरू समस्या भएन। त्यसबेला मेरो श्रीमान् साङ्गीतिक यात्राका लागि बाहिर धेरै जानुहुन्थ्यो। त्यो बेला तीन महिना पनि हामी सँगै थियौँ कि थिएनौ!

गर्भवतीको समयमा म आफैले सबै सम्हाले भन्दा नि हुन्छ। डाक्टरकोमा पनि आफै गएँ। उहाँहरूले, 'खै तिम्रो श्रीमान् आउनु भएन?', भन्नुहुन्थ्यो। उहाँ प्रोग्राममा हुनुहुन्छ भन्थे। अनि 'तिम्रो अप्रेसनमा पनि आइपुग्नु हुन्न कि क्या हो भन्नुहुन्थ्यो।

न भन्दै उहाँ अप्रेसन हुनु भन्दा दुई दिन अघि मात्र आइपुग्नु भएको थियो। तर, त्यो बेलाको एक्लोपन वा अभावले मलाई बलियो चैँ बनायो।

आठ महिना सकिएर नौ महिना लागेको एक/दुई दिनमै मलाइ दिउँसोदेखि नै एकदम गाह्रो हुन थाल्यो। असजिलो र ढाड दुखेको जस्तो भयो। मलाई 'फल्स लेबर पेन' भएको रहेछ। डाक्टरलाई फोन गरेँ। तुरुन्तै आऊ भन्नुभयो। केही औषधी दिएर पठाउँछ होला भन्ने जस्तो लागेको थियो। तर, त्यहाँ देखाउँदा मेरो पेट त ढुङ्गा जस्तो भयो। एकदम गह्रुङ्गो हुन थाल्यो। जिउ एकदम भारी हुन थाल्यो। बच्चाको धड्कन एकदम बिस्तारै चल्न थाल्यो।

त्यसो हुँदाहुँदै धड्न नै नचलेको जस्तै अनुभव गरे। त्यो पुरै रात मैले कसरी बिताएँ भन्ने मलाई मात्र थाहा छ। त्यस बेला नर्सहरू देखेर पनि यति रिस उठ्थ्यो कि! आफूलाई यस्तो दुखिराछ, उनीहरूले छुँदा त झन् दुख्ने।

मैले १५/१६ घण्टा त्यो व्यथा सहेँ। पछि मलाई त ज्वरो नै आयो। ज्वरो आएपछि चैँ जोखिम नलिने भनेर अप्रेसन गरिहाल्ने भन्नुभयो। अप्रेसन गर्दासम्म त २०/२२ घण्टा भइसकेको थियो। त्यति बेला मेरो श्रीमान् नेपालमै हुनु भए पनि कुनै कार्यक्रममा जानुभएको थियो। मसँग साथमा हुनुहुन्थेन।

उहाँले पनि औषधि दिएर पठाउँछन् भनेर नै सोच्नु भएछ। भर्खर आठ महिना मात्र भएको कारण हामीले केही पनि तयारी गरेका थिएनौ। मैले दही चिउरा पनि खान पाइन।

माइतीमा दही चिउरा खुवाउने भन्ने कुरा चलिराख्दा नै यो सब भयो। त्यो बेला दही चिउरा खान नपाएको कारण अहिले यति धेरै मन पर्छ नि! गर्भवतीमा केही कुराको आस भयो त्यो खानुपर्छ, नत्र त्यसले सधैँ भरी पिरोल्छ भन्थे एकदम सही हो जस्तो लाग्यो।

अप्रेशन गर्ने भन्ने बित्तिकै म रुन थालिहालेँ। म तयारी अवस्थामै थिइन। बिचरा मेरो ममी, 'तिमीलाई पछि पिरोल्छ', भनेर लुकाएर दही खुवाउन आउनु भएको थियो। डाक्टरले केही पनि खान मिल्दैन भनेकाले खान पाइन।

मलाई त्यो भन्दा अगाडी दही मन पर्ने पनि होइन। तर, त्यसपछि त अहिले सबै भन्दा मन पर्ने नै दही हो। सम्झिँदा नि एकदम अचम्म लाग्छ।

