ब्याच नम्बर ६९ : मेसिनले विमानस्थलकै हाकिमले सुन लुकाएको देखाएपछि…

ब्याच नम्बर ६९ : मेसिनले विमानस्थलकै हाकिमले सुन लुकाएको देखाएपछि…

अपराध अनुसन्धानमा प्रोफाइलिङको धेरै महत्व छ। यो अपराधमा संलग्न हुन पनि सक्छ भन्ने सोचेर गर्ने काम हो। यसमा जो-कोही पनि शंकामा पर्न सक्छन्। शंकामा परेकाहरु सबै दोषी हुन्छन् भन्ने हुँदैन। धेरै निर्दोष पनि प्रोफाइलिङमा पर्छन्।

प्राय: सर्वसाधारणको आवत-जावत हुने एयरपोर्ट वा बसपार्क जहाँ पनि प्रोफाइलिङ हुनसक्छ। यसको अभ्यास अलि बढी एयरपोर्टमा हुन्छ। तर यो जहाँ पनि प्रयोग भने गर्न सकिन्छ।

कोही अप्ठ्यारो गरी हिँडिरहेको छ भने ऊ शंकामा पर्न सक्छ प्रोफाइलरको। विमानस्थलतिर हो भने उसले मलद्वारमा सुन वा अन्य केही लुकाएर ल्याएकाले अप्ठ्यारोमा परेको हुन सक्छ। यसरी सुन लुकाउर ल्याउनेहरुको हिँडाइ हेर्दा केही खस्छ कि जस्तो गरेर हिँडिरहेका हुन्छन्, दिसाले च्यापेको बेलामा झर्छ कि भनेर हिँडे जस्तै।

एयरपोर्टमा विमानबाट ओर्लिएपछि कसैले केही खायो या खाएन भने पनि शंकामा पर्न सक्छन्। पानी खायो या खाएन वा कफी खायो या खाएन हेर्न सक्छन्। कसैले पानी खान चाहेन, शौचालय पनि जाँदैन भने उसले केही निलेर आएको हुनसक्ने शंका भयो।

हेरोइन या सुन नै निलेर पनि तस्करी गर्छन् नि। त्यसको निश्चित समय हुन्छ भित्र जोगिने। अझ विशेष हेरोइनमा। हेरोइनलाई क्याप्सुल आकारमा प्याक गरेर केरा या अन्यसँग मिसाएर खाएर आएका हुन सक्छन्। त्यस्तो व्यक्तिले न पानी खान्छ न ट्वाइलेट नै जान्छ। कफी त खाँदै खाँदैन तातोका कारण। यस्तोमा शंका लागेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा धेरै फेला पनि परेका छन्।

नेपालमा मात्र हैन अन्य विमानस्थलमा पनि प्रोफाइलिङ गर्ने विधि यस्तै हो। त्यसैले आफू कुनै गलत काममा संलग्न छैन र विमानस्थलमा शंकामा पर्नु छैन भने सबैभन्दा सजिलो कफी खानु, पानी खानु अनि शौचालय जानु पनि हो। यसले शंका कम हुन्छ। नर्मल हिँडाइ अनि विमानस्थलमा डराएको वा आत्तिएको हाउभाउ नगर्दा अनावश्यक सोधपुछबाट जोगिन सक्छ।

यसमा रिस्क हुन्छ। किनभने, पक्का हैन नि यो त। शंकाकै आधारमा व्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रक्रिया भयो। धेरै शंका, शंका मात्रै हुन पनि सक्छ। यसमा प्रहरीले दु:ख मात्र दिन्छ भन्ने लाग्न पनि सक्छ। 

त्यो बेलामा हङकङबाट मलद्वारमा सुन लुकाएर ल्याउने क्रम खुब बढेको थियो। त्यसको जाँच गर्न एउटा आवाज आउने मेसिन राखिएको थियो विमानस्थलमा। त्यसले मलद्वार नजिक लगेर छुँदा प्वाँ गरेर आवाज आउँथ्यो।

एक घटना। यो मानिसले हैन मेसिनले झुक्याएको।

त्यो बेलामा हङकङबाट मलद्वारमा सुन लुकाएर ल्याउने क्रम खुब बढेको थियो। त्यसको जाँच गर्न एउटा आवाज आउने मेसिन राखिएको थियो विमानस्थलमा। त्यसले मलद्वार नजिक लगेर छुँदा प्वाँ गरेर आवाज आउँथ्यो।

