वडा अध्यक्ष शान्ताको प्रसव पीडा र खुसी : छोरी जन्मिएको थाहा पाउँदा ‘यसले नि दु:ख पाउने भई’ भनेर दु:खी भएँ

वडा अध्यक्ष शान्ताको प्रसव पीडा र खुसी : छोरी जन्मिएको थाहा पाउँदा ‘यसले नि दु:ख पाउने भई’ भनेर दु:खी भएँ

शान्ता खनाललाई डाक्टरले दिएको डेलिभरीको समय एक हप्ता बितिसके पनि प्रसवको कुनै लक्षण देखा परेन। पहिला नै निर्जलीकरण देखिएको थियो। केही अप्ठ्यारो पर्ने पो हो कि! भनेर उनी अस्पताल पुगेर भर्ना भइन्। विवाह गरेको पाँच वर्षपछि सन्तान हुन लागेकोमा उनी खुसी थिइन्। नौ महिने गर्भ समय खुसीमै बित्यो उनको।

२०५० सालतिर अहिलेजस्तो अस्पताल गएपछि तत्काल अप्रेसन गरेर बच्चा निकाल्ने हतार गर्दैनथे चिकित्सक। प्राकृतिक रूपमै बच्चा जन्माउन पहिलो प्राथमिकता हुन्थ्यो। बच्चा र आमाको स्वास्थ्य जोखिम बढेमा मात्र अप्रेसनको तयारीमा लाग्ने चिकित्सक। उनलाई सकेसम्म प्रसव व्यथा लागोस् भनेर पर्खाइयो। पर्खँदा पनि नभए पछि सुई मार्फत व्यथा लाग्ने औषधि दिइयो।

एकैछिन अघिसम्म केही नभएको उनलाई औषधिको प्रभावले छोइहाल्यो। लगातार दश घण्टासम्म प्रसव पीडाले सतायो। तै पनि बच्चा जन्मिने छाँटकाँट देखिएन। अनि अप्रेसनको तयारी शुरू भयो।

उनलाई जब होस आयो तब छोरी जन्मिसकेकी थिइन्। होस आउने बित्तिकै छोरी भएको खबर सुनिन्। प्रसव वेदनाबाट मुक्त भएको उनी खुसी त भइन्, तर छोरी भन्नासाथ उनले पनि आफूले जस्तै प्रसव वेदना सहनु पर्ने सम्झँदा भने निराश भइन्।

०००

टोखा नगरपालिकाको पहिलो महिला वडा अध्यक्ष रहेकी उनी त्यो प्रसव क्षण सम्झँदा अहिले पनि झस्किन्छिन्। उनी वडा सदस्य हुँदै आफ्नो नगरपालिकाको पहिलो वडा अध्यक्षमा निर्वाचित भएकी हुन्। शान्ताको पुर्ख्यौली घर गोरखा भए पनि उनी धादिङमा जन्मिइन्। उनको बुवा पेशाले शिक्षक थिए। जागिरकै क्रममा धादिङ पुगेका थिए उनको परिवार। पछि उनीहरू चितवनमा बस्न गए।

शिक्षकको छोरी भए पनि ‘जेठी छोरी’ भएकाले उनले घरमा आमापछिको नेतृत्व भूमिका निभाउनुपर्यो। नौ वर्षको उमेरसम्म औपचारिक शिक्षाबाट टाढा हुन पर्यो। आमाले सधैँ उनलाई पनि पढाउनुपर्छ भनिरहिन्। १४ वर्षको उमेरमा उनी कक्षा ६ मा भर्ना भइन्।

एसएलसीसम्म विना रोकतोक पढाइ अगाडि बढ्यो। तर, घरमा बहिनीहरूकै बिहे गर्न ढिला भयो भन्दै उनको विवाहको कुरा चल्यो। उनको अहिलेका श्रीमान् पनि त्यो बेलामा शिक्षासँग सम्बन्धित काम गर्थे। विवाह भयो। तर, विवाहपछि उनको पढाइ रोकिएन।

पद्मकन्या क्याम्पसमा पढिन् उनले। अनि विवाहको पाँच वर्षपछि उनको पहिलो सन्तान भयो। आमा भए पनि उनको राजनीतिक यात्रा रोकिएन। पहिला आमाले राजनीति गरेको मन नपराउने छोरीलाई अहिले भने उनको राजनीतिक यात्रा मनपर्छ।

