सम्पादक उर्मिलाको प्रसव पीडा र खुसी : अति भयो, म त बच्चा खसाल्ने भनेर गएँ तर मनले मान्दै मानेन

सम्पादक उर्मिलाको प्रसव पीडा र खुसी : अति भयो, म त बच्चा खसाल्ने भनेर गएँ तर मनले मान्दै मानेन

उर्मिला यादव रुपन्देही खबरकी प्रबन्धक तथा कार्यकारी सम्पादक हुन्। लामो समय रेडियो पत्रकारितामा सक्रिय उनी दुई वर्षदेखि कार्यकारी सम्पादकको भूमिकामा छिन्। आठ वर्ष अघि रेडियो समावेशीमा भोजपुरी समाचार वाचीकाबाट पत्रकारितामा पाइला चालेकी उनले यहाँसम्म आइपुग्दा निकै सङ्घर्ष गरिन् ।

नवलपरासीको सुनवलदेखि बुटवल  जंगलको बाटो साइकल चलाएर फिल्ड रिपोर्टिङ गर्न गएको उनले बिर्सेकी छैनन्। मधेसमा अझै पनि छोरीलाई घरमै सीमित गर्ने खराब  चलन हटिसकेको छैन। त्यसबेला उनले एसएलसी सक्किने बित्तिकै पढाउने काम पनि गरिसकेकी थिइन्। सात सय रुपैयाँमा पढाइरहेकी उनले ३५ सय रुपैयाँसम्म पढाएर कमाउँथिन्। तर रेडियोमा भने बिना तलब काम गरिन्।

बेतलबी रेडियोमा काम गर्दागर्दै अर्को स्थानीय रेडियोले उनलाई तलब दिएर काम  गर्न प्रस्ताव गर्यो। उनले धेरै माग पनि गरिनन्। ३५ सय रुपैयाँ दिने भए, पढाउने काम छोडेर फुल टाइम रेडियोमा काम गर्न आउने भनिन्।

बिहानको समाचार पढेर दिउँसो रिपोर्टिङमा जान्थिन्। अनि एकै पटक राति आठ बजेको समाचार पढेर घर फर्किन्थिन्। छोरी भएर राति घरमा आएको भनेर टोलमा र घरमै पनि उनले धेरै सुन्न पर्यो। तर उनी भने आफ्नो काममा रमाइरहेकी थिइन्। बिस्तारै नेपालीमा समेत समाचार वाचन गर्न थालिसकेकी थिइन्।

स्नातक पछि उनी लोक सेवाको तयारी गर्दै थिइन्। एक महिना काठमाडौँ पनि बसिन्। तर रेडियो पत्रकारितामा उनले स्थानीय रेडियोबाट समुदायमा अलग छवि बनाइसकेकी थिइन्।

त्यत्तिकैमा उनको बिहेको कुरा चल्यो। उनले बिहे नगर्ने भने पनि उनको बुबाले अगाडी नै उनको हुनेवाला श्रीमानलाई दाइजो स्वरूप एक लाख रुपैयाँ समेत बुझाइसकेका थिए। 'राम्रो जागिर' भनेर नेपाल प्रहरीको जवानसँग उनको जबरजस्त बिहे गराइयो।

अहिले उर्मिला एक सन्तानकी आमा पनि हुन्। तर श्रीमानसँग भने बिहे भएकै समयदेखि तालमेल मिलेन। उनीहरू छुट्टिएको पनि पाँच वर्ष भइसक्यो। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आमा बन्न मन नहुँदा नहुँदै आमा बन्नुपरेको पीडा अनि आमा भइसकेपछिको खुसी सुनाइन्।

OOO

रहरै रहमा रेडियोमा पुगेँ। त्यहाँ सबै काम गर्नुपर्थ्यो। कामको चापले म त दुब्लाएको थिएँ। मेरो स्नातक सकिसकेको थियो। मधेसमा हुर्केको छोरी भनेर छिट्टै बिहेको तयारी थाल्छन्। मलाई पनि बुबाले निकै केटा हेर कि हेर भन्नुभयो। म काठमाडौँमा थिएँ त्यो बेलामा। अनि बिहे नगरे पनि केटा चैँ हेर्दिम्ला भनेर घर फर्किए। केटा नेपाल प्रहरीमा काम गर्ने रहेछन्। प्रहरी भए पनि मलाई त मन परेन।