एक दिन परीक्षण गर्ने कर्मचारीले परीक्षण गर्दै जाँदा प्वाँ गरेर बज्यो। ती व्यक्ति विमानस्थलका उच्च तहका अधिकृत नै थिए। कर्मचारीले चिनेको भए मेसिनले परीक्षण नगर्न पनि सक्थ्यो। उसले चिनेन र मेसिन मलद्वार नजिक लगेर छुवाउँदा प्वाँ गरेर बज्यो।

विमानस्थलमा हल्ला-खल्ला भयो। विमानस्थलकै हाकिमले मलद्वारमा सुन बोकेर ल्याएको शंका भयो नि। पछि परीक्षण गर्दा मेसिनको प्रोफाइलिङ गलत निस्कियो। उनले सुन बोकेर ल्याएका थिएनन्। मेसिनले कुन चाहिँ मेटललाई स्क्यान गरेर प्वाँ गरेर बजिदियो। 

यस्तो म्यानुअल प्रोफाइलिङमा पनि हुन्छ। गाली खाइन पनि सकिन्छ। तर हामीले हेर्ने कति जनाले दु:ख पाए भनेर हैन। एक जना पनि अपराधी नछुटोस् भनेरै हो।

त्यसैले प्रहरीले गर्ने चेकजाँच, सोधपुछ खाली दु:ख दिने नियतले मात्र गरेको हुन्न। प्रोफाइलिङमा कुनै बेला के आधारमा सोधपुछ गरेको भन्न पनि नसक्ने हुनसक्छ। जस्तो: अलि अप्ठ्यारो गरी हिँडिरहेको आधारमा कसैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भएको शंका अनुसार देखिएन भने हिँडाइमा शंका लागेर सोधपुछ गरेको भन्दा 'हेर बहाना, अब हिँड्न पनि ख्याल गर्नुपर्ने भो, नत्र प्रहरीले दु:ख दिन्छ' भन्न सक्छन् नि। 

अहिले कसैको हिँडाइकै आधारमा नियन्त्रणमा लिएर सोधपुछ गरेको सूचना बाहिरिने हो भने त सामाजिक सञ्जालमा 'हिँड्नु अगाडि प्रहरीसँग प्रशिक्षण लिनुहोला नत्र तपाईं शंकामा पर्न सक्नुहुन्छ' भनेर पक्का उडाउँछन्।

तर, त्यही हिँडाइमा शंका गरेर ठूला-ठूला सुन तस्कर अनि लागुऔषध तस्कर समातिएका छन्। यसको आधार त्यही प्रोफाइलिङ नै त हो।

एउटा यस्तै घटना लेख्छु जसको आधारमा नेपालबाट हङकङमा चरेस तस्करीका लागि काठमाडौँमा खुलेको कारखानैसम्म प्रहरी पुग्न सफल भएको थियो। यसको आधार त्यही सामान्य शंका मात्रै थियो।

एक जना व्यक्ति बोन यास (Bone Ash) को मूर्ति हङकङ पठाउँदै आएका थिए। बोन यास भनेको चाहिँ हड्डीमा बनेको मूर्ति जस्तो हुन्छ नि सेतो अनि खैरो। अलि बढी लाफिङ बुद्धको जस्तो देखिन्छ यस्तो मूर्ति।  

के गर्ने रहेछ भने, विमानस्थलमा खटिएको लागुऔषध हेर्ने टोलीले त्यत्तिकै उसलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेछन्। उसले आफू यी मूर्ति लिएर हङकङ जान लागेको र हङकङमा गएर बेच्ने बतायो।

अनि, मूर्ति कहाँबाट ल्याएको भनेर सोध्दा बजारबाट किनेर अनि उता हङकङमा गएर बिक्री गर्ने भन्नासाथ ऊ प्रोफाइलरको नजरमा परिहाल्यो। किनकी, बोन यासका मूर्तिहरु उल्टो विदेशबाट नेपालमा आइरहेका थिए। अब त्यही विदेशबाट ल्याएको मूर्ति पुन: विदेश लगेर बेच्दा फाइदा हुन्छ भनेर पत्याउने विषय पनि भएन।

यसमा उसले केही ढाँटिरहेको देखियो। अनि उसलाई टोलीले भन्सारमा सामानसहित लगे। त्यो बेला भन्सार अहिलेको आन्तरिक उडानमा विमानका काउन्टरहरु छन् नि हो त्यही थियो। उसले पटक-पटक उही कुरा दोहोर्याइरह्यो। तर हाम्रो टोलीलाई विश्वासै भएन।

विदेशबाट किनेर नेपाल ल्याएको मूर्ति बजारबाट किनेर फेरि विदेश लैजाँदा कसरी फाइदा हुन्छ? शंकाको आधार यही एक प्रश्न मात्र थियो। हाम्रो टोलीलाई लागेको शंका कतै मूर्तिभित्र चरेस त छैन भन्ने हो। तर सिंगो मूर्तिभित्र कसरी चरेस राख्न सक्छन् भन्ने दुविधा पनि थियो।

