बुङमती कुमारीकी आमा बिनुको प्रसव पिडा र खुसी : एक दुई वर्ष श्रीमान-श्रीमती घुमौँ भन्ने थियो, चार महिनामै गर्भ बस्यो

बुङमती कुमारीकी आमा बिनुको प्रसव पिडा र खुसी : एक दुई वर्ष श्रीमान-श्रीमती घुमौँ भन्ने थियो, चार महिनामै गर्भ बस्यो

ललितपुर बुङमतीमा अहिले जीवित देवी अर्थात् कुमारी बनेकी छन्, युविका बज्राचार्य। उनको दुधे दाँत नहल्लेसम्म, नझरेसम्म उनी बुङमतीको कुमारी हुनेछिन्। उनै जीवित देवीलाई जन्म दिएकी आमा हुन्, बिनु बज्राचार्य।

धादिङमा जन्मेकी बिनुले कसरी ललितपुर बुङमतीको कुमारीलाई जन्म दिइन्? बच्चा पेटमा आएपछि के कस्ता अवस्था भोग्नुपर्यो र बच्चा जन्मिसकेपछि आमा बन्दाको खुसी कस्तो लाग्यो?

एक्लो सन्तान बुङमतिकी कुमारी युविका बज्राचार्यकी आमा बिनु बज्राचार्यले उकेरासँग आफ्ना प्रसव पिडा र खुसी साँटिन्ः

OOO

मेरो जन्म धादिङमा भयो। गाउँको उकाली ओरालीमा घाँस दाउरा गर्दै बाल्यकाल बित्यो। विद्यालय पनि गइन्थ्यो तर पछि भने पढ्न छाडेर सिलाइ कटाइको तालिम लिएँ। गाउँमै तीन वर्षसम्म ट्रेलर खोलेर बसेँ।

गाउँमा हुर्केकी छोरी। बाउआमालाई त बिहे गरेर पठाइहाल्न पाए हुन्थ्यो भन्ने लागेको थियो होला। मलाई पनि अब बिहे गर्ने बेला भयो भन्ने नलागेको हैन। तर सोचेजस्तो, भनेजस्तो मलाई बुझ्ने केटै फेला परेन। मेरो बिहेका लागि भनेजस्तो केटा नपाइरहेको समयमा, मेरी बहिनीले आफै केटा खोजेर बुङमतीको केटासँग प्रेम विवाह गरिन्।

युकेश बज्राचार्य पनि केटी खोज्दाखोज्दै हैरान पर्नुभएको रहेछ। मन नमिल्ने, बिचार नमिल्ने भएकाले बिहे नगरी बस्नुभएको रहेछ। पुस महिना थियो क्यारे, बहिनी ज्वाइँसँगै धादिङ महोत्सवमा मलाई भेट्न उहाँ आउनुभयो।

धादिङ महोत्सवमा हाम्रो पहिलो भेट भयो। मलाई उहाँ मन पर्यो, उहाँलाई म। मैले पनि धेरै केटाहरूको प्रस्ताव अस्वीकार गरेँ, उहाँले पनि त्यस्तै गर्नुभएको रहेछ। तर हामी भेट हुने बित्तिकै एक अर्कालाई मन पर्यो। सायद भगवानले यस्तै लेखाइदिएका थिए कि!

पुसमा भेट भएपछि हाम्रो फेसबुक र फोनमा गफ हुन्थ्यो। काठमाडौँ आएको समयमा म उहाँलाई भेट्न बोलाउँथेँ। हामी एक अर्का जीवन बिताउन सक्छौँ भन्ने भएपछि उहाँ मेरो दाजुहरूकहाँ माग्न जानुभयो।

मेरो दाजुहरूको घर पाटन डामाडोल छ। यत्तिको केटा भए हुन्छ भनेर दाजुहरू राजी हुनुभयो। अनि बल्ल धादिङ घरमा बुबा आमासँग माग्न जानुभयो। हामीले वैशाख महिनामा दुवै परिवारको सहमतिमा बिहे गर्यौँ।

सुरुमा छोरीबाट बुहारीमा ढल्न निकै गाह्रो भयो। धादिङका शाक्य नेवार र यहाँको बज्राचार्य नेवारको संस्कार नै फरक रहेछ। सबैभन्दा समस्या चैँ भाषामा भयो।

