उकेरा कोलम

स्त्रीरोग विशेषज्ञको हुम्ला अनुभव : पाठेघरमा सिन्का छिराएर गर्भपतन गरेको त्यो कहालीलाग्दो घटना


प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीले हुम्लामा काम गर्दा केही यस्ता घटनासँग साक्षात्कार गरे, ती घटना सम्झिँदा अहिले पनि उनको मन चसक्क हुन्छ।

एक जना महिलाले गर्भपतन गराएको घटना त उनको मानसपटलमा गाडा भएर रहेको छ।

घटना २०६१ तिरको हो। उनी भर्खर एमबिबिएस सकेर सरकारी चिकित्सकको रुपमा हुम्ला पुगेका थिए।

डा. श्रीप्रसाद अस्पतालमा बिरामीको उपचार गरिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर भएकी करिब २४ वर्षकी महिलालाई अस्पताल लगियो।

उनी गम्भीर बिरामी पर्नुको कारण निकै कहालीलाग्दो थियो- सुँडेनीले ती महिलाको योनीबाट पाठेघरसम्म रुखको हाँगा (सिन्का) छिराएर तीन महिनाको गर्भ पतन गरिदिएकी रहिछन्। गर्भ त पतन भएछ तर सिन्का भने पाठेघरमा नै अड्किएछ।

डा. श्रीप्रसाद भन्छन्, ‘पाठेघरभित्र हाँगो छिराएर सुँडेनीले भ्रुणलाई खोपिदिएपछि गर्भपतन भएको रहेछ। तर गर्भपतन गराएकी महिलाको रक्तश्राव नरोकिएर स्वास्थ्य जटिलता निम्तिएपछि अस्पताल ल्याइएको रहेछ।’

धेरै रक्तश्राव भएपछि अस्पताल ल्याउँदासम्म महिलाको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। 

अस्पताल भर्ना गरेर डा. श्रीप्रसादको टिमले ती महिलाको पाठेघर सफा गरेर भित्र अड्किएको काठ निकाल्यो। रगत दियो। औषधि उपचार भयो। उनको ज्यान बाँच्यो। 

बिरामीले सिन्का छिराएर गर्भपतन गराएको कुरा लुकाउँदा समस्या पहिचान गर्न समेत समय लागेको डा. श्रीप्रसादले जानकारी दिए। उनले भने, ‘बिरामीलाई सोध्दा सुरुमा भन्नुभएन। लुकाउन खोज्नु भयो। पछि पत्ता लाउँदै जाँदा पाठेघरमा काठ हालेको थाहा भयो।’ गर्भपतन गराएको महिलाको त्यो बच्चा पाँचौ थियो।

संवेदनशील अंग पाठेघरमा काठ छिराउँदा प्वाल परेर रक्तश्राव भई महिलाको ज्यान जानेसम्मको समस्या हुन्छ। अझै पनि दुर्गम जिल्लामा यस्तो समस्या भएको हुनसक्ने उनको अनुमान छ

डा. श्रीप्रसादले पहिले-पहिले पाठेघर, योनी भित्र काठ-ढुंगा हालेर, पेट थिचेर, पाइप (क्याथेटर) हालेर असुरक्षित गर्भपतन गराउने चलन रहेको पाइएको बताए। जसले गर्दा स्वास्थ्य जटिलता निम्तिएर महिला अस्पताल पुग्ने गरेको उनले देखेका छन्।

गर्भपतन सम्बन्धी ऐन बनेपछि भने तालिम लिएर हुम्लामा पनि सुरक्षित गर्भपतन गराउने सेवा उनले सुरु गरेका थिए। त्यसपछि असुरक्षित गर्भपतन कम हुँदै गएको डा. श्रीप्रसादको अनुभव छ। 

