ब्युटिसियन कमलाको प्रसव पीडा र खुसी : दुई दिन व्यथा लाग्यो, चिच्याएँ,कराएँ तर बच्चा जन्मिएन

ब्युटिसियन कमलाको प्रसव पीडा र खुसी : दुई दिन व्यथा लाग्यो, चिच्याएँ,कराएँ तर बच्चा जन्मिएन

४५ वर्ष अघि बाटोमा हिँड्ने व्यक्तिलाई समेत बोलाएर मेकअप गराउनु परेको कमला श्रेष्ठ अहिले भने पार्लर खोज्दै आउने जमात देखेकोमा खुसी छिन्। उद्योग वाणिज्य महासङ्घको केन्द्रीय समितिमा चार पटक निर्वाचित भइन् उनी। 'ब्युटी' एसोसिएसनको सभापति र उद्यमी महिलाको पनि सभापति हुन् उनी।

उनको सानै उमेरमा गाउँमा आएका बन अफिसरसँग माया बस्यो। अहिले उनीहरू दुवैले वैवाहिक जीवनको पचासौं वर्षगाँठ पनि मनाइसके। तर, आफ्नो सम्बन्धको लामो समयसम्म घर, परिवार र समाजबाट दुवैलाई स्वीकार भने गरिएन। पहिलो बाइक चलाउने महिला,  पहिलो कराँते खेल्ने महिला,पहिलो सौन्दर्य कला व्यवसायी, टेलिभिजनमा सौन्दर्य सम्बन्धी कार्यक्रम गर्ने पहिलो व्यक्ति लगायत धेरै रेकर्ड उनको नाममा।

थाइल्याण्डबाट फर्किएपछि राजपरिवार बाहेकको अन्यले शृङ्गार गर्ने चलन नरहेको समयमा उनले आँट गरेर आफ्नो कामलाई निरन्तरता दिइन्। शृङ्गारलाई 'उच्छृङ्खल' मान्ने समय देखि 'विधा' मान्ने समयसम्मको यात्रामा उनलाई उनको श्रीमानले साथ दिइरहेका छन्। उनी कमला दुई सन्तानकी आमा समेत हुन्। धनकुटा जस्तो दुर्गम ठाउँमा सुविधा सम्पन्न हिसाबले बच्चा जन्माएकी उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीसँग आफ्नो मातृत्व अनुभव यसरी साटिन्  :

०००

सात जना दाइपछि जन्मिएको म कान्छी छोरी। धेरै तीर्थयात्रा गर्नु भएपछि म जन्मिएको रे। मेरो हुर्काइ दाइहरुको बीचमा भयो। म आँटी भएछु, त्यही भएर त्यो समयमा पनि लभ परेपछि विवाह गर्न पछि हटिन।

१५/१६ वर्षकै उमेरमा मेरो विवाह भइसकेको थियो। म क्षेत्री, श्रीमान् श्रेष्ठ। त्यो बेलामा पनि हामीले प्रेम विवाह गर्यौ। त्यो पनि अन्तर्जातीय।

उहाँ बन अफिसर हुनुहुन्थ्यो। काठमाडौँबाट सरुवा भएर हाम्रो गाउँमा आउनुभएको रहेछ। कुराकानी भयो। भेटघाट भयो। मन पर्यो। दुई वर्षपछि हामीले बिहे गर्ने निर्णय गर्यौँ। घर परिवार कसैले पनि स्विकार्नु भएको थिएन। बन अफिसर, ४ सय ५० रूपैयाँको जागिर खाने भनेपछि मलाई त के चाहियो। त्यसमाथि उहाँ म भन्दा उमेरले पनि धेरै जेठो हुनुहुन्थ्यो। त्यसले गर्दा पनि मलाई त उहाँ झन् मनपर्यो।

मेरो जीवन सुरु भएको नै विवाह पछि हो। श्रीमानले मलाई गृहिणी भएर बस्न दिनु भएन। आठ कक्षा पास गरेपछि बिहे गरेको थिएँ। बिहे लगत्तै नौ कक्षामा भर्ना भइहाले। त्यसबेला बिहेपछि पनि फरक लगाएर पढ्न आयो भनेर तहल्कै मच्चिएको थियो।

पढ्दै छु, बच्चा पनि जन्मिँदै छ। आइए पढ्दा जेठो छोरा जन्मियो। बिएपास गर्दा कान्छो छोरो जन्मियो।

जेठो छोरा जन्मिँदा म १९ वर्षको थिएँ। सानो उमेरमा बच्चा जन्माउनु हुँदैन भन्ने थाहा थियो। त्यसबेला हामी धनकुटामा थियौँ। विकट ठाउँ। गाडी, बत्ती केही थिएन। सात महिनाको गर्भहुँदा मेरो जाँच चलिरहेको थियो। जाँच दिंदादिंदै बेहोस भएँ। त्यसपछि डोकोमा बोकेर घर ल्याइयो।

