शिक्षिका राममायाको प्रसव पिडा र खुसी : नर्सले पाठेघरको मुख धेरै काटिदिएछन्, रगत त बगेको बग्यै

शिक्षिका राममायाको प्रसव पिडा र खुसी : नर्सले पाठेघरको मुख धेरै काटिदिएछन्, रगत त बगेको बग्यै

राममाया थपलिया पेसाले शिक्षिका हुन्। उनी धादिङ जीवनपुर, धुनिवेशी ३ मा अवस्थित महांकालेश्वर माविमा पढाउँछिन्। दुई सन्तानकी आमा रहेकी उनी पहिला विद्यार्थी राजनीतिमा समेत सक्रिय थिइन्। अहिले भने उनी पूर्ण शिक्षण पेसामा सक्रिय छिन्।

उनले टङ्क जोशीसँग जनवादी विवाह गरेकी हुन्। उनै राममायाले उकेरासँग बाँडेको आफ्नो प्रसव पिडा र खुसी :

OOO

धादिङको उत्तरी क्षेत्रमा मेरो जन्म भयो। बुबा कृष्णप्रसाद थपलिया प्रहरीमा हुनुहुन्थ्यो। अहिले उहाँ अवकाश जीवन बिताइरहनु भएको छ। आमा कमला गृहिणी हुनुहुन्छ। आमाको सपना थियो, सबै छोराछोरीलाई एसएलसीसम्म पास गराउने।

साना कक्षाहरूमा म कमै सक्रिय थिएँ। एक वर्ष एउटा कक्षामा फेल हुँदै अर्को वर्ष कक्षा चढ्दै अगाडि बढ्यो मेरो अध्ययन। एउटा कक्षामा एक पटक मात्रै दोहोर्याउन पाइन्थ्यो। जब ठुला कक्षामा चढ्दै गएँ, पढाइप्रति मोह बढेर आयो। साथीहरू उस्तै पढन्ते। मैले राम्रो नम्बर ल्याएर एसएलसी पास गरेँ। गाउँमै अङ्ग्रेजी विषयमा प्लस टु पनि सक्काएँ।

पढाई अझै माथि लैजाने मोहले म काठमाडौँ आएँ। गाउँमा शिक्षा लिएर पढेकाले मेरो आगामी पढाइको गन्तव्य ताहाचल क्याम्पस हुन पुग्यो। म जन्मेको गाउँ राजनीतिबाट अछुतो थिएन। मेरो आफ्नै काका माओवादीमा सक्रिय हुनुहुन्थ्यो। राजा वीरेन्द्रको बंशनाशै हुने गरी दरबार हत्याकाण्ड भएपछि भएपछि सरकारले सेना परिचालन गर्यो। काका मारिए।

काकाको राजनीतिक प्रभाव थियो ममा। सरकारी क्याम्पसको अध्ययन। त्यसमा पनि जन्मेदेखि नै पसेको राजनीति। म कसरी अछुतो रहन सक्थे र। म अखिल क्रान्तिकारीमा लागेर विद्यार्थी राजनीतिमा होमिएँ। खै के जोस थियो त्यो, खाना समेत नखाई जुत्ता धेरै फटाइयो। अहिले सम्झँदा आङ जिरिङ्ग हुने गरी आन्दोलनमा हिँडियो। अश्रु ग्याँसको राग मेटाउन झोलामा प्याजका डल्ला सधैँ हुन्थ्यो।

विद्यार्थी राजनीतिकै सिलसिलामा भेट भयो टङ्क जोशीसँग। हाम्रो बिचार मिल्यो। मन मिल्यो। हाम्रो मन एक हुँदै थियो। एकै पार्टीमा भएका कम्रेडहरुको बिचारमा भने फाटो आउन थाल्यो। हामीले जनवादी बिहे गर्यौँ। बिहे गरेपछि म श्रीमानसँग गइन। श्रीमान् मसँग आउनुभयो। मेरा भाइ-बहिनी मसँगै थिए। उनीहरूलाई छाड्ने कुरा भएन। त्यसैले उहाँ सहित हामी सबै सँगै बस्यौँ।

हाम्रो विवाह भएको केही समयमै पार्टी फुट्यो। म संस्थापन पक्षमै रहेँ, श्रीमान् मोहन वैद्यहरूको सङ्गठनमा लाग्नुभयो। यो पार्टी अहिले कति पटक फुट्यो, सायद फुटाउनेलाई नै थाहा नहोला। विवाह भएको पाँच महिनामा म गर्भवती भएँ।

