ज्योत्सना साउदको प्रसव पीडा र खुसी :  दुई पटक गर्भपात भएपछि त गर्भवती हुनै मन लागेन, डर पो लाग्न थाल्यो

ज्योत्सना साउदको प्रसव पीडा र खुसी :  दुई पटक गर्भपात भएपछि त गर्भवती हुनै मन लागेन, डर पो लाग्न थाल्यो

श्रीमान् एनपी(नारायणप्रसाद) साउद राजनीतिमा परिचित पात्र भए पनि ज्योत्सना साउदले आफ्नो पहिचानका लागि एनपीको श्रीमती भनिरहनु पर्दैन। उनी आफैंले पनि आफ्नो सार्वजनिक परिचय निर्माण गरेकी छिन्। अहिले एनपी परराष्ट्र मन्त्री छन्। ज्योत्सना ग्रामीण महिला विकास तथा एकता केन्द्रकी महासचिव भइसकेकी उनी विश्व हिन्दु महासंघकी उपाध्यक्ष।

आगो र एसिडबाट जलेको पीडितको पक्षमा  काम गर्ने संस्था बिभिएस नेपालमा आबद्ध रहेकी उनी जुम्ल्याहा सन्तानकी आमा हुन्। स्नातक पढ्दै थिएन उनी। त्यहीबेला एनपीसँग प्रेम विवाह भयो। पढाइ जारी नै रह्यो थियो। तर घर परिवारमा बढी केन्द्रित भइन् उनी।

दुई सन्तानलाई मनग्गे समय दिएर हुर्काउन पाइन् उनले।  उनीहरूको हरेक पल नजिकबाट नियाल्न पाइन्। उनै ज्योत्सनासँग उकेराले नियमित स्तम्भ प्रसव पीडा र खुसीका लागि उनको प्रसवको अनुभवबारे गरेको कुराकानी :

०००

एक जना हामी दुवैको साथी। कमन फ्रेण्डबाटै हाम्रो चिनजान भयो। बिस्तारै हाम्रो सम्बन्ध प्रेममा बदलियो। म पढ्दै थिए। विवाहका लागि हतार भइसकेको पनि थिएन। स्नातक तहमा त थिएँ म। तर राजनीतिमा सक्रिय हुँदा उहाँको विवाह गर्ने उमेर भने घर्किँदै गइरहेको थियो। हामीबिच १३ वर्षको अन्तर छ।

कहिले माओवादीको विद्रोह भनेको छ त कहिले राजाको प्रत्यक्ष शासन। उहाँ आन्दोलनमा सक्रिय। राजनीतिमा धेरै उतारचढाव आइरहेकाले तत्काल विवाह गर्ने कुरा पनि भएन। २०६२-०६३ को लोकतान्त्रिक आन्दोलन एक विन्दुमा पुगेर टुंगियो। माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। उहाँलाई अब चैं विवाह गर्नुपर्छ भन्ने लागेछ।

उहाँ धार्मिक स्वभावको हुनुहुन्छ। मेरो चिना मागेर देखाउन लाग्नुभएछ। चिना हेर्ने गुरुले २८ गुण मिलेको छ तर केही समयपछि विवाह गर्दा उत्तम हुन्छ भन्ने सुझाव दिनु भएछ। विवाहको साइत धेरै परै धकेलिने भएपछि दुवैतिरको परिवारको सल्लाहमा रामजानकी मन्दिरमा बिहे भयो।  

उमेरमा १३ वर्षको अन्तर भएकाले होला विवाह गरे लगत्तै बच्चाको कुरा आउन थालिहाल्यो। हामीले पनि चाँडै बच्चा होस् भन्ने नै चाह्यो। त्यसपछि म गर्भवती भए।

गर्भवती भएको समयमा एकदम हिँड्नुपर्छ, काम गर्नुपर्छ अनि बच्चा पाउन सजिलो हुन्छु भन्ने कुरा आए। हाम्रो भान्जा प्रहरी निरीक्षक हुनुहुन्थ्यो। उहाँलाई वीरगन्जमा गोली लागेकाले प्रहरी अस्पतालमा राखिएको थियो। त्यसबेला उहाँलाई हेर्न जाने कुरा भयो घरमा। म पनि जाने भएँ। 

बच्चा पाउन सजिलो हुन्छ भनेकाले मलाई एकदम धेरै हिँड्नुपर्छ भन्ने लागेको थियो। त्यसैले भाटभटेनीदेखि अस्पतालसम्म हिँडेरै गएँ, हिँडेरै फर्किए। त्यसको भोलिपल्ट त मेरो गर्भपात पो भयो। त्यसबेला धेरै हिँडेर त्यस्तो भएको भन्ने त सोचेकै थिइन।

