कल्याणीको प्रसव पीडा र खुसी : मान्छेहरूले यस्तो भो उस्तो भो भन्छन्, मेरो त पढ्दापढ्दै बच्चा भयो

कल्याणीको प्रसव पीडा र खुसी : मान्छेहरूले यस्तो भो उस्तो भो भन्छन्, मेरो त पढ्दापढ्दै बच्चा भयो

कुनै समय महिला आन्दोलनमा सक्रिय रहेकी राजनीतिज्ञकर्मी हुन्, कल्याणी शाह। अहिले राजनीतिबाट टाढा रहे पनि महिला हकहितमा भने उनी सक्रिय नै छिन्। पूर्वमन्त्रीसमेत रहेका गणेश शाहकी श्रीमती कल्याणीको जिन्दगी राजनीति माहोलमै बित्यो। 

रसियामा कानुनको पढाइ पूरा गरेकी कल्याणीका दुई छोरा छन्। जेठा मस्कोमै जन्मिए। पढ्न रसिया पुगेका बेला गएकी उनले गणेशसँग रसियामै विवाह गरेकी थिइन्। पढाइ सकिएसँगै उनले उतैबाट छोरो लिएर नेपाल आएकी थिइन्। 

पहिलो बच्चा मस्को र त्यसको १५ महिनापछि नेपालमा अर्को बच्चा जन्माएकी कल्याणीले आफ्नो प्रसव पीडा र खुशी उकेरासँग यसरी साटिनः

०००
काठमाडौँको उपाध्याय बाहुनको घरमा मेरो जन्म भयो। बुवा पनि बुवा राजनीतिमा हुनुभएका कारण मलाई पनि प्रोत्साहन गर्नुहुन्थ्यो। कानुनको विद्यार्थी भएकाले केही समय सर्वोच्च अदालतमा काम गर्ने मौका पनि पाएँ। तर, पछि राजनीतिमा होमिएँ। 

धेरै आन्दोलन गरियो। जेल पनि गइयो। पञ्चायतविरोधी काम गरेको भएर थुनामा परेँ। तीन चार पटक जेल परेको अनुभव छ मसँग। एक पटक त वर्ष दिन जेल बसेँ। बच्चाहरू जेलमै भेट्न आउँथे।  त्यहाँ पनि कानुनको परामर्श गरेँ।  नेपाल कम्युनिस्ट पार्टी संयुक्तमा थिएँ। रसियामा पढेर यता आएदेखिनै त्यस पार्टीमा छु। 

राजनीति पनि गर्ने बच्चा पनि हेर्ने हुँदा केही न केही त छुट्ने नै भयो। मेरो चै व्यावसायिकता छुट्यो। म त वकिल पढेको मान्छे। राजनीतिमा लागेँ पछि कानुनमा धेरै प्राक्टिस गर्न पाइनँ। 

श्रीमानलाई पनि उतै (रसिया) भेटेको। अन्तर्जातीय बिहे भए पनि त्यस्तो गाह्रो भने भएन। उतै बिहे गर्यौं। अनि बिहे भएको एक वर्षपछि बच्चा भयो। पढ्न गएको मान्छे पढाइ पूरा हुनुभन्दा अगाडि नै गर्भवती भएको थाहा पाउँदा समस्या भयोजस्तो पनि लाग्यो। पढाइ बिग्रने डरले बच्चा पाउने खबरले धेरै उत्सुक भइनँ। 

श्रीमान-श्रीमती होस्टलको एउटै फ्ल्याटमा बसेको भएर केही सहज भने महसुस गरेँ। गर्भवती भएको खबर अकस्मात् जस्तो लागेको भएर समस्याको समाधान कसरी गर्ने भनेर सोच्न पनि पाइनँ। श्रीमानसँगै अन्य धेरै साथी अनि त्यहाँको सुविधाहरूले समस्या भयो भनिराख्नैपरेन। 

सुरुको तीन महिनाचाहिँ वान्ता हुने, खाना नरुच्ने भयो। त्यो पनि पछि आफै ठिक भयो। त्यसपछि खासै केही गाह्रो भएको महसुस नै गरिनँ। बच्चा पाउँदा म जम्मा ३९ किलोको थिएँ। मेरो हाइटअनुसार त्यो पनि ठिकै हो भन्ने कुरा गर्यो डाक्टरले। डाक्टरसँग बीच-बीचमा भेटिरहने भएकाले पनि सहज हुने गयो। 

आफू विद्यार्थी नै भएका कारणचाहिँ अब आमा बन्दै छु भन्ने भावना आइसकेको थिएन। त्यसबेला मेरो अनुहार पनि क्युट थियो। सानो भएको कारण नर्सहरूले पनि कस्तो बच्चाले बच्चा पाउन लागेको भन्थे। डाक्टरले के-के महसुस भइरहेको छ भनेर सोधिराख्थे। मैले त्यस्तो केही गाह्रो पनि महसुस गरिनँ। हातखुट्टाहरू पनि सुन्निन्छ भन्ने सुनेको थिएँ। तर, त्यो पनि भएन। 

