उकेरा कोलम

फौजी चिकित्सक ललिता : हजुरबुवाको फोटो हेरेर सेनामा जागिर


काठमाडौँ : प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललिता जोशीले नेपाली सेनामा ३४ वर्ष जागिरे जीवन बिताइन्। ६७ वर्षीय डा. ललिताको फौजी चिकित्सकको यात्रा निकै आरोह–अवरोहपूर्ण भयो।

उनले दश वर्ष अघि सेनाबाट अवकाश लिइन्। उनलाई जीवनमा खट्किरहने एउटा विषय हो,कान्छो छोरा जन्मनुअघि डाउनसिन्ड्रोमको विषयमा थाहा नपाउनु। 

३० वर्ष अघि डा. ललिताले डाउनसिन्ड्रोमको समस्यासहितको सन्तान जन्माइन। दुई छोराकी आमा समेत रहेकी उनको जेठो  छोरा भने सामान्य नै जन्मिए।

उनले सुनाइन्,‘मेरा दुई जना छोरा छन्। कान्छो छोरा डाउनसिन्ड्रोम हो। अहिले उ ३० वर्षको भयो।’डा. ललिताका अनुसार डाउनसिन्ड्रोम अनुवांशिक अवस्था हो। यस्तो समस्या भएर जन्मिएका व्यक्ति शारीरिक तथा बौद्धिक रूपमा कमजोर हुन्छन्।

कान्छो छोरा जन्मनुअघि उनको ५ पटक गर्भपतन भयो। त्यो समयमा चिकित्सकहरूलाई नै डाउन सिन्ड्रोमको बारेमा राम्रोसँग थाहा नभएको उनको अनुभव छ।

‘३० वर्ष अघि डाउनसिन्ड्रोम भनेको के हो? भन्ने डाक्टर शावहरूलाई पनि थाहा थिएन भन्ने मलाई लाग्यो,’डा. ललिताले भनिन्,‘बच्चा जन्माएपछि पनि डाक्टर शावहरूलाई यो समस्याका बारेमा राम्रोसँग थाहा रहेनछ।’

कान्छो छोरा जन्माउनुअघि डाउनसिन्ड्रोमको ज्ञान आफूमा पनि खासै नभएको उनले बताइन्। डा. ललिताले भनिन्,‘बाबु टिचिङमा नै जन्मिएको हो। कसैले पनि उसको समस्या भन्न सकेन। पछि मात्रै थाहा भयो।’

कान्छो छोरा जन्माउँदा उनले एमबिबिएस उर्तिण गरिसकेकी थिइन्। ‘त्यो बेला प्रसूति तथा स्त्रीरोग विषयमा विशेषज्ञता गरेकी थिइन उनले। उनले पनि डाउनसिन्ड्रोमबारे नपढेको हैन। तर चार लाइन मात्र पढाइयो त्यो बेलामा। विस्तृत अध्ययन नहुँदा उनमा पनि यसबारे राम्रो जानकारी भएन।

डाउनसिन्ड्रोमको समस्या भएको छोरा जन्मिए पनि उनमा गुनासो भने छैन। छोरा जन्माउनुअघि डाउनसिन्ड्रोमका बारे ज्ञान नभएकोमा चैँ अझै थकथक रहेछ उनमा।

‘त्यति बेला गर्भमा नै थाहा हुने जाँच थिएन। पहिले हामीले त्यो अवस्था थाहा पाउन सकेनौँ,’ डा. ललिता भन्छिन्,‘तर मलाई कुनै गुनासो छैन। म खुसी छु।’

डाउनसिन्ड्रोमको समस्या भए पनि उनको कान्छो छोरा सक्षमै छन्। छोरालाई सक्षम बनाउनुमा आफ्ना स्वर्गीय श्रीमान् डा. प्रभुप्रसाद जोशीलाई श्रेय दिन्छिन् उनी । उनका श्रीमानको केही वर्ष अघि बानेश्वरमा सडक दुर्घटनामा मृत्यु भयो। 

