पत्रकार सुजताको प्रसव पीडा र खुसी : जति नै मनमुटाब भए पनि प्रसवको बेलामा मनले श्रीमान् खोज्ने रहेछ

पत्रकार सुजताको प्रसव पीडा र खुसी : जति नै मनमुटाब भए पनि प्रसवको बेलामा मनले श्रीमान् खोज्ने रहेछ

सुजता लिम्बूले पत्रकारिता गरेको करिब एक दशक हुन लाग्यो। उनी विराटनगरबाट थाहाखबरमा सक्रिय छिन्। छापा माध्यमबाट सुरु गरेको पत्रकारिता अहिले अनलाइनसम्म पुर्याउँदा उनी आर्थिक रूपमा चुनौतीपूर्ण भए पनि लेख्न सक्ने, खट्न सक्ने पत्रकारको भविष्य राम्रो देख्छिन्।

सुजाताले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा साटेको अनुभव

000

मलाई त्यो सम्झनामा फर्किनै मन लाग्दैन। तर ती सबै अवस्था नभोगेको भए आज जुन ठाउँमा छु, यहाँ पनि हुने थिइन जस्तो लाग्छ। नानी च्यापेर रुँदै लोग्नेको अफिस धाउनु पर्दाको वेदना कसरी सुनाऊँ!

हाम्रो पूर्वमा रेडियोको अलग्गै शाख छ। रेडियो सुन्दा सुन्दै मलाई पनि त्यसरी नै रेडियोमा बोल्न मन भइसकेको रहेछ। खाँदबारी एफएम सामुदायिक रेडियो सञ्चालनमा आएपछि काम गर्न मन लाग्यो। तर अवसर मिलिरहेको थिएन। रेडियोमा काम गर्ने साथीहरू त थिए तर पत्रकारिता भनेको थाहा थिएन। त्यसबेला मेरो बिहे भइसकेको थियो। इच्छा मरिसकेको थिएन।

मलाई प्रहरी हुन पनि मन थियो। तर मिलिरहेको थिएन। प्रहरी हुने इच्छालाई पनि जोगाइरहेकै थिएँ। तर चाहेर पनि पढाइलाई निरन्तरता दिन सकिन। प्रहरी सङ्गठनमा जान सिपाहीमै भए पनि भिड्छु भनेर बसिरहेको थिए।

बिहे भएको अर्को वर्ष नै पहिलो सन्तान भयो। अनि दोस्रो सन्तान पनि भएपछि त मेरो सबै सपना नै मर्यो। सङ्खुवासभा माइती, अनि पाँचथर चैं घर। श्रीमान् पनि प्रहरीमै थिए। उनीसँगै दमक पुगेँ। तर धेरैजसो म माइतीमै हुन्थेँ।

दुवै सन्तान माइतीमै जन्मिएका हुन्। ठूलीको पालोमा अस्पताल गए पनि सानीको पालोमा त घरमै जन्माएको हुँ।

बिहेहुँदा पनि म त्यति धेरै खुसी थिइन। त्यै भएर बच्चा हुन लाग्यो भन्दा पनि खुसी हुन सकिन। म आफै केटाकेटी जस्तो थिएँ।

म आमासँग भन्दा बढी बाबासँग नजिक छु। त्यै भएर बाबालाई कुनै पनि कुरा भन्न अप्ठ्यारो भएन। म गर्भवती हुँदा बाबालाई नै भनेको हो। महिनावारी हुँदा पनि पहिला उहाँलाई नै भनेको हो।

चार दिन सम्म मेरो तल्लो पेट दुखिरहेको थियो। त्यो बेला श्रीमानको पोस्टिङ विराटनगरमा थियो। भर्खर बिहे भएको बेला त श्रीमान् सँगै थिएँ। आमा एक महिना अगाडिदेखि आउनु भएको थियो। आमाले सबै हेर्नुभयो। मलाई लगातार दुखे पछि के भएको भनेर आमालाई सोधेँ। उहाँले व्यथा लागेको भन्नुभयो। अनि हामी रिक्सामा अस्पताल गयौँ।

म यति धेरै पिडा सहन सक्ने रहेछु कि! कस्तो दुखिरहेको थियो। तर बच्चा जन्मिने बेला भइसक्दा पनि डाक्टरले मलाई के भइरहेको छ, भनेर थाहा पाएनन्।  नर्मल नै छोरी जन्माएँ। बच्चा जन्मिसके पछि म धेरै कमजोर भएछु। चार घण्टासम्म आँखा उघारिन होला।

पहिलो पटक गर्भवती हुँदा केही नयाँपन नै लागेन। अस्पतालमा त नानीले नानी पायो भनेका थिए। त्यति सानी थिए म आफैँ। बच्चा नदेखेसम्म त वास्तै लागेको थिएन।

आँखा खुल्दा अगाडि छोरी राखेको रहेछ। बच्चा जन्मिएपछि छातीमा राखिदिने रहेछन्। त्यसबेला चैं ओहो! भन्ने लागेको थियो। देखेपछि बिछट्टै माया पो लाग्ने रहेछ। नानी कस्तो 'क्युट'। कोरियन जस्तो, कालो कपाल भएको।

मलाई त त्यो बेलामा आफैंले पाएको छोरी भन्दा मेरो चल्ने गुडिया जस्तो लाग्थ्यो। गुडियालाई सिँगारेर खेलिरहेकै हो क्यार। उसलाई एकदम प्रेमसँग आफैंसँग राखौँ भन्ने हुन्थ्यो। कसैले केही गर्ला कि भनेर भाडा धुँदा पनि आउँदै, उसलाई हेर्दै फर्कँदै गर्थेँ।

श्रीमान् प्राय बाहिरै। उनले एकचोटी १५ सय पठाएको चैं याद छ। निकै समयपछि उनी हामीलाई भेट्न आएका थिए। त्यसबेला म फेरि गर्भवती भएछु। तर मलाई दोस्रो पटक आमा बन्नु थिएन। मेरो सानी छोरीले थाहा पायो भने नराम्रो मान्छ होला भन्ने लाग्थ्यो।

उसको बाबा र मेरो सम्बन्ध धरमर भइरहेको छ भनेर बच्चाहरूलाई मैले लुकाइन। सँगै जिन्दगी जान्छ कि जाँदैन भन्ने धेरै अगाडि देखिनै शङ्का थियो। मलाई पनि जागिर खानु थियो।

पढाइ नभए पनि प्रहरीमा पहिला सिपाही हुन्छु अनि प्रमोसन हुँदै जान्छु भन्ने लाग्थ्यो। तर त्यो बेलामा श्रीमानले आवेदनै दिन दिएनन्। एउटा कागजात चाहिएको थियो। त्यसका लागि उनले सिफारिस दिनुपर्ने रहेछ। पाइन।

पहिलो नानी गर्भमै हुँदा आफैंमा निर्भर हुनुपर्छ भन्ने लागिरहेको थियो। श्रीमानको आसमा बस्नु हुँदैन भन्ने थियो। तर दोस्रो सन्तान पनि गर्भमा आइसकेको चाल पाउँदा त सबै सपना टुटे जस्तै भयो।

नानीले अहिले यो थाहा पाउँदा चित्त दुख्छ होला। तर म आत्मनिर्भर हुन चाहन्थेँ। दुई वटा बच्चा हुर्काउँदै काम गर्न सक्छु भन्ने आत्मबलै थिएन। मैले गर्भपतन गराउने सोच बनाएँ। बाबालाई भने। उहाँले मान्नु भएन। बरु हामी नै हेर्छौँ नगर भन्नुभयो।

गर्भवती हुँदा खानुपर्ने भिटामिन खान, जँचाउन पनि म सँग पैसा थिएन। मेरो भाइले दिन्थ्यो। श्रीमान् साथमै हुँदा पनि दुवै छोरीको समयमा उनी म सँग साथमा थिएनन्। अहिले यसो सोच्दा म त धेरै अघि देखि नै 'सिङ्गल मदर' रहेछु जस्तो लाग्छ।

कान्छी छोरीको समयमा पनि मलाई त्यति नै समय व्यथा लाग्यो। त्यसबेला त अझ हिँडेरै अस्पताल गएका थियौँ। प्रसवको समयमा आमा बा जो साथमा भए पनि श्रीमानको अभाव हुने रहेछ। सानी छोरी जन्मने बेलामा पनि उनले सुत्केरी बिदा लिएनन्। उनी त्यसबेला सप्तरीमा थिए। तर आएनन्।

सुत्केरी समयमा एक जना आन्टी आउनुभएको थियो। एकदम राम्रोसँग स्याहार गर्नु भयो। तर त्यसबेला श्रीमान् नजिक भएको भए हुन्थ्यो भन्ने लागिरह्यो। सम्बन्ध जस्तो भए पनि त्यो बेलामा मैले श्रीमानको अभाव महसुस गरेँ।

श्रीमान-श्रीमती जति झगडा परे पनि, सम्बन्ध जस्तै खराब भए पनि गर्भवतीको समय, प्रसवको समय र सुत्केरीको समय श्रीमान् साथमा भए हुन्थ्यो भन्ने लाग्ने रहेछ। त्यसबेला छुट्टी सकेको पनि थिएनौ। तर सँगै भएजस्तो पनि  भएन।

सानो छोरीले डेढ वर्ष भएपछि बल्ल आफ्नो बाउको अनुहार देख्न पाइन्। ठूली छोरी त मामाघरमै हुर्कियो। सानीले अलि बढी मसँग समय बिताउन पाइन्।

त्यसबेला म आफै सानो भएर हो कि खै! स्तनपान पनि राम्रोसँग गराउन पाइन। दुवै छोरीलाई मेरो दूधले पुगेन। आमाले बिस्कुट घोलेर खुवाउनुहुन्थ्यो। त्यै भएर पनि नानी एक/दुई महिनाको हुँदै म आमा बालाई छोडेर निर्धक्क भएर काम खोज्न जान्थेँ।

श्रीमान-श्रीमतीको झगडामा बच्चाहरू नराम्रोसँग फसे। आमा बाउ भन्ने भए पनि आमा बाउको माया कस्तो हुन्छ भन्ने थाहै हुन पाएन उनीहरूलाई। अहिले पनि उनीहरू म सँग छैनन्। दुवै जना बाबासँग बस्छन्। कि आमा, कि बाबा भन्ने जस्तो अप्ठ्यारो भएको छ, दुवैलाई। नानीहरूसँग कुरा भइरहेको हुन्छ। तर आफ्नो सन्तान आफूबाट टाढा छ भन्ने त खट्किरहने रहेछ। कारण जे भए पनि मैले जस्तै उनीहरूले पनि राम्रोसँग बालापन बिताउन पाएनन् भन्ने लाग्छ।

अहिले दुवै किशोरावस्थामा छन्। यसबेला उनीहरूले आमाको अभाव महसुस गरिरहेको छन्। तर मैले साथ दिन सकिरहेको छैन। त्यै भएर म त्यस्तो असल आमा पनि बन्न सकिन कि जस्तो लाग्छ।

मेरो पनि बाध्यता छ। अहिले विराटनगरमा मेरो कोही छैनन्। ल छोरीहरू हेरिदेऊ है भन्न पनि सक्दिन। उनीहरूले पनि आज यस्तो भयो/यस्तो गरेँ भन्न साथमा आमा छैन। सम्झँदै नराम्रो लाग्छ। 

अहिले जसोतसो आत्मनिर्भर भएको छु। तर यसको लागि मैले छोरीहरूको माया नै दाउमा लगाएको महसुस हुन्छ। आमाहरूले आफ्नो सन्तानलाई माया पोखाएको जस्तै मलाई पनि मेरो छोरीहरूलाई माया पोखाउनु मन नभएको होइन नि। तर काम र सन्तानको हेरचाह दुबैलाई सन्तुलन गर्न मलाई निकै गाह्रो छ।

आफ्नो लागि केही गर्छु भनेर आँटे, तर सन्तानहरूलाई दिने माया, उनीहरूबाट मैले पाउने माया र उनीहरूको साथ चैं गुमाएँ।

श्रीमानको एक खालको यातना, असमझदारी सबै बिर्सियो भने त उनको परिवार एकदम राम्रो छन्। तर उनको परिवार र छोरीहरू हेरेर मात्र बसेको भए म कतै हराउँथे होला। एउटा सपना मरेपछि अर्को सपना देख्न धेरै गाह्रो हुने रहेछ।

मैले आफैंलाई बिर्सिएर उनीहरूसँग बसेको भए म आफैंमाथि अन्याय हुने थियो कि! अहिले धेरै नकमाए पनि आफ्नो खर्चका लागि अरूसँग माग्न त पर्दैन। आफूलाई खर्च  चल्ने पैसा आफै कमाउने गरेको छु। केहीलाई चिने/चिनाउने अवसर पाएको छु।

दुवै नानी लगभग आमाले हुर्काउनु भएको हो। मैले उनीहरूलाई सोधेको पनि हो, ‘मसँग बस्ने कि बाबासँग भनेर। उनीहरू मेरो अवस्था बुझ्न सक्ने भएछन्। 'तपाई एक्लै सङ्घर्ष गरिरहनु भएको छ। तपाईँको अवस्था हेर्दा तपाईँले सबै थोक छोडेर हामीलाई हेर्न लाग्नुपर्छ। तपाई आफ्नो काम गर्नु। आफ्नै बाबासँग जान लागेको त हो' भने।

त्यति भनेपछि मलाई पनि ढुक्क भयो नि। तर मैले उनीहरूलाई केही सिकाउनै पाएको छैन। उनीहरू आफ्नै ढङ्गबाट चलिरहेका छन्। बाआमाको झगडा देखेर आफै परिपक्व हुनुपरेको जस्तो लाग्छ।

सिक्दै पत्रकारितामा अगाडि बढिरहेको छु। पहिला मेरो समाचारले स्पेस पाउँदैनथे। केही काम नपाउँदा त ब्युटी पार्लर, कपडा सिलाई सिक्न पनि गएको थिएँ। तर मलाई त्यसको सामानहरू चलाउनै आएन।

कप्यूटर पनि कहिले चलाएको होइन। तर साथीले जेसुकै गर भनेर कम्प्युटर थमाइदिए पछि मैले दुई दिनमा अङ्ग्रेजी टाईपिङ्ग र चार दिनमा त नेपाली टाईपिङ्ग सिकेँ। उनीहरूले आफ्नो थेसिस टाइप गराउँथे। त्यसले हात बस्यो। बिस्तारै लेखाइमा रुचि बढ्दै गयो।

पत्रकारिता गर्न थालेको १० वर्ष भयो। खुसी नै छु। आफू भन्दा सिनियर हुन् या जुनियर सबैबाट सिकिरहेको छु। धेरै अगाडि बढ्ने सपना छ। मिहिनेत गरिरहेको छु।

जिन्दगीको यात्रा एक्लै गर्छु भनेर आँटेको छु। सकिन्छ होला नि !

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२७ फागुन, २०८०, २१:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।