गर्भवतीको समयमा घरको सबै काम गर्थेँ। बच्चा पाउने दिन पनि म भुइँ पुछेर बसिरहेको थिए। त्यो बेला पानी बगेजस्तो भयो। तर, गाह्रो भएको थिएन। त्यही पनि डाक्टरले अगाडि नै त्यस्तो केही भयो भने आउनु भनेको सम्झिएँ। अनि हस्पिटल गइहालेँ। त्यहाँ वरपर धेरै महिला थिए। उनीहरू त कत्ति चिच्याइरहेका थिए। कसैले श्रीमानलाई गाली गरिरहेका थिए। 

उनीहरू कराएको देखेर ओहो धेरै नै दुख्ने पो रहेछ क्यारे भन्ने लाग्यो। मलाई अझै पीडा हुन बाँकी नै छ कि क्या हो भन्ने पनि भयो। तर, त्यस्तो केही भएन। एकैछिन असहज भएजस्तो भयो। अनि आफैँलाई अबचाहिँ बच्चा हुन लाग्यो क्यारे भन्ने भयो। मैले सिस्टर (नर्स) लाई भनेँ। अर्को कोठामा लगेपछि जन्मिहाल्यो। 

पहिलो छोरा भयो। त्यतिबेला धेरै समस्या भएको जस्तो पनि लागेन। साढे तीन किलोको बच्चा थियो। नर्मल नै पाएँ। प्रसव वेदना भनेर त्यस्तो दुःखाइ भएको जस्तो पनि लागेन। बच्चा भएपछि १६ दिनसम्म हस्पिटलमै बस्न पर्यो। त्यो समयसम्म श्रीमानले पनि राम्रोसँग बच्चा हेर्न पाउनुभएन। 

अनि बच्चालाई नर्सिङमै राखेर १७ दिनमा घर आएँ। दूध खुवाउन दिनमा एकपटक जान्थेँ। अनि बाँकी बोतलमा जम्मा पारेर राख्थेँ। दूध खुवाउँदा पनि मलाई त्यस्तो केही गाह्रो भएन। 

मान्छेहरूले यस्तो भयो, उस्तो भयो भन्ने गर्छन्। मलाई त अनौठो लाग्छ। मेरा दुई वटा छोरा भए, दुवैमा त्यस्तो गाह्रो भन्ने नै भएन। खेल्दाखेल्दै, पढ्दा पढ्दै, काम गर्दा गर्दै बच्चा भयो। होस्टेलमा केही महिना बच्चाको स्याहार गर्न पर्यो। पहिलो बच्चा भएको ५ महिनापछि पढाइ र काम सकेर यता (नेपाल) आएको। पहिलो बच्चा भएको १५ महिनापछि दोश्रो बच्चा भयो।  यता बच्चा पाउँदा पनि त्यस्तो केही समस्या नै भएन। 

अझ, पहिलो भन्दा पनि दोश्रोमा झन् सहज भयोजस्तो लाग्छ। मलाई अहिले पनि कसरी दुई वटा बच्चा पाएँ भन्ने लाग्छ। कसरि हुर्काए होला भनेर अहिले सोच्दा आफैलाई पनि अचम्म लाग्छ। बच्चा पाउने बेलाचाहिँ डाक्टरहरूले त्यस्तो वास्ता गरिरहेका थिएनन्। आफैले अब बच्चा होलाजस्तो छ भनेर अर्को कोठामा लग्न लगाएँ। अनि पाएँ।

यता (नेपाल) चाहिँ सासू,आमा हुनुभएकाले तेल लगाउने काम गरियो। उताभन्दा यता सबै मान्छे भएकाले झन् सहज भयो।

दुईटा छोरा भएपछि सासूले एउटा छोरी त पाए हुन्थ्यो भन्नुभएको थियो। छोरीको ग्यारेन्टी छैन। अर्को छोरा कति पाउनु भनेर मैले यति भए ठिकै छ भनेँ। दुईटा छोरालाई राम्रोसँग हुर्काइयो। कान्छो छोरा भएको ६ महिनापछि नन्दको पनि बच्चा भयो। तीनै बच्चालाई उहाँले पनि हेर्नुभयो। मलाई त झन् सजिलो पो भयो। 

बच्चाहरू बीच धेरै उमेरअन्तर नभएका कारण सँगसँगै पनि हुर्किए। अहिले दुवै जना बाहिर छन्। एउटा स्कटल्याण्डमा बैंकमा काम गर्छ। अनि अर्को चाहिँ अमेरिकामा आफ्नै कम्पनी चलाएर बसिरहेको छ। नाति नातिनी पनि छन्। दुवै जनाको एउटा एउटा बच्चा छ।

यो पनि

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

१० असार, २०८०, १४:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।