मैले नेवारी बोलेको सुनेकै बिहे गरेपछि हो। परिवारका सबै सदस्य भेट हुने बित्तिकै नेवारी भाषामा गफ गर्न थाल्ने। म ट्वाँ परेर बस्ने। आफू लाटो जस्तो महसुस भयो। सुरुमा त कस्तो घरमा बिहे गरेछु भन्ने पनि भयो। अहिले भने उहाँहरूले बोलेको बुझ्छु फर्काउन आउँदैन।

बिहे गर्ने बित्तिकै बच्चा जन्माउन मेरो रहर थिएन। एक दुई वर्ष श्रीमान-श्रीमती घुमौँ, रोमान्स गरौँ भन्ने थियो। तर घरमा बच्चाको एकदम खाँचो भइसकेको थियो। बिहे भएको ४ महिनापछि म गर्भवती भएँ।

मेरो सासू माँको दुई छोरा मात्रै। अनि हाम्रोमा बन्दुदत्त बज्राचार्यको छोरी मात्रै कुमारी हुनुपर्ने मान्यता छ। विभिन्न सञ्चार माध्यममै आउन थालिसकेको थियो, बुङमतिमा अब कुमारी हुने कोही छैन भनेर।

यो भन्दा अघिल्लो कुमारीको दाँत हल्लन थालिसकेको थियो। जति दाँत हल्लँदै गयो, उति कुमारीलाई गाह्रो हुँदै जान्छ। त्यसैले हाम्रोमा बच्चा, त्यसमाथि छोरीको निकै खाँचो थियो।

सबैको प्रेसर र परम्परा धान्न मैले छोरी जन्माउनै पर्ने थियो। त्यसैले बिहे गरेको चार महिनामै म गर्भवती भएँ।

सुरुमा महिनावारी रोकियो। बच्चाको योजना भएकाले गर्भवती भएँ कि भन्ने भयो। त्यसपछि परीक्षणका लागि गएँ। नभन्दै रिपोर्ट सकारात्मक आयो। बिस्तारै वाकवाक लाग्ने, गाह्रो हुने हुन थाल्यो।

चार महिनासम्म एकदमै गाह्रो भयो। एक कप कालो चिया खाएर ज्यान धानेँ त्यो समयमा।

पाँच महिनापछि भने बिस्तारै खाना रुच्न थाल्यो। घर भन्दा तल ट्रेलर छ मेरो। बच्चा पेटमा आएपछि पनि मैले हरेक दिन ट्रेलरमै बिताउँथे। जो पनि कपडा सिलाउन आउनुहुन्थ्यो, सबैले छोरी जन्मियोस् भनेर जानुहुन्थ्यो। मलाई भने कस्तो कस्तो लाग्थ्यो। किनभने पहिलो बच्चा छोरा भइदिए हुन्थ्यो भन्ने मेरो भित्री मनमा थियो।

पाटन अस्पतालमा नियमित चेकअप गरेँ। बच्चा सात महिना पुगेपछि होला, मलाई मुलाको पात हुन्छ नि त्यो खान मन लाग्ने भएर आयो। घर अगाडीबाट फ्रेस मुला पात हल्लाउँदै बेच्न लैजान्थ्यो। मलाई भने त्यो पात जति सबै मलाई दिएर गए पनि हुने भन्नेजस्तो लाग्थ्यो।

बच्चा पेटमा हुँदा मलाई खान मन लागेको त्यही हो। खान मन नलागेको चैँ चाउचाउ। त्यो छरछिमेकले पकाएको छ भने पनि वाक्क आउँथ्यो।

पेट बढ्दै जाँदा सुत्न भने गाह्रो हुन्थ्यो। पेट ठुलो भएको थियो। माइतीका दाइ भाउजूसँग निकै लाज लाग्थ्यो। घरका मानिससँग भने खासै लाज लाग्दैनथ्यो।

बच्चा जन्मने दिन नजिकिँदै गर्दा घरमै नराम्रोसँग पेट दुख्यो। रातभर सहनै नसक्ने गरेर पेट दुखेपछि भोलिपल्ट बिहान मलाई पाटन अस्पताल लगियो।

