चित्रकार आर्याको प्रसव पीडा र खुशी : डाक्टरले 'पाठेघर नै फुट्न सक्छ अप्रेसन गर' भनेपछि म डराएँ

चित्रकार आर्याको प्रसव पीडा र खुशी : डाक्टरले 'पाठेघर नै फुट्न सक्छ अप्रेसन गर' भनेपछि म डराएँ

दुई दशकभन्दा बढी समयदेखि चित्र कोरिरहेकी आर्या राजभण्डारीका दुई छोरी छन्। एउटी कक्षा १२ मा र अर्की कक्षा ६ मा पढ्छिन्। 

शिक्षित परिवारकी भए पनि उनलाई बिहे भएदेखि नै परिवारले 'एउटा छोरो चाहिन्छ' भनेका थिए। तर भइदिए दुई छोरी। यद्यपि उनको परिवार अहिले खुसी छ।

अन्तरजातीय विवाह गरेकी आर्याले​​​​​​ कलामा स्नातकोत्तर गरेकी छन्। यसअघि 'च्याउ सिरिज’मा काम गरेकी उनी टुँडालसम्बन्धी चित्रहरू बनाउने गर्छिन्। कलेज पनि पढाउँछिन्।

कोभिड र लकडाउनका बेला अनलाइन माध्यमबाट व्यापारहरू व्यापक रूपमा हुन्थे। उनले घरमै बसेर बेकरी र चकलेटको व्यापार पनि गरिन्। 

स्कुल र कलेजका विद्यार्थीहरूलाई लामो समयदेखि चित्रकला पढाउँदै आएकी उनी अहिले भने माल्पी इन्टरनेशनल कलेजमाअध्यापन गराउँदै आएकी छन्।

उनका दुइटी छोरी हुर्किसके, तर अझै पनि उनको परिवार छोराको आशमा छ। सुत्केरी व्यथा लाग्नुअघि नै छोरी जन्मिएकी आर्याले उकेरासँग आफ्नो प्रसव पीडा यसरी साटिन्। 

०००

नेवार नै भए पनि म राजभण्डारी र श्रीमान चै महर्जन भएर हाम्रो अन्तर्जातीय विवाह भयो। विवाहका लागि हुन्छ भन्नु भए पनि ड्याडीले कहीं कतै चित्त दुखाइरहनुभएको थियो। परिवारमा अन्तरजातीय विवाह गर्ने म नै पहिलो भएर होला चित्त दुखाउनुभएको रहेछ।

त्यसमाथि ड्याडी त झन् हाम्रो परिवारमा कसैको पनि अन्तर्जातीय विवाह भएको छैन भनेर खुशी हुँदै रमाउँदै हिँड्नुहुन्थ्यो। विवाह भएको २१ दिनपछि हामीलाई भित्र्याउनुभयो। 

विवाहको दुई वर्षपछि हाम्रो बच्चा हुने भयो। बिहेकै दिनदेखि अब बच्चा पाउनुपर्छ भनेर सुनाइराख्ने समाजमा दुई वर्षपछि बच्चाको तयारी गर्नु पनि चुनौती भयो।  

गर्भवती भएको तीन महिनाचाहिँ मलाई एकदम गाह्रो भयो। पानी पिए पनि वान्ता हुने। धुपको बास्नाहरू मन नपर्ने भयो। हाम्रोमा फेरि छोरा पाउने भएपछि भने एकदम एक्टिभ हुन्छन्, तर छोरी हुने हुँदा भने अल्छी मान्छन्।

मेरो ठूली छोरी पाउने बेलामा म एक्टिभ नै थिए। त्यसबेला सिलाउने कामहरू खुब गर्न मन लाग्थ्यो। चकटीहरू सिलाएर बस्थेँ। 

पाँच महिनादेखि बच्चा चल्छ भन्ने सुनेको थिएँ। मेरो एकदमै कम चल्थ्यो। छोराछोरी जे भए पनि ज्ञानी त रहेछ नि भन्ने भयो।

आठ महिनामा हामी नेवारहरूको धौ’बजी’खाने चलन हुन्छ। त्यो दिदीले खुवाउने कुरा भयो। दिदीको देवर डाक्टर हुनुहुन्थ्यो। त्यसैबेला उहाँले मेरो पेटको बच्चा एकदम कम चल्ने गरेको त्यसमाथि दुई-तीन दिनदेखि त त्यो पनि नचलेको हो कि जस्तो हुन्छ भन्नुभयो।

उहाँले त तिमी चेक गर्न गइहाल भन्नुभयो। बच्चाको आन्द्राले घाँटी बेरिएको हुन सक्छ भन्नुभयो। स्वास फेर्न नसकेको हुनसक्छ देखाइहाल पो भन्नुभयो। त्यसपछि भने मलाई डर लाग्यो। 

अनि त्यसकै भोलिपल्ट बिहानै कलेज जानुअघि प्रसूतिगृह गएँ। फुपू पनि हुनुभएको कारण छिटै भयो। तर, चेक गर्दा त पेटमा पानी नै रहेनछ। मिनिमम ५० एमएल हुनुपर्ने रे मेरो त ५ एमएल पनि रहेनछ। यसरी पनि बस्ने हो त भनेर डाक्टरले कराउनुभयो। 

