उकेरा कोलम

साढे ६ हजारलाई बेहोस बनाएर व्यूँत्याएका डा. उत्सवको अनुभूति : बिरामीले शल्यक्रिया नै नगरी झुक्क्याएको भनेपछि...


तस्बिर : कृष्पा श्रेष्ठ

पेडियाट्रिक एनेस्थेसियोलोजिष्ट डा. उत्सव आचार्यले करिब ६ हजार पाँच सय बिरामीलाई बेहोस बनाएर व्यूँत्याएका छन्, जसमध्ये करिब एक हजार जना त बालबालिका छन्।

डा. उत्सवको मुख्य विद्या नै शल्यक्रियाका लागि बिरामीलाई एनेस्थेसिया दिएर बेहोस बनाउने अनि शल्यक्रिया सकिएपछि ब्युँताउने हो।

बालकको अत्यधिक रक्तस्राव भएपछि...

केही वर्ष अघि करिब आठ वर्षका बालकलाई बचाएको प्रसङ्ग डा. उत्सव कहिल्यै भुल्दैनन्। ती बालकको मस्तिष्कमा पिप जमेको थियो। शल्यक्रिया गरेर पिप निकालेर सफा गर्नु थियो। बालकको होस कम हुँदै गएकाले आकस्मिक रूपमा शल्यक्रिया गर्नु परेको थियो।

राती करिब नौ बजे मस्तिष्कको शल्यक्रियाका लागि बालकलाई शल्यक्रिया कक्षमा लगियो। डा. उत्सवले एनेस्थेसिया दिए। बालक बेहोस भए। शल्य चिकित्सकको टिमले शल्यक्रिया सुरु गर्‍यो।

शल्यक्रियाको क्रममा बालकको अति नै रक्तस्राव भयो। अत्यधिक रक्तस्राव भएपछि बालकलाई सिरिन्जमा रगत तानेर दुई जनाले हात र खुट्टाको नसाबाट रगत दिनु परेको थियो।

ती बालकको शरीरमा करिब सवा एक लिटर रगत थियो। तर, रगत दिँदै शल्यक्रिया गर्दा बालकको शरीरबाट करिब अढाई लिटर रगत बग्यो।

सङ्क्रमणका कारण शल्यक्रिया गर्ने क्रममा जुन भागमा छोए पनि रक्तस्राव हुन थाल्यो। केही गरे पनि रक्तस्राव नरोकिएपछि चिकित्सकको टिमले शल्यक्रिया नै रोक्नुपर्ने अवस्था आयो। शल्यक्रिया पूरा हुन सकेन। चिकित्सकले बालकको शल्यक्रिया रोके।

त्यसपछि बालकलाई आइसियुमा भेन्टिलेटरको सहायतामा राखियो। धेरै रक्तस्राव भएकाले ढिलो मात्रै बालकलाई होसमा ल्याइयो। शल्यक्रिया गरेको चौथो दिन बालकलाई भेन्टिलेटरबाट निकालियो।

आठौँ दिनमा पुनः शल्यक्रिया भयो। दोस्रो पटक भने खासै रक्तस्राव भएन। शल्यक्रिया सफल भयो। सफल शल्यक्रियापछि एक महिना अस्पताल बसेर ती बालक डिस्चार्ज भए।

शल्यक्रियाको क्रममा स्वास्थ्य जटिलता निम्तिए एनेस्थेसियोलोजीष्टको ठुलो भूमिका हुने उनले सुनाए।

शल्यक्रियाको टिममा शल्य चिकित्सक, एनेस्थेसियोलोजिष्ट, नर्सिङ जस्तो टिम खटिएको हुन्छ। एनेस्थेसियाको टिमलाई उनी सर्जरीको मेरुदण्डका रूपमा लिन्छन्। ऐनेस्थेसियाको व्यवस्थापन राम्रो भए सर्जरी नै सफल हुने उनको अनुभव छ। 

शल्यक्रिया गर्ने क्रममा एनेस्थेसियोलोजिष्ट उत्तिकै दक्ष र चनाखो हुनुपर्ने उनको अनुभूति छ। आफ्नो काममा भने डा. उत्सव सन्तुष्ट र खुसी नै छन्।

शल्यक्रिया कक्षमा नै ७० वर्षीय बाजेको मृत्यु

उद्देश्य बचाउने नै हो। तर उपचार गरेकामध्ये सबै बिरामी बचाउन सकिन्छ भन्ने हुँदैन। एमडी अध्ययनका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा करिब ७० वर्षका बाजेलाई बचाउन नसकेको त्यस्तै क्षण डा. उत्सवका मानसपटलमा ताजै छ।