अर्को पटक फेरी म गर्भवती भएँ। त्यो बेला चाहिँ तिहार आइरहेको थियो। सहयोग गर्ने भाइबहिनीहरू सबै आ-आफ्नो घर गइसकेका थिए। सबै काम आफैंले गर्नुपर्यो। त्यसबेला पनि फेरी मेरो गर्भपात भयो। लगातार दुई पटक गर्भपात हुँदा त एकदम नमज्जाको माहौल बन्यो।

छिट्टै बच्चा पाइहालौँ भनेर त्यस्तो भएको हो की भन्ने लाग्यो। ढिला बिहे गरेर यस्तो भएको हो कि भन्ने पनि लाग्यो एक मनमा।  त्यसपछि त लगभग दुई वर्ष गर्भवती हुन तयारै हुन सकेनौँ।

दुई वर्षपछि फेरी प्रयास गर्यौँ,  गर्भवती भएँ। त्यसबेला  डाक्टरले आराम गर्नुपर्छ, धेरै सक्रिय हुनुहुँदैन भन्नुभयो। पहिला त हिँड्नुपर्छ भनेका थिए। अहिले उल्टो भयो। तेस्रो पटक गर्भ बसेको थियो। अब कुनै पनि जोखिम लिन तयार थिइन म। त्यसैले डाक्टरले जे-जे भन्नुभयो त्यही अनुसार गरेँ।

गर्भवतीको समयमा डाक्टरले हरेक पटक जस्तो ‘तपाईँको त जुम्ल्याहा हुन्छ होला है’ भन्नुहुन्थ्यो। जुम्ल्याहा हुने आनुवंशिक हो भन्ने सुनेको थिएँ। मेरो माइतीमा त कसैको पनि जुम्ल्याहा भएको थिएन। श्रीमान् पट्टी  चाहिँ फुपू, मामाहरूको भएको रहेछ। जुम्ल्याहा भनेपछि त म झन् सचेत भएँ। पुरै आराम गरेँ। खानामा निकै ध्यान दिएँ।

भोटाहिटीमा ‘पिङ्क बुक’ नामको किताब किनेँ। , किताब नेपालीमा थियो। त्यसमा गर्भवती हुँदा कस्तो हुन्छ? के गर्ने? भन्ने लगायतका काम लाग्ने कुराहरू थिए। त्यसपछि त आफूलाई केही समस्या भयो कि किताब पल्टाउन थालीहालेँ। डाक्टरलाई सोध्थेँ पनि।

मलाई कहिले खान मन लाग्ने, कहिले नलाग्ने।  कहिले कता दुखेको जस्तो हुने, कहिले भारी भएको जस्तो हुने भयो। गर्भवती अवस्थामा  शारिरमात्रै हैन मानसिक स्वास्थ्यमा पनि फेरबदल हुने रहेछ।

केही नयाँ सङ्केत देखियो कि किताबमा के लेखेको छ भनेर खोज्थेँ। अनि डाक्टरलाई फोन गरेर’ यस्तो भयो भनिहाल्थेँ। सायद दुई पटक गर्भपात भएकाले होला, सामान्य जोखिम उठाउन पनि म तयार थिइन। डाक्टरलाई देखाउँदा सङ्केतहरू साधारण नै हो भने पनि किताब पल्टाउन मन लागिहाल्ने भइसकेको थियो।

त्यो बेला बच्चा कसरी राम्रो हुन्छ भन्ने बाहेक अर्को सोच नै आएन। गर्भ बसेको बेलामा भेटघाट हुनेहरूबाट अनेक सुझाव आउने रहेछ। कसैले दूध खायो भने राम्रो हुन्छ भन्नुभयो, मैले धेरै दूध पनि खाँए।  कसैले पानी धेरै खाऊ, बच्चा राम्रो हुन्छ’ भन्नुभयो। हरेक घण्टा नबिराइ पानी खाइराखेँ।

डाक्टरले आइरन दिनुभयो, खाएँ। घाँटी र छाती कालो भएको थियो। पेट बढ्ने, खुट्टा सुन्निने भइरहेको थियो। अनुहारमा अलग्गै चमक आएको थियो। सफा भएको थियो। श्रीमान् अनि परिवारका सदस्यले धेरै हेरचाह गर्नुभयो। म पनि निकै सचेत थिए।

एकातिर रमाइलो पनि लागिरहेको थियो। अर्कोतिर भने मैले यसो गर्दा केही असर गर्ला कि भनेर डर पनि लाग्ने। मलाई डाक्टरले अगाडि नै जुम्ल्याहा हुन्छ कि क्या हो भन्नुभएको थियो। होला त नि भन्ने भयो।