सुरक्षित गर्भपतन गर्ने क्रम बढे पनि अहिले पनि विभिन्न औषधिको गलत ढंगले सेवन गर्ने, तालिम नै नलिएका व्यक्तिबाट गर्भपतन गराएपछि स्वास्थ्य जटिलता निम्तिएर अस्पताल पुग्ने गरेको डा. श्रीप्रसादले सुनाए।

टाउको अड्किएर बच्चा जन्मन नसक्दा
रुखको हाँगोले गर्भपतन गराएको घटनापछि डा. श्रीप्रसादले हुम्लामै काम गर्दा एक स्थानीयले बच्चा जन्माउन नसकेको अर्को घटना पनि सुनाए। 

घटना यस्तो रहेछ-
बच्चा जन्माउन नसकेपछि करिब ३० वर्षकी महिलालाई बोकेर हुम्ला अस्पताल लगियो। अस्पताल पुर्‍याउँदा महिलाको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। 

डा. श्रीप्रसाद ड्युटीमै थिए। अस्पताल पुर्‍याउँदा बच्चा जन्मन सकिरहेको थिएन, तर टाउको भने योनीबाट बाहिर निस्किएको थियो। बच्चाको घाँटीदेखि तलको भाग पाठेघरमा नै अड्किएको थियो। 

डा. श्रीप्रसादले त्यो घटना सुनाए, ‘बच्चा जन्मने क्रममा टाउको बाहिर निस्किएको थियो। बच्चाको कुम ठूलो भएर शरीरका अरु अङ्ग अड्किएर पाठेघरबाट निस्कन सकेको थिएन।’ 

जन्मने क्रममा बच्चा अड्किएपछि दुई दिन लगाएर बोकेर अस्पताल पुर्‍याइएकी ती महिलाको शरीरमा रगतको मात्रा अत्यन्तै कम भइसकेको थियो। डा. श्रीप्रसाद भन्छन्, ‘बच्चाको मृत्यु भइसकेको थियो। रगतको मात्रा एकदमै कम भएर आमाको अवस्था पनि नाजुक थियो।’ 

डा. श्रीप्रसाद एमबिबिएस तहको अध्ययन गरेका चिकित्सक भएको हुनाले सुरुमा त्यहीँ बच्चा झिक्ने आँट गर्न सकेनन्। महिलाको अवस्था जटिल भइसकेकाले अन्य सुविधासम्पन्न अस्पतालमा रिफरका लागि हेलिकोप्टरको व्यवस्था गर्न डा. श्रीप्रसादले पहल समेत गरे। तर, मौसम खराबीको कारण हेलिकोप्टर पनि हुम्ला पुग्न सकेन। 

अन्य अस्पतालमा पठाउन नसक्ने अवस्था भएपछि डा. श्रीप्रसादले ती महिलाको हुम्ला अस्पतालमा नै उपचार गर्नुको विकल्प थिएन। 

त्यसपछि अस्पतालको जुनियर मेडिकल टिमसँग उनले छलफल गरे। डा. श्रीप्रसादले मेडिकल टिमको सहयोगमा शल्यक्रिया गरेर महिलाको ज्यान बचाउने आँट गरे। 

डा. श्रीप्रसाद महिलाको शल्यक्रिया गर्न थाले।  उनले मृत बच्चाको विस्तारै शल्यक्रिया गरेर अङ्गहरु काट्दै बाहिर निकाले। आमाको ज्यान बाँच्यो। 

यसरी मृत बच्चाको अंग काट्दै निकाल्ने शल्यक्रिया विधिलाई चिकित्सकीय भाषामा ‘डिस्ट्रक्टिभ सर्जरी’ भनिन्छ। 

आमालाई बचाउन मृत्यु भएको बच्चाको अङ्ग काट्दा आमाको पाठेघर नै पो काटिने हो कि! भन्ने चिन्ताले पिरोलेको थियो। उनले सुनाए, ‘जन्मन नसकेर मृत्यु भएको बच्चाको अङ्ग काट्दा आमाको पाठेघर काटिने हो कि, रक्तश्राव भएर आमाको ज्यान जाने पो हो कि भन्ने ठूलो डर थियो।’ 

