दोहोरी गायिका चन्द्रकलाको प्रसव पीडा र खुसी : थाहै नपाई दुई बच्चा पेटमा आए, तेस्रो चाहिँ पुग्यो भनेर एबोर्सन गरेँ

दोहोरी गायिका चन्द्रकलाको प्रसव पीडा र खुसी : थाहै नपाई दुई बच्चा पेटमा आए, तेस्रो चाहिँ पुग्यो भनेर एबोर्सन गरेँ

चन्द्रकला घिमिरे दोहोरी गायिका हुन्। तर दोहोरीभन्दा भजनमा बढी सक्रिय छिन्। विभिन्न धार्मिक कार्यक्रममा उनी र उनको समूह भजन गाउन पुग्छ।। कसैको बिहेमा रत्यौली खेल्नुपरे या प्रत्यक्ष दोहोरी खेल्नुपरे काठमाडौंको जोरपाटी क्षेत्रतिर उनैको नाम पहिलो नम्बरमा आउँछ। उनीहरू आफ्नै समूह बनाएर रत्यौली पनि खेल्न जान्छन्।

चन्द्रकलालाई सानैदेखि चर्चित बनौँ जस्तो लाग्यो रे। तर २०६० सालमा लोक दोहोरी गाउने साथीहरूको सङ्गतमा परिन्। राष्ट्रिय लोक तथा दोहोरी गीतको आजीवन सदस्यता लिएपछि उनको गायन यात्रा सुरु भयो।

अहिले भने उनको समूहले जोरपाटीमा सालीनदी लाइभ दोहोरी नामको स्टुडियो खोलेको छ। त्यहाँ उनीहरू युट्युबका लागि दोहोरी गीतका भिडियो उत्पादन गर्छन्।

गायनकलामा व्यस्त चन्द्रकलाका दुई सन्तान छन्। विभिन्न कार्यक्रम र सभा समारोहमा समय बिताइरहेकी भजन तथा दोहोरी गायिका चन्द्रकला घिमिरेले उकेरासँग प्रसव पिडा र खुसी साटिन् :

OOO

मेरो जन्म काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा भयो। पाँच कक्षासम्म मैले गाउँमै पढेँ। त्यसपछि भने ललितपुरमा रहेको पाटनमा भाइहरूसँगै बसेर पढ्न थालेँ। च्यासलमा रहेको शान्ति श्री माध्यमिक विद्यालयबाट एसएलसी दिएकी हुँ।

मेरो जेठो दाइ प्रहरी हुनुहुन्थ्यो। उहाँले नै हामीलाई डेरा भाडा तिरेर त्यहाँ पढाउनुभएको थियो। दाइको छोरो, मेरो कान्छो भाइ र म डेरामा बसेर पढ्थ्यौँ।

हाम्रै डेरा नजिकै काम गर्नुहुन्थ्यो रामचन्द्र घिमिरे, मेरो श्रीमान्। उहाँ गलैँचाहरूमा कलर गर्ने डाई मास्टर हुनुहुन्थ्यो। पसल आउजाउ गर्दा हाम्रो नजर भने जुधिरहन्थ्यो।

उहाँलाई साना बच्चाहरूसँग खेल्न असाध्यै मन पर्ने, छिट्टै साथी बनाइहाल्ने। मेरो भाइसँग पनि घुलमिल भइहाल्नुभएछ। ऊसँग पसलमा चिया खाने गर्दागर्दै हाम्रो डेरामा आउजाउ सुरु भयो।

मलाई पनि उहाँ मन पर्यो, उहाँलाई पनि म। मैले एसएलसी दिने बित्तिकै उहाँसँग प्रेम विवाह गरेँ। हाम्रो प्रेम करिब ६ महिनासम्म चल्यो।

उहाँ उपाध्याय बाहुनको छोरा, म कुमाईं बाहुनकी छोरी। अन्तर जिल्ला पनि पर्यो। म काभ्रेपलान्चोकको उहाँ गोर्खाको। हामी दुई प्रेममा भए पनि परिवारबाट स्वीकृति पाउन गाह्रो पर्यो। जात र जिल्ला नमिलेको मात्रै हैन, मेरो उमेर पनि विवाहका लागि उपयुक्त भइसकेको थिएन।

म त्यति बेला १६ वर्षको मात्रै थिएँ। मेरो श्रीमान् भने म भन्दा ७ वर्ष जेठो हुनुहुन्थ्यो। मेरो बुबा रिसाएर बाल विवाहको मुद्दा हाल्छु समेत भन्नुभएको थियो।

मेरो ठुलो दाइले हाम्रो विवाह गराइदिनुभयो। श्रीमानले आफ्नो घरतिर भनिसकेको छु भन्नुभएको थियो। तर हैन रहेछ। झुट बोल्नुभएको रहेछ।

गाउँमा नयाँ घर बनाएको वर्ष परेछ त्यो। गोर्खातिर नयाँ घर बनाएको वर्ष विवाह गर्न हुँदैन भन्ने चलन रहेछ। त्यसैले उहाँले घरमा सल्लाह नै नगरी यता बिहेको तयारी थाल्नुभएको रहेछ।

विवाहको दिन पो एक जना साथी मात्रै लिएर आउनुभयो। विवाह गरेपछि मात्रै उहाँको परिवारलाई थाहा भएको हो। उहाँ राम्रो घरपरिवारको छोरा। गाउँमा केटी दिने टन्नै रहेछन्। पहिल्यैदेखि कुरा पनि भइरहेको थियो होला। तर उहाँले सल्लाह नै गर्नुभएको रहेनछ।

मेरो तर्फबाट भने ममी, साइलाबा साइलीआमा, हजुरबा लगायत अरू सदस्यहरू आउनुभएको थियो। मेरो बुबालाई मैले अझै पढोस् भन्ने लागेको थियो। उहाँलाई मेरो विवाह त्यत्ति छिटो भएको मन परेन। त्यसैले आउनुभएन।

बुबाले छोटो समय मात्रै घुर्की देखाउनुभएको रहेछ। त्यही वर्षको दसैँमा बोलाएर टिका लगाइदिनुभयो। अहिले यो संसारमा हुनुहुन्न। तर पछि मेरो श्रीमान् उहाँको प्रिय ज्वाइँ बन्नुभएको थियो। मेरो बरु वास्ता गर्नुहुन्थेन, ज्वाइँसँग भने कुरा गरिरहनुहुन्थ्यो।

बिहे भएपछि फ्यामिली प्लानिङ गर्नै भ्याएनौँ। म छिट्टै गर्भवती भएँ।

मेरो महिनावारी नियमित हुन्थ्यो। तर बिहे भएको केही महिनामै महिनावारी रोक्कियो। १५ दिनसम्म पनि महिनावारी नभएपछि श्रीमानसँगै पाटन अस्पताल जँचाउन गएँ। त्यो समयमा हाम्रो बसोबास पाटनमै थियो।

अस्पताल गएपछि नर्सले युरिन टेस्ट गरे। रिपोर्ट सकारात्मक आयो। मेरो श्रीमान् बच्चा मन पराउने स्वभावको। म भन्दा त उहाँ नै धेरै खुसी हुनुभयो।

अरू महिला साथीहरूले गर्भवती हुँदा धेरै गाह्रो भएको कुरा सुनाउनुहुन्थ्यो। तर मलाई केही भएन। मलाई कुनै दिन न वाक्क वाक्क आयो, न रिङटा लाग्यो न कुनै कुरा खान मन नलाग्ने नै भयो। जे पनि मन पर्थ्यो।

गर्भवती हुनुभन्दा पहिले पनि मलाई अमिलो खान निकै मन पर्ने। बच्चा पेटमा हुँदा त झनै बहाना नै भयो। मैले त्यो समयमा धेरै अमिलो खानेकुराहरू खाएँ। पाका आमाहरूले भने गाली गर्नुहुन्थ्यो। मैले अमिलो खाँदा पेटमा बच्चालाई असर गर्छ, उसलाई गाह्रो हुन्छ भन्नुहुन्थ्यो तर मनले मागेको कता रोक्किनु नि।

बच्चा जन्माउने समयसम्मै मलाई केही गाह्रो भएन। टन्न खाना खान्थेँ। चल्तापुर्जा नै थिएँ। बच्चा जन्मने समय नजिकिँदै गर्दा तल्लो पेट दुख्न थाल्यो। सुरुमा त अस्पताल गइन। दुखाई झनै बढ्दै गायो। तीन दिनपछि खप्नै नसक्ने भएर पेट दुख्यो, अनि मात्रै पाटन अस्पताल गएँ।

अस्पताल पुग्दा साँझको पाँच बज्न लागेको थियो। मलाई कुर्न कान्छी नन्द बस्नुभयो। उहाँ एक महिना अघिदेखि नै हामीसँगै बस्नुभएको थियो। अस्पताल गएपछि झनै धेरै दुख्ने औषधी राखिदियो। धेरै समय बेथा लागेन। ८ बजेतिर त मैले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माएँ। पहिलो सन्तान छोरा जन्मियो।