मलाई अप्रेशन कक्षमा लगे। त्यसपछि मेरो शरीर त लट्ठिएछ। दुखाइ एकदम कम भयो। अप्रेशन भयो। बच्चा निकाले। मैले बच्चालाई धोइदिँदै गरेको पछाडिबाट देखेको हो।

त्यसपछि मलाई अर्को कक्षमा अब्जर्वेसनको लागि राखे। मलाई मेरो बच्चा कहाँ छ, कस्तो छ भन्ने थाहा भएन। सुरुमा अलिअलि निन्द्रा लाग्दा चैँ म बिउँझिराख्नुपर्छ, मेरो बच्चा साटिन्छ भन्ने जस्तो भएको थियो। त्यसपछि केही थाहा छैन।

भोलिपल्ट त कति छिटो पत्रिकामा आइसकेछ। बच्चाको अनुहार त मैले पत्रिकामै हेरेको। उसको बाउले पो बोकी राखेको रहेछ। फोटोमा हेर्दा त उसले पो पाएको जस्तो! म त ट्वाँ परेँ। अनि ए, मेरो बच्चा यस्तो छ! भनेर त्यतै हेरे। त्यो दिनको पनि बेलुकातिर मात्र मेरो अगाडी बच्चा आइपुग्यो। त्यति खेरसम्म पनि म त्यति सारो खुसी थिइन। त्यो दुखाइ र लट्ठाइले झमझमै पारेको थियो।

स्तनपान नगराएसम्म त बच्चा पनि अरुकै हो, जस्तो लाग्ने रहेछ। हस्पिटलमा अब त्यति धेरै बच्चा भएको ठाउँमा कसलाई पो आफ्नो बच्चा भन्नु ! तर, स्तनपान गराएपछि चैँ आफ्नो बच्चा हो है भन्ने अनुभव भयो। त्यो बेला अर्कै खालको स्पर्श भयो। अलग्गै महसुस भयो। आफू आमा बनेको अनुभव गरेँ। क्या रमाइलो।

दुख यति धेरै थियो कि! मैले जे अनुभव गरे त्यो बोलेर भन्न सक्दिन। स्तनपान राम्रोसँग भयो। पछि बोतलको खुवाउन थालेँ। त्यो दुखाइले मलाई अर्को बच्चा पाउने रहरै भएन। मेरो श्रीमानले भनिराख्नुहुन्छ। तर, म सुनेर उडाइदिन्छु।

किनकि उहाँलाई त केही थिएन नि त। मैले जति अनुभव गरे उहाँले त्यो गर्न सक्नुहुन्न। त्यै भएर पनि भयो अब पुग्यो भन्ने भयो। अर्को नपाउने अब।

माइती नजिक पनि थियो। त्यही भएर सुत्केरी स्याहार राम्रोसँग भयो। मेरो ममी त झन् अरू सुत्केरी स्याहार पनि गरिराख्ने गर्नुहुन्थ्यो। त्यही भएर उहाँले सब गर्नुभयो। तर, मलाई तेल लगाउने मान्छे आउँदा पनि एकदम झिंझो लाग्थ्यो। अझै पनि खानामा त्यति धेरै रमाउन सकिरहेको थिएन।

ममीले धेरै कराउनु पनि भयो। तर, अहिले बेलाबेला ढाड दुखेको जस्तो हुन्छ। त्यस बेलामै ले नमानेर पनि त्यस्तो भएको हो की!

