गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

आफ्ना दुई बच्चाको हेरचाहका लागि समय दिनुपर्ने भएकाले गायिका मनिषा राई विगत केहि वर्षदेखि संगीतमा पहिले जस्तो सक्रिय छैनन्। अर्कोतर्फ गएको तीन वर्षदेखि ‘लुपोस्’ नामक एक प्रकारको बाथ रोगले पनि उनलाई संगीतमा सक्रिय हुन दिइरहेको छैन।

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्:

मेरो जन्म खोटाङमा भयो। हामी पाँच जना दिदीबहिनी, म कान्छी। गाउँकै विद्यालयबाट मैले एसएलसी दिएँ र आइए पढ्न काठमाडौं आएँ।

सानैदेखि संगीतमा रुचि थियो। त्यसैले म संगीत विषय पढ्न आरआर क्याम्पसमा भर्ना भएकी थिएँ। आइए सकेपछि ल्याब टेक्निसियनका लागि आवेदन दिएको ठाउँमा नाम पनि निस्कियो र दुई वर्ष त्यता अध्ययन गरें।

तर अध्ययन पूरा भने गरिनँ, पढाइ बीचमै छाडेर दुबइको एक नेपाली बारमा गीत गाउन गएँ। दुबइको बारमा मैले आधुनिक गीत र गजल गाउँथे। सँगै गाउने अर्का गायक थिए, सीडी विजय अधिकारी।

हामी सँगै गीत गाउने र रिहल्सर्ल गर्ने काम गर्थ्याैं। धेरै समय उसैसँग बिताउने क्रममा कतिखेर माया बस्यो थाहै भएन।

हाम्रो जात मिल्दैनथ्यो। सीडी बाहुनको छोरो, म राईको छोरी। त्यसैले उसैले आफ्नो परिवारलाई कन्भिन्स् गरायो र हामीले दुबइमै विवाह गर्यौं।

दुबइमा साँढे २ वर्ष जति बसियो। विवाह गरेपछि भने नेपालमै गएर संगीत क्षेत्रमै केहि गर्ने उद्देश्यका साथ नेपाल फर्कियौं र संघर्ष सुरु गर्यौं।

नेपाल आएपछि हामीले छुट्टै विवाह भने गरेका थिएनौं। छोराछोरी जन्मिए।

गएको तीन वर्षदेखि भने म गम्भीर रुपमा बिरामी परें। सबैले राम्रोसँग विवाह नभएकाले कुलदेवताले मानेनन् भन्ने खालको कुरा गरे।

त्यसैले २ वर्षअघि मात्रै हामीले नेपालमा जग्गेमा बसेर नै विवाह गर्याैं। छोराछोरीले बाबु-आमाको विवाह हेर्न हुँदैन भनेर उनिहरुलाई लुकाइएको थियो।

म सीडीको गाउँघरमा खासै बस्नुपरेन। त्यसैले अन्तरजातीय विवाह र जातीय विवाह भन्ने खासै अनूभुति हुन पाएन। 

विवाह गरेको झण्डै साँढे ३ वर्षपछि म गर्भवती भएँ। हामीले बच्चाको कुनै योजना बनाएका थिएनौ, त्यसैले सुरुमा त थाहा पाउन अलि गाह्रो भयो।

महिनावारी रोकिनुअघि नै बच्चा कन्सिभ भइसकेपछि मलाई धेरै टाउको दुख्यो। समयमा महिनावारी नभएपछि प्रेग्नेन्सी टेष्टका लागि किट किनेर ल्यायौं र मैले चेक गरें। नभन्दै रिजल्ट पोजेटिभ आयो। म आमा बन्ने भएँ। 

चार महिनासम्म जे खाए पनि वाकवाकी आउँन खोज्थ्यो। घाँटीमा केही अड्केको जस्तो हुने भयो। त्यसपछि भने केही भएन।

अन्य मानिसहरुले यस्तो खायौ भने बच्चा राम्रो जन्मन्छ, उस्ताे खायाै भने नराम्रो जन्मन्छ भन्ने टिप्सहरु धेरै दिए। तर मैले त्यसलाई गम्भीर तरिकाले लिइनँ। अन्य समयमा जे खाइन्थ्यो, त्यही खाइयो।

एउटा कुरामा भने सुनेको भरमा लागेर चिकित्सकको सुझाव टेरिनँ।

केही अनुभवी मानिसहरुले क्यालसियम खायो भने बच्चा चाहिने भन्दा ठूलो हुन्छ र नर्मल डेलिभरी गर्न सक्दैन भनेका थिए।

सिभिल अस्पतालमा नियमित चेकजाँच गराएपछि आइरन र क्यालसियम दिनदिनै खानुपर्ने डाक्टरले बताए। मैले आइरन चक्की चैं खाएँ तर क्यालसियम खाइनँ।

यो कुरा डाक्टरलाई पनि भन्दै भनिनँ। मासिक चेकजाँचको समयमा जाँदा दुवै औषधि खाइरहेको छ नि भनेर सोध्नुहुन्थ्यो। म छ भनिदिन्थें। 

बच्चाले पेटमा बसेको केही महिनामै लात्तीले हान्न थाल्ने रहेछ। पछि पेट ठूलो हुँदै गएपछि त छाला पनि पातलो हुँदै जाने रहेछ। पेटमा बच्चाले लात्तीले हान्दा छाला नै प्वाल पर्ला जस्तो गरेर झोल्लिन्थ्यो।

लात हानेपछि आनन्द भने आउँथ्यो। बरु केही समयसम्म लात्ती हानेन भने केही भयो कि भनेर चिन्ता लाग्ने रहेछ।डाक्टरले बच्चा जन्माउने मिती कात्तिक ११ लाई दिएको थियो।