पिडा यति धेरै भएको थियो कि, म सहन सक्दिन अपरेसन गरिदेऊ भनेर नर्सलाई भनेकी थिएँ। जति भने पनि नर्सहरूले अपरेसन गरिदिएनन्।

मेरो भाउजू पनि अस्पतालमा सँगै हुनुहुन्थ्यो। १२ बजेको थियो होला, उहाँले मेरो व्यथा हेर्दै अपराह्न ४ बजेसम्ममा तेरो बच्चा जन्मिएला भन्नुभयो। मलाई भने चार बसेसम्म त म मरिसक्छु भन्ने भयो।

भाउजूले भनेजस्तो ४ बजे समेत कट्यो। न बच्चा जन्मियो, न म मरेँ। एक्कैचोटी साँझ ६ : ४५ मा बल्ल मैले बच्चा जन्माएँ। छोरी जन्मने बित्तिकै सबै परिवारहरू देवी कुमारी जन्मियो भनेर खुसी भए।

बच्चा जन्मेपछि यो त मेरै हो भन्ने अनुभूति भयो। छुट्टै माया लाग्ने रहेछ। आमा बनेँ भन्ने गर्व हुने रहेछ।

बच्चा जन्मेपछि पेट भने खाली भयो। सुप ल्याइदिएका थिए, त्यो चम्चाले हैन, एक्कैचोटी खाइदिऊँ जस्तो लाग्यो। भोक एकदम धेरै लाग्यो।

सासू ससुरा सबै जना खुसी हुनुभयो। कुमारी देवा पायो भनेर सबैलाई भन्नुहुन्थ्यो। मेरो छोरी नै कुमारी हुने हो पछि भन्ने भएपछि हामीले सानैदेखि कपाल नकाटिदिने, अन्डा, कुखुरा नखुवाउने गरेका थियौँ।

चार वर्षपछि बल्ल मेरी छोरी औपचारिक रूपमा कुमारी बन्नुभयो। अचम्म के भयो भने, कुमारी भएको दुई महिनासम्म उहाँले धेरै दुःख दिनुभयो। रिसाउने। चिटचिट गर्नेदेखि विभिन्न मागहरू राखिदिने।

एक पटक बिहान उठ्न पाएको छैन, समयबजी खाने भन्न थाल्नुभयो। त्यति बिहान न राँगो काट्ने पसल खुलेको छ, न केही। फेरि बासी मासु खुवाउन भएन। हतार हतार सामान जोडेर समयबजी खुवाउनुपर्यो।

दुई महिनापछि भने विद्यालयमा जुठो पर्यो भने या केही भयो भने रिसाउने, झगडा गर्ने गर्नुहुन्छ। क्षमा पूजा गरेपछि मात्रै ठिक हुन्छ।

आफूले जन्माएको बच्चा हो नि, बेलाबेला रिस उठ्छ। औपचारिक रूपमा कुमारी नहुँदा त मैले धेरै रिस उठेको समयमा पिट्थेँ पनि। तर भगवानसँग रिसाउन भएन, भगवानलाई पिट्न भएन। तर अहिले भने उहाँलाई डर देखाउनुपर्छ।

उहाँ म बिना एकै छिन पनि बस्न सक्नुहुन्न। उहाँको रिस शान्त गराउन, म छाडेर गइदिन्छु, फर्केर आउँदिन भनेपछि चुप बस्नुहुन्छ, भनेको मान्नुहुन्छ। उहाँमा मैले छाडेर जान्छु कि भन्ने डर छ जस्तो लाग्छ।

एउटा जिउँदो देवीको आमा बन्न पाउँदा एकदमै आनन्द आउँदो रहेछ। भगवानलाई जन्माएँ, भगवानको आमा बन्न पाएँ भन्ने अनुभूति छुट्टै हुने रहेछ। तर कहिलेकाहीँ अरू बच्चाले जस्तै बाँच्न पाउने अधिकार मेरो बच्चाको पनि थियो भन्ने अनुभव हुन्छ। किनभने खेल्न जाँदा उहाँलाई अरू साथीले नाघ्न हुँदैन, जुठो पार्न हुँदैन। 

यो पनि

२५ मंसिर, २०७९, २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।