सगरमाथा आरोही निमाको प्रसव पीडा र खुसी :  छोराले ' तपाई पनि बाबा जस्तै हिमालमा मर्न जाने हो' भन्दा चसक्क भयो

सगरमाथा आरोही निमाको प्रसव पीडा र खुसी :  छोराले ' तपाई पनि बाबा जस्तै हिमालमा मर्न जाने हो' भन्दा चसक्क भयो

खुम्बु पासाङल्हामु गाउँपालिकामा सगरमाथा चढ्ने शेर्पा परिवारमा जन्मिएकी हुन्, निमा डोमा शेर्पा। उनको बुवाले आफ्नो जीवन हिमाललाई सुम्पिए। गाउँमा पर्यटकको सङ्ख्या बाक्लै थियो। त्यसले विकास भित्र्यायो। सवारीको सुविधा पुगेन तर उपचार अनि शिक्षामा अगाडि नै छ। उनले त्यहीँ आफ्नो बाल्यकाल बिताइन्। उतै बिहे गरिन्।

सन् २०१४ मा सगरमाथाकै सबै भन्दा खतरनाक मानिने खुम्बु आइसफलमा हिम पहिरो गयो। १८ जनाले ज्यानै गुमाए। ज्यान गुमाउनेहरूमा निमाको श्रीमान् पनि थिए। श्रीमानको मृत्युपछि दुई जना सन्तानको लालनपालनको जिम्मेवारी एक्लो काँधमा आयो।

समाजमा विकास गए पनि चेतना भने पुगिसकेको थिएन। समाजले एकल महिलालाई गर्ने व्यवहारसँग उनले पनि भोगिन्। जे त होला भनेर उनी पनि सगरमाथा आरोहण गर्न कस्सिइन्।

सन् २०१९ मा सगरमाथाको सफल आरोहण गरेकी उनले अहिलेसम्म चार वटा हिमाल आरोहण गरिसकेकी छिन्।

अहिले उनको मुख्य पेसा ट्रेकिङ गाइड हो। हिमाल आरोहणका लागि उनी देश अनि विदेशमा पुगिरहन्छिन्।

उनी युएस शेर्पा कपडाको ब्रान्ड एम्बेस्डर समेत हुन्। नेपाल पर्वतारोहण सङ्घको कार्यसमितिमा सदस्यका रूपमा संलग्न छिन्।

उनै आरोही निमाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीका लागि साटेको मातृत्व अनुभव :

०००

म जन्मिएको खुम्बु पासाङल्हामु गाउँपालिकामा स्कुल र अस्पतालको राम्रो सुविधा छ। पढ्न अन्त जानु परेन। उमेरले काम रोक्दैनथ्यो। सक्ने कामै बच्चैदेखि गर्नै पर्ने। तर त्यसले मेरो पढाइमा असर गरेन। बाल्यकाल रमाइलोसँग बित्यो।

आठ कक्षासम्म बाआमाले नै पढाउनु भयो। नौ कक्षापछि भने छात्रवृत्तिमा पढ्न पाएँ। बर्खाको समयमा च्याउ टिप्न जाने, सिजनमा नाम्चे बजारमा गएर विदेशी पर्यटकको भारी बोक्ने काम गर्न थालेँ।

सन् २००५ मा मेरो प्रेम विवाह भयो। विवाहपछि पढाई छुट्यो। बाँकी सबै काम त त्यही नै हो नि! घरको काम, खेतको काम, जङ्गल, गोठ गरेर नै समय बित्यो।

म २४ वर्षको हुँदा गर्भवती भएँ। गर्भवतीहुँदा बान्ता आउने, गन्हाउने, कमजोरी हुने केही पनि अनुभव भएन। भोलि बच्चा पाउने म अघिल्लो दिनसम्म काममै थिएँ।

अहिले काठमाडौँमा गर्भवती महिलाहरू हिँड्न नसक्ने, बस्न नसक्ने सम्म भएको देख्दा त मलाई अचम्मै लाग्छ। गाउँमा म गर्भवती हुँदा ढुङ्गा, पानी बोकेर धेरै काम पो गरेँ त!

आमाले यस्तो बेला काम नगर भन्नुहुन्थ्यो। तर, जति काम गरे पनि आफ्नै जिउको लागि त हो नि भन्ने लाग्थ्यो। काम गरिरहन्थेँ।

गर्भवतीको समयमा बरु दही चैं असाध्यै खान मन लाग्याथ्यो। गाउँमा त्यही नपाउने। दही मगाएर अमिलो भइञ्जेलसम्म पनि खाइरहन्थेँ। त्यस बाहेक अन्य खान मन नलाग्ने भन्ने भएन मलाई।

गाउँको हावापानी नै त्यस्तै थियो कि! गर्भवती भनेर आराम गरेर बस्न भने पाइन।

नौ महिना १५ दिनपछि चैं पेट दुखेको हो कि जस्तो भयो। केही नभएको मान्छेलाई अलिकति दुख्दा पनि व्यथा नै हो भन्ने भयो। अनि अस्पताल गएँ। बच्चा पाइहालेँ।