डाक्टरले  ‘पहिलो सन्तान जुम्ल्याहा छ के छ हेर्ने हो?’ भन्नुभयो। मैले ‘नाइँ’ भने। मलाई छोरी मन पर्ने। जहाँ गए पनि छोरीको कपडा, क्लिपहरू मन पर्थ्यो। परिवारमा भने कि छोरा-छोरा कि छोरी-छोरी भएको देखिरहेको थिएँ। हेर्दा छोरा-छोरा देखियो भने मन खिन्न हुन्छ भनेर हेर्न मन लागेन। जे भए पनि जन्माउने दिनै थाहा होस् भन्ने भयो।

जुम्ल्याहा छ भनेर मैले श्रीमानलाई भनेको थिइन। केही समयपछि डाक्टरले श्रीमानलाई  ‘बधाई छ, जुम्ल्याहा छ’ भन्नुभएछ। त्यसपछि त झन् धेरै सचेत भयौँ। गर्भमा जुम्ल्याहा सन्तान छ भन्ने थाहा भएपछि घरमा सबै छक्क पर्नुभयो। बुढेसकालमा बिहे गरेको थियो एकैचोटी भयो भन्नुहुन्थ्यो, उहाँलाई।

गर्भवतीको अवधिभरमा घिरौँला र भात, त्यसमा हरियो भटमास अनि हरियो खुर्सानी चिरेको हाल्दै खूब खाएँ। तर,  मानसिक रूपमा भने एकदम असुरक्षित महसुस  गरिराखेँ। फेरी केही होला कि भन्ने डर भई नै रह्यो ।  

मेरो पेट धेरै ठूलो भयो। ५५ किलोको मान्छे डेलिभरी हुने समयसम्म त ७८ किलो भएको थिएँ। गर्भमा दुइटा बच्चा भए पछि अर्कै हुने रहेछ। निहुरिन  पनि नहुने। तोकिएको समयभन्दा एक हप्ता अगाडि नै डेलिभरी गर्नुपर्यो।

बच्चाको धड्कन नचलेको हो कि भने जस्तो लाग्यो। अनि त अस्पताल गइहाल्यौँ। शल्यक्रिया गरिहाल्ने तयारी भयो। शल्यक्रिया गर्न आधा शरीर लट्याउने रहेछन्। दुख्न त दुखेन त डाक्टर अनि नर्सहरूले के गरिराखेका छन् सबै थाहा हुने रहेछ।

केही बेरमै पहिलो सन्तानको जन्म भयो, छोरी। अनि फेरि अर्को बच्चा निकाल्दा छोरा। जन्मँदा छोरी अलि सानी थिइन्। छोरा चैं तीन किलो तीन सय ग्रामको। बच्चा भएपछि मेरो शरीर जस्ताकोतस्तै भयो, सबै घटिहाल्यो नि।

एक मिनेटको अन्तरमा दुइटा सन्तान हातमा लिन पाउँदा त दङ्ग। खुसी र आँसु एकै पटक। त्यो क्षण सम्झिने हो। बयान गर्न सकिँदैन। शब्दहीन मीठो अनुभव। जुम्ल्याहा सन्तान अनि मेरो पनि स्वास्थ्यमा कुनै जटिलता आएन। तीनै जनाको स्वास्थ्य राम्रो। तीन दिन पछि घर गयौँ। 

गर्भमा बच्चा हुँदा कहिले बाहिर निस्कन्छन् भन्ने लाग्ने। तर जन्मिएपछि चैं पेटभित्रै भएको भए हुने भन्ने लाग्ने रहेछ। आफूभित्र अर्को जीवन छ भन्ने अनुभवै बेग्लै हुने। अहिले पनि उनीहरूलाई बेलाबेलामा भनिरहन्छु। बच्चा ठूलो हुँदै गएपछि टाढा हुने हो कि भनेर डर लाग्ने रहेछ।

लुगा, खाना जे गर्दा पनि ’डबल’ गर्नुपर्यो। दुवै जनालाई दूध पुग्दैन कि भनेर टन्न खान्थेँ। ल्याक्टोजिनहरु पनि तयार गर्थे। छोरी सानी भएकाले उसलाई खाना पुग्दैन कि भन्ने डर लागिरह्यो। बेलुका सुत्दा निदाएर थिचिने पो हो कि भन्ने डरले निन्द्रा पनि राम्ररी नलाग्ने रहेछ। कस्तो माया हो कस्तो! त्यही डरले मैले कोक्रो पनि दुई वटा बनाएँ र अलग्गै राखेँ। तीन/तीन घण्टामा उठ्दै, दूध खुवाउँथे।

