डाक्टरको सुख-दुख : डा प्रकाशराजले बिर्सन नसकेको बालकको शव

डाक्टरको सुख-दुख : डा  प्रकाशराजले बिर्सन नसकेको बालकको शव
तस्बिर : कृष्पा श्रेष्ठ

१० वर्षका थिए उनी। उनी घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेको थियो। बालक काम्न थालेपछि उनले काम्न कम हुने इन्जेक्सन लगाइदिए। तर, इन्जेक्सन लगाएको केही बेरमै बालकको मृत्यु भयो।

उनी निक्कै दुखी भए। उनले पछि चाल पाए– इन्जेक्सन लगाउँदा त्रुटि भयो। 

'त्यो इन्जेक्सन लगाउँदा त्रुटि भएछ। इन्जेक्सन मसल्समा लगाउनुपर्ने थियो, मैले भेनमा लगाइदिएँ,’ गत शुक्रवार दिउँसो २ बजे ललितपुरको झम्सिखेलस्थित नेपाल हर्ट क्लिनिकमा  उनले त्यो  सम्झिए। 

त्यो जानाजान भएको थिएन। मानवीय त्रुटि थियो। उनी अहिले वरिष्ठ मुटु रोग विशेषज्ञ भइसकेका छन्। तर उनलाई आफ्नो त्रुटिले बालकको ज्यान गएकोमा अहिले पनि थकथक लागिरहन्छ।

त्यो काम सर्जनले गर्नुपर्ने भए पनि उनी ड्युटीमा थिए। त्यो समयमा कार्डियोलोजीले प्रसूति सेवासमेत गराउनुपर्थ्यो। चिकित्सक कम थिए। उनले इन्जेक्सन दिए।

एक छिन घोरिँदै भने, ‘मेरो प्रोफेसनल करिअरमा भएको त्यो सबैभन्दा ब्लन्डर हो। त्यसपछिका दिनमा कहिल्यै यस्तो भएन।’ 

गरिबीले मृत्यु स्वीकार !

करिब पाँच वर्षअघिको एउटा केस सम्झिए उनले। उनी कैलालीमा जाँदा करिब १३ वर्षकी बालिकाको मुटु जाँच्दा मुटु रोग लागेको पत्ता लाग्यो। बालिकाको परिवारको आर्थिक अवस्था काठमाडौँसम्म आएर उपचार गराउन सक्षम थिएन।

उनले बालिकाका परिवारलाई निःशुल्क उपचारको वाचा गरे। तर बालिकाको परिवारले उपचारभन्दा मृत्यु रोज्यो। कारण– काठमाडौँसम्म पुग्न सक्ने आर्थिक स्रोतको अभाव। त्यो घटनापछि उनीसम्म आइपुग्ने बिरामी आर्थिक अभाव कमजोर भए सम्भव भएसम्म सघाउने गरेका छन्।

'उपचार सम्भव भए पनि आर्थिक अभावले अहिले पनि धेरैले उपचारभन्दा मृत्यु रोज्ने गरेको भेटिन्छ नै,' उनले भने' स्वास्थ्य सेवा सर्वसुलभ हुन नसक्नुको पिडा हो यो।'

सोभियत सङ्घमा एमडी

२०१७ सालमा जन्मिएका डा. रेग्मीको बाल्यकाल पाल्पाको तानसेनमा बित्यो। जन्म भने काठमाडौँको प्रसूति गृहमा भयो।

उनले काठमाडौँको  पद्मोदय हाइस्कुलबाट २०३१ सालमा एसएलसी उत्तीर्ण गरे। २०३४ सालमा काठमाडौँकै अमृत साइन्स क्याम्पसबाट आइएससी पास गरे र चिकित्सक हुन विदेशतिर लागे।

तत्कालीन सोभियत सङ्घमा पर्ने युक्रेनको खार्गोभ मेडिकल इन्स्टिच्युटबाट सन् १९८५ मा उनले एमबिबिएस उत्तीर्ण गरे र सन् १९८७ मा त्यहीँबाट कार्डियोलोजी (मुटु)मा एमडी गरे। 

रसियन भाषामा अध्ययन गर्नुपर्ने भएकाले एमबिबिएस सुरु गर्दा निकै कठिन भएको उनले सुनाए। उनले भने, ‘पहिलो वर्ष त रसियन भाषा मात्र पढियो।’ 

एमबिबिएस पढ्दा १४ जनामध्ये ३ नेपाली र ११ रसियन विद्यार्थी थिए। तर, नेपालीहरू मेहनती भएकाले रसियनहरूलाई पनि नेपालीले उछिनेको उनको अनुभव छ। उनले भने, ‘विथ गोल्ड मेडल पास गरियो।’ 