‘उहाँले छोरा र परिवारका लागि पर्याप्त समय दिँदा मलाई आफ्नो पेसामा अगाडि बढ्न कुनै बाधा भएन,’ उनले उकेरासँग भनिन्‘ परिवारका अन्य सदस्यले पनि सहयोग गर्नुभयो। सेनामा चिकित्सकको रूपमा काम गर्न अप्ठ्यारो भएन।’

विभिन्न थेरापी लगायत तालिम दिएकाले छोरामा डाउनसिन्ड्रोमको समस्या भए पनि सामान्य हिँडडुल र खानपानजस्ता दैनिकी गर्न सक्ने भएका छन्। 

सामान्य व्यक्तिमा ४६ वटा क्रोमोजोम हुन्छन्। उनका अनुसार डाउनसिन्ड्रोमको समस्या भएका व्यक्तिमा भने २१ नम्बरको एक जोडीमा अतिरिक्त एउटा २१ नै नम्बरको क्रोमोजोम थपिने भएकाले क्रोमोजोम ४७ हुन गएको हो। जसले गर्दा डाउनसिन्ड्रोम भएको व्यक्तिमा शारीरिक तथा बौद्धिक कमजोरी देखिन्छ।

उनले भनिन्,‘डाउन सिनड्रोममा पनि ३ किसिम हुन्छ। मेरो बाबुको समस्या तेस्रो किसिममा पर्छ। त्यसलाई मोज्याक भनिन्छ।’ 

बच्चा ट्युबमा बस्दा

डाउनसिन्ड्रोम भएको छोराको प्रसङ्गपछि महिलालाई बचाएको एउटा प्रसङ्ग उनले सुनाइन्।

घटना यस्तो रहेछ,–

जागिरको अन्त्यतिर करिब २५ वर्षकी महिला सैनिक अस्पतालमा स्वास्थ्य जटिलता निम्तिएर गम्भीर अवस्थामा पुगेकी थिइन्। 

ती महिलाको विवाह भएको २ वर्षपछि गर्भ बसेको रहेछ। तर, भ्रूण पाठेघरमा नबसी ट्युबमा बसेछ। गर्भ करिब दश हप्ताको थियो। ट्युब पातलो हुन्छ। बच्चा बढ्दै जाँदा ट्युब फुट्यो र पेट भित्रै रक्तस्राव भयो।

ती महिलालाई अप्रेसन थिएटरमा तुरुन्तै लगेर शल्यक्रिया गरी उनको समूहले बचायो। डा. ललिताले भनिन्,‘अप्रेसन थिएटरमा लगेर रक्तस्राव रोकेर शल्यक्रिया गरेर बचाउन सक्यौँ। भ्रूण त बचेन तर आमा भने बाँचिन्।’

शल्यक्रिया गरेर एकापट्टिको ट्युब फाले पनि अर्कोपट्टिको ट्युब सुरक्षित भएकाले केही वर्षपछि ती महिलाले अर्को बच्चा सामान्य रूपमा नै जन्मिएको उनले सुनाइन्।

९ महिनाको बच्चा जत्रो ट्युमर

पाठेघरमा ट्युमर भएर २५ वर्ष अघि अस्पताल पुगेकी अर्को महिलाको घटना पनि उनको मानसपटलमा ताजै छ। अस्पताल पुगेकी ३५ वर्षकी महिलाको पाठेघरमा ट्युमर पलाएर पेट नै फुलेको रहेछ। महिलाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। 

डा. ललिताले सुनाइन्,‘उनको पाठेघरको ट्युमर (फाइब्रोइड) को आकार पेटमा ९ महिनाको बच्चा जत्रै भएको थियो। रगत चुहाउँदै अस्पताल आएकी थिइन्।’

शल्यक्रिया गरिसकेपछि उनी ठिक भइन्। आफूले बचाएकी ती महिलासँग अहिले पनि बाटोमा भेट हुन्छ उनको। 

डा. ललिताले भनिन्,‘अहिले पनि उहाँसँग भेट हुन्छ। तपाईँले बचाउनुभयो भन्नु हुन्छ। तपाईँले बचाउनुभयो भनेको सुन्दा दायित्व पुरा गरेर बचाउन सकियो भनेर गर्व अनुभूति हुन्छ’