पहिलो सन्तान छोरा भयो। अस्पतालमा डाक्टरहरू शेर्पा नै हुनुहुन्थ्यो। पहिलो सन्तान जन्माउँदा त्यस्तो गाह्रो महसुस पनि भएन मलाई। बच्चा पाउने भइयो भन्ने बाहेक नौलो अनुभव पनि भएन। आमा र बच्चा दुवै स्वस्थ थियौँ।

पहिलो र दोस्रो बच्चाबीच तीन वर्षको अन्तर छ। दोस्रो चैं छोरी जन्मियो। दुवै सन्तान पाउँदाको गर्भवती समयमा केही फरक अनुभव भएन मलाई।

छोरा पाउनु भन्दा अगाडि दही खान मन लागेको थियो। छोरी पाउँदा त त्यो पनि भएन। छोरी त झन् सजिलो सँग पाएँ। व्यथा पनि धेरै बेर लागेन मलाई। सायद म बलियो थिए कि! अहिले सम्झँदा हावा-पानीले मलाई बलियो बनाइदिएको थियो जस्तो लाग्छ।

गर्भवतीहुँदा म एकदम स्वस्थ देखेर मेरो आमाले ’तिमीले यस्तो सजिलो गरेर बच्चा पायो। दश-बाह्र वटा पाए पनि हुने रहेछ’ भन्नुभएको थियो।

गाउँमा बच्चा पाउँदा गाह्रो नै नहुने भन्ने हैन। केहीलाई गाह्रो भएर काठमाडौँमै ल्याउनु पनि परेको थियो। अहिले पनि त्यस्तै छ। कोहीलाई त व्यथा पनि तीन दिनसम्म लाग्ने रहेछ। त्यो हेरेर त आफूले सजिलै बच्चा पाएँ भन्ने लाग्छ।

बच्चा पाएपछि भने आमा र दिदीले काम गर्न दिनु भएन। एक महिना त्यत्तिकै बसेँ। स्तनपान पनि एकदम राम्रो भयो दुवै बच्चाको। दूध नआउने भन्ने नै भएन। दुवै बच्चाले मज्जाले दूध खान पाए।

अहिले सोच्दा गर्भावस्थामा परिवारको साथ धेरै जरुरी रहेछ भन्ने लाग्छ। त्यसमाथि हिमालको हावापानी त अमृत नै रहेछ नि। छोराछोरी सजिलोसँग पाएर हुर्किए भन्ने सोच्दा अहिले अचम्म लाग्छ।

मेरो श्रीमान् पहिला देखि नै हिमाल आरोहणमा सक्रिय हुनुहुन्थ्यो। दुर्घटना हुनुभन्दा अघि चैं आरोहणमा गाइड भन्दा पनि बेस क्याम्पमै कुकको काम गर्ने भनेर सल्लाह भएको थियो। त्यो अलि सुरक्षित पनि थियो। त्यही वर्ष दुर्घटना भयो। उहाँ पनि बित्नुभयो।

हिम पहिरोमा धेरै जनाले ज्यान गुमाएपछि त्यो वर्ष त सरकारले आरोहण नै बन्द गरेको थियो।

त्यसको अर्को वर्ष भूकम्प आयो। भुकम्पमा त हामीलाई धेरै गाह्रो भयो। ज्यान गुमाएको शेर्पा र उनको परिवारलाई सरकारले केही पनि सहयोग गरेन। ती दिन कसरी बित्यो भनेर थाहै छैन। धेरै त रोएरै बसेँ म।

हिमालमा ज्यान गुमाएका शेर्पाको परिवारहरू धेरै छन्। सरकारले केही गर्दैन। केहीलाई विदेशीले सहयोग गर्छन्। पहुँच नभएकाहरूले त त्यो पनि पाउँदैनन्।

सन् २०१६ मा बच्चाहरू लिएर म काठमाडौँ आएँ अनि छोराछोरीलाई पढाउन संस्थाहरूसँग जोडिएँ। दुवैलाई होस्टलमा राखेँ। नयाँ लुगा लगायो भने पनि श्रीमान् बिते पछि नयाँ-नयाँ लुगा लगाएर हिँड्छ भनेर कुरा काट्थे। कोही केटासँग बोल्यो भने त झन् अब त्यहीसँग जान लाग्यो सम्म भने। समाजमा घुलमिल हुनै गाह्रो भयो मलाई। त्यसपछि अब आफैंले केही गर्नुपर्छ भन्ने लाग्यो।

त्यही बेला हिमाल चढ्ने क्रममा श्रीमान् बितेका महिलाहरूको भेला भएको थियो। सबैले विभिन्न सीप सिके। मैले चैं हिमाल चढ्ने तालिम लिएँ।

अनि त श्रीमान् बितेपछि केही गर्न सक्दैन भन्नेहरूलाई सगरमाथा नै चढेर देखाइदिन्छु भन्ने लाग्यो। हौसला पनि पाएँ।

