साहित्यकार रन्जनाको प्रसव पीडा र खुसी : १८ घण्टासम्म व्यथा लागेपछि ‘अरू केही चाहिँदैन मलाई चाहिँ बचाउनुस्’ भनेँ

साहित्यकार रन्जनाको प्रसव पीडा र खुसी : १८ घण्टासम्म व्यथा लागेपछि ‘अरू केही चाहिँदैन मलाई चाहिँ बचाउनुस्’ भनेँ

साहित्यकार रन्जना निरौला अहिले आगामी निबन्ध संग्रहको तयारीमा छन्। चारवटा कृतिमध्ये तीनवटा कविता संग्रह र एउटा निबन्ध संग्रह प्रकाशित रहेको उनी पछिल्लो समय निबन्धमै रमाउन थालेकी छन्। कवि र समीक्षकबीच परिचित उनको साहित्य यात्रा २०६७ सालदेखि सुरू भएको हो।

अहिले विभिन्न साहित्यको कार्यक्रमहरूमा उनको उपस्थिति रहँदै आएको छ। मोरङमा जन्मिएकी उनको सानैदेखि साहित्यमा रुचि भए पनि साहित्यिक यात्रा भने विवाह र सन्तानपछि मात्र सम्भव भयो।

मागी विवाह गरेकी उनको दुई छोरी छन्। त्यसपछि पढाइ, परिवार र करिअरलाई अघि बढाएकी उनी आफ्नो मातृत्व अनुभवलाई सबैभन्दा रमाइलो भएको मान्छिन्। उनै रन्जनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीसँग आफ्नो मातृत्व अनुभव यसरी साटिन्।

०००

मलाई सानैदेखि बिहे गर्ने अनि बच्चा जन्माउने निकै रहर थियो। स्नातक पढ्दापढ्दै घरमा बिहेको कुरा चल्यो अनि चिन्दै नचिनेको मान्छेसँग मागी बिहे भयो। पछि काठमाडौं आएँ। पढाइ भने रोकिएन। दुई वर्षपछि पहिलो सन्तान भयो। जब म गर्भवती भएँ, तब सबैजना उत्साहितसँगै खुसी हुनुभयो। म पनि निकै खुसी थिएँ।

केहि महिना त वान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो। खानाको गन्ध मन नपरेर नखाइ बस्थेँ। त्यो बेलाचाहिँ कमजोरी महसुस हुँदा एकदम ‘इरिटेड’ लाग्ने, रिस उठ्ने पनि भयो। तर, जस्तो गार्हो भए पनि म आमा बन्दैछु, भनेर खुसी थिएँ। पछि मोटाउँदै गएँ। हात गोडा पनि सुन्नियो।

बच्चा पाउने सजिलो कुरा चैँ हैन रछ। पछि बिस्तारै अलैँची र सुकमेलको बास्ना चै खुब मनपर्यो। त्यो टन्नै खाएँ। पोकै पारेर सँगै बोकेर पनि हिँड्थे। आँखा र मुख सुन्निएदेखि अनुहारमा दागहरू पनि देखिएको थियो। खुट्टा एकदम गह्रौँ भएको जस्तो हुन्थ्यो। असाध्यै झर्को लाग्थ्यो त्यस्तो बेला।

हरेक महिनाजसो हस्पिटल जचाउन जान्थेँ। सात महिनापछि चाहिँ १५ दिनको फरकमा डाक्टरले बोलाउनुभएको थियो। त्यति बेलासम्म गृहिणी नै थिएँ। त्यै भएर मज्जाले आफूलाई, बच्चालाई अनि घरमा पनि समय दिन पाएँ। राम्रो कुराहरू सोच्न पाएँ। म आमा बन्दैछु, संसारमा एउटा अर्को संसारलाई जन्म दिँदैछु भनेर खुसी हुन्थेँ।

एकदम आनन्द पनि महसुस गरेँ। त्यो बेला अर्कै खालको आनन्द लाग्ने रहेछ। अनि बच्चाले किक गर्दा पनि खुब रमाइलो मानेँ। त्यो आनन्द चैँ अरु केहिले पनि दिएको छैन। मैले मेरो आमासँग पनि धेरै कुरा गरेँ। उहाँले पनि खुब सल्लाह दिनुभयो। गर्भवतीको अवधिभर श्रीमान् अनि परिवार सबैको राम्रो साथ पाएँ।