तर डेट नाघेर गैसके पछि पनि मलाई केही भएन। हामी दुवैलाई डेट कटेपछि डाक्टरलाई देखाउनुपर्छ भन्ने नै थाहा थिएन।

पछि अरु मानिसहरुसँग कुरा गर्दा गाली गर्नुभयो। जसरी पनि अस्पताल जान सुझाउनुभयो। कात्तिक ११ को डेट नाघेर कात्तिक २९ गते बल्ल हामी केही भएन भन्दै अस्पताल गयौं। डाक्टरले सुरुमै नआएको भनेर गाली गरे।

भिडियो एक्स-रे गरेर हेर्दा बच्चाको धड्कन नर्मल रहेछ। त्यसपछि हामीलाई घर जान र गाह्रो भएपछि आउन भनियो। नयाँ बानेश्वरको सिभिल अस्पतालबाट हिंड्दै घर आयौं।

हिंड्दा बीचबीचमा पेट दुख्ने, रोकिने भइरहेको थियो, त्यसलाई मैले सामान्य रुपमा लिएँ। घर पुगेपछि भात पकाएर खाइयो। त्यसपछि झनै धेरै पेट दुख्न थाल्यो।

दुखाइ कम हुन्छ कि भनेर तातो सुप खाएँ, शरीर तातेपछि त झनै व्यथा लगाउँदो रहेछ। राति साँढे नौ बजे स्कुटरमा हामी दुई फेरि सिभिल अस्पताल गयौं।

भोलिपल्ट बिहान साँढे ६ बजेतिर मैले मेरो पहिलो सन्तान, छोरी जन्माएँ।

छोरी नजन्मिउन्जेलसम्म निकै पीडा भएको थियो। डाक्टरलाई कि नदुख्ने औषधि देउ कि अपरेसन गर्देउ भनेर चिच्याइरहेकी थिएँ।

सरकारी अस्पतालमा आमा र बच्चाको ज्यान जोखिममा नहुन्जेल अपरेसन गर्न नमिल्ने रहेछ। तर जब छोरी जन्मिइन्, छुट्टै आनन्द आयो। आमा भएँ भन्ने अनुभूति साह्रै मिठो हुने रहेछ। 

बच्चा भएपछि संगीतमा खासै समय दिन सकिएन। घरमै, बच्चामै व्यस्त भइँदो रहेछ। 

दुई वर्ष ११ महिनापछि मेरो पेटमा फेरि अर्को बच्चा आयो। यो पनि योजनामा थिएन। तर पेटमा आइसकेपछि भने सल्लाह भएको थियो।

मलाई चैं छोरी छदैंछ, छोरा छ भने राखौं, नत्र नराखौं भन्ने लागेको थियो। तर सीडीले भने जे भएपनि जन्माउनै पर्ने भनेको थियो। 

अहिले नेपालमा बच्चाको जेन्डर हेर्न पाउँदैन, त्यतिखेर पनि यो व्यवस्था थिएन। तर मेरो एकजना साथीलाई भने कहाँ जेन्डर हेर्छ भन्ने थाहा रहेछ।

सीडीसँग सल्लाह नगरी म एक्लै बच्चाको जेन्डर हेर्न गएँ। परिक्षण गर्दा छोरा नै छ भन्यो। पहिलो बच्चाको समयमा जस्तै, मलाई ४ महिनासम्म वाकवाकी आउने भयो। त्यसपछि केही भएन।

सिभिल अस्पतालमै मैले नियमित जाँच गराएँ। फरक यत्ति हो कि, छोराको समयमा मैले क्यालसियम र आइरन चक्की दुवै खाएँ।

पेटमा छउन्जेल र बच्चा मेरो भन्ने नहुन्जेलसम्म एउटा डर भने भइरह्यो, दुवै बच्चाको समयमा। त्यो थियो, कतै मेरो बच्चा साटिदिन्छन् कि, या केही गर्दिन्छन् कि भन्ने। 

दोस्रो बच्चा छोरा जन्मँदा मैले पहिलो बच्चाको समयमा जस्तो सीडीको साथ पाइनँ। संगीतको चटारोले भ्याइ-नभ्याई थियो उसलाई।

बच्चा जन्मेको १३ दिनदेखि नै मैले घरको सबै काम गर्न थालें। योबीचमा मलाई सुत्केरी हुँदाको स्याहार पुगेनछ। हात खुट्टा दुख्थ्यो चिसोले। सुत्केरी स्याहार नपुगेरै होला भन्दै पट्टी बाँधेर बस्थें।

जति बेलै एक्लो हुँदा मनोवैज्ञानिक रुपमा पनि असर परेछ। त्यसैले लाखमा एकदुई जनालाई लाग्ने लुपोस् भन्ने बाथ रोग लागेछ।

यो रोगका लागि घाममा बस्न नहुने रहेछ। घाममा बस्यो कि अनुहार भरी घाउ मुख भरी घाउ हुने रहेछ। अब बाँचुन्जेल म घाममा बस्न मिल्दैन भनेको छ डाक्टरले।

औषधि खाँदाखाँदै मलाई त झनै च्याप्यो। एक महिना केएमसी अस्पतालको आइसीयूमा बसें। शरीर पुरै प्यारालाइसिस भयो।

नेपालमा उपचार नभएर भारतमा गएर अलि ठिक भएर आएँ। अहिले पनि खुट्टामा पूर्ण रुपमा सेन्स् आइसकेको छैन। 

यो पनि

२२ माघ, २०७९, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।