परिवारसँग हामी कहिले पनि बसेनौ। हामीलाई स्विकार्नै सक्नु भएन।  अहिले अन्तर्जातीय विवाह गर्न कस्तो गाह्रो हुन्छ, त्यो बेलामा गाह्रो नहुने कुरै भएन। गर्भवती भएको बेलामा दुवै परिवारको कोही पनि साथमा थिएनन्।

गर्भ बस्दाको समयको एकदम नौलो अनुभव थियो। मलाई त गर्भवती भनेको पनि थाहा थिएन नि ! गर्भवती भएको भनेर महिनावारी नभएकै कारण थाहा भएको थियो। चिन्ता पनि भयो।

धरानमा ब्रिटिस आर्मी क्याम्प थियो। श्रीमानले चिन्नु भएकोले चेकअप गर्न त्यतै गयौँ। हरेक महिना हिँडेर जान्थेँ। डाक्टर, नर्स सबै ब्रिटिस थिए। धनकुटाबाट धरान सकेसम्म हिँडेरै गएँ। हिँड्न नसक्ने भएपछि घोडामा गएँ। गाह्रो हुँदै गएपछि डोकोमा बोकेर लगियो। अन्तिम महिना हामी उतै बस्यौँ।

गर्भवती हुँदा खाना असाध्यै रुच्यो। निन्द्रा पनि मस्त लाग्यो। जे पनि खान मन लाग्थ्यो। त्यहाँको आँप, घिउ, तेल सबै खाएँ। बढी खाएर हो कि बच्चा त आठ पाउन्डको पो भए छ। खाएको सबै बच्चालाई लागेछ।

बच्चाको तौल ठुलो भएकाले नर्मल डेलिभरी हुन नसक्ने भयो। सामान्यतः बच्चा चार/पाँच पाउन्ड हुनुपर्ने, बढीमा छ पाउन्ड हुनुपर्ने रहेछ। म फेरी अस्पताल भर्ना गर्नुपर्ने अघिल्लो दिन फिल्म हेर्न गएको थिएँ।

भोलिपल्ट एक्कासि पेट दुख्यो। पेट दुख्यो भन्नुको मतलब बच्चा पाउनु त होला नि भन्ने भयो। अनि दौडाएर एम्बुलेन्समा त्यही ब्रिटिस क्याम्प लागिहाले। जान त गइयो, व्यथा पनि लाग्यो। मलाई एकदम गाह्रो भयो। चिच्याएँ पनि। तर, बच्चा त जन्मिँदै जन्मिएन। नर्मल हुँदैन भने पनि उनीहरूले नै सकेसम्म नर्मल नै गराउने कोसिस गरे। 

दुई दिनसम्म व्यथा लागे पनि बच्चा जन्मिएन। त्यहाँको अस्पताल फेरी एकदम सफा, विदेशमा बसेको भन्दा चर्को। सबैलाई सिङ्गल रुम। अस्पतालमा मलाई कुर्ने पनि कोही भएनन्। परिवारको अन्य सदस्यलाई खबर गरेको हो तर कोही पनि आउनुभएन। दुई दिन व्यथा लाग्दा पनि नजन्मिएपछि श्रीमान् काममा फर्किनु भयो। उहाँ जाने बित्तिकै मेरो अवस्था झन् जटिल भएछ।

त्यसबेला फोन थिएन। श्रीमान् आउनुभन्दा अगाडि नै मेरो अप्रेशन गर्ने भनेर त्यहाँको डाक्टरहरूले तयारी गर्न थाले। डाक्टर आफैले हस्ताक्षर गरेर अप्रेशन गरिदिनुभयो। म बेहोस अवस्थामा पुगेँ। अप्रेशन गरेर बच्चा निकाल्यो अनि श्रीमान् बिहान पो आइपुग्नु भएछ।

उहाँलाई त अप्रेशन गरेर बच्चा निकालेको थाहै छैन। झ्वाट्ट आउनुभयो। बच्चालाई साइडमा राखेको देख्ने बित्तिकै सिधै म भएतिर आउनुभयो। अनि मलाई हेरेर 'बच्चा भयो?' भन्नुभयो। मैले 'भयो, अप्रेशन गर्यो' भने। त्यस पछि त उहाँ थचक्कै भुईँमा बस्नुभयो।

मैले छोरा हेर न भनेको हेर्दै हेरेनन्। मलाई मात्र हेरेर बसिरहे। पुरै चिरेर के-के लगाइरहेको छ। त्यस बेलाको अप्रेशन झन्। उहाँ त एकदम भावुक हुनुभयो।