‘डेलिभरी’को समयमा चैँ एकदम गाह्रो भयो। डाक्टरले पानी बग्न थालेपछि आइहल्नु भन्नुभएको थियो। पानी गएपछि दौडिँदै हस्पिटल गयौँ। १८ घण्टासम्म व्यथा लाग्यो। बच्चाको तौल बढी भएछ। अनि घुम्ने प्रक्रियामा समस्या आएको रहेछ। त्यहि भएर त्यति लामो व्यथा लागेको रहेछ।

त्यतिबेला त मर्ला नै जस्तो हुने रहेछ। म आमा नै नहुनेसम्म भनेको थिएँ। लगातारको दुखाइले त मलाई केहि पनि चाहिँदैन बच्न पाए हुन्थ्यो भन्नेसम्म लाग्यो। डाक्टरलाई त मैले मलाई बचाउनु पनि भने।

तर, पछि बच्चा चैँ ‘नर्मल’ नै भयो। पहिलो छोरी र दोश्रो छोरीबीच चार वर्षको अन्तर छ। दोश्रोमा पनि मलाई निकै गाह्रो भयो। डेलिभरी समयको दुखाइले त अरु केहि पनि सोच्ने मौका नै दिएन। अनि बच्चा जन्माएपछि चैँ एकदम हल्का भयो। भर्खरै मर्ला जस्तो भएको दुखाइ त एकै छिनमा गायब। अझ आफ्नो बच्चा देखेपछि त झन् त्यस्तो दुखेको थियो, है! भन्ने आफैँलाई लाग्यो।

पहिलो छोरी जन्माउदा तौल एकदम ठूलो भयो, अलि धेरै खाए कि क्या हो भन्ने लाग्यो। अनि दोश्रोको बेलामा अलि कम खाएको। झन् उसको पालोमा पनि ठूलो नै भयो। दुवै छोरी जन्मिँदा पौने चार किलोको थियो।

नर्मल पाएको कारण हस्पिटलबाट दुई दिनमै घर पठाउनुभयो। हामी पूर्वको मान्छे गर्मी ठाउँको मान्छे सुत्केरी भनेर यहाँ(काठमाडौं)को जस्तो भएन। यहाँ त घिउ, चाकु, झोल खुवाउने, तेल लगाउने, सेकाउने, घाम तपाउने हुने रहेछ। हाम्रो पूर्वतिर त एकदम गर्मी हुन्छ। घाम तपाउने कुरा भएन। गुम्स्याउने कुरा पनि भएन। ज्वानो चैँ दिनकै जसो खाएँ। तर, खाना पनि साधारणै भयो।

एक महिना पछि माइत गएँ। अनि दुई महिनासम्म बसेँ। परिवार भएको कारण एकदम सजिलो भयो। बच्चा पाएपछि त परिवारले पनि सब हेर्नुभयो। घरमा पनि त्यस्तो केहि दु:ख भएन। आफूले बच्चा पाएपछि मलाई त जसको बच्चा पनि आफ्नै जस्तो लाग्यो। अहिले पनि छोरीहरूको उमेरको कोहि देख्यो भने उनीहरूजस्तै लाग्छ। त्यहि भएर पनि यो आमा भनेको चैँ अचम्मको रहेछ। सबैको बच्चामा आफ्नो बच्चा देखिने रहेछ।

दोश्रो छोरी भएपछि सासुले, ‘फेरि दु:ख पायौं नि! एउटा छोरो त पाउनुपर्छ’ भन्नुभएको थियो। मलाई चैँ वंश धान्न भन्दा पनि छोराको रहर चैँ लागेको थियो। तर, अब दुईटा भइहाल्यो पुग्यो भन्ने भयो। अहिले त छोरीहरूनै म भन्दा अग्ला भइसके। पहिला छोराको कुरा भए पनि अहिले त घरमा पनि छोराको कुरा हुँदैन। अब पाउने कुरा पनि त भएन।

दुवै छोरीलाई मैले चार/चार वर्षसम्म दूध खुवाएँ। तर, दूध पनि धेरै समय खुवाउनु नहुने रहेछ। अहिले त्यहि भएर मेरो क्याल्सियम कमी देखिएको छ। हरेक दिन एउटा क्याल्सियमको ट्याब्लेट खाइरहेको छु। ठूली छोरीलाई अर्को बच्चा नभएसम्म दूध खुवाएँ। अनि कान्छी छोरी पनि स्कुल जाने बेलासम्म खान्थी।