एमबिबिएसपछि आफूलाई पढाउने प्रोफेसरकै सल्लाहमा उनले मुटु सम्बन्धी विषय छानेका थिए। त्यतिखेर यो रोग धनीलाई लाग्ने रोगका रूपमा चिनिन्थ्यो। त्यसैले नेपालमा त कामै पो नपाइने हो की भन्ने डर भयो।

उनले केही हप्ता निर्णय गर्नै सकेनन्। उनलाई प्रोफेसरले निकै सम्झाए। त्यसपछि जे त पर्ला भनेर उनले प्रोफेसरको कुरा माने।

 ‘सुरुमा उपचार गर्न डर लाग्थ्यो’ 

मुटु रोग विशेषज्ञता (एमडी) गरेपछि उनी नेपाल फर्किए। नेपाल फर्किएपछि २०४४ सालमा भोलेन्टरी (स्वयंसेवक) रूपमा वीर अस्पतालमा करिब ६ महिना काम गरे। त्यसपछि उनी अस्थायी सरकारी जागिरे भए। 

वीर अस्पतालमा नाइट ड्युटी गर्नुपर्थ्यो। सुरुसुरुमा उनलाई निकै डर लाग्थ्यो रे। इमर्जेन्सीमा बिरामी आउँदा उपचार गर्न जानिन्छ कि जानिँदैन भन्ने डर लाग्ने गरेको अनुभव सुनाए उनले।

‘जानिन्छ की जानिँदैन भनेर डर लाग्थ्यो। मुटु ढुकढुक हुन्थ्यो। अप्ठेरो परे सिनियरलाई खबर गर्थे। बिरामी हेर्दै गएपछि आत्मबल बढ्दै गयो।’ 

वीर अस्पतालमा अस्थायी जागिरे भएपछि उनको पहिलो पोस्टिङ चितवनको भरतपुर अस्पतालमा भयो। त्यहाँ उनले २०४५ देखि २०४८ सम्म काम गरे।

भरतपुर अस्पतालमा पोस्टिङ भएपछि उनी नै त्यहाँ सिनियर भए। 

५ दिन ५ रातसम्म उपचार 

२०४६ सालको जनआन्दोलनमा डा. रेग्मी भरतपुर अस्पतालमै थिए। जनआन्दोलनमा गोली लागेर घाइते भएका धेरै बिरामी भरतपुर अस्पताल आइरहेका थिए। उनले त्यो बेलाको इमर्जेन्सी  कक्षको अवस्था सम्झिँदै भने, ‘गोली लागेका बिरामी यति आए की रगतै रगत भएको थियो इमर्जेन्सी कक्ष त।’ 

त्यो बेला अस्पतालमा पाँच जना चिकित्सक ड्युटीमा थिए। कम चिकित्सक तर गम्भीर बिरामी आएका आयै भएपछि उनले पाँच दिन पाँच रात झिमिक्क नगरी उपचारमा खटिएका थिए।

भरतपुर अस्पताल बस्दा पोस्टमार्टम पनि गर्नुपर्यो उनले। हप्तामा दुई पटक ड्युटी गर्नुपर्थ्यो। प्रत्येक ड्युटीमा करिब तीन वटा जति पोस्टमार्टम पर्थ्यो। भरतपुरमा काम गर्दागर्दै पोस्टमार्टममा पनि अनुभवी भए।

 ‘भरतपुरको सीपले तत्कालीन स्वास्थ्य मन्त्री रामवरलाई छुटायो’

भरतपुरपछि उनले २०४८ सालमै लोकसेवाबाट चिकित्सकको परीक्षा दिए। र, पास भए। स्थायी सरकारी चिकित्सक भएपछि उनको पहिलो पोस्टिङ बागलुङ अस्पतालमा भयो। 

भरतपुरमा सिकेको पोस्टमार्टम त्यहाँ काम लाग्यो। उनको सिपले तत्कालीन स्वास्थ्य मन्त्री रामवरण यादवलाई नै बचाउन सहयोग पुग्यो।

घटना यस्तो रहेछ :

२०५० सालतिर यादव स्वास्थ्य मन्त्री भएका बेला म्याग्दीको सदरमुकाम बेनी भ्रमणमा गएका थिए। त्यति बेला बेनी अस्पतालमा एउटा शव पोस्टमार्टम भएकै थिएन।