मलाई राम्रोसँग होस् आएपछि बच्चा हेरेको, बच्चा त यत्रो ठुलो टाउको भएको, पुरै चिन्डे, एउटा पनि कपाल छैन। भर्खर पाएको बच्चा त  छ महिना/वर्ष दिन जस्तो। देखेर म त दङ्ग परेँ। त्यहाँको अस्पतालमा एकदम हेरचाह भयो। खाने,पिउने केही पनि बाहिरबाट लान नपाउने। बच्चालाई छुट्टै राख्ने, आमालाई छुट्टै राख्ने। दूध खुवाउने एकदम ठिक समयमा। अनि ठिक पोजिसनमा।

हामी त बच्चालाई जतिखेर पनि दूध चुसाइराखेको देखेको। त्यहाँ त समय भएपछि सुतिरहेको छ भने पनि थपथप हिर्काएर उठाएर खुवाउन ल्याउने। रोएर थाकेर सुत्दा पनि समय भएको छैन भने दूध खुवाउन नमिल्ने। पेट दुखिरहेको छ, बसेर सकिन, सुतेर खुवाउँछु भन्दा पनि नमान्ने।

कस्तो कडा ! नाक थुनिन्छ भनेर राम्रो पोजिसनमै खुवाउनुपर्ने। दूध खान मानेन भने पनि खुवाउनुपर्ने। स्तनपान त छुटाउने नहुने।

तेल लगाउने, पटुका बाँध्ने केही थिएन। हरेक दिन उनीहरूले नै नुहाइदिएर, पाउडर दलेर फ्रेस बनाइदिने। न्यापकिन, डाइपर,प्याड सब उनीहरूले नै दिने। चाङ्चाङ ल्याएर दिने, आफैले फेरिदिने, बच्चालाई पनि नुहाइदिने, नाभिमा मलमहरू लगाइदिने। सब उनीहरूले नै स्याहार्ने। यो तरिकाले हप्ता दिनसम्म मलाइ त्यतै राखे। डिस्चार्ज गर्ने समयमा सबै तयार गरेर उनीहरूले घरमा कसरी स्याहार्नेसम्म सिकाए।

जाने बेलामा गाडीमा बस्नु भन्दा अगाडि बाथरुम जाने भनेर गएको थिएँ। त्यसबेला फेरी धेरै रगत गयो। नर्स बाहिरै थियो। म ढल्न लागेको देखेर उनले समातिहाले। त्यसले गर्दा अर्को हप्ता दिन त्यतै राखे अनि मात्र घरमा पठाए।

घरमा आएपछि पनि फेरी डाक्टरहरू साथमै आए। हप्ताको दुई पटक त उनीहरू भिजिट गर्ने रहेछन्। घरमा फेरि आफ्नै तेल, घिउ, मर-मसला, मालिस दुनियाँभर भयो। त्यसले गर्दा त टाँकाको स्टिज पनि पाकेछ।

नर्स भिजिट गर्न आउँदा मलाई बेस्कन गाली गरे। तेल नलगाऊ भने। घाउ सुक्ने औषधि पनि दिए। श्रीमानले चैं मेरो लागि भनेर स-सानो चल्लाहरू ल्याएर खोर बनाएर राख्नु भएको थियो। त्यो त बिहान, बेलुका सुप बनाएर खाएको खायै गरेँ। सुत्केरी समयमा पनि मलाई एकदम धेरै खाना रुच्यो। सुत्केरी बेस्कन स्याहारेको श्रीमानले नै हो।

तीन चार महिना पछि मात्र मुवाहरु भेट्न आउनुभएको थियो। पहिलो पटक बाबु समात्दा त म एकदम अलमलिए। कसरी समात्ने, त्यत्रो गह्रुङ्गो बच्चा! के गर्ने, गर्ने भयो नि। झोलिलो खाएको भएर दूध पनि धेरै आयो। छिनछिनमै खुवाए पनि दूध त दुहेर फाल्न पर्यो।

छोराको पास्नी सक्केपछि फेरी पढाइलाई निरन्तरता दिएँ। अप्रेशन भएको कारण दुई चार वर्ष अर्को बच्चा हुनु हुँदैन भनेर डाक्टरले भनेका थिए। त्यसबेला औषधीको बारेमा केही पनि थाहा भएन। अर्को दुई वर्षमै म फेरी गर्भवती भएँ। त्यै पनि तीन/चार महिना भएपछि मात्र थाहा भयो। अहिले हुँदैन भनेको छ, भइसक्यो, मलाई त एकदम डर लाग्यो। त्यै भएर गर्भपतन गर्ने भनिदिएँ। डाक्टरले 'धेरै ढिला भइसक्यो, अब जोखिम हुन्छ' भन्नुभयो। बरु 'बच्चा ठुलो नबनाऊ, खानामा कन्ट्रोल गर' पो भन्नुभयो।