उनले उकेराको प्रसव पीडा र खुसी स्तम्भका लागि साटेको उनको प्रसव समयको पीडा खुसी उनकै शब्दमा :

000

मेरो १८-१९ वर्षकै उमेरमा विवाह भएको हो। अहिले हेर्दा छिटो विवाह गरेजस्तै लाग्छ। तर, २०४५ सालतिर छोरीको उमेर १८/१९ भनेको विवाहका लागि ढिला भएको थियो।

म पछि अर्को दुईजना बहिनी पनि थिए। मैले विवाह नगर्दा उनीहरूकै बिहे गर्न ढिला भयो भन्नेसम्म कुरा निस्किएपछि बुवा आमाले मेरो बिहेको लागि केटा खोज्नु भयो।

त्यसबेला मान्ने कि नमान्ने भन्ने नै थिएन। बिहेको कुरा सम्झिँदा मलाई मार हान्न लागेको खसी बोकाको सम्झना आउँछ। उनीहरूलाई पनि मार हान्नु अगाडि पानी छ्याप्छ अनि फट्कार्यो भने मान्यो भनेर बुझ्ने गर्छन्। मैले पनि त्यस्तै महसुस गरेँ।

बिहेबारे सोध्दा बोल्न सकिन। विवाह गरिहाल्न मन थिएन। तर नाइँ भन्ने हिम्मत भएन। बोल्न नसकेपछि मान्यो भन्ने हुने रहेछ। उही पानी छ्याप्दा खसीले ज्यान फट्कार्दा काट्न माने जस्तै।

त्यसबेला मान्ने कि नमान्ने भन्ने नै थिएन। बिहेको कुरा सम्झिँदा मलाई मार हान्न लागेको खसी बोकाको सम्झना आउँछ। उनीहरूलाई पनि मार हान्नु अगाडि पानी छ्याप्छ अनि फट्कार्यो भने मान्यो भनेर बुझ्ने गर्छन्। मैले पनि त्यस्तै महसुस गरेँ।

उहाँ पनि शिक्षा क्षेत्रमै काम गर्नुहुन्थ्यो। त्यसले गर्दा मेरो पढाई चैँ रोकिएन। दाम्पत्य जीवन पनि राम्रै भयो।

बिहे गरेको चार वर्षसम्म हाम्रो सन्तान भइरहेको थिएन। धेरैले ‘अब यसको बच्चा नहुने भयो’सम्म भने। त्यस्तो अवस्थामा गर्भवती भएको थाहा पाउँदा म निकै खुसी भएँ।

काठमाडौंमा श्रीमान्-श्रीमती मात्रै थियौँ। हाम्रो त खुसीको ठेगानै भएन। घरमा भन्यौँ। सबै खुसी हुनुभयो।

गर्भवतीको नौ महिना मलाई खासै समस्या भएन। पछि चै‌ं पानी कम भयो भनेर अप्रेसन गर्नुपर्छ भन्ने भयो। अनि सिजरिंग गरेर छोरी जन्मिइन्। त्यो एकदमै नौलो अनुभव थियो।

म पहिला दुब्लो थिएँ। गर्भ रहेको बेलामा तौल बढ्यो। मुखमा पोतो पनि आएको रहेछ। एकदिन पद्मकन्या पढ्ने साथी अस्पतालमा भेट्न आए। उसले यस्तो राम्री मान्छे पोतो आएर कस्तो नराम्री भएको भने। अनि पो मैले आफूमा भएको परिवर्तनहरू नियाल्न पाएँ। नत्र त्यसअघि त म आमा बन्दै छु भनेर यति खुसी भएछु कि आफूलाई के भइरहेको छ भनेर राम्री हेरेकै रहेनछु। तर पछि पोतोहरू सबै आफैँ हरायो।

त्यसबेला जे जस्तो भए पनि मानसिक रूपमा म निकै खुसी थिएँ। काठमाडौँमै भएकाले खानपानमा त्यति धेरै अभाव भएन। फेरी पहिला देखि नै एक्लै रमाउने मान्छे हुँ म। साथीभाइ नचाहिने भन्ने त होइन। तर एक्लै भए पनि ठिकै छ भन्ने खालको स्वभाव थियो मेरो। त्यही भएर एक्लो महसुस गर्नु परेन।