नेपाली समाज, अहिले आधुनिक भनिएकाहरू त छोरा जन्माउन मरिहत्ते गरेको देखिन्छ। यो त झनै आज भन्दा २६ वर्षअघिको कुरो। छोरा जन्मेको भनेर परिवारमा खुसीयाली छायो।

गाउँमा मेरो सासू-ससुरा पनि धेरै खुसी हुनुभयो। गोर्खातिर त भात खुवाइ गर्दा पनि बाजा बजाएर भोज खुवाउने चलन रहेछ। उहाँहरूले हामीलाई बोलाएर सबैतिर भोज खुवाउनुभयो।

सानो उमेर भए पनि मैले ३ किलो ७ सय ग्रामको बच्चा जन्माएकी थिएँ। सानैदेखि मोटो भएकाले उसको काखीहरूमा कपास राखिदिनुपर्थ्यो, नपासोस् भनेर।

छोरो जन्मेपछि दुई पटक महिनावारी भएँ। त्यसपछि भएन। के भयो भनेर अस्पताल जँचाउन गएको त फेरि अर्को बच्चा पनि पेटमा आएछ। बच्चा पेटमा आएको पनि दुई महिना भइसकेछ।

अरूलाई जस्तो वाकवाक आउने, रिङटा लाग्ने भए पो पेटमा बच्चा आएको थाहा हुन्थ्यो। मलाई त केही भएन। त्यसैले बच्चा पेटमा आएको पनि थाहा पाएन।

दोस्रो पटक गर्भवती भएपछि नजिकका शुभचिन्तकले धेरै गाली गर्नुभयो। पहिलो सन्तान सानै हुँदाहुँदै फेरि अर्को जन्माउन किन हतार गरेको भनेर भने। तर हामीले थाहै नपाई म गर्भवती भएको कुरा उनीहरूलाई के थाहा।

दुई महिना भइसकेको बच्चा फाल्न मन लागेन। जे त होला भनेर जन्माउने निर्णय गर्यौँ।

पहिलो सन्तानको समयमा जस्तै खान मन नलाग्ने कुरा केही भएन। जे पनि रुच्थ्यो। काखमा सानो छोरो भएकाले पेटको बच्चालाई ध्यान दिन भने समस्या पर्थ्यो।

त्यो समयमा हामी पाटनबाट जोरपाटीको ओरालोमा बस्न थालेका थियौँ। पाटनमै चिनेका चिकित्सकहरू थिए। अन्त जँचाउन मन लागेन। दोस्रो पटक पनि हामी पाटनमै नियमित चेकजाँचका लागि गयौँ।

दोस्रो बच्चा पनि बिना समस्या मैले पाटन अस्पतालमै जन्माएँ। छोरी जन्मिइन्।

पहिलो बच्चा छोरी भएको भए अब के हुने होला भनेर डर हुन्थ्यो। तर पहिलो बच्चा छोरा थियो। छोरी जन्मँदा सबै खुसी भए। दाइलाई बहिनी र बहिनीलाई दाइ भयो भनेर मलाई पनि खुसी लाग्यो।

दोस्रो सन्तान छोरी जन्मेपछि फेरी पहिलेको जस्तै झुक्किएर पेटमा अर्को बच्चा पनि आएको थियो। यो पटक त महिनावारी समेत हुन पाएको थिएन। अब भने पुग्यो भनेर तेस्रो बच्चा एबोर्सन गरेँ।

मेरी छोरी बेलाबेला मलाई कचकच गरिरहन्छे, बहिनी थियो होला, जन्माएको भए मलाई साथी हुन्थ्यो भन्छे। कसरी पाल्नु एक पटक पैसा मागे दस हजारले मान्दैनौँ भन्छु अनि चुप लाग्छे।

मेरो पुरै परिवार साङ्गीतिक माहौलमा हुर्केकाले होला, कला प्रेमी छन्। श्रीमानलाई पहिले गाउन बजाउन मन पर्थेन, मेरो सङ्गतले होला, अहिले यो टोलकै सबैभन्दा राम्रो मादल बजाउनेमा उहाँकै नाम आउँछ। छोरा लव डिजे छ। नाच्न पनि सिपालु छ। एउटा रियालिटी लिटिल च्याम्समा गएर टप ६ सम्म पुगेको थियो। पहिलो हुन सकिन भनेर आजभोलि नाच्न खासै रुचाउँदैन।

छोरी प्रीति अस्ट्रेलियामा छिन्। उता सङ्गीत विषय लिएर स्नातकोत्तर गर्दै छिन्। स्टेजमा कार्यक्रम चलाउने, गीत गाउने, नाच्ने सबैमा उनी निपुर्ण छिन्।

यो पनि

कात्तिक २०, २०७९ आइतबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।