त्यसबेला हिँडेर जाने, हिँडेरै आउने गर्दा एक किसिमको कसरत पनि भएछ। अनि फेरी त्यही धरानमै आएर बसेँ। ब्रिटिस हस्पिटल नै गएर बसेँ। शारीरिक रूपमा केही गडबडी भएन। डाक्टरले चेतावनी दिँदादिँदै पनि गर्भवती भएँ भनेर डर चैं लागिरहेको थियो। तर, सबै राम्रो नै भयो। अगाडि नै जन्माइसकेको भएर पनि मैले त्यति धेरै गाह्रो महसुस गरिन।

व्यथा लागेपछि अस्पताल गएको त दोस्रो बच्चा पनि सात पाउन्डको भएछ। अलिकति खाए पनि लागिहाल्ने रहेछ के। त्यसबेला त श्रीमान् साथमै बस्नुभयो। त्यसबेला पनि दुई दिनसम्म व्यथा लाग्यो। बच्चाको तौल बढी भएर जन्मिनै सकेन। अनि डाक्टरले 'अब धेरै नपर्खिऊ भनेर अप्रेशन गरिदिए।

बच्चा निकाल्ने अप्रेशन अगाडि अब अर्को बच्चा पाउन पाइँदैन, परिवार नियोजन गर्नुपर्छ हुन्छ पो भने। उनीहरूले 'नत्र भए तपाईँहरू यहाँबाट जानुस्, हामी भर्ना गर्दैनौ' सम्म भने। हामी बुढा बुढी त हेरेकोहेर्यै भयौँ।

त्यसपछि हामीले परिवार नियोजन गर्न तयार भयौँ। एकै पटक अप्रेशन भयो भने सँगै निको हुन्छ भन्ने रहेछ उहाँहरूको। अनि मेरो डबल अप्रेशन भयो। दुवै छोरा सँगसँगै हुर्किए। आफ्नो पढाइलाई पनि निरन्तरता दिएँ। बच्चा बोकेर सबै ठाउँमा डुलेँ। काम गर्नेहरू थिए, एकदम सुविधा भयो।

बच्चा भएको कारण मलाई बाधा भयो भन्ने महसुस भएन। रमाइलो गरेर हामीले करिब पाँच वर्ष बितायौँ।

त्यसपछि श्रीमानको थाइल्याण्डमा सरुवा भयो। युएनसँग जोडिएको भएर यहाँबाट हामी स-परिवार नै गयौँ। अझ यतैबाट बच्चाहरू हेर्ने सहयोगी पनि साथमै लान पाएँ। दुवै छोरा उनले हेरिदिइन्। श्रीमान् काममा जाने, म एक्लै परेँ। त्यतै ब्युटीसियनको तालिम गरेँ। दुई वर्ष जति सिकेँ।

जेठो र कान्छोको स्वभाव एकदम विपरीत। एउटाको लुगा अर्कोलाई ठिक हुन्थ्यो। तर झगडा गर्थे। एक अर्कालाई माया पनि खूब गर्थे।  सानो अलि छुकछुके थियो। ठुलो चैं शान्त स्वभावको।

कान्छो १७ वर्षको हुँदा उसको बुवाको काम हेटौडामा थियो। सबै जना हेटौडामा बाइरोडबाट जाँदै थियौँ। दुर्घटना भयो। श्रीमानको अहिलेसम्म हातमा स्टिल राखेको छ। सबै घाइते भए, अरू बाँचियो तर कान्छो बाँच्न सकेन। 

पहिला गर्भपतन गर्ने भनेर गएका थियौँ नि त्यो मनमा लागिराख्यो। कारण जे भए पनि हामीले गर्भपतनको बारेमा सोच्न नहुने रहेछ। पछि गएर केही न केही घटना हुने रहेछ भन्ने भयो। याद आइराख्यो। हामीले पहिल्यै उसलाई त्याग्ने सोच बनाएका थियौँ, त्यही पाप लाग्यो होला भन्ने अनुभव भयो। त्यसले एकदम गहिरो पीडा दियो।

पछि घरपरिवारले पनि स्वीकारे। समाजले स्वीकारेपछि परिवारले नस्विकार्ने भन्ने हुँदैन रहेछ। पछि सबै राम्रो हुँदै गयो। अहिले जेठो छोरो परिवारसहित अमेरिकामा छ। बुहारी लिथोनियाको हो।

नातिनी डाक्टर पढ्दै छ। तीन जना नाति-नातिनी छन्। छोराबुहारी सँगै नाति-नातिनी नै एउटा राम्रो ट्रयाकमा जाँदै छन्। मैले कमाएको सम्पत्ति भनेकै यही हो। 

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

मंसिर १०, २०८० आइतबार २२:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।