तर, प्रोफाइलको मनै मानेन। छलफलपछि एउटा मूर्ति फुटाएर हेर्ने निर्णय भयो। अब मूर्तिमा केही नभेटिए नमस्कार गर्दै माफी मागौँला तर एउटा त फुटाउँ भन्ने भयो र एक मूर्ति फुटाइयो।

उसले बजारबाट किनेर हङकङ लगेर बेच्छु नभनी 'मेरो कारखाना छ, यहीँ बनाएर लैजान लागेको' भनेको भए शंका नहुन पनि सक्थ्यो। तर उसले कारखाना छ भन्दा शंका होला भनेर बजारबाट किनेको भन्यो। विदेशबाट ल्याउने सामान किनेर फेरि विदेशै भन्ने प्रश्न उठ्यो। अनि शंकामा पर्यो। त्यही शंकाले चरेस कारखानासम्म पुर्यायो।

मूर्ति भित्र अर्कै सामान देखियो। त्यो चरेस रहेछ। शंका सामान्य हो नि। तर त्यो शंकाले चरेस त फेला पर्यो। सबै मूर्तिबाट पाँच किलोजति चरेस निस्कियो। उसलाई लागुऔषधको कार्यालयमा ल्याएर सोधपुछ सुरु गरियो। उसले बजारबाट किनेको देखिएन। भनेपछि कहाँबाट आयो त चरेस भरेको लाफिङ बुद्ध!

०००
१० जना जतिको टोली लिएर बसुन्धरा क्षेत्रमा गएँ। अहिलेको चिरायु अस्पताल भएको ठाउँ नै हो त्यो। त्यहाँ पहिला त खेतै-खेत थियो। विद्युत प्राधिकरणको कार्यालय छ नि, त्यो भन्दा अलि पर एक घर देखायो त्यही व्यक्तिले। ढोकामा ताल्चा लागेको थियो। झ्याल फोडेर भित्र गयौँ।

भित्र कारखानामा भर्खर बनाएका टन्नै मूर्तिहरु थिए। उसले बोकेको लाफिङ बुद्ध त्यहीँ बनेको थियो। ऊ पनि त्यो कारखानामा काम गर्ने व्यक्ति। खोज्दै जाँदा चरेसहरु पनि फेला परे। त्यहाँ भएका सबै मूर्तिभित्र चरेस थिए। 

त्यहाँ अर्को एक व्यक्ति पक्राउ परे। बुझ्दा घोललाई साँचोमा राखेर मूर्ति बनाउँदा नै उनीहरुले साँचोको बीचमा तीन सय ग्रामजति चरेस राख्ने रहेछन्। मूर्तिको चाबीमा घोल हाल्यो, मूर्ति सग्लै तर भित्र चरेस। अनि मूर्ति भनेर हङकङ पठायो। त्यहाँको समूहले मूर्ति फुटाउँदै चरेस निकालेर बेच्छ।

कारखाना र मूर्तिहरुबाट गरेर पन्ध्र किलो जति चरेस फेला पर्यो होला। तर यसमा बरामद भएको चरेसको परिमाणभन्दा पनि काराखानै फेला पर्नु ठुलो कुरा हो नि। यसमा सामान्य रुपमा प्रहरी स्लिप भएको भए कहिलेसम्म उनीहरुले मूर्ति भनेर चरेस तस्करी गरिरहन्थे अनि कति किलो नेपाली चरेस हङकङ पुग्थ्यो के भन्न सकिन्छ र!

उनीहरुबाट हङकङका केही नम्बरहरु फेला परेका थिए। हामीले थप अनुसन्धानका लागि ती नम्बरहरु उतै पठाइदियौं। दुई जनामाथि नेपालमै मुद्दा चल्यो।

उसले बजारबाट किनेर हङकङ लगेर बेच्छु नभनी 'मेरो कारखाना छ, यहीँ बनाएर लैजान लागेको' भनेको भए शंका नहुन पनि सक्थ्यो। तर उसले कारखाना छ भन्दा शंका होला भनेर बजारबाट किनेको भन्यो। विदेशबाट ल्याउने सामान किनेर फेरि विदेशै भन्ने प्रश्न उठ्यो। अनि शंकामा पर्यो। त्यही शंकाले चरेस कारखानासम्म पुर्यायो।

यही हो प्रोफाइलिङको शक्ति।

ब्याचका पुराना अंक

२२ असार, २०७९, १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।