दीपा जजोडियाको प्रसव पीडा र खुसी : आफ्नो शरीरभित्र अर्को ज्यान चल्नु एकदमै गजबको अनुभूति

दीपा जजोडियाको प्रसव पीडा र खुसी : आफ्नो शरीरभित्र अर्को ज्यान चल्नु एकदमै गजबको अनुभूति

लामो समय घर-गृहस्थीमै सीमित भएकी दीपा जजोडिया अहिले व्यवसायी हुन्। छालाको पर्स र ब्याग लगायतको सामान आपूर्ति  गर्दै आएकी उनी केही वर्षदेखि आयुर्वेदिक प्रक्रियाबाट शरीरको रौँ निकाल्ने पाउडर आपूर्तिमा समेत संलग्न छिन्।
उनको जन्म भारतमा भयो। श्रीमान भने नेपालकै मारवाडी परिवारका सदस्य। भारतको कलकत्तामा जन्मिएकी उनी कानपुरमा बस्दै आएकी थिइन्। उनले भर्खरै पढाइ सकेकी थिइन्। लगत्तै स्कुलमा पढाउन थालिन्। त्यही बेला उनको मागी विवाह भयो। 

लामो समय गृहिणी भएर बस्दा आफ्ना धेरै इच्छाहरूलाई उनले त्यत्तिकै दबाएर बस्नु पर्यो। 'लेडिज सर्कल नेपाल' नामक गैर-आवासीय संस्थामा  समेत आवद्द उनी दुई सन्तानकी आमा  हुन्। उनलाई सन्तान हुर्किएसँगै  व्यवसायमा लागेकी  उनै दीपाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो अनुभव यसरी साटिन् :

०००

मेरो विवाह भएको १९ वर्ष भयो। त्यति नै वर्ष देखि म नेपालमा छु। हाम्रो मारवाडी समाजमा बिहे गरेकी महिलाले घर सम्हालेर बस्नुपर्छ भन्ने धारणा छ। त्यसले गर्दा लामो समय म पनि घरमै सीमित हुनुपर्यो।

बिहे भएको अर्को वर्ष बाबु जन्मियो। बिहे अघिसम्म स्कुलमा पढाउने गरेकाले बच्चाहरूसँग अर्कै खालको मीठो सम्बन्ध बन्न गयो। त्यसैले मलाई बच्चाहरू एकदम मन पर्छन्। छिटो-छिटो हुर्कियोस् भनेर दुई वर्ष पछि अर्को सन्तानको पनि योजना बनायौँ। एउटा छोरो, अर्की छोरी, दुइ'टा सन्तान जन्मिए।

पहिलो पटक गर्भवती हुँदा खुसी थिएँ। घरमा पनि सबै खुसी हुनुभयो। तर, त्यही बेला ठूलो ससुरालाई क्यान्सर भएको खबर आयो। त्यो नौ महिना मैले आफ्नो बारेमा केही सोच्ने पाइन। घरमा पाहुना पनि त्यत्ति नै हुन्थे।

एक हिसाबले घरमा तनावको माहोल भइराख्यो। पहिलो पटक गर्भवती भनेर बस्न, रमाउन पाइएन। नयाँ घर परिवार अनि देश पनि नयाँ। मलाई त यहाँ  घुलमिल हुनै गाह्रो भयो। सुरूसुरूमा त लाज पनि खुबै लाग्यो। गर्भवती भएको बेलामा पनि घरका कामहरू धेरै गरेँ। आफूलाई व्यस्त बनाइनै रहेँ।

पुरै नौ महिना नै धेरै वान्ता भयो। त्यसले गर्दा खानपान पनि राम्रोसँग भएन। अनि कमजोरी भइरह्यो। तौल पनि खासै बढेन।ग्याष्ट्रिकले पनि सतायो। खासै केही खाइहालौँ जस्तो पनि लागेन। 

परिवेश नयाँ, समाज पनि नयाँ। आफूलाई के भइरहेको छ भन्ने समेत परिवारलाई भन्न अप्ठ्यारो लाग्थ्यो। नयाँ बुहारीसँगै नयाँ आमा हुनलाग्दाको  अनुभव कसैलाई साट्न पाइँन। 

छ महिनादेखि त बच्चा हलचल गर्न थालिसकेको थियो। आफ्नो शरीरभित्र अर्को ज्यान चल्नु एकदमै गजबको अनुभूति हुने रहेछ।