उनको पेट भित्र प्वाल परेर पेटभरि फोहोर फैलिएर सङ्क्रमण भइसकेको थियो। समस्या समाधानका लागि शल्यक्रिया गर्नुपर्ने भयो।

उनलाई शल्यक्रिया कक्षमा लगियो। डा. उत्सवले सिनियरको निगरानीमा शल्यक्रियाका लागि एनेस्थेसिया दिन थाले। तर, एनेस्थेसिया दिने क्रममा एक्कासि रक्तचाप तथा मुटुको चाल नै देखिन छाड्यो। अक्सिजनको मात्रा पनि कम भयो।

रक्तचाप बढाउन औषधि दिइयो। सिपिआर गरियो। तर, सिपिआर गर्दा समेत मुटुको चालमा सुधार आएन। क्षणभरमा नै उनको शल्यक्रिया कक्षमा नै मृत्यु भयो।

शल्यक्रिया गर्नु पूर्व ती ७० वर्षे बाजे मन्द मुस्कानमा हाँसेर बोलेको डा. उत्सवको मानसपटलमा अझै ताजै छ। ती बाजेलाई के गरेको भए बचाउन सकिन्थ्यो होला भनेर त्यही बेलादेखि उनले खोजी गर्न थाले।

अहिले पनि बेलाबेलामा के गरेको भए ती बाजेलाई बचाउन सकिन्थ्यो होला भनेर उनी मनमनै प्रश्न गर्छन्। तर, उत्तर भेट्दैनन् उनी।

त्यो घटना बाहेक शल्यक्रियाका क्रममा शल्यक्रिया कक्ष तथा अप्रेशन टेबलमा नै बिरामीको मृत्यु भएको उनलाई सम्झना छैन।

‘प्लेन टेकअफ र ल्यान्डिङ जस्तै’

सामान्य भाषामा एनेस्थेसियोलोजिष्टलाई बेहोस बनाउने, लट्ठ्याउने, अचेत बनाउने चिकित्सकका रूपमा चिनिन्छ।

किनकि निश्चेतन गराउने विद्या हो एनेस्थेसियोलोजी। कुनै बिरामीको लागि शल्यक्रियाको योजना बनिरहँदा त्यो बिरामीको रोगको प्रकृति तथा स्थिति लगायतका बारेमा जान्नु पर्ने हुन्छ।

शल्यक्रियाका क्रममा र त्यसपछि कुनै स्वास्थ्य जटिलता निम्तन्छ की निम्तँदैन भन्ने लगायतको विश्लेषण तथा नापतौल गर्छन् डा. उत्सव। जुन उनको विशेषज्ञता हो।

बिरामीलाई बेहोस बनाएर व्यूँत्याउनु निक्कै संवेदनशील काम भएको उनले सुनाए। शल्यक्रियाका क्रममा समेत मुटुको चाल, रक्तचाप, शरीरमा पानी र नुनको मात्रा लगायत नजिक बसेर हेरिरहनुपर्ने उनले सुनाए।

शरीरमा रगतको मात्रा कति छ अनि शल्यक्रियाका क्रममा कति रगत बगिरहेको छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ।

शल्यक्रिया गर्नु अघि बिरामीलाई बेहोस बनाइन्छ। बेहोस बनाएर मात्र हुँदैन। शल्यक्रियापछि बिरामी व्यूँत्याउनु पर्‍यो। बिरामीलाई बेहोस बनाउने र व्यूँत्याउने समयमा नै बढी जटिलता निम्तने जोखिम हुने उनले सुनाए।

त्यसैले डा. उत्सव शल्यक्रियाका लागि बिरामी बेहोस बनाउनेदेखि व्यूँत्याउनेसम्मको प्रक्रियालाई हवाई जहाज उडाउने प्रक्रियासँग तुलना गर्छन्।

बेहोस बनाउन सुरु गर्दाको प्रक्रियालाई हवाईजहाजको टेकअफ र व्यूँत्याउने प्रक्रियालाई ल्यान्डिङसँग तुलना गर्छन् उनी। उनको विश्लेषणमा शल्यक्रिया गरिरहेको अवधि हवाईजहाज उडिरहेको समय जस्तै हो।

‘टेकअफ र ल्यान्डिङको समय निक्कै संवेदनशील हुन्छ,’ डा. उत्सवले भने' यस्तो अवस्थामा थोरै मात्रै चलाख भएन भने स्वास्थ्यमा जटिलता निम्तिएर बिरामी नै नब्युँतने सम्मको जोखिम हुनसक्छ।'