पत्रकारिता गरेको मान्छेलाई प्रश्न गर्न के गाह्रो भयो र! मैले उनीसँग भेट्छु, कुरा गर्छु भनेँ। सानीमाकोमा भेट्ने भनेर पनि आए। मैले उनलाई केही प्रश्नहरू गरेँ। तर उनले जवाफ चित्त बुझ्दो दिएनन्। अलि सङ्कुचित सोच भएको व्यक्ति रहेछन् भन्ने त्यसबेलानै लागिसकेको थियो।

पछि सानिमाहरूले केटाकै अगाडी 'केटा कस्तो छ ?' भनेर सोध्नुभयो। उनकै अगाडि त नराम्रो छ के भन्नु भनेर मैले ठिकै छ भन्दिएँ। उहाँहरूले त मन पराएछ भन्ने सोच्नु भएछ।

घर आएर फेरी सल्लाह हुन्छ होला, केटा राम्रो छैन भन्दिन्छु भनेर फर्किएँ। तर कसैले पनि सोध्नु भएन। मैले त सिधै क्यान्सिल भएछ भन्ने सोचेँ।

पछि बुवा घर आउँदा मिठाइ लिएर पो आउनु भयो। उल्टै दाइजो भनेर एक लाख रुपैयाँ पनि दिइसक्नु भएछ। 'राम्रो जागिर' भनेर बुवाले त्यही बेला नै टिका लगाएर आउनु भएको रहेछ। मलाई सोध्न पर्छ भनेर उहाँहरूले सोच्नु पनि भएन। मलाई त सही नसक्नु भयो। अनि त्यो केटासँग कुरा गर्छु भनेर नम्बर मागेँ। कुरा पनि गरेँ।

अलि लामो कुरा गरेपछि उसको मानसिक स्वास्थ्यमा समस्या छ जस्तो लाग्यो। योबारे घरमा कुरा गरेर बिहे गर्दिन भनेँ। तर उल्टै सबैले मानसिक समस्या भए प्रहरी कसरी हुन्छ भनेर उल्टो प्रश्न गर्नुभयो।

अब मलाई कसरी थाहा हुन्छ, उ कसरी प्रहरी भयो? मैले उनलाई पनि सिधै म बिहे गर्दिन भनेको हो। मेरो अगाडि जबरजस्ती बिहे गर्दिन भनेका थिए। तर घरमा उल्टै अर्को दाइजो समेत मागेका रहेछन्। सिक्री के-के चाहियो रे।

घरमा पनि अब अगाडिको पैसा फिर्ता नगर्ला भन्ने पिर परेछ। मैले बिहे नगर्ने भनेको त केही न कामको सोच्नुभएछ। बुवा र सानो बुवाले त उल्टै मलाई पो गाली गर्न थाले।

बुवासँग एक महिना नबोलेको पनि हो। तर, प्रहरी भनेर उहाँहरू सबै मक्ख पर्नु भएको रहेछ। एक त बिहे गर्न मन थिएन, उल्टै अर्को दाइजो मागेको देखेर मलाई रिस उठिसकेको थियो। उनीहरूले त 'आजकलको जमानामा पनि दाइजो नलिई कसले बिहे गर्छ' भनेर पो तर्क गरे। 

अहिले जस्तो भए मैले झन् ठुलो प्रतिरोध गर्थे होला। मलाई त अझै पढ्नु थियो। आफ्नो अस्तित्व बनाउनु थियो। तर जुन दिन मेरो लोक सेवाको परीक्षा थियो, त्यही दिन मेरो बिहे भयो।

लोकसेवामा सधैँको लागि ढोका बन्द भयो। मैले पढाइलाई निरन्तरता दिन चाहेँ। तर बुहारी भएपछि त म घुँङघटमै सीमित भएँ। घरबाट बाहिर समेत निस्किन पाउँदिन थिएँ।

श्रीमानसँग बिहे भए देखिनै तालमेल मिलेन। 'काली, दुब्ली, मोटी नै छैन, दाइजो पनि नल्याएकी' भनेर अनेक भन्थे।

माइती पक्षले सिक्री नदिने अडान लियो। मैले सिक्री दियो भने म लाउँछु भने। मानेनन्। त्यसपछि सधैँ जसो घरमा झगडा भइनै रह्यो। म पुरै घरेलु कामदार भएको थिएँ।

बिहे भएको छ महिनामै म गर्भवती भएँ। मनमुटावबीच गर्भवती हुँदा नराम्रो लाग्यो। श्रीमान् आफैले पनि यो बच्चा चाहेको रहेनछन्।  धेरै नै मानसिक तनाव भयो। केही वर्ष त्यत्तिकै चलेको भएँ, सायद म पागल हुन्थेँ होला।

त्यसबेला श्रीमानको काम गुल्मीमा थियो। म पनि केही समय उनीसँगै बसे। तर त्यहाँ पनि मैले घुँङघट भने लगाइराख्न पर्थ्यो। गर्भवतीको समयमा म चिसो भुईँमा सुत्नुपर्थ्यो। यो मान्छेले गर्दा म घर न घाटको हुन्छु भनेर त्यसबेलै लागेको थियो।

श्रीमानसँग सधैँ बसे पो बच्चा हुन्छ भन्ने लाग्थ्यो। तर एकदिन मै बच्चा बसेछ। श्रीमानले पनि नचाहेको अनि आफ्नै भविष्य सुरक्षित नभएको भनेर मैले बच्चा खसाल्ने सोचेँ।

महिनावारी भइरहेको थिएन। मलाई महिनावारीको समयमा समेत निकै गाह्रो हुन्छ। त्यसबेला कहिलेकाहीँ महिनावारि नै नभए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसबेला पनि महिनावारी रोकेको भएर म त खुसी पो थिएँ। तर दुई महिनासम्म पनि नभए पछि चैँ चेक गर्न गएँ। १२ हप्ताको गर्भ भइसकेको रहेछ।

लगत्तै मैले श्रीमानलाई भनेको थिएँ, उनले सिधै मलाई चाहिँदैन भने। अनि मैले पनि मेरो केही गहना बेच्ने अनि बच्चा खसाल्ने भन्ने विचार गरेँ। तर राति सोच्दासोच्दै माया पो लाग्न थाल्यो।

उसलाई जन्म समेत दिएको थिइन। तर माया लाग्न थालिसकेछ। पहिलो पटक आमा भनेको के हो भनेर थाहा पाएको त्यही बेला हो। म त खसाल्छु भनेर गुल्मीबाट बुटवल आइसकेको थिएँ। तर सकिन।

अंश दिन पर्छ भनेर नागरिकता पनि बनाइदिन मानेका थिएनन्। बाबु जन्मिएपछि प्रहरीले १२ हजार पाउने रहेछन्। त्यही लोभले गर्दा उनीहरूले नागरिकता चैँ बनाइदिए। त्यसले गर्दा छोराको जन्मदर्ता पनि बन्यो। नत्र अहिलेसम्म बन्दैनथ्यो होला।

गर्भवती भएपछि केही समय माइतमै बसेँ। त्यहिबेला मलाई फेरी रेडियोमा बोलाइसकेको थिएँ। तर मलाई काम गर्न दिएनन्। 'अर्कोसँग पोइल जान्छु' भनेर कचकच गर्न थाले। श्रीमान् र घरको टर्चरले गर्दा म भित्र अर्को व्यक्ति हुर्किँदै छ, भन्ने समेत ख्याल गर्न पाइन।

पछि उनीहरूले फेरी घर नै लागे। मलाई भाग्न मन लाग्थ्यो। तर आँटै गर्न सकिरहेको थिइन। बुवाले पनि किन फर्केर आएको भनेर मलाई नै गाली गर्नुहुन्थ्यो। अनि यता घरमा चैँ म भाग्ला भनेर निगरानी नै गर्न थाले।

६ महिनाको गर्भवती थिएँ। पेट देखिन थालेको थियो। तर मलाई कसरी कन्ट्रोल गर्ने, भन्ने बाहेक घरका कसैले ध्यान दिएनन्। त्यसबेला म आफैँले आफैँलाई ध्यान दिनुपर्छ भन्ने समेत बिर्सिएँ।

न खान पाउनु, न लाउन पाउनु। पाँच रुपैयाँको स्याम्पु किन्न पनि श्रीमानको अपशब्द सुन्न पर्थ्यो। गर्भवतीको समयमा झन् त मानसिक फेरबदल भइराख्ने बेला, त्यतिखेर त सहनै सकिन। भागेर माइत आएँ। उनीहरूले त प्रहरीमा उजुरी पो दिएछन्।

बुवा पनि किन खबर नगरी आएको भनेर मलाई नै गालिगर्न थाल्नुभयो। त्यसबेला त गर्भवतीको कुन चरणमा छु भन्ने समेत थाहा भएन। अगाडि देखि नै स्याहार, माया पाएको भए पो!

यताउता गर्दागर्दै मेरो गर्भवती समय सकियो भन्दा पनि हुन्छ। भन्दा नराम्रो सुनिएला, तर गर्भवतीको समयमा म वैवाहिक बलात्कृत समेत भएँ। म त जिउँदो लास समान भएको थिएँ।

म त्यत्ति पढेको छोरी, मिडियामा काम गरेको मान्छेले त त्यतिसम्म भोग्नु पर्यो भने अझै मधेसको धेरै पढ्न नपाएको छोरीहरूको हालत कस्तो होला!

सन्तान जन्मिँदासम्म पनि मेरो तौल ५० केजीको पनि भएको थिएन। मन भुलाउन यसो मोबाइल हेर्न थाल्यो भने बच्चा बिग्रिन्छ भनेर मोबाइल पनि खोसिन्थ्यो। डेलिभरीको समय नजिकिँदै गर्दा बल्लबल्ल एक पटक आफैँ चेक गर्न गएको थिएँ। त्यसबेला बच्चाको तौल कम छ भने। नहोस् पनि कसरी, आमाले एक छाक राम्रो खाना खान पाएको थिएन!

आफूलाई कत्ति धेरै खानेकुरा खान मन लाग्थ्यो। तर हुँदैन थियो। के गर्ने! श्रीमानले भिडियो चेक गरेर आएको सोचेछन्। उनले के रहेछ भनेर सोधे। मैले छोरी छ भन्दिएँ। उनी एक हप्तासम्म बोलेनन्।

मलाई त झन् पो डर लाग्न थाल्यो। मैले छोरी नहोस् भनेर प्रार्थना गरेँ। छोरी पाएको भए, मेरो हालत झन् के हुन्थ्यो भनेर म अन्दाज पनि गर्न सक्दिन।

बच्चा जन्मिने समयसम्म मैले आफैँ खाना बनाएँ, खुवाएँ। त्यस बखत रातभर व्यथा लाग्यो। घरीघरी पिसाब लाग्थ्यो। श्रीमान् सँगै थिए। तर यसलाई के भइरहेको छ भनेर सोध्दा पनि सोधेनन्।

घरभरि मान्छे थिए। तर कसैले पनि मेरो वास्ता गरेनन्। बिहान हुने बित्तिकै म खाना पकाउन सक्दिन मलाई गाह्रो भयो भने। कुनै प्रतिक्रिया नपाएपछि आफै स्वास्थ्य चौकीमा हिँडेर गएँ। अब व्यथा लाग्न थाले छ, हस्पिटल जानु भन्यो।

मलाई निकै गाह्रो भइसकेको थियो। भैरहवा जान एम्बुलेन्स बोलाऊ भनेको, आफ्नो मान्छेलाई बोलाउँदा पैसा पर्दैन भनेर गाउँको मामालाई पर्खेर पो बस्ने भने। म त भुईँमै थचक्क बसेँ। बान्ता भइरहेको थियो। त्यस्तो बेला बान्ता भयो भने खतरा मान्ने रहेछ। लगे लान्छन्, नलागे जे होला होला भनेर म त भुईँमै सुतिदिए।

मेरो बच्चालाई केही भयो भने तिमीहरूलाई छोड्दिन भने। दुई घण्टा पछि मामा आउनुभयो। बल्ल मलाई भुईँबाट उठाए।

हस्पिटल पुग्दासम्म दुई वटा घर खुली सकेको रहेछ। नर्मल डेलिभरी नै भयो। त्यहाँको डाक्टर र नर्स पनि मलाई त छुच्ची नै लाग्यो। आफूलाई यस्तो गाह्रो भएको बेला करायो भनेर 'हान्दिम हान्दिम' भन्थे।

मेरो सन्तानको रूपमा छोरा जन्मियो। उसको तौल एकदम कम थियो। गोलो, गोरो, सानो थियो बाबु। तर २० मिनेट सम्म उ रोएको थिएन। मलाई त्यसबेला निकै डर लागेको थियो। धन्न केही भएन। स्तनपान पनि त्यही गराएँ।

घर फर्काए। म माइत जान चाहन्थेँ तर छ-सात महिनासम्म मलाई माइत पनि जान दिएनन्। घरमै पनि राम्रो सुत्केरी स्याहार भएन। हस्पिटलले पाँच सय भत्ता दिएको थियो, धन्न त्यसले फलफूल एक छाक चैँ दिए।

प्रहरीले सुत्केरी भत्ता भनेर १२ हजार र बिदा पाउने रहेछ। त्यो १२ हजार लिन मलाई तु, का तु सिडिओ कार्यालय लागेका थिए। नत्र अगाडि त अंश दिनुपर्छ भनेर बिहे दर्ता र मेरो नागरिकता समेत बनाउन मानेका थिएनन्।

३५ दिनसम्म सुत्केरी बार्यो। खाना बनाउन नदिए पनि भाडा माझ्ने, लुगा धुने सबै काम गर्थेँ। तर पानी छुन नहुने भएपछि उनीहरूकै भर पर्न पर्थ्यो। त्यसबेला मैले राम्रोसँग पानी समेत खान पाइन। दूध पनि कम आउँथ्यो।

सँगै बस्न सक्ने अवस्थै भएन। अनि छुट्टिए। तर यो निर्णय गर्न अलि ढिला भयो कि जस्तो पनि लाग्छ।

अहिले बाबु पाँच वर्षको भयो। मैसँग छ। पढ्दै छ।

सुत्केरी बिदामा एक महिना श्रीमान् घरमै भए पनि म सँग एक शब्द पनि बोलेनन्। यसो बाबु सँग खेलम, भन्ने त लाग्नु पर्ने नि। उनले त त्यति व्यवहार पनि देखाएनन्। त्यसबेला उनी खासमा त्यही १२ हजारको लोभमा मात्र सँगै बसेका रहेछन्।

सुत्केरीको अवस्थामा मलाई साइकलमा लगेको अहिलेसम्म बिर्सिएको छैन। बिहेको साडी बाहेक म सँग अर्को कपडा थिएन। सिडिओ कार्यालयमा जाँदा त्यही लगाएर गएको थिएँ।

त्यसबेला साइकलमा अल्झेर त्यो पनि च्यात्तियो। म त लडेको पनि हो।

बाबुलाई बचाउन सोच्दा मेरो हातमा पुरै घाउ भयो। साडीभरि कालो थियो। त्यै पनि उनले सिडिओ कार्यालय लगेर सबै काम गरेरै छाडे।  फर्किने बेला त मलाई होटेल पो जाम भन्थे। सुत्केरी भएको एक महिना भएको छैन। मलाई त सही नसक्नु भयो। म फेरी भागेर माइती आएँ।

त्यसपछि लामो समयसम्म घरकाले मलाई खोज्दा पनि खोजेनन्। मैले यतै फेरी रेडियोमा काम सुरु गरेँ। बाबु काखमा बोकेर समाचार पनि पढ्थेँ। रिपोर्टिङमा पनि जान्थेँ।

एक दिन अचानक उनी भेट्न आए। डर-धम्की देखाए। त्यसबेला त मलाई मार्ने नै भनेर आएका रहेछन्। बाइकले हानेर मेरो खुट्टा नै भाँच्चिएको थियो।

नजिकैको प्रहरी बिटमा नगएको भए म त्यसबेला सायद बाँच्ने थिइन। यति धेरै कुरा छन्, तर राम्रो भन्न लायक एउटा पनि छैन।

गर्भवती समयदेखि सुत्केरी बेलासम्म मात्र नभएर लामो समय मलाई निकै तनाव भयो। धेरै हिंसाहरू पनि भोग्न पर्यो। अहिले सामाजिक सञ्जालमा गर्भवती, मातृत्व उत्सव मनाएको देख्दा मैले त्यो छुटाएछु भन्ने लाग्छ।

हामी छुट्टिएको पाँच वर्ष हुन लागिसक्यो। अब छोरा सँगसँगै कामलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्नु छ।

रेडियोमा काम गरिराखेको मलाई अनलाइन एकदम नयाँ समेत लाग्यो। तर गर्दै जाँदा जानिने रहेछ। अहिले मेरो अन्डरमा करिब दर्जन जति व्यक्ति काम गर्छन्। स्थानीय अनलाइनमा सम्पादक भएर काम गर्न पाउँदा खुसी नहुने कुरै भएन।

अझै पनि बाबु लिएरै धेरै ठाउँमा रिपोर्टिङ गर्न जान्छु। कार्यक्रमहरूमा भाग लिन्छु। बाबु र पत्रकारिता नै अहिले मेरो जिउने आधार भएको छ। 

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२५ चैत, २०८०, २२:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।