पहिलो सन्तान जे भए पनि होस् भन्ने थियो। तर ६ महिनामै छोरा छ भन्ने थाहा भइसकेको थियो। हस्पिटलमा डाक्टरले आफैले भनेका थिए। छोरीको पालोमा पनि अब छोरी हुँदै छ भनेर हामीलाई थाहा भइसकेको थियो। 

छोराको पालोमा भन्दा पनि छोरीको पालोमा धेरै नै हलचल हुन्थ्यो। डाक्टरसँग हामी सम्पर्कमै रहिरह्यौँ। तौल नबढे पनि मेरो खुट्टा चै बेस्कन सुन्निएका थिए।

गर्भवतीको अन्तिम महिना त झन् असाध्यै गाह्रो भयो। रातभर निन्द्रा लाग्दैनथ्यो। हिँड्न, सुत्न अप्ठ्यारो हुन्थ्यो। अब बच्चालाई जन्म दिएपछि के हुने हो, कसो हुने हो, भन्ने प्रश्न मनमा आइराख्थ्यो। 

डाक्टरले दिएको समयभन्दा दस दिन अघि नै मलाई दुखाई सुरू भयो। अझै दस दिन बाँकी छ भनेर त्यो दुखाइलाई नजरअन्दाज गरिरह्यौँ। तर, दुखाई झन् बढ्दै गयो। लामो सास तानेर बसेँ। तर, केही सुधार भएन।

घरमा हजुरआमाले व्यथा लागे जस्तो छ भन्नुभयो। लगत्तै हस्पिटल गयौँ। जाने बित्तिकै डाक्टरले आजै जन्मिन्छ भन्नुभयो। दुई बजेतिर हामी हस्पिटल गएको, पाँच बजे त मैले बाबु जन्माइसकेकी थिएँ। 

त्यो एकदम धेरै दुखाइको क्षण थियो। तर, छुट्टै मीठो अनुभूति पनि। मातृत्व भनेको नै त्यही होला। बच्चा जन्माउनुभन्दा अगाडिको दुखाई कस्तो हो भन्न पनि नसकिने खालको हुने रहेछ। तर, बच्चा जन्माउने बित्तिकै त्यो दुखाई त गायब।

हस्पिटलको कर्मचारीहरूको व्यवहार राम्रो हुँदैन भनेको सुनेकी थिएँ। त्यसको लागि चैं मलाई डर लागिरहेको थियो। तर,  सबै राम्रो भयो। 

गर्भवती अवस्था भनेको बिरामी हुनु होइन। यसबेला हामी केही सक्रिय पनि हुन आवश्यक छ। म घरको काममा सक्रिय भएकै कारण त्यति कमजोरी हुँदा पनि नर्मल डेलिभरी भएको होला। 

मेरो होस् आउने बित्तिकै बाबु हातमा दिनुभयो। तर, त्यस बेलासम्म खै किन हो, मैले आफू आमा भइसकेको अनुभूति नै गरिसकेकी थिइँन। 

बाबुलाई काखमा लिएपछि पो 'ओ हो !' भन्ने भयो। बाबु त एकदम गोरो र ठूलो थियो। एकदम नयाँ अनुभव ,अब कसरी उसलाई हुर्काउने भन्नेमा ध्यान गयो। 

बाबुलाई मैले स्तनपान नै गराउन पाइँन। हस्पिटलमा पनि कसैले केही भनेनन्। घरमा पनि केही भनेनन्। पछि त दूध पनि आएन। उसलाई बट्टाकै दूध खुवायौँ।

आफ्नो दूध खुवाउन नपाएर पनि होला बाबु धेरै बिरामी हुन्थ्यो। उसको प्रतिरक्षा प्रणाली पनि धेरै कमजोर हुने रहेछ। अनि पो सचेत भयौँ। अनि नानीलाई त आफ्नै दूध खुवायौँ। 

नानी एकदम बलियो छे। उ धेरै बिरामी पनि भइन। जानेर नै धेरै जन्मान्तर नराखेको। एउटा हुर्केपछि अर्को जन्माउँदा फेरि त्यसमै मात्र समय जाला भन्ने लाग्यो। दुवै नानी-बाबु साथी जस्तो होस् भन्ने पनि चाहना थियो।

सुत्केरी स्याहार पनि राम्रो भयो। घिउ टन्न खाएँ। सुत्केरीमा तेल मालिस गरेको भएर अहिलेसम्म मलाई जिउ दुख्ने समस्या छैन। 