तर, उनले एमबिबिएसमा अध्ययन गर्दा सिकेको ज्ञान तथा सिपको प्रयोग गरेर आमालाई बचाउन सफल भए।

त्यसो त उनले सुत्केरी सम्बन्धी तालिम लिएका थिएनन्। डा. श्रीप्रसादले भने, ‘म डाक्टर भए पनि सुन्केरी गराउने सम्बन्धी धेरै आइडिया थिएन।’ 

यी दुई घटनापछि नै उनले सुत्केरी गराउने सम्बन्धी तालिम लिएर हुम्लामा हुँदा नै धेरै महिलाको ज्यान बचाएका थिए।

दुर्गममा महिलाको यस्तो पीडादायी अवस्था देखेपछि प्रसूति तथा स्त्रीरोग विषय अध्ययन गर्ने निधो गरेका थिए डा. श्रीप्रसादले। ‘पहिल्यैदेखि मुटुको डाक्टर बन्छु भन्ने इच्छा थियो। महिलाले धरै दुःख पाएको देखेपछि गाइनोक्लोजी पढ्ने निधो गरें,’ उनी सुनाउँछन्।

दुर्गमका महिलाले उपचार नपाएको देखेपछि हुम्ला बस्दा नै डा. श्रीप्रसादले सुरक्षित रुपमा सुत्केरी गराउने तालिम (एसबिए), गर्भपतन सम्बन्धी तालिम, मिनिल्याब, भासेक्टोमी, पोस्टमार्टम लगायतको तालिम लिए। उनले ल्याप्रोस्कोपी लगायतका तालिम पनि लिएका छन्। 

हुम्लामा त्रसित
दुई जना महिलालाई बचाएको घटनापछि हुम्लामै त्रसित अवस्थामा काम गर्नुपर्दाको अवस्था सम्झिए डा. श्रीप्रसादले।

तत्कालीन माओवादी द्वन्द्वको समयमा हुम्लामा काम गर्दा उनको समय डरैडरमा बित्यो। तत्कालीन माओवादीका कारण खाद्य सामग्री पर्याप्त नहुँदा खान समेत दुःख थियो। सदरमुकाममा माओवादीले नाकाबन्दी गर्दा गाउँबाट समेत खाद्य सामग्री सदरमुकाम नजाँदा खानाको अभाव भोग्नुपरेको उनले सुनाए। 

‘न गाउँबाट खाद्य सामग्री आउँथ्यो। न नेपालगञ्जबाट प्लेन, हेलिकोप्टरमा आउँथ्यो,’ उनले त्यो बेला राम्रोसँग खान नपाई अस्पतालमा बिरामीको सेवा गर्दाको अनुभूति सुनाउँदै भने, ‘खाद्य संस्थानबाट पुरानो चामल लिएर खाइयो। त्यो पनि पाउन कठिन हुन्थ्यो।’ 

हरियो सागसब्जी नपाउँदा सिमीलगायत सुख्खा तरकारी खाएको उनले बताए। डा. श्रीप्रसादले भने, ‘माओवादीले सदरमुकामका सबै नाकाबन्द गरेको थियो। हुम्ला पनि आक्रमणको टार्गेट भएकाले त्रसित भएर काम गर्नुपर्‍यो।’

हवाइजहाज नउड्दा १ महिना नेपालगञ्जमा
हुम्लामा त्रसित अवस्थामा काम गर्दाको अनुभूतिपछि उनले हवाइजहाज नउड्दा एक महिनासम्म नेपालगञ्ज बस्नुपरेको घटना सुनाए।

उनी काठमाडौंबाट हुम्ला जानका लागि नेपालगञ्ज पुगे। तर नेपालगञ्जबाट मौसम खराबीका कारण हवाइजहज नै एक महिनासम्म उडेन। उनले सुनाए, ‘हिँडेर जान पनि १०/१५ दिन लाग्ने। प्लेन नजाँदा एक महिनासम्म एयरपोर्टमा पुग्दै फर्कँदै गर्‍यौं।’