शरीर पुरै वा शरीरको कुनै निश्चित भाग मात्रै अचेत बनाएर पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ। पुरै शरीर अचेत बनाउँदा भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास गराउनुपर्ने हुन्छ।

बेहोस गराउने  समयमा विभिन्न औषधिको प्रयोग गरिन्छ। जुन औषधि लगायतका कारण रक्तचापमा गडबडी हुने, कृत्रिम श्वासनली राख्नै नसकिने लगायतको जोखिम उत्पन्न हुन सक्ने उनले सुनाए।

डा. उत्सवका अनुसार सामान्यतया चिकित्सकले सोचे अनुरूप नै बिरामीहरू चेतनामा फर्कन्छन्। तर, कहिलेकाहीँ बिरामी चेतनामा फर्कन सोचेभन्दा बढी समय नै समय लाग्छ।

चेतना खुले पनि श्वासप्रश्वास सहज हुन समय लाग्ने लगायतका जोखिम हुन्छन्। श्वासप्रश्वास सहज भएपछि मात्रै बिरामीलाई भेन्टिलेटरबाट निकाल्नुपर्ने हुन्छ।

बिरामीले शल्यक्रिया नै नगरी झुक्क्याएको भनेपछि...

कुराका गर्दागर्दै शिक्षण अस्पतालमा करिब अढाई वर्ष अघिको रोचक प्रसङ्ग सम्झिए डा. उत्सवले। त्यो बेला करिब ४० वर्षकी महिलाको मिर्गौला (पाइलो प्लाष्टि) शल्यक्रिया भएको थियो।

शल्यक्रियापछि नदुखोस् भनेर महिलालाई रिजनल एनेल्जेसिया दिइएको थियो। नदुखोस् भनेर त्यसरी रिजनल एनेल्जेसिया पद्धति अपनाइएको थियो।

होसमा आएपछि ती महिलालाई शल्यक्रिया कक्षबाट रिकभर कोठामा सारियो। त्यहाँ राखेर केही बेर हेर्दा कुनै स्वास्थ्य जटिलता ननिम्तिए पोस्ट अपरेटिभ वार्डमा सारिन्छ।

ती महिलालाई रिकभरी कोठामा राखेपछि डा. उत्सव अर्को बिरामीको शल्यक्रियाको व्यवस्थापन लागि शल्यक्रिया कक्षमा छिरे।

केही मिनेटपछि कोठामा फर्किएर महिलाको अवस्था कस्तो छ भनेर हेर्न आए। त्यो बेलासम्म महिलाको होस खुलिसकेको थियो।

चिकित्सकको टिमसँग ती महिलाले त ‘तपाईँहरूले मेरो शल्यक्रिया नै गर्नु भएन। झुक्क्याएर अप्रेशन कोठामा लगेर बेहोस बनाएर ल्याउनु भयो’ भनिरहेकी रहिछन्।

उनले नदुख्ने रिजनल एनेल्जेसिया दिएका कारण शल्यक्रिया गरे पनि नदुखेको पत्तै पाएकी रहिनछन्। शल्यक्रिया गरेको नपत्याएपछि महिलाले लगाएको गाउन नै सारेर शल्यक्रिया गरेको ठाउँको घाउ देखाइदिएपछि मात्रै पत्याएको डा. उत्सवले सुनाए।

शल्यक्रियापछि घाउ नदुखोस् भनेर चिकित्सकले जुन प्रयास गरे। त्यो प्रयास सफल भएर बिरामीले दुखाई नै महसुस नगरेको त्यो प्रसङ्ग सम्झँदा उनलाई अहिले पनि रमाइलो लाग्छ।

हाँस्नुपर्ने बालक हातखुट्टा छोडेर रोएपछि....

शुष्मा कोइराला मेमोरियल अस्पतालमा काम गर्दा करिब अढाई वर्षका बालक शल्यक्रिया कक्षमा जानै नमानेको प्रसङ्ग पनि डा. उत्सव सम्झिरहन्छन्।

ती बालकको खुट्टामा पोलेको थियो। त्यसैले घाउ सफा गरेर ड्रेसिङ गर्नका लागि शल्यक्रिया कक्षमा बालकलाई लानु थियो।

बालक शल्यक्रिया कक्ष बाहिर खेलिरहँदा डा. उत्सवसँग रमाउन थालिसकेका थिए। शल्यक्रिया कक्ष अगाडिसम्म लाँदा पनि बालक उनीसँग रमाइ नै रहेका थिए। तर, जब डा. उत्सवले शल्यक्रिया कक्षमा लगाउने पोसाक (गाउन) लगाए, त्यसपछि बालक उनीसँग नजिक पर्न मानेनन्।