दुवै छोरी सँगसँगै हुर्किए। तर, दुवै जनाको स्वभाव एकदम फरक छ। सँगै बस्यो भने ठ्याक्कै विपरीत ध्रुवजस्तै देखिन्छ। एउटी अलि धेरै बोल्न पर्ने। एउटी बोल्दै नबोल्ने। फेरि मसँग चैँ साथी जस्तै मिल्छन्। अहिले एउटीले १२ कक्षा पढिसकी। अर्की ११ मा पढ्दैछे। म भन्दा अग्ला-अग्ला छन्।

अहिले पुरानो फोटोहरू हेरेर उनीहरूलाई हेर्दा आफूलाई नै ‘मैले पाएको हो र’ भन्ने लाग्छ। जीन्दगी भनेको सबै कुरा परिवर्तित हुने नै त रहेछ। सबै कुरा छोडिँदै जाने रहेछ। अचम्म रहेछ यो संसार त! हामीले पनि धेरै कुरा छोड्यौँ। उनीहरूले पनि आफ्नो बचपन छोडिसक्यो, समय त फुत्तै जाने रहेछ। धमाधम बच्चा हुर्किए।समय सक्केको पत्तै भएन।

दुई छोरीको बीचमा बस्न पाउँदा एकदम आनन्द लाग्छ मलाई। मेरो साथी, भरोसा अनि सपना। आमाको जिम्मेवारी धेरै रहेछ। केहि बिर्सने नसक्ने पीडाबीच जिन्दगीभरको सुखद् अनुभव। उनीहरू हिँड्न खोज्दाको लडाइँ, किताब च्यात्दा, उनीहरूको झगडा हुँदा पनि निकै रमाइलो लाग्थ्यो। मलाई त अहिले पनि उनीहरूसँग रमाइलो लाग्छ। उनीहरूको कुरा सुन्छु। मेरो कुरा सुनाउँछु।

उनीहरूले गर्दा नै मैले आफ्नो करिअर पनि अघि बढाएँ। उनीहरुके गर्दा घरमा सम्बन्ध झन् प्रगाढ भयो। उनीहरू पनि निकै घुलमिल छन्। अहिले त उनीहरूले यसो गर्नु, यो लगाउनु भन्छन्। उनीहरुको हेरचाह पनि खुब रमाइलो लाग्छ। कहिले घर ढिला पुगेँ भने ‘यो ल्याइदिस्यो न’ भन्छन्। कहिले कुनै कार्यक्रममा गएँ भए उनीहरूले नै तयार पनि गरिदिन्छन्।

अब दुवै छोरीहरूलाई जसरी हुन्छ आफ्नो खुट्टामा उभिनका लागि सकेको सबै गर्छु। जन्माउनभन्दा हुर्काउन गाह्रो छ भन्छन्। तर, जन्माउन पनि गाह्रै छ। त्यो समय सीमित हुने भएर चैँ त्यस्तो भनेको भन्ने हुनसक्छ। अनि हुर्काइ भनेको त हाम्रो आमालाई अहिले पनि हामी सानै लाग्छ। त्यस्तै रहेछ। सधै उनीहरूलाई साथ दिन चाहन्छु। आमा बन्न निकै गाह्रो छ। धेरै कुरा त्याग्नुपर्छ। आफूलाई बच्चाहरूमा नै समर्पित गर्नुपर्छ।

आफू आमा भएपछि आमालाई पनि कति गाह्रो भयो होला भन्ने लाग्यो। अहिले पनि सोच्दा आमाले हामीलाई कसरी हुर्काउनुभयो होला भन्ने लाग्छ। अनि अब त आफू पनि परिपक्व भएछु जस्तो लाग्छ। अब ज्वाईं, नातीनातिना सम्मको सोचाइ आउँछ। उनीहरू खुशी छन्।

मातृत्व भनेको चैँ आमाहरू छरिएर, पोखिएर संसार भरिने रहेछ। यो त सबले अनुभव त गर्न पाउनुपर्छ। मातृत्व अनुभव गर्न पाएन भने जीन्दगीमा धेरै कुरा गुमाउँछ जस्तो लाग्छ। मलाई त म आमा भएपछि आफू झन् सुन्दर लाग्न थालेको छ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२४ भदौ, २०८०, १९:५५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।