पढाई भारतमा, जागिर नेपाली सेनामा

चिकित्सकीय जीवनमा भोगाइका प्रसङ्गपछि डा. ललिताले अध्ययन र सेनाको जागिर लगायतको प्रसङ्ग सुनाइन्।

काठमाडौँकी उनको जन्म भने सन् १९५४ मा भारतमा भएको हो।  उनले भारतकै नयाँ दिल्लीको ‘प्रिजेन्टेशन कन्भेन्ट हाई स्कुल’ बाट सन् १९७० मा ‘सिनियर क्याम्रिज (एसएसी सरह)’ उत्तीर्ण गरिन्।

उनले प्रमाणपत्र तह (प्रि–मेडिकल ग्रुप) दिल्ली युनिभर्सिटी ‘गार्गी कलेज’बाट सन् २०७१ मा उत्तीर्ण गरिन्। ललिताले एमबिबिएस पनि भारतकै जयपुरस्थित राजस्थान विश्वविद्यालयको ‘सवाइ मान सिंह मेडिकल कलेज’ बाट सन् १९७७ मा उत्तीर्ण गरेकी हुन्।

एमबिबिएस अध्ययनपछि डा. ललिता नेपाल फर्किइन् र सन् १९७८ मा नेपाली सेनामा चिकित्सकका रूपमा भर्ना भइन्। सेनाको चिकित्सा शाखालाई ‘आर्मी मेडिकल क्रप  भनिन्थ्यो। सेनामा जागिर सुरु गर्दा उनको पद ‘लेफ्टिनेन्ट’ थियो। डा. ललिताले जागिर सुरु गर्दा सेनाको अस्पताल काठमडौंको महांकालस्थानस्थित ‘त्रिभुवन चन्द्र मिलिटरी अस्पताल’ थियो। 

उनले सेनामा जागिरे भएपछि नै प्रसूति तथा स्त्रीरोग विषयमा विशेषज्ञता हासिल गरेकी हुन्। उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थान (आइओएम) बाट सन् १९९१ मा प्रसूति तथा स्त्रीरोग विषयमा एमडी (स्नातकोत्तर तह) उत्तीर्ण गरेकी हुन्। 

सीमित कोटा हुने भएकाले पालो कुर्दा एमबिबिएस अध्ययन गरेको करिब १४ वर्षपछि एमडी अध्ययन गर्न पाएको उनले सुनाइन्। 

‘पहिले–पहिले आर्मीमा सिट कम आउँथ्यो। १४ वर्ष जागिर खाएपछि बल्ल पोस्ट ग्राजुएशन गरेको प्रसूति तथा स्त्रीरोग विषयमा’ उनले भनिन्।

सहायक रथीमा  अवकाश

डा. ललिता सेनामा बढुवा हुँदै लेफ्टिनेन्टबाट क्याप्टेन, मेजर, लेफ्टिनेन्ट कर्णेल, सहायक रथी (ब्रिगेडियर जनरल) सम्मको तहमा रहेर काम गरिन्। 

नेपाली सेनामा ३४ वर्ष बिताएकी उनले सहायक रथिमा बढुवा भएपछि  २ वर्ष क्लिनिकल रजिस्ट्रारको भूमिकामा रहेर काम गर्दाको समय निक्कै महत्त्वपूर्ण रहेको सुनाइन्। 

रजिस्ट्रार प्रशासनिक पद भएकाले प्रशासनिक काम पनि गर्नुपर्ने। उनले वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट सन् २०१० मा अवकाश लिएकी हुन्।

हजुरबुवाको फोटो हेरेर सेनामा जागिर

उनले मामा घरका हजुरबुवाको फोटोको ऊर्जाले सेनामा जागिर खाएकी रहिछन्। ललिताका मामलका हजुरबुवा दरबारको सुब्बा भएका रहेछन्। 

हजुरबुवालाई नदेखे पनि पनि जङ्गी पोसाकमा सजिएका हजुर बुवाको पोसाक देखेर उनलाई सेनामा जागिर खाने हुटहुटी चल्यो।