त्यो समयमा हामी दुवै विद्यार्थी थियौँ। आयआर्जनको निश्चित स्रोत थिएन। बच्चाको योजना बनाएकै थिएनौँ। तर पेटमा बच्चा आइहाल्यो। आर्थिक रूपमा सबल नभए पनि पहिलो बच्चा जन्माउने आँट गर्यौँ।

बच्चा पेटमा आएको सुरुमा त थाहै भएन। वाकवाक लाग्ने, रिङटा लाग्ने, जे खाए पनि वाक्क आउने भएपछि जाँच गरेँ। अनि रिपोर्ट सकारात्मक आएपछि बल्ल थाहा भयो, म त गर्भवती भएछु भन्ने।

सुरुमा त निकै अत्यास लाग्यो। के गर्ने, कसो गर्ने भयो। दुवै उस्तै अल्लारे थियौँ। दुवैको आयआर्जन पनि थिएन। तर आइसकेको बच्चा जन्माउनै पर्छ भन्ने सल्लाह भयो।

पेटमा बच्चा आए पनि दौडधुप गर्न छाडिन। सुरुको ४ महिना गाह्रो हुँदाहुँदै पनि हिँडे। पानी खाए पनि पेटमा भने अट्दैनथ्यो। खानाको गन्धले नै वाक्क आउँथ्यो। मकैको बास्ना भने मन पर्थ्यो। त्यो समयमा मकै हुन्थेन भने भोकले मरिन्थ्यो होला। पोलेको हरियो मकैले सास धान्यो। मोटोघाटो मानिस दुब्लाएर मर्न आँटेको थिएँ।

४ महिनापछि भने मज्जासँग खाना रुच्न थाल्यो। पेट पनि बढ्दै गयो। ८ महिनासम्ममा त मेरो पेट यति धेरै बढेको थियो कि, टाढाबाट पेट मात्रै देखिन्थ्यो।

साथीहरूले अब त रेष्ट गर, धेरै नहिँड भन्थे। हेपेर त्यसो भने जस्तो लाग्थ्यो। नरमाइलो लाग्थ्यो। आफूले मेहनत गरेर तयार पारेको सङ्गठन, म बिना चल्दैन भन्ने लाग्थ्यो। अरूले माया गरेर घरै बस भन्दा पनि मलाई टाढा बनाए भन्ने लाग्थ्यो।

हिँड्ने बानी परेछ। घरमा बस्नै मन नलाग्ने। भविष्य सम्झेर निकै अत्यास लाग्थ्यो। लामो सास फेरिरहन्थे। बहादुर ठान्थेँ आफूलाई तर त्यो समयमा रुन्चे बनेकी थिएँ। नौ महिना पुगेपछि भने पूर्ण रूपमा घरै बसेँ। टिचिङ अस्पतालमा नियमित चेकजाँच गरेकी थिएँ। चिकित्सकले चैत १९ को डेट दिएको थियो। तर चैत २१ भइसक्यो केही भएन।

सबैले अस्पताल जान सुझाए। बिहान तयारीका साथ टिचिङ अस्पताल गएँ। त्यहाँको अव्यवस्थित वातावरणका कारण ४ बजेपछि मात्रै बेड पाइयो। त्यतिन्जेलसम्म २ ओटा घर खुलिसकेको रहेछ। लेबर रुममा गएपछि सानो सुतक भन्ने रहेछन्, त्यो चिकित्सक आफैले हात हालेर फुटाइदिइन्। अनि बल्ल व्यथा लाग्न थाल्यो। एक छिन मज्जासँग पेट दुख्थ्यो। एक छिन आराम हुन्थ्यो।

नजिक अन्य नर्सहरू यति ठुलो कैँची बोकेर बसेका थिए। बच्चा साँढे तीन केजीको जन्मियो। बच्चा जन्माउन नसकेकाले कैँचीले पाठेघरको मुख काटिदिएछन्। सिकारु नर्सहरूले चाहिने भन्दा धेरै काटेकाले रगत बग्न थाल्यो।

राती १० बजेर २० मिनेट जाँदा मैले बच्चा जन्माएँ। मलाई पहिल्यै थाहा थियो छोरी छ भन्ने। चिकित्सकले के जन्म्यो होला भनेर सोध्दा मैले छोरी भनेकी थिएँ। चिकित्सकको ध्यान छोरीतिर भन्दा रगत रोक्नतिर लाग्यो।

हेमोग्लोबिनको कमी रहेछ भन्दै नर्सहरू यताउता दगुरिरहेका थिए। पछि जान्ने चिकित्सकलाई बोलाए। कसैले बरफले सेक्न थाले, कसैले औषधी लगाउन थाले। मलाई बच्चा जन्माउँदा भन्दा धेरै पिडा काटिएको पाठेघर सिलाउँदा भयो। यति धेरै दुख्यो कि, शब्दमा भन्नै सक्दिन।

यता रुँदा रुँदा छोरीको धड्कन नै कम हुन थालिसकेछ। उनलाई एनआइसियुमा राखियो। छोरीलाई औषधीहरू यति धेरै दिए कि हामीजस्ता आर्थिक अवस्था कमजोर भएकाहरूलाई ठुलै मार पर्यो।

दुई दिनपछि बल्ल छोरीलाई साथमा राख्न दिइयो। छोरीले दूध यति धेरै चुस्थिन् कि मलाई निकै गाह्रो हुन्थ्यो। पहिलो बच्चा जन्मेको पाँच वर्षपछि हामीले अर्को बच्चाको योजना बनायौँ। पहिलो सन्तान बिना योजनाको भए पनि दोस्रो सन्तान भने योजनाकै थियो।

यो समयमा मैले सरकारी स्कुलमा पढाउन थालेकी थिएँ। आर्थिक अवस्था पहिलेको भन्दा धेरै सुधार आइसकेको थियो। त्यसैले दोस्रो बच्चा जन्माउने आँट आयो।

मनोविज्ञानले धेरै असर पार्दो रहेछ बच्चा जन्माउने कुरामा। पहिलो सन्तानको समयमा म मानसिक रूपमै तयार थिइन, धेरै गाह्रो भयो। दोस्रो बच्चाको समयमा मानसिक रूपमै तयार थिएँ। धेरै सजिलो भयो।

४ महिनासम्म पहिलो सन्तानको समयमा जस्तै गाह्रो भएको थियो। मकै खाएरै जीवन धानेँ। त्योपछि सबै सामान्य भयो। पहिलो पटकको समयमा भन्दा धेरै सक्रिय राखेँ आफूलाई।

पहिलो सन्तानको जस्तो पेट बढेन। म ट्युसन पढाउनेदेखि नियमित पढाउने काममा निकै व्यस्त भएकाले पनि उचित पोषण अभाव भयो कि। त्यो समयमा परिवारका सदस्य सबै काठमाडौँमा बस्थे, म एक्लै जीवनपुर धादिङमा बस्थेँ। माघ १ गते  पढाइसकेपछि काठमाडौँ आउने योजना थियो।

थापाथली अस्पतालले बच्चा जन्माउन माघ ८ गतेको डेट दिएको थियो। तर मसान्तको दिन मलाई दही चिउरा खुवाइयो। त्यही दिन राती मलाई व्यथाले च्याप्न थाल्यो। गाउँघरमा दिनभर काम गरेर थाकेको शरीर। उठाउन डर लाग्यो। राती गाह्रो हुँदाहुँदै पनि खपेर बसेँ। तर पेट झन् झन् दुख्दै गयो। बिहान तीन बजेतिर आफन्त मन्दिरा दिदीलाई बोलाएर गाह्रो भयो भने।

सुरुमा दही चिउराले चिसो लाग्यो कि जस्तो लागेछ उहाँलाई। दनदनी आगो बालेर सेकाउन थाल्नुभयो। ढाँडमा तेल पनि लगाइदिनुभयो। यसले त झनै धेरै गाह्रो बनायो। उहाँले घरको सबै धन्दा भ्याएर गाडीमा काठमाडौँ ल्याएर थापाथली अस्पतालमा भर्ना गराउनुभयो।

थापाथली अस्पतालमा पनि समस्या उही व्यवस्थापनको। मन्दिरा दिदीले चिनेको मानिस रहेछन् अस्पतालमा अनि मात्रै मैले बेड र चेकअपको अवसर पाएँ। अस्पताल पुगेको केही समयमै दोस्रो बच्चा छोरा जन्माएँ। बच्चामा २ पटक नाल बेरिएको रहेछ। अरू सबै सामान्य।

अनुभव र योजनाका कारण पहिलो सन्तानको समयमा जस्तो दोस्रोमा गाह्रो भएन। आफन्तहरू भेट्न आउँदा अझै बच्चा जन्मेको छैन भन्थे, किनभने म पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेकी थिएँ।

अहिले छोरी टामिरा ९ वर्षकी भइन्। छोरा टिष्टान ४ वर्षको भयो। दुवै पढ्दै छन्। उनीहरूको सुखद भविष्य बनाउन मेरो सङ्घर्ष भने जारी छ।

यो पनि

भदौ १२, २०७९ आइतबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।