व्यवसायी शीलाको प्रसव पीडा र खुसी : अहिले पो बेबी बम्प भनेर फोटो खिच्ने चलन आयो, त्यो बेला त पेट छोप्नुपर्थ्यो

व्यवसायी शीलाको प्रसव पीडा र खुसी : अहिले पो बेबी बम्प भनेर फोटो खिच्ने चलन आयो, त्यो बेला त पेट छोप्नुपर्थ्यो

शीला श्रेष्ठ कीर्तिपुरकी व्यवसायी हुन्। विज्ञानमा स्नातकोत्तर गरेकी उनी अहिले आफ्नै बुटिक संचालन गरेर बसिरहेकी छिन्। उनलाई सानैदेखि कला क्षेत्रमा आफूलाई स्थापित गर्नु थियो। तर घरको माहौलले पढाई मै सीमित हुन पर्यो। छोरी डाक्टर बनेको हेर्ने उनको बुबाको निकै ठुलो सपना थियो। त्यै भएर उनले विज्ञान विषय पढेकी हुन्। केही समय कान्ति हस्पिटलमा ल्याब टेक्निसियनको रूपमा काम समेत उनले गरिन्।

ललितपुरको लुभुबाट बिहे गरेर कीर्तिपुर पुगिन् उनी। त्यै पनि विज्ञान विषयले भने उनलाई छोडेन। स्नातकोत्तरसँगै दुई सन्तान हुर्केपछि मात्र उनले आफ्नो इच्छा अनुसारको काम गरेकी हुन्। अहिले आफ्नो व्यवसाय प्रति ग्राहकहरूको आकर्षण र प्रतिक्रिया पाएर उनी दङ्ग छिन्। छोरी सात वर्षकी भएपछि फेसन र बुटिकमा डिप्लोमा गरेर अगाडी बढ्दा उनलाई श्रीमानले पनि धेरै सहयोग गरेका छन्।

बाल्यकाल ड्याडीको सपना पुरा गर्न बाल्यकाल बिताएकी उनी आफै दुई सन्तानकी आमा हुन्। उनै शीलाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफु गर्भवती हुँदा हिँड्न नसकी नसकी कलेज गएको देखिएको अनुभव यसरी साटिन् :

000

बाल्यकाल पढाइ भन्दाभन्दै बितेको थाहै भएन। एसएलसी पछि आइएससी, बिएससीहुँदै साइन्समै मास्टर्स सम्म गरे। घरमा सबै पढे लेखेको भएर ड्याडीको इच्छा म डाक्टर भएको हेर्ने थियो। तर मलाई चैँ सानैदेखि कला क्षेत्रमा रुचि थियो। मिस नेपालमा भाग लिन मनथ्यो। म्युजिक भिडियोतिर जान मनथ्यो। घरमा यी सब छोरी मान्छे भएर गर्न हुँदैन, यसमा करिअर छैन भन्ने मान्यता थियो।

२० वर्षको उमेरमै मेरो बिहे भयो। बिहे पछि पनि पढाई रोकिएन। बिएससीको दोस्रो वर्ष हुँदा म गर्भवती थिएँ। बिएससी सक्किदासम्म त छोरा नै दुई वर्षको भइसकेको थियो। त्रिचन्द्र क्याम्पसमा पढेको हुँ। कीर्तिपुरदेखि त्रिचन्द्रसम्म आउनु, फेरी फर्किनु, घरको काम सबै गर्नु अनि पढ्नु निकै चुनौती भयो। साइन्स भने पछि अलि बढी नै पढ्न पर्ने भइहाल्यो। घरमा पनि कान्छी बुहारी भए पछि अलि गाह्रो नै महसुस गरे। 

त्यस्तै अवस्थामा बच्चा जन्माए अनि बिएससी पनि सक्काएँ। नौ महिनाको गर्भवती हुँदासम्म म कलेज गइरहेकी थिएँ। विभिन्न परीक्षा अनि त्यसमाथि प्राक्टिस कक्षा पनि त्यसबेला धेरै हुन्थ्यो। गर्भवती अवस्थामा त्यहाँको साथी र शिक्षकहरूले धेरै सहयोग गर्नु भयो। अहिले पो बेबीबम्प भनेर एक्पोज गर्दै हिड्ने चलन आयो। त्यसबेला त गर्भवती भएको भन्नै लाज लाग्थ्यो। ठुलो सलले पेट छोपेर जान्थे म।

धेरैले मलाई हेरेर 'यस्तो भएर पनि कलेज आउन सक्ने त ठुलो कुरा हो' भन्थे। केहिले चैँ 'यस्तो भएर पनि किन कलेज आएको होला, अब त घर, बच्चा हेरेर बस्या भए हुन्थ्यो नि' पनि भने। त्यस्तो माहौलमा पढाइ गर्नु, आफ्नो र बच्चाको ख्याल गर्नु धेरै चुनौतीपूर्ण रह्यो।