त्यही दिन अप्रेशन गरिहाल्नुपर्छ भन्ने कुरा भयो। कलेज जानुपर्ने मान्छे हस्पिटलमा भर्ना भएँ। फेरि अप्रेशन गर्न खाली पेट चाहिनेरहछ। मैले टन्न खाएर गएको थिएँ। आठ घण्टा बसेपछि अप्रेशन भयो। छोरी त एकदम सानो थिई, जम्मा १९ सय ग्रामको। नौ महिना छोएको मात्र थियो, अप्रेसन गरेर छोरी पाइहाल्यौं। व्यथा लाग्ने समय पनि भएको थिएन। स्तनपान चै राम्रोसँग भयो। 

प्रसव एकदम गाह्रो हुन्छ भनेर सुनेको थिएँ। देखेको पनि हो। तर, भोग्नुपरेन। तर, अप्रेशन नै मेरा लागि प्रसवको दुखाइ भयो। अप्रेशन गर्ने बेला त थाहा भएन। त्यसपछिको दुखाइ एकदम गाह्रो भयो। प्रसवको व्यथा जुन समयमा हुन्छ, त्यही बेला मात्र दुख्छ। तर, अप्रेशनको समयमा काटिएको अहिलेसम्म दुख्छ। कहिलेकाहीँ हिँड्दा हिँड्दै पेट फुलेर आएजस्तो हुने।गर्भवती भएको समयमा जस्तै गरेर हिँड्नुपर्छ बेला बेला। 

पाँच वर्षपछि फेरि हामीले अर्को बच्चाको तयारी गर्यौँ। मैले त नपाउने भनेको, तर उहाँले जे भए पनि दुई जना त चाहिन्छ भन्नुभयो। एक्लै हुँदा दिदीबहिनी/दाजुभाइबारे थाहा हुँदैन भन्ने कुरा भयो। मलाई त्यो छोरी हेर्दा असाध्यै माया लाग्थ्यो। धेरै सानी थिई। अर्को बच्चा भएपछि माया बाँडिन्छ भन्ने पो लाग्यो। त्यै भएर मलाई त पाउनै मन थिएन। 

अनि सानो छोरी पाउँदा त झन् नौ महिना नै गाह्रो भयो। बान्ता आउलाजस्तो मात्र हुन्थ्यो। बरु आएको भए सजिलो हुन्थ्यो। नआउँदा झन् गाह्रो हुने रहेछ। पहिलो अप्रेशन भए पनि दोस्रो चै नर्मल नै पाउँछु भन्ने थियो।

पहिला पनि व्यथा लागेर पाउन नसकेर बच्चा जन्मिएको भएचाहिँ अर्को पटक नर्मल नै गर्न मिल्छ। पहिला व्यथा नै नलागेको भएर अब नर्मल गर्ने भन्यो भने पाठेघर नै फुट्न सक्छ भन्नुभयो। डाक्टरले नै हात उठाएपछि अप्रेसन नै गर्न पर्यो। सबै जना छोरा पाउँछ भनेर बसेका थिए। छोरी नै भयो। 

मैले त्यो छोरी पाउनुभन्दा अगाडि नै श्रीमानलाई तिमीलाई छोरा कि छोरी चाहिन्छ भनेर सोध्नुभएको थियो। छोरा चाहिएको हो भने हेरेर फाल्नु पर्ने भए फाल्नु पर्योसम्म भनेका थिए।

अनि उहाँले छोराछोरी जे भए पनि ठिक छ तर, दुई जना चै चाहिन्छ भन्नु भयो। दोस्रो छोरी २२ सय ग्रामको भयो। दोस्रो पटकमा त अलि कमजोरी महसुस भइरहेको थियो। 

सुत्केरी स्याहार पनि राम्रै भयो। तर, दुई जना नै अप्रेसन गरेर पाएपछि शरीर कमजोर भयो। घरीघरी महिनावारी हुँदा दुखेको जस्तै दुखाइ हुने गर्थ्यो। 

अहिले ठूली छोरी एकदम शान्त छे। ऊ घरमा भएको पनि थाहा हुँदैन। भोक लाग्यो भने पनि भन्दिन। सोधेर बसिराख्नुपर्छ। अनि सानी एकदम चतुर छे। भोक लाग्यो भने घरमा जो छ, उसलाई फकाएर हुन्छ कि, रिसाएर हुन्छ मागेर खाइहाल्छे। 

हाम्रो १६ जनाको परिवार थियो। ठूलो परिवार हुँदा बच्चा हुर्काइमा सहज भयो। बच्चाहरू धेरैजसो अन्य सदस्यसँग भुल्थे।

मलाई मेरो आफ्नो काम गर्न सहज भयो। अबेर रातिसम्म पेन्टिङ बनाएर बस्थेँ। अहिले ठूलो छोरी १२ मा र सानी ६ कक्षामा पढ्छिन्। ठूलीले आर्टमा धेरै इन्ट्रेस्ट देखाएकी छैन। सानीले चै आर्टमा नै केही गर्लीजस्ती छ।

सबले एउटा छोरा त चाहिन्छ नि भन्ने गर्छन्। तर, अब त नपाउने।

यो पनि

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

१७ असार, २०८०, १६:४१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।