तर, प्रसवोत्तर गर्भावस्थाले मलाई गाह्रो बनाइराख्यो। एकदम कमजोर बनायो। छोरी जन्मिने बेलासम्म त्यो निरन्तर भइरह्यो। त्यति लामो प्रसवोत्तर गर्भावस्थाले गर्दा दोस्रो पटक गर्भवती हुँदा पनि मलाई गाह्रो बनायो। 

त्यसले नानीलाई केही अप्ठ्यारो होला कि भन्ने लागेको थियो। तर, नानी पनि स्वस्थ जन्मिई। उसको पालोमा एक हिसाबले अगाडिको अनुभवले पनि काम गर्ने रहेछ। 

बाबु सानैदेखि एकदम सोझो स्वभावको छ। छोरी चैं अलि चकचके स्वभावको छे। उ त बाबु भन्दा बलियो र निरोगी पनि भई। 

बाबुको पालामा स्तनपान गराउन नपाए पनि नानीको पालामा गराउँदा एकदम दुखाई भयो। स्तनपान पनि सजिलो चै होइन रहेछ। कहिले दूध बच्चाले नखाइ दिने, कहिले दूध नै नआउने, गाँठो परेर बसिदिने अनि बच्चाको दाँत आउने बेलामा त घाउ नै हुने गरेर टोकिदिने।

तर, जे जस्तो पीडा भएपनि स्तनपान गराउँदा चैं अलि बढी आत्मीयता हुने रहेछ। पुरै समय काखमा राख्दा आमा र बच्चाको सम्बन्ध पनि गहिरो हुने महसुस गरेँ।

दुई जनालाई सँगसँगै हुर्काउन सुरुमा त गाह्रो भयो। तर, पछि त एकै पटकमा काम भएको जस्तो हुन्थ्यो। छोरा र छोरीलाई हामीले कहिले पनि फरक गरेनौँ। तर, उनीहरूको रुचि चैं सानैदेखि अलग भइसकेको थियो। धेरै उमेर ग्याप नभएर होला, एकले अर्कालाई रिस पनि खूब गर्ने। त्यो हेर्दा रमाइलो लाग्ने रहेछ।

अहिले दुवै जना किशोरावस्थामा छन्। स्वाभाविक रुपमै छोरी अलि बढी नजिक भएकी छे। छोरालाई पनि अप्ठ्यारो नहोस् भनेर सकेसम्म कोसिस गर्ने गरेको छु। 

छोरी इन्डियामै दस कक्षामा पढ्छे। छोरा अहिले हामी सँगै १२ मा पढ्दैछ। 'ब्याड टच र गुड टच'को बारेमा त मैले उनीहरूलाई पहिला देखि नै सिकाउँदै आएँ। 

आजकलको बच्चाहरू पैसा कसरी बढाउने भनेर सोच्न थालिहाल्ने रहेछन्। अहिले पढाइमै भएको कारण करिअर काउन्सिलमा अलि बढी फोकस गरेको छु। छोरा पैसा कसरी कमाउने भन्ने कुरा गर्छ। उसले बिजिनेसतिर नै लगाव देखाएको छ। छोरी चैं विज्ञान पढिरहेको भएर रोबोटिक्सतिर लागेको छ। अब हेरौँ, उनीहरूले आफूलाई कसरी अगाडि बढाउँछन्।

मेरो चाहना चैं, कुलतमा नलागोस्, ग्याङ्गस्टर नबनोस् त्यत्ति हो। आजकलको बच्चाहरूलाई साथी जस्तो व्यवहार गर्दा गर्दै अभिभावक भन्ने नै सम्झाउन बिर्सिउन् जस्तो पनि लाग्छ। त्यही भएर अभिभावक साथी मात्र भएर पनि नपुग्ने रहेछ। 

अहिले अब दुवै जना हुर्किसके। अब त आफ्नै लागि पनि समय दिने बेला आएको छ। सकेसम्म हरेक कुरा सिक्ने कोसिस गर्छु। म पहिला भारतमा हुँदा कथ्थकको विद्यार्थी पनि थिएँ। त्यही भएर फेरि त्यसमा जान मन छ। अनि अब त बिजिनेस पनि बिस्तारै बढ्दै गइरहेको छ। अब गृहिणी र आमा सँगसँगै आफ्नो लागि पनि केही गर्ने सोचमा छु।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२२ पुस, २०८०, १९:२७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।