त्यसपछिको पुरै समय घर, परिवार र बच्चासँग बिताएँ। बाबुलाई स्कुल हालेँ। स्कुलको पहिलो दिन पनि फेरी अर्को अनुभव हुने रहेछ। २४ सै घण्टा आफूसँग राखिराखेको बच्चालाई स्कुलमा छोड्नलाई त यस्तो महाभारत भएको थियो मलाई। बच्चा त रोयो रोयो म पनि रोएँ।

त्यो दिन स्कुलको प्रिन्सिपलसँग कुरा गरेर म लुकेर पुरै दिन स्कुल मै सँगै बसेको। उ सँग त मेरो एकदम धेरै आत्मीयता बढेछ। आमा भइसके पछि त आफ्नो बच्चा लड्ला की, कसैले केही गर्देला की भन्ने लाग्ने। असुरक्षित पनि हुने रहेछ, त्यो पनि अनुभव गरे। रमाइलो अनुभव हो नि।

म त्यस्तो व्यक्तिनै थिइन। तर, आमा भए पछि अर्कै हुने रहेछ। आमा भनेको के हो, आमाको पिर के हो भनेर बुझ्न आमा नै हुनुपर्ने रहेछ। मैले मेरो आमाको महत्त्व पनि त्यसपछि झन् धेरै बुझेँ।

आमा भएपछि चैँ आफूभित्रको विभिन्न रूप बाहिर आउने रहेछ। झन् धेरै सहने शक्ति, निर्णय गर्ने क्षमताहरू सबै आमा भएपछि बाहिर आयो। बच्चा हुनुभन्दा अगाडी म मा पनि सायद यति धेरै क्षमता, शक्ति थिएन होला।

तर, आमा भएपछि झन् बलियो भएको महसुस गरेँ।

छोरा अहिले चार कक्षामा पढ्दै छ। उसको स्वभाव हाम्रो जस्तो छैन। उसको स्वभाव ठ्याक्कै ससुरा बुबाको जस्तो छ। उसलाई त घरमा 'मिनी भक्तराज आचार्य' पनि भन्छन्। एकदम कम बोल्ने, अनि एकदम परिपक्व छ। मैले उसमा बचपन भएर लाडिएको, चकचक गरेको नै देखिन। कहिलेकहीँ कस्तो ठुलठुलो कुरा गर्छ।

सङ्गीतमा पनि उसको रुचि छ। पियानोमा अलि बढी रुचि देखाएको छ। उसले बजाउँदा ससुराले यो सुरमा गर न भनेर सिकाई राख्नु हुन्छ।

त्यस्तो देख्दा श्रीमानले पनि यो त हामी भन्दा पनि भाग्यमानी छ, यसरी त हामीले पनि सिकेर अनुभव गर्न पाएनौ भन्नुहुन्छ। बाबुलाई ससुराले एकदम माया गर्नुहुन्छ। मेरो सानो रूप नै हो समेत भन्नुहुन्छ। दुई जनाको सम्बन्ध एकदम मिठास पूर्ण छ। उसको नाम पनि ससुराले नै राख्नुभएको हो।

उ जन्मिनु भन्दा अगाडी नै तेरो छोराको नाम 'सङ्गीतराज आचार्य' हुन्छ है भन्नुभएको थियो। अचम्म लाग्छ मलाई। मैले त बच्चाको नाम सोच्न पनि पाएको थिएन।

अनि कहिलेकहीँ छोरी भएको भए चैँ के राखिसिन्थ्यो बुबा भनेर सोध्न मन लाग्छ। परिवारमा सबै जनासँग उसको सम्बन्ध राम्रो छ। हजुरबुवा, बुबाको बारेमा उसको साथीहरूले भन्छ रे। अनि मैले तिम्रो हजुरबा यस्तो हो, बुवा यस्तो हो भन्ने कुरा गरेँ एक दिन। त्यसपछि उसले उहाँहरूप्रति झन् बढी सद्भाव देखायो।

बच्चा हिँड्न थाल्छ अनि आनन्द हुन्छ भन्ने लाग्थ्यो। तर, कहाँ हुनु! मेरो ममी बुवाले भन्नुहुन्थ्यो सन्तानको पिर भनेको सधैँ हुन्छ। त्यो चैँ हो रहेछ। अब उ ठुलो भएपछि कलेज जान्छ। के गर्ला भन्ने डर। बिहे भएपछि कसरी घरबार गर्ला भन्ने पिर। आमाहरू बढी सुरक्षात्मक हुने कारण पनि त्यही नै होला!

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

१० भदौ, २०८०, २२:३७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।