सगरमाथा त्यतिकै चढ्न सकिन्न। खर्च हुन्छ। आफैँ खर्च गर्ने आर्थिक हैसियत थिएन। धन्न सहयोग भेटेँ मैले। स्पन्सरसँग  कुरा भयो। अब त सगरमाथा नचढ्ने भन्ने कुरै भएन नि।

त्यो बेला पनि केहीले 'गाउँमा आएर आलु रोपेर नखाएर किन हिमाल चढ्न पर्यो?’, ’श्रीमान् त्यही बाटोमा बित्यो। अब तिमीहरू पनि त्यहीँ मर्न जाने हो?’ सम्म भने।

छोरी सानै थिइन्। उसलाई त बाउ छैन भन्नेसम्म पनि थाहा थिएन। छोरा चैँ अलि बुझ्ने भइसकेको थियो। उसले 'तपाई नजानु, तपाई पनि मर्यो भने के गर्ने' सम्म भनेको थियो। अहिले पनि हरेक हिमाल चढ्दा त्यही नै भन्छ। उसको मनमा हिमाल चढ्न जाने भनेको मर्न जाने हो भन्ने बसिसकेको छ।  तर, मलाई केही गर्नुथ्यो। काम पनि चाहिएको थियो। त्यसैले जसले जे भने पनि हिमाल चढ्ने निर्णय गरेँ।

सगरमाथा चढ्न जाँदा आँसु नआएको दिन थिएन। बच्चासँगै श्रीमानको धेरै सम्झना आयो। दश-पन्ध्र किलोको लुगा र जुत्ता लगाएर चिरा परेको आइसमा टेक्नु चानचुने कुरा होइन नि।

तर आँटे जस्तै भयो। सन् २०१९ मे २३ मा म सगरमाथाको चुचुरोमा पुगेँ। बच्चाहरूसँग लामो समय बोल्न नपाएको सगरमाथा चढ्न जाँदा नै हो।

सगरमाथाको सफल आरोहण गर्नुअघि श्रीमान् पनि यहीँ बिते, मलाई पनि केही भयो भने बच्चाहरूको बिजोग हुन्छ भन्ने मनमा लागिरह्यो। तर आरोहण सफल भएर ५३ औँ दिनमा घर फर्किँदा हिमाल चढ्ने नशा लागिसकेको थियो।

त्यसपछि त हिमालको पो माया लाग्न थाल्यो।

अहिले पनि दुवै बच्चाहरू होस्टलमै छन्। मैले सकेको सुविधा दिएँ। हेरचाह गरेँ। कहिल्यै बाबु बिनाको सन्तानको अनुभव हुन दिइन्। तै पनि आमाको मन न हो कहिलेकाहीँ कतै असल आमा बन्न सकिन कि भन्ने त लाग्छ। मैले उनीहरूलाई चाहेर पनि समय दिन भने सकिन।

अस्तिको जाडो महिनामा च्ह्योलाचे हिमाल चढ्न गएँ। सगरमाथा उचाइमा अग्लो भए पनि च्ह्योलाचे चैँ एकदम टेक्निकल हिमाल हो।

हत्तपत्त चढ्न सकिँदैन। त्यो बेलामा चैँ टोलीमा सबै महिला मात्र थियौँ। ६ हजार ४ सय ४० मिटरको च्ह्योलाचे गोक्योमा पर्छ।

त्यहीबाट आउँदा बच्चाहरू होस्टलमै भए। त्यसपछि अमेरिका जाने तयारीमा थिएँ। यताउति गर्दा त वर्ष दिनसम्म पनि बच्चाहरूसँग भेट नै हुन सकेन।

उनीहरू छुट्टीमा आउँदा म नहुने, म हुँदा उनीहरू गइसक्ने हुन्छ। काठमाडौँ आएदेखि बच्चाहरूसँग सँगै बसेर खान पाएको पनि छैन। उनीहरूसँग बसेर रुन पाएको छैन। कुरा गर्न पाएको छैन। विभिन्न तालिम, तयारी अनि आरोहणले गर्दा म हिमालसँग जति नजिक भएँ त्यति नै बच्चाहरूसँग भने टाढा भएछु।

अबको दुई महिना म स्पेनमा हुन्छु। दुवै जनालाई पालैपालो गरेर भेटेँ। छोरा नौ मा अनि छोरी सातमा पढिरहेका छन्। उनीहरूको होस्टेलमा फोनमा कुरा गर्ने वातावरण छैन। त्यही भएर एक घण्टा भए पनि भेटेरै कुरा गर्ने गरेको छु।

धेरै कामहरू आइरहेको छ। काम गरेन भने बच्चाहरूको बिचल्ली हुन्छ। अब म टाढा भएर बच्चाहरूको भविष्य सुन्दर हुन्छ भने काममै निरन्तरता किन नदिने! काम पाउने समयसम्म त गर्नैपर्यो।

उनीहरूलाई धेरै पढाउनु छ। सक्षम बनाउनु छ। त्यसपछि त उनीहरूले पनि पक्कै बुझ्लान् नि आमासँग किन धेरै भेट भएन भनेर।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

३ भदौ, २०८०, १८:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।