आमा चितवन मै हुनुहुन्थ्यो। प्रसवको समयमा आमालाई धेरै सम्झिएँ। मलाई जन्माउँदा आमालाई पनि यस्तै गाह्रो भएको थियो होला भन्ने अनुभव भयो। आमा हुन धेरै दुख हुने रहेछ भन्ने लाग्यो।

पहिला नर्मल डेलिभरीको तयारी भएको थियो। तर पछि अप्रेसनै गर्नुपर्यो। अस्पताल जाने बित्तिकै थपक्क अप्रेसन गरिदिएको भए दस/बाह्र घण्टा प्रसव व्यथा सहनु पर्दैनथ्यो नि। त्यो पीडा बेजोडको थियो। अकल्पनीय पीडा थियो।

अप्रेसन कक्षमा जाँदा आधा शरीर लट्ठिए पनि धेरै कुरा याद भइरहेको थियो। चिरेर बच्चा निकाल्ने बेलासम्म याद थियो। सिलाउन थालेपछि भने थाहा पाइन। भोलिपल्ट मात्रै छोरी हेर्न पाएँ।

पीडा कम भइसकेको थियो। छोरी जन्मिएकोमा खुसी थिएँ, तर अब यसले पनि एकदिन यही पीडा सहनु पर्छ भनेर सम्झँदा भने नराम्रो लाग्यो।

छोरी सानी, राम्री थिई। त्यसबेला सानीमाले 'यत्रो मोटी आमाले सानी छोरी पाइछ' भन्नुभएको थियो। एक हप्ता अस्पतालमै राख्यो। त्यहीबेला स्तनपान पनि गराउन थालिसकेको थिएँ। पहिला दूध आइरहेको थिएन। खानेकुराहरू मज्जाले खाएपछि त छोरीले खान नसकेर आफैलाई दुख्नेसम्म भएको थियो।

त्यसबेला भाउजू आउनु भएको थियो। पछि उहाँसँगै चितवन गएँ। सुत्केरी समयमा आमासँग बस्न पाउनु, त्यो भन्दा राम्रो के हुन्छ र! आमाले कुनै कमी गराउनु भएन।

पढ्ने र बच्चा हेर्ने बाहेक म सँग केही काम थिएन। त्यै भएर छोरीलाई सक्दो समय दिन पाएँ। श्रीमानले पनि फुर्सद मिलाएर छोरीलाई समय दिनुहुन्थ्यो।

घरमा अर्को सन्तान पनि जन्माउनु पर्छ भन्ने कुरा आएको थियो। तर भएन। हामीले पनि त्यता ध्यान दिएनौ। अहिले त छोरीको नै विवाह भइसक्यो। अहिले सोच्दा समय कति छोटो बित्ने रहेछ जस्तो लाग्छ। छोरीको बिहे भएर अर्कै घर गइसकिन्। तर मनमा भने अहिले पनि त्यही सानी बच्ची जस्तै लाग्छ।

आजकालको बच्चाहरूलाई राजनीति गरेको त्यति मन पर्दैन। रो छोरीलाई पनि राजनीतिमा रुचि छैन। म राजनीतिमा लागेको थाहा पाउँदा पनि खुसी भएकी थिइनन्।

वडामा निर्वाचित भएदेखि बढेको व्यस्तताको कारण उनलाई आमाले राम्रै काम गरिरहनु भएको छ भन्नेसम्म भएको छ। वडा सदस्य भएसम्म त म पढाउन पनि जान्थेँ। अध्यक्ष भएपछि पढाउन जान भ्याउँदिन।

महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने नपरेको समाजमा महिलाहरू निर्वाचित भएर आउन थालेपछि केही हदसम्म भए पनि स्विकार्न थालेका छन्। त्यै भएर पहिलो वर्ष मलाई जति अप्ठ्यारो भएको थियो अहिले त्यो भन्दा सहज महसुस गरेको छु।

अब पछि आउने महिला नेतृहरुलाई हामीलाई भन्दा बढी सहज हुने माहौल बन्दै छ।

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

१३ फागुन, २०८०, २१:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।