मेरो तौल पनि अस्वाभाविक ढङ्गले बढ्यो। ५५ किलोको मान्छे त्यस समयमा त ८५/९० किलोसम्म भएको थिएँ। त्यसपछि अहिलेसम्म पनि मेरो तौल सन्तुलनमा आउन सकेकै छैन।  धेरै तौल बढेको कारण म पल्टिन सक्दिन थिएँ। एकदम अप्ठ्यारो हुन्थ्यो। सुतिरहँदा मलाई यताबाट उता पलट्याउन मान्छे चाहिन्थ्यो। त्यसबेलामा श्रीमान्ले धेरै सहयोग गर्नुभयो। उहाँ त साथमै बसीराख्न पर्यो। हात खुट्टाहरू पनि धेरै नै सुन्निएको थियो। कलेज जाँदा त हिँड्न नसकेर म लडेको पनि छु।

डेलिभरीको दुई हप्तासम्म पनि म कलेज गइरहेँ। पढाई र बच्चाको चिन्ताले धेरै तनाव पनि भयो। पढाई छुट्ला कि भन्ने डर, फेरी बच्चालाई केही होला कि भन्ने डर पनि। गर्भवती भएको पाँच महिनासम्म त बान्ता भएर केही खान पनि सकिन। धेरै गाह्रो भयो।

पछि चैँ मज्जाले खाना रुच्यो। त्यस समयमा स्ट्रबेरी खुब खान मन लागेको भएर श्रीमानले राती नौ बजे भए पनि खोजेर ल्याइदिनु हुन्थ्यो। त्यसबेला डाक्टरले नै बच्चाको लिङ्ग पहिचान गरिदिन्थ्यो। पाँच महिना हुँदा नै हाम्रो छोरा छ भनेर हामीलाई थाहा भइसकेको थियो।

घरमा पनि धेरै नै सपोर्ट गर्नुभयो। जे खान मन लाग्छ ल्याइदिनु हुन्थ्यो। मैले भन्या अनुसार सबै गरिदिनु भयो। डाक्टरले दिएको डेटमा चैँ मलाई केही भएन। पेट पनि दुखेन। व्यथा पनि लागेन। व्यथा नलागी हस्पिटल नजान भनेर घरमा हजुरआमाले भन्नुभयो। त्यसपछि त्यही अनुसारले बसिरह्यो।

एक हप्ता भइसक्दा पनि मलाई केही भएकै थिएन। अनि डाक्टरलाई सोध्यौँ। उहाँले त कराउनु पो भयो। त्यसपछि तत्काल अप्रेसन गर्न पर्ने भयो। प्लासंटा फुटिसकेको रहेछ। एक दुई घण्टा मात्र ढिला भएको भए जे पनि हुन सक्ने थियो भनेर डाक्टरले कराउनु भयो। फेरी मेरो त नर्मल डेलिभरी नै हुन नमिल्ने रहेछ। बच्चा जन्मिन कति पो घर खुल्न पर्छ रे त्यो सबै खुल्न नसक्ने रहेछ। त्यही बेला डाक्टरले भनेर थाहा पाएको।

त्यसबेला मलाई एकदम ग्लानि भयो। त्यत्तिकै बसेर बाबुलाई केही भएको भए! भन्ने पो लाग्यो।

अनि एनेस्थेसिया गर्दिहाल्नु भयो। नदुखेको मात्र हो, डाक्टरले के गरिरहेको छ सब थाहा भइरहेको थियो। काटेको, सिलाएको एकैछिनपछि बाबु देखाउनु भयो। आनन्द महसुस गरेँ।

बाबु त साढे तीन किलोको थियो। २४ घण्टा उसलाई अलग राखियो। मलाई दिएपछि पनि घाउँले गर्दा उसलाई राम्रोसँग समात्न सकिन। मलाई उठ्न, बस्नै गाह्रो भइरहेको थियो। घाउँले गर्दा चारदिन पछि मात्र बाबुलाई स्तनपान गर्न सके। त्यसबेला पनि निकै गाह्रो भएको थियो। पहिला त दूध नै आइरहेको थिएन। पछि बाबुले तान्नै मानेन।

बाबुको न्वारनमा पनि म चल्न सक्ने स्थितिमा थिइन। पुरा घाउँले पटुका बाध्न पनि मिलेन। नर्मल पाएको जस्तो अलि नहुने रहेछ। एक जना त साथमै बस्नु पर्यो। त्यो बेला पनि श्रीमान् हुनुभएको भएर मलाई के भइरहेको छ भनेर भन्न सजिलो भयो। उहाँले नै उठाउने, सुताउने, खुवाउने सब गर्नु भएको हो। त्यही भएर सुत्केरी स्याहार पनि धेरै राम्रो भयो।

