उकेरा कोलम

दश हजार शल्यक्रिया गरिसकेकी डा. शिलुको अनुभव : डाक्टरले मात्र होइन, बिरामीले समेत पत्याउँदैनथे


अर्थोपेडिक्स, ह्याण्ड तथा माइक्रो सर्जन डा. शिलु श्रेष्ठले ३८ वर्षकै उमेरमा १० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिसकिन्। तर अझै महिला अर्थोपेडिक्स सर्जन भन्ने वित्तिकै अनौठो मान्नेको संख्या धेरै रहेको उनको अनुभव छ।

हात-खुट्टा भाँचिएको, काटिएको, दुर्घटनामा परी औंला चुँडिएको, नसा चुँडिएको, हात-खुट्टा चोटपटक लगेका र जन्मँदै हात-खुट्टा नमिलेका बिरामीको शल्यक्रिया तथा उपचार गर्छिन् डा. शिलु। उनी राष्ट्रिय ट्रमा सेन्टरकी एक्ली महिला अर्थोपेडिक्स, ह्याण्ड तथा माइक्रो सर्जन पनि हुन्। 

बिरामिले समेत पत्याउँदैनथे
अर्थोपेडिक्स सर्जरी विषयको अध्ययन गर्छु भन्दा चिकित्सकको माझमा समेत हाँसोको पात्र बन्थिन् शिलु। अर्थोपेडिक्स सर्जरी गर्ने चिकित्सकभन्दा बिरामीले पनि  नपत्याएको उनले सुनाइन्। अहिले पनि कतिपय बिरामीले नपत्याउने गरेको उनको अनुभव छ। 

अस्पताल भर्ना भएका बिरामीले उपचार गर्ने क्रममा समेत नर्स भन्ठानेर बिरामीले झर्को-फर्को गर्ने गरेको उनी बताउँछिन्।

बिरामीलाई रोगको बारेमा सोध्दा मन नलागी-नलागी मुन्टो बटार्दै ‘अँ, यस्तो भएको। डाक्टरसाब हुनुहुन्न?’ भन्ने प्रश्न समेत गर्ने गरेको अनुभव समेत उनीसँग छ।

नर्स भनेर ती पुरुषले झपार्दा
बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा काम गर्दा एक जना पुरुषले झपारेको  क्षण डा. शिलु कहिल्यै भुल्दिनन्। जुन अस्पतालमा धेरै टाढा-टाढाबाट समेत बिरामी आउँथे। डा. शिलु टाढाबाट आएका बिरामीको दुःख देखेर खाजा खाने समयमा खाजा खान नगई ढिलोसम्म बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेर बस्थिन्।

एक दिन सबै चिकित्सक खाजा खान निस्किसकेका थिए। डा. शिलुमात्रै ओपिडीमा बिरामीको स्वास्थ्य जाँच गरिरहेकी थिइन्। त्यही क्रममा एक जना अधबैंसे पुरुष छोरा च्यापेर अस्पताल पुगे। ती पुरुषका छोराको खुट्टा बांगिएका थिए। 

तर, उनले डा. शिलुलाई अस्वभाविक व्यवहार गरेछन्। छोराको उपचार गर्न पुगेका ती पुरुषले ठूलो-ठूलो श्वरमा बिरामी जाँचिरहेकी डा. शिलुतिर हेर्दै भने- ए सिस्टर, डाक्टर हुनुहुन्न? डाक्टर देखाउनुहोस्।

डा. शिलुले ‘म नै हो डाक्टर।  केहीबेर पर्खनुहोस्, म हेर्छु’ भनिन्। 

तर, ती पुरुषले झर्किँर्दै ठूलