ब्याच नम्बर ६९ : एनजिओको प्रतिनिधि बनेर मकवानपुरको गाँजा गाउँमा पुग्दा

ब्याच नम्बर ६९ : एनजिओको प्रतिनिधि बनेर मकवानपुरको गाँजा गाउँमा पुग्दा

गाँजा उत्पादनका लागि मधेस अनि चरेसका लागि पहाड अझ विशेष धादिङ अनि मकवानपुरका गाउँहरू कहलिइसकेका थिए। तर काठमाडौँमा हाम्रा लागि ती कथा जस्ता थिए। पक्राउ नपर्ने हैनन्, पक्राउ परिरहेका थिए।

धेरैले यसरी गाँजाको खेती हुन्छ, विदेशी नै गाउँमा आएर बस्छन् भन्थे। सल्लाको बनै सखाप पारिसके अनि सरकारले तरकारीका लागि बनाइदिएको सिचाई गाँजामा पानी लगाउन काम लागिरहेको छ भन्थे।

अधिकांश अप्रेशन गाउँ बाहिरै हुन्थ्यो। त्यसैले जहाँ गाँजाको खेती भइरहेको थियो त्यहाँको अवस्था प्रत्यक्ष हेर्न सकिएको थिएन। अब प्रहरी बनेर गाउँमा जाँदा सबै गतिविधि हेर्न पाउने सम्भावना पनि थिएन।

केही उपाय त लगाउनै पर्यो। हामी बसेर सल्लाह गर्न थाल्यौँ। जानका लागि सबैभन्दा सहज मकवानपुर देखियो। किनकि सल्लाको जङ्गलै सुकेको त्यतै हो भन्ने आएको थियो। तर जाने कसरी?

'एनजिओको प्रतिनिधि बनेर'

एक जनाले आइडिया निकाले। गाउँमा विभिन्न सर्वे गर्ने भनेर विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरू गाउँमा जान्थे। उनीहरूलाई गाउँलेले सहयोग पनि गर्थे। अनि जोखिम पनि कम हुने। गाँजाको खेतीका कथाहरू आफ्नै आँखाले हेर्न पनि सकिने।

यो सुझाव पास भयो। श्रीकृष्ण मानन्धर, जीवलाल पाण्डे लगायतकाहरु एनजिओको प्रतिनिधि बनेर मकवानपुरको माथिल्लो भेगमा जाने भए। उनीहरू टिस्टुङपालुङ हुँदै गए।

फिल्डमा टोली पुगेपछि पुष्टि भयो, काठमाडौँमा जे-जे सुनिएको थियो ती सबै सत्य रहेछन्। सरकारले गाँजा खेती विस्थापित गरेर तरकारी खेतीलाई प्रोत्साहन गर्न भनेर बनाइदिएको नहर गाँजा खेतीका लागी खास्सा सहयोगी भएको रहेछ।

गाउँको माथिल्लो भेगका सल्लाका रुखहरू पुरै सुकेका थिए। अनि त्यहाँ २-४ दिन हैन,२-४ महिनै पोल्यान्डका नागरिकहरू आएर बस्ने, आफ्नो चाहना अनुसारको चरेस बनाएर लैजानेसम्मको घटना पुष्टि भयो।

सबैभन्दा रहस्यमय त्यो सुकेको सल्लाको जङ्गल र गाँजा खेतीबिचको सम्बन्ध पत्ता लगाउनु थियो। गाउँलेहरूसँग केही दिन घुलमिल भएपछि त्यो रहस्य धेरै दिन लुक्न सकेन। सुन्दा छक्क परियो। सल्लाको रुखहरू सुक्नुको सम्बन्ध गाँजासँगै पोल्यान्डबाट आउने विदेशीहरूसँग जोडियो।

अब पहिले गाँजाबाट चरेस बनाउने भनेको हातले माडेर नै त थियो। तर कति नै बन्थ्यो र त्यसरी माडेर गाउँभरीकालाई जम्मा पारेर माड्न लगाए पनि माग अनुसारको चरेस बनाउनै सकेनन् उनीहरूले। अनि उनीहरूले नै जुक्ती निकाले।

गाँजा पाकेपछि बोट काटेर सुकाउने अनि धुलो पार्ने। सल्लाको रुखबाट खोटो निकालेर गाँजाको धुलोलाई इँटा आकारमा बनाएर लैजाने। यो गर्दा उनीहरूलाई आफ्नो माग अनुसार लैजान पाए। अर्को ब्लक बनाएर लैजान सजिलो पनि भयो।

त्यसपछि अन्धाधुन्ध खोटो निकालियो। त्यो पनि अझ विशेष केमिकल प्रयोग गरेर। केमिकलको नाम खुल्न सकेन। तर त्यो हालेपछि धेरै खोटो निस्कने रहेछ। तर रुख चैँ चाँडै सुक्ने रहेछ।

एनजिओको प्रतिनिधि बनेर गाउँमा गएको हाम्रो टोलीले सबै देख्यो। गाँजा खेती कसरी गर्छन्, को कसले कसरी सघाउँछन्, खोटो कसरी निकाल्छन्, गाँजा काट्ने, सुकाउने, धुलो बनाउने अनि ब्लक बनाउने सबै देखेर आए। फोटो खिच्न भने सम्भव थिएन। शङ्का मात्र भयो भने पनि ज्यानै जोखिममा परिहाल्थ्यो। उनीहरूले सबै हेरे मात्र। थप केही गरेनन्।

प्रत्यक्ष अनुगमनको काम सकिएपछि टोली गाउँबाट तल झर्यो। उनीहरू काठमाडौँ आएपछि हामीले सल्लाको रुख कसरी सुकिरहेका छन् भनेर विशेष प्रतिवेदनै बनाएर बन मन्त्रालयलाई दिएका थियौँ।

मकवानपुरको जति गाउँमा गाँजा खेती हुन्थ्यो ती सबै गाउँ जान सम्भव भएन। नमुनाको रूपमा केही गाउँ मात्र घुम्यो टोलीले। तर कन्फिडेन्स बढायो त्यसले। यस्तो हुन्छ रे, त्यस्तो गर्छन् रे भनेर सुनेको आधारमा भन्दा आफैँले देख्नुमा फरक त पर्छ नै। सुन्नु र आफ्नै आँखाले हेर्नुमा त फरक पर्छ नै।

खोटोको अभाव सुरु भएपछि उनीहरूले सस्तो खालको गमको प्रयोग गर्न थालेछन्। पछि ती सबै छाडे। कारण त्यसले चरेस लो क्वालिटीको भयो भन्ने गुनासो आएछ। खोटो अनि गमले टाउको दुखाउन थालेछ। त्यसपछि उनीहरूले धुलो बनाएर भारतमा लगेर उनै ब्लक बनाउन थाले।

OOO

नेपालको तीन भूगोल अनुसारै गाँजाको गुणस्तर निकै भिन्न छ। हिमाली भेगमा उत्पादन हुने गाँजा अलि उच्च गुणस्तरको मानिन्छ। त्यसमा लट्ठ्याउने मात्रा धेरै हुन्छ। तर हिमाली भेगमा व्यावसायिक रूपमा गाँजा खेती भएको भेटिएन।

अर्को भनेको उच्च पहाडी भेग। त्यहाँ भने व्यावसायिक रूपमै गाँजाको खेती सुरु भयो। यसमा पनि अझ विशेष धादिङ अनि मकवानपुर। धादिङ र मकवानपुरमै गाँजाको खेती बढ्नुको कारण काठमाडौँसँगको सम्बन्ध हो।

विदेशका चरेस कारोबारी हुन् या अम्मली हुन् उनीहरूलाई हवाई मार्गबाट काठमाडौँमा आएर जान मकवानपुर अनि धादिङ नजिक भयो। अझ विशेष मकवानपुर। त्यसैले त्यो क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती फस्टायो। अहिले पनि हुन्छ।

अर्को काठमाडौँमा ल्याउन पनि सहज भयो। अनि उच्च पहाडी क्षेत्र पनि भयो। पोल्यान्ड लगायतका देशका कारोबारीलाई सहज हुने भएरै यी दुवै जिल्लामा व्यावसायिक गाँजा खेती मौलाएको हो।

अनि अर्को तथ्य जसलाई धेरैले नजरअन्दाज गर्छन्। नेपालको गाँजा खेतीको प्रत्यक्ष सम्बन्ध भारतसँग छ। न नेपालीले चाहेकै भरमा नेपालमा गाँजा खेती बढ्न सक्छ न नेपाली प्रशासनको सक्रियताले मात्रै उत्पादन घट्छ।

नेपालमा गाँजा अनि चरेसको उत्पादनमा भारत प्रत्यक्ष जोडिएर आउँछ। अहिले पनि त्यही हो। अझ विशेष मधेसमा हुने गाँजाको व्यावसायिक खेतीमा त भारत र भारतीयको प्रत्यक्ष सम्बन्ध हुन्छ नै।

जब जब भारतमा सरकारले गाँजा खेतीमा कडाइ गर्छ वा गाँजा खेती हुने स्थानमा विद्रोही समूहको सङ्ख्या र सक्रियता बढ्छ नेपालमा गाँजा खेती र चरेस कारोबार बढ्छ। किनकि त्यो बेला उता भारतमा उत्पादन गर्न सम्भव हुन्न। अनि उनीहरू लगानी र दक्ष जनशक्तिसहित नेपाल छिर्छन्। बोर्डर क्षेत्रमा मात्रै हैन धादिङ अनि मकवानपुर जस्ता पहाडी क्षेत्रमा पुगेर गाँजा खेती गर्न सघाउँछन्।

नेपालमा भाले-पोथी गाँजा छुट्टाउने अनि गाँजा कलमी गर्न सक्ने दक्ष जनशक्ति छैनन्। त्यो उतैबाट आउने हुन्। गाँजा खेती गर्दा लाग्ने लगानी समेत जोहो गरिदिन्छन् उनीहरूले। अनि सरकारले काउली लगाऊँ, गाँजा भगाऊँ भनेर मान्छन् त त्यहाँका स्थानीयले।

अनि नेपालमा उत्पादन हुने गाँजा अनि चरेसको कारोबार गर्ने भारतीय समूह र रुट पनि एउटै छैन। नेपालमा बन्ने चरेस भारत लैजाने रुट बेग्लै छ अनि भारतमा गाँजा लैजाने रुट बेग्लै छ। त्यो नेपालीले तय गरेका हैनन्। भारतमा बसेका कारोबारीले नै रुट समेत फिक्स गरेका हुन्।

ती रुट अनि त्यसमा संलग्नहरूबारे अर्को बुधवार।

ब्याचका पुराना अंक

१५ भदौ, २०७९, २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।