पाँच महिनासम्म त सुत्केरी भएरै बसेँ। तेल लाउने, चाकु खाने धेरै काम भयो। घरमा नाति जन्मियो भनेर सब खुसी हुनुभएको थियो। त्यसपछि डेढ वर्ष मेरो पढाइमा ज्ञाप भयो। अनि मात्र पढाई सुरु गरेँ। त्यसपछि चैँ सबै पढाई सकेका हुँ।

कान्ति हस्पिटलमा केही समय ल्याब टेक्निसियन भएर पनि काम गरेँ। त्यो बेला एउटा बच्चा मात्र पाउने ट्रेन्ड थियो। बाबु आठ वर्ष हुँदासम्म पनि हामीले अर्को सन्तानको इच्छा राखेका थिएनौ।

पछि फेरी गर्भवती भएँ। त्यो बेला चैँ आफै पनि परिपक्व भएको अनुभव गरेँ। इन्जोय गरेँ। छोराले पनि बहिनी कि बहिनी भन्थ्यो। त्यसबेला पनि गर्भवती भएको सात महिना हुँदा छोरी नै हुन्छ भनेर थाहा भइसकेको थियो। छोरा र श्रीमान् धेरै नै उत्साहित हुनुहुन्थ्यो। उनीहरू दुईले मलाई त्यत्तिकै साथ दिइरहे। नानीको पालोमा पनि मेरो तौल असाध्यै बढेको थियो। त्यसबेला त ९० किलो नाघेको थियो।

त्यतिखेर त धेरै दही खान मन लागेको थियो । नन स्टप दही खाएको भएर होला छोरी त एकदम गोरी छे। उ त झन् चार किलोको जन्मिएको। तौल बढेको कारण त्यसबेला पनि म हिँड्न सक्दिन थिएँ। हिपो डाइनोसर जस्तो पो भएकी थिएँ म त! मेरो शरीर देखेर सबै जना डराउनु भएको थियो। लड्यो भने केही होला कि भन्ने गर्नु हुन्थ्यो। हातमा समाएर हिँड्न पर्थ्यो। बेडमा चढ्दा पनि घचेट्न पर्थ्यो। छोरी पनि चार किलोको जन्मिई।

उसको पालोमा पनि अप्रेसनै गर्नु पर्यो। त्यही घाउमा फेरी घुन पार्दा त गाह्रो हुने नै भयो नि। इन्फेक्सन पनि भएको थियो। छोराले अप्रेसन थिएटरमा पुर्याउंदा बाइबाइ गरेको अहिले पनि याद आउँछ। छोरा छदै छ अब छोरी भयो भने ठिक्क हुन्छ भनेर सब खुसी हुनुभएको थियो। दुई जनालाई हुर्काउन अलि गाह्रो भयो। नानीबाबु हुर्काउँदा माइतीले पनि धेरै सपोर्ट गर्नु भयो।

नानी हुँदा हामी संयुक्त परिवारबाट अलग्गिइसकेका थियौँ। त्यसबेला छोरीलाई बोकेर छोरालाई स्कुल पुराउँथे। सात वर्ष त त्यसरी नै भयो। अनि मात्र आफ्नो बिजनेसको बारेमा सोचेको हुँ। छोरालाई पढाउने, छोरीलाई हेर्ने सबै आफैले गर्न पर्यो। अहिले छोरा स्नातक पढ्ने तयारीमा छ।  छोरी पनि छ कक्षामा पढ्छ। दुवैले मलाई धेरै सपोर्ट गरेको छ। अहिले त उनीहरू नै मेरो साथी भइसकेका छन्।

दुवै सन्तान हुर्किए पछि आफ्नो इच्छा अनुसार काम गर्छु भनेर घरमा भनेँ। श्रीमानले नाइँ भन्नु भएन। त्यसपछि त सबैले सपोर्ट गर्नुभयो। अहिले छोरीको नामको बुटिक खोलेको छु।  कपडाको डिजाइन गरेर आफै मोडल पनि बन्ने गर्छु। घरको जिम्मेवारी पनि सबै गरे अब आफ्नो मन लागेको रहर पनि पुरा गर्छु भन्ने लाग्छ। सानोमा मैले जसरी आफ्नो इच्छालाई दबाउन पर्यो त्यसरी मेरो नानीबाबुले आफ्नो इच्छा नदबाओस् भन्ने चाहन्छु।

त्यै भएर अहिलेसम्म मैले उनीहरूलाई यही पढ, यही गर, यही बन्नुपर्छ, हुनुपर्छ भनेर भनेको छैन। उनीहरूले जे गरोस्, खुसी भएर राम्रोसँग गरोस्। म पुरै सपोर्ट गर्ने छु।

१४ माघ, २०८०, २३:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।