अहिले सोच्यो भने त्यो बेलामा कसरी गर्न सकियो होला है भन्ने लाग्छ। संसार नै बिर्सिएर उनीहरूलाई हेर्न केन्द्रित हुने। कसैको मतलबै नलाग्ने रहेछ। जतिखेर पनि बच्चाकै याद आउने।

बच्चा जन्मिए पछिको पाँच वर्ष कहिले के हुने, कहिले के हुने भइराख्ने। दुईजना सँगै बिरामी हुने। त्यो बेलामा पनि सबैभन्दा गाह्रो लाग्थ्यो। बच्चा बिरामी हुँदा जस्तो गाह्रो अरुबेला कहिले लागेन।

श्रीमान् पनि कहिले कता, कहिले कता गइराख्नुहुन्थ्यो। कति पटक त एक्लै सबै सम्हाल्नु पर्यो। एउटा बच्चा हुर्काउन त कति गाह्रो हुन्छ। एकै पटक दुई वटा हुर्काउन त साह्रै गाह्रो हुने।

जुम्ल्याहा सन्तानको स्वभाव पनि एकै हुन्छ भन्ने सुनेको थिएँ। तर दुवैको स्वभाव एकदम फरक भयो। छोरा ज्ञानीहुँदा छोरी चकचके हुने, अनि छोरा चकचकेहुँदा छोरी ज्ञानी हुने रहेछ। समय अनुसार स्वभाव परिवर्तन हुने रहेछ।

उनीहरू आफू चाहिँ जत्ति झगडा गर्छन् तर, हामीले एउटालाई करायौँ भने अर्कोले डिफेन्स गरिहाल्ने। छोरी बाबासँग बढी नजिक छ। अनि छोरा म सँग नजिक छ। छोरा र छोरी एकै पटक हुर्किएको कारण मैले बच्चाहरूको शारीरिकसँगै मानसिक परिवर्तन पनि निकै नजिकबाट अनुभव गर्न पाएँ। रमाइलो पक्ष चैं दुवै सँगै हुर्किरहेका थिए तर परिवर्तन भने ठ्याक्कै एक अर्काको विपरीत।

छोरा भन्दा छोरी अलि ढिलो बोलिन्। धेरैले सूर्यविनायक लग, देवतालाई भाकल गर भने। कसैले स्पीच थेरापी गराऊ पनि भने। थेरापी गराएको पनि हो। अनि पछि त राम्रो भयो। 

उनीहरूलाई पहिलो पटक स्कुल छोड्दा उनीहरू भन्दा मै धेरै निराश भएको थिएँ। केही हप्ता त उनीहरू बाहिर नआएसम्म म स्कुल बाहिरै कुरेर बसेँ। बच्चाहरू धेरै छिटो हुर्किने रहेछन्। अहिले त दुवै नौ कक्षामा पढ्दैछन्।

अहिले सोचेजस्तो समय दिन सकेको छैन। तर अब त उनीहरूले पनि आमा बाले किन समय दिन नसकेको भनेर बुझ्ने भइसके। समय नदिएकोमा बेला-बेला गुनासो भने गर्छन्। तर, हामी केमा व्यस्त छौँ भन्ने उनीहरूलाई थाहा छ। त्यसले समस्या ल्याएको छैन।

सन्तान जन्मिएपछि श्रीमान-श्रीमतीको सम्बन्धमा दुरी आउँछ पनि भनेको सुनेको थिएँ। अझ बढी मधुर सम्बन्ध हुन्छ भन्ने पनि सुनियो। हाम्रो सम्बन्धको हकमा यी दुवै देखियो।

श्रीमान-श्रीमती मात्र हुँदा फिल्म हेर्न जाऔँ, कतै पार्क घुम्न जाऔँ, तपाईँलाई यो लुगा कस्तो सुहायो?, तिमीलाई कति राम्रो देखियो भन्ने कुरा भइराख्थ्यो। सन्तान जन्मिएपछि त्यो चाहिँ मिस हुने रहेछ। तर, हाम्रो सम्बन्ध पातलियो भन्ने चाहिँ  होइन। बाँडिएको मात्र हो।

श्रीमान-श्रीमतीको स-सानो कुरा पनि छुटेर गएछ। यत्रो वर्ष हामी फिल्म पनि हेर्न गएका रहेनछौँ। तर यो सबै छोराछोरी हुर्किएपछि मात्र महसुस हुने रहेछ। यो मातृत्व अनि अभिभावकत्व भन्ने अनुभव नै अलग्गै हुने रहेछ। 

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

 

२८ असोज, २०८०, २०:०५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।