एक महिनासम्म नेपालगञ्ज बस्नुपर्दा पैसा सकिएर राम्रोसँग खान पनि नपाएको र एक महिनापछि निकै पहल गरेर डाक्टर नै जाने भने पछि हवाइजहाज हुम्ला उडेको उनले सुनाए। 

गर्भपतन गरेकी महिला एक महिना अस्पतालमा 
हुम्ला बस्दाको आरोह-अवरोह तथा विभिन्न घटनाको अनुभूतिपछि डा. श्रीप्रसादले एमडी अध्ययनपछि भरतपुर अस्पतालमा काम गर्दा गर्भपतनकै अर्को घटना सुनाए। 

भरतपुर अस्पतालमा ४ वर्षअघि गर्भपतन गराएर स्वास्थ्य जटिलता निम्तिएकी करिब ३० वर्षकी महिला अस्पताल पुगेको घटना उनको मानसपटलमा ताजै छ। 

विवाहित ती महिलाले औषधि सेवन गरेर ५ महिनाको गर्भपतन गरेकी रहिछन्। गर्भपतन गराएपछि रक्तश्राव अत्यन्तै धेरै भएर उनी अस्पताल पुगेकी थिइन्।

रक्तश्राव भएर स्वास्थ्य जटिल भएकी ती महिलालाई एक महिना अस्पताल भर्ना गरेर उपचार गर्नुपरेको थियो। डा. श्रीप्रसाद भन्छन्, ‘अस्पताल आइपुग्दा महिलाको अवस्था क्रिटिकल थियो। उहाँलाई एक महिना अस्पताल राखेर बचाइयो।’

घुँडासम्म झुन्डिएको ट्युमर
एमडी अध्ययनपछिको अर्को घटना पनि सुनाए डा. श्रीप्रसादले। उनी सर्लाहीको मलंगवामा आङ खसेका महिलाको उपचारका लागि क्याम्पमा गएका थिए। त्यो निःशुल्क स्वास्थ्य शिविर थियो। 

त्यो बेला करिब ३५ वर्षकी महिला योनीबाट घुँडासम्म आङ खसेपछि हातले समाएर क्याम्प गरेको अस्पताल पुगिन्।

ती महिलाले केही अस्पताल चहारे पनि शल्यक्रिया हुन नसकेको रहेछ। ती महिलाको अवस्था देखेर उनलाई चिन्ता लाग्यो। 

डा. श्रीप्रसादले सोचे, शल्यक्रिया नगरौं भने महिलाले अन्त गएर उपचार गर्ने अवस्था देखिँदैन। उपचारै नपाई मर्लिन्। शल्यक्रिया गरौं भने साधन-स्रोत नै नभएको अस्पतालमा जटिलता निम्तिए के  गर्ने?

तर, उनले आँट गरे। अस्पतालमा एउटा टेबुल राखेर महिलाको शल्यक्रिया थाले। उनको अण्डादानीमा ट्युमर पलाएर आङ तल लत्रिएर झरेको रहेछ। शल्यक्रिया गरी डा. श्रीप्रसादले बेलुका ३/४ बजे ट्युमर फाले। शल्यक्रिया सफल भयो। 

ती महिलालाई भोलिपल्ट बिहान अस्पतालमा हेर्न जाँदा त हाँस्दै बाहिर चौरमा पो हिँडिरहेको देखे उनले। महिलाको सफल शल्यक्रियाले आफूलाई निकै सन्तुष्टि मिलेको डा. श्रीप्रसाद बताउँछन्।

अध्ययन र जागिर
श्रीप्रसादको जन्म चितवनको कृष्णपुरमा भएको हो। उनले चितवनकै प्रेमबस्ती माविबाट २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्।