डा. ललिताले सेनामा जागिर खानुको कारण सुनाइन्,‘हजुरबुवा सुब्बा हुनु भएको रहेछ। सुब्बा साब भनेको त ठुलो हुन्थ्यो। जङ्गी पोसाक, राजाको मुकुटजस्तो टोपी लगाएको फोटो देखेर आर्मीमा नै जागिर खान मन लाग्यो।’ 

सेनाको वर्दी लगाएर स्टेथेस्कोप चलाउने उनलाई खुबै रहर थियो। जुन रहर उनको पूरा भयो।

महेन्द्रकी बहिनी त्रैलोक्यको पिए हुँदा भारत

डा. ललिताले भरतमा पढ्न पुग्नुको पनि प्रसङ्ग छ। राजा महेन्द्रकी बहिनी त्रैलोक्य राज्यलक्ष्मी देवी शाह विवाह गरेर भारतको जयपुरस्थित सिक्कर भन्ने ठाउँमा गएकी रहिछन्। 

ललिताका बुवा भैरव बहादुर राजभण्डारी पनि सुब्बा पदको जागिरे भएर त्रैलोक्यको व्यक्तिगत सहयोगी  भएर जयपुर पुगे। उनकी आमा तारादेवी राजभण्डारी पनि जयपुरमा नै बसिन्। 

डा. ललिताले सुनाइन्,‘महेन्द्र सरकारको बहिनी जयपुरमा बिहे भएर जानुभएको थियो। मेरो बुवा उहाँको पिए हुनुहुन्थ्यो। त्यही सिलसिलामा हामी भारतमा धेरै बस्यौँ।’

त्यो बेला महेन्द्रले ललिताको बुवाको पद सुब्बा तोकिदिएका रहेछन्। डा. ललिताले सुनाइन्,‘बुवाको पद सुब्बा थियो। दरबारको त्यो विशिष्ट तहको पद हो।’

उनका बुवा भारतका लागि नेपाली राजदूतावासमा पनि काम गर्थे तर, महेन्द्रले रुचाएका हुनाले बहिनीको पिएका रूपमा पनि ललिताका बुवालाई खटाएको उनले सुनाइन्। डा. ललिताले भनिन्,‘बुवालाई महेन्द्र सरकारले एकदमै रुचाउनु भएको थियो।’

तर, त्रैलोक्यको श्रीमान्को मृत्यु भएका कारण त्रैलोक्य नेपाल नै फर्किएको र बुवा आमा पनि नेपाल फर्किएको ललिताले सुनाइन्।  पछि सरदारको पदवी भएको समयमा बुबाको निधन भएको उनले सुनाइन्।

उनले आफ्नो चिकित्सकीय यात्रामा प्रसूति तथा स्त्रीरोग सम्बन्धी सन् २००२ मा ‘इन्टरनेश्नल कलेज अफ सर्जेन्स’ बाट फेलो गरेकी छन्। उनले बाँझोपन सम्बन्धी अस्ट्रेलियामा एक वर्षे तालिम लिइन्।सन् २०२१ मा ‘डाउनसिन्ड्रोम’ तालिम समेत लिइन्। 

डा. ललिताले पहिले पहिले सेनाको डाक्टरले निजी क्षेत्रमा काम गर्न नपाउने बताइन्। डा. ललिताले भनिन्,‘आर्मीको डाक्टरले त्यति बेला प्राइभेट प्राक्टिस गर्न पाइँदैनथ्यो। पछिपछि खुकुलो भयो र जागिर छोड्नु १०÷१२ अघिदेखि चाहिँ आफ्नै प्राइभेट क्लिनिकमा काम गरेँ।’ 

जागिरबाट अवकाश पाएपछि केही समय कन्सल्टेन्टका रूपमा नयाँ बानेश्वरको एभरेस्ट अस्पतालमा काम उनले काम गरेकी थिइन्।

उनी अहिले १९६३ मा स्थापित ‘डाउनसिन्ड्रोम एशोसियन नेपाल’को संस्थापक अध्यक्ष हुन्। उनी ‘एसिया प्यासिफिक डाउनसिन्ड्रोम फेड्रेशन’ को उपाध्यक्षको जिम्मेवारीमा समेत छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....