तत्कालीन स्वास्थ्य मन्त्री यादवलाई स्थानीयले घेरिहाले। उनीहरूले डाक्टरबाट शवको पोस्टमार्टम नभएसम्म मन्त्रीलाई जान नदिने ढिपी कसे। यादव फसेपछि पोस्टमार्टम गर्नसक्ने चिकित्सकको खोजी भयो। म्याग्दीको प्रमुख जिल्ला अधिकारीले डा. रेग्मीलाई खबर गरे।

अब स्वास्थ्य मन्त्री नै फसेको सुनेपछि नगई पनि भएन। उनी पाँच घण्टा लगाएर बेनी अस्पताल पुगे र पोस्टमार्टम गरे। बल्ल स्थानीयले मन्त्रीलाई जान दिए।

‘मैले पोस्टमार्टम गरेर छुटाएको डा यादवले अहिले पनि भुल्नु भएको छैन' उनले भने।

२०५० सम्म उनी बाग्लुङमै बसेर काम गरे। त्यसपछि उनी वीर अस्पताल आए।  वीरपछि लुम्बिनी अञ्चल अस्पताल, बुटवल र वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उनको सरुवा भयो। 

उनमा अध्ययनको भोक सक्किएको थिएन। वीरगन्जको पोस्टिगंपछि उनी चेक रिपब्लिकमा एक वर्ष एन्जियोग्राफी तथा एन्जिओ प्लास्टिकको अध्ययन गर्न गए। त्यताबाट फर्किएर २०५१ बाट वीर अस्पतालसँग जोडिए र २० वर्ष त्यही बिताए।

वीरमा ट्राफिकको काम’

उनी वीरमा सुरुदेखि नै कार्डियोलोजी विभागमा खटिए। वीरमा पहिलो एन्जिओग्राफी सेवा विस्तार गर्ने लगायतको सेवा सुरु गराउन सके। २० वर्ष काम गरेपछि उनले राजीनामा दिएर बिदा भए। विदाहुँदा उनी वीरको मुटु रोग विभाग प्रमुख थिए।

सरकारले गङ्गालाल अस्पतालमा मुटु रोगकै उपचार केन्द्रित गरेपछि वीरमा भएका सेवा पनि बिस्तारै घटाउँदै लग्यो। मुटुको शल्यक्रिया सेवा पनि बन्द भयो। आइसियुमा सेवा पनि बन्द भयो।

बिरामीको साधारण स्वास्थ्य जाँचबाहेकको कामै भएन। बिरामीको थप स्वास्थ्य जाँच गर्नुपरे गङ्गालाल रिफर गर्नुपर्ने अवस्था आयो। उनलाई यो काम ट्राफिकको जस्तो लाग्न थाल्यो। र, राजीनामा गरे।

उनले भने, ‘नेपालमा एन्जिओग्राफीको तालिम लिने पहिलो डाक्टर म नै हो। तर काम गर्ने वातावरण बिग्रँदै गयो। आएका बिरामीलाई रेफर टु गङ्गालाल लेखेर बस्दा ट्राफिक जस्तो लाग्न थाल्यो। मुटु रोग सेवा विस्तार र विकास गर्न सक्ने नदेखेपछि राजीनामा दिए।’ 

हार्ट हिरो’को उपाधि

त्यता राजीनामा दिएपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा प्राध्यापकको उपाधि पाए।

उनले ‘नेपालमा बाथ ज्वरो र बाथ˗मुटु रोग’, ‘मेरो मुटु दुख्छ’, ‘योग र मुटु रोग’ लगायत दुई दर्जनभन्दा बढी पुस्तक लेखेका छन्। 
बालबच्चाको अकालमा मुटु बाथ रोगले मृत्यु हुँदा निकै दुःखी हुन्थे। त्यसपछि उनी बाथ मुटु रोगको परीक्षणका लागि स्कुलमा नै पुग्न थाले। २५ भन्दा बढी जिल्लामा पुगेर बच्चाका मुटुको परीक्षण गरिसकेका छन् उनले। मुटु बचाउने अभियानमा लागेका छन् उनी।

मुटु रोग विशेषज्ञ डा. रेग्मीले मुटु रोगसम्बन्धी सेवा गरेबापत सन् २०१९ मा विश्व मुटु महासङ्घबाट ‘हार्ट हिरो’को उपाधि पाए।

राजनीतिक परिवार

डा. रेग्मी राजनीतिक परिवारका सदस्य हुन्। उनका  (स्व.) बुवा कमलराज रेग्मी वामपन्थी राजनीतिमा सक्रिय थिए। उनी नेकपाका संस्थापक मध्येका एक हुन्।

२०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीबाट जित्ने ४ नेतामध्ये एक डा. रेग्मीका बुबा कमलराज पनि थिए।

१७ माघ, २०७७, १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।