बालक मान्दै नमानेपछि उनले बच्चा शान्त हुने एक किसिमको औषधि दिए। तर, त्यो औषधि खुवाएपछि त बालक शान्त हुनुको सट्टा झन् अशान्त भए। चिच्याइचिच्याई रुन थाले।

जति फकाए पनि हात खुट्टा फालेर चिच्याउँदै रोइरहे। चिकित्सकको टिमलाई बालक सम्हाल्नै कठिन भयो। आमासँग समेत मानेनन्।

शान्त बनाउने औषधि दिएपछि धेरैजसो बच्चा शान्त हुने, हाँस्ने खेल्ने गर्छन्। कहिलेकाहीँ भने औषधिले रुने, कराउने, चिच्याउने, हातखुट्टा फाल्ने जस्ता समस्या हुने उनले खुलाए।

केही गरे पनि शान्त बनाउन नसकेपछि शान्त बनाउन इन्ट्रा मस्कुलर इन्जेक्सन नै दिनुपर्‍यो। यस्तो इन्जेक्सन दिएपछि मात्रै बालकलाई शल्यक्रिया कक्षमा लगेर घाउ सफा गरिएको थियो।

डा. उत्सवसँग सामान्यतया बालबालिका झ्याम्मिन्छन्। त्यसैले कहिलेकाहीँ शल्यक्रिया कक्षमा बच्चा छिर्न मानेनन् भने अन्य चिकित्सकले समेत तपाइसँग त बच्चा मानिहाल्छन् नि भनेर उनैलाई लिन पठाउँछन्।

शल्यक्रिया गर्नु पूर्व शल्यक्रिया कक्ष बाहिर राखेर हाई हेल्लो गर्दै बालबालिकालाई बोलाउने गर्छन् उनी। जसले गर्दा बालबालिकालाई नजिक बनाएर शल्यक्रिया कक्षमा लान सहज हुने उनको अनुभव छ।

बालबालिकालाई व्यूँत्याउनु बढी संवेदनशील

वयस्कको तुलनामा बालबालिकालाई बेहोस बनाएर व्यूँत्याउन निक्कै संवेदनशील हुने डा. उत्सवको अनुभव छ। वयस्कको तुलनामा बालबालिकाको शरीरक्रिया विज्ञान (फिजियोलोजी) नै फरक हुन्छ। त्यसैले साना बालबालिकालाई औषधि दिँदा धेरै ख्याल गर्नुपर्ने उनी बताउँछन्।

डा. उत्सवका अनुसार वयस्क व्यक्तिको शरीरमा स्वास्थ्य जटिलता निम्तिई श्वासप्रश्वासमा नै समस्या उत्पन्न भए शरीरमा रहेर बसेको अक्सिजनले करिब सात मिनेट काम गर्न सक्छ।

तर, यस्तो अवस्थामा साना बालबालिकाको भने बढीमा दुई मिनेट मात्रै शरीरमा भएको अक्सिजनले काम गर्ने उनले सुनाए। यसको अर्थ साना बालबालिकाको शरीरमा थोरै मात्रै अक्सिजनको मात्रामा गडबड भए मृत्युको जोखिम हुन्छ।

श्वासप्रश्वासको कृत्रिम प्रक्रिया अपनाउन समेत निक्कै कठिन हुने उनले सुनाए।

त्यसै गरी औषधि दिँदा पनि थोरै मात्रा बढी भए जोखिम हुन्छ। बच्चालाई न्यानोमा राख्नुपर्ने हुन्छ। शल्यक्रियाका क्रममा तापक्रम कम हुने भएकाले हाइपोथर्मियाको जोखिम हुने उनले सुनाए। यस्तो अवस्थामा बच्चामा विभिन्न स्वास्थ्य समस्या निम्तने जोखिम हुन्छ।

शल्यक्रिया कक्षमा लानुअघि बच्चाको मनोविज्ञान विचार गर्नुपर्ने हुन्छ। बुवा आमा तथा अभिभावकको काखबाट छुटाएर शल्यक्रिया कक्षमा लान निक्कै मुस्किल पर्ने डा. उत्सवको अनुभव छ।

यस्तो अवस्थामा फकाएर, कुनै मन पर्ने वस्तु दिएर, औषधि दिएर शल्यक्रिया कक्षमा लाने गरेको उनले सुनाए। विकसित मुलुकमा आमाबुवा तथा अभिभावकले नै शल्यक्रिया कक्षमा बच्चालाई लिएर जाने अनि एनेस्थेसिया दिएर लट्टिएपछि शल्यक्रिया कक्ष बाहिर निस्कने अभ्यास रहेको उनले सुनाए।