एसएलसीपछि काठमाडौंको अमृत साइन्स कलेजमा आएर उनले आइएस्सी अध्ययन गरे।

श्रीप्रसादलाई सानैदेखि डाक्टर पढ्ने खुब रहर थियो। त्यसैले फिलिपिन्स पुगेर एमबिबिएस अध्ययन गर्न थाले। फिलिपिन्सको ‘साउथ वेस्ट्रन युनिभर्सिटी’बाट २०६० सालमा एमबिबिएस उत्र्तीण गरे उनले।

एमबिबिएस अध्ययनपछि उनले नेपाल फर्किएर सरकारी जागिर सुरु गरे। श्रीप्रसादले २०६१ सालमा ७औं तहको चिकित्सकका रुपमा सरकारी जागिर सुरु गरेका हुन्।

सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ हुम्ला जिल्ला अस्पताल भयो। हुम्लामा उनले मेडिकल सुपरिटेन्डेन्टका रुपमा नेतृत्वदायी भूमिका निभाउँदै डेढ वर्ष काम गरे।

डा. श्रीप्रसादले हुम्ला जस्तो दुर्गम जिल्लामा आफैं पोस्टिङ मागेर काम गर्न पुगेको सुनाए। उनले भने, ‘दुर्गम जिल्लामा गएर सेवा गर्छु भनेर हुम्ला गएँ।’

थप अध्ययन गर्नु छँदै थियो। त्यसैले हुम्लापछि चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराज क्याम्पस) मा एमडी (स्नातकोत्तर तह) अध्ययन सुरु गरे। एमडीमा उनको रोजाइको विषय थियो, प्रसूति तथा स्त्रीरोग विषय। डा. श्रीप्रसादले २०६७ मा यही विषयमा एमडी अध्ययन पूरा गरे। 

एमडी अध्ययनपछि उनी २०६७ मा चितवनको ‘भरतपुर अस्पताल’ सरुवा भए। भरतपुर पुगेको करिब पाँच वर्षमा नवलपरासीको बुलिङटार स्वास्थ्य केन्द्रमा एक वर्ष काम गरे।

त्यसपछि उनी फेरि भरतपुर अस्पताल नै सरुवा भए। भरतपुर सरुवा भएपछि ८औं तहमा बढुवा भए। डा. श्रीप्रसाद भरतपुरमा नै काम गरिरहँदा बढुवा हुँदै ११औं तहमा पुगे।

जुनिएर चिकित्सकका रुपमा भरतपुर अस्पताल पुगेका उनले त्यहाँ एक वर्ष प्रसूति तथा स्त्रीरोग विभागको प्रमुख भएर समेत काम गरे। २०७६ सालसम्म करिब ८ वर्ष उनले भरतपुर अस्पतालमा नै बिताए।

२०७६ मा उनी काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) सरुवा भए। अहिले डा. श्रीप्रसाद प्रसूति गृहमा उपनिर्देशकको भूमिकामा छन्।

पुरुष डाक्टरसँग जँचाउन अप्ठेरो मान्दा
डा. श्रीप्रसाद कतिपय महिला अहिले पनि पुरुष डाक्टरसँग स्वास्थ्य जाँच गराउन अप्ठेरो मान्ने गरेको सुनाउँछन्। सहजताका लागि सधैं नर्सलाई अगाडि राखेर नै स्वास्थ्य जाँच गर्ने गरेको उनले सुनाए।

केही वर्ष अगाडि यौनाङ्गमा समस्या भएर अस्पताल पुगेकी एक जना हजुरआमाले त पाप लाग्छ भनेर जँचाउन नै नमानेको अनुभव सुनाउँछन् उनी। 

त्यसैगरी पारिवार तथा नजिकका नातागोता भित्रका सदस्यको यौनाङ्गजस्ता संवेदनशील अंगमा समस्या भएको अवस्थामा पनि आफूले नजाँचेर साथीहरुलाई जाँचका लागि भन्ने गरेको डा श्रीप्रसाद बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....