तर, नेपालमा ठुलो जनमानसमा चिकित्सकीय ज्ञानको अभाव लगायतका कारण यस्तो अभ्यास सुरु गरिहाल्न कठिन हुने उनले सुनाए।

बच्चामा शल्यक्रिया पछि कति दुख्यो भन्ने थाहा हुँदैन। त्यसैले उसको  दुखाइको व्यवस्थापन गर्न अलि गाह्रो हुने डा. उत्सवको अनुभूति छ। बच्चाको हाउभाउ, रक्तचाप, प्रतिक्रिया लगायतका आधारमा दुखाई मापन गरिने गरेको उनको अनुभव छ।

बालबालिका बेहोस बनाउने विद्यामा केन्द्रित

२०४२ सालमा झापाको दमकमा जन्मिएका उत्सवले काठमाडौँको सत्यसाई शिक्षा सदनबाट २०५८ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनले सेन्टजेभियर्स कलेजबाट आइएस्सी गरे।

उत्सव बङ्गलादेशको ढाका युनिभर्सिटी अन्तर्गत ‘जहरुल इस्लाम मेडिकल कलेज’मा सन् २००६ मा एमबिबिएस अध्ययनका लागि भर्ना भए। उनी सन् २०१२ मा एमबिबिएस पूरा गरेर नेपाल फर्के। त्यसपछि करिब आठ महिना उनले काभ्रेको धुलिखेल अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरे।

सन् २०१४ मा डा. उत्सव सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’ विषयमा एमडी अध्ययन थाले। सन् २०१७ मा उनको एमडी अध्ययन पूरा भयो।

एमडी अध्ययनपछि डा. उत्सवले काठमाडौँको साँखुस्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा कन्सल्टेन्ट एनेस्थियोलोजिष्टको भूमिकामा काम गर्न थाले। उनले बर्न आइसियु विभागको इन्चार्जको भूमिकामा समेत काम गरे। त्यहाँ उनले करिब डेढ वर्ष काम गरे।

त्यसपछि डा. उत्सव २०७६ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कन्सल्टेन्ट ऐनेस्थेसियोलोजिष्टका रूपमा जागिरे भए। शिक्षण अस्पतालमा डेढ वर्ष काम गरिसकेपछि उनी सन् २०२१ जनवरीमा पेडियाट्रिक एनेस्थेसियोलोजी विषयमा फेलोसिपका लागि थाइल्यान्ड पुगे।

शुष्मा कोइराला मेमेरियल अस्पतालमा काम गर्दा उनले बालबालिका र वयस्कमा दिने एनेस्थेसियामा धेरै भिन्नता रहेको महसुस गरेका थिए। त्यसैले यो विषयप्रति उनलाई थप चासो बढ्दै गयो।

थाइल्यान्डमा फेलोसिप गर्दा आठ जना बालबालिकाको कलेजो प्रत्यारोपणमा एनेस्थेसियोलोजिष्टकका रूपमा आफू पनि सहभागी भएको उनले सुनाए। ती सफल प्रत्यारोपणमा सहभागी हुँदा आफूले थप ज्ञान तथा सीप सिक्ने मौका पाएको उनले सुनाए।

थाइल्यान्डमा  एक वर्षे फेलोसिप गरेर डा. उत्सव सन् २०२२ मा नेपाल फर्के। त्यसपछि उनी निरन्तर शिक्षण अस्पतालमा नै काम गरिरहेका छन्।

डा. उत्सवलाई थाहा भएसम्म त्यो बेलासम्ममा पेडियाट्रिक एनेस्थेसियोलोजी विषयको विशेषज्ञता हासिल गरेको चिकित्सक नेपालमा थिएनन्। त्यो बेलासम्म ऐनेस्थेसियोलोजी अध्ययन गरेका विशेषज्ञले नै सबै उमेर समूहका बिरामीलाई एनेस्थेसिया दिने अभ्यास थियो। 

सबै उमेर समूहका बिरामीमा एनेस्थेसिया दिने डा. उत्सव थाइल्यान्डबाट फेलोसिप गरेर फर्किसकेपछि भने बालबालिकामा बढी केन्द्रित हुन थाले।

एमबिबिएस अध्ययनका क्रममा अन्य विषयको तुलनामा बाल रोग विषय उनको प्राथमिकतामा बढी पर्थ्यो रे। बालबालिकासँग घुलमिल हुने स्वभाव छ उनको। त्यसैले पनि आफूले पेडियाट्रिक एनेस्थेसियोलोजी विषय नै छनोट गरेको उनले सुनाए। 

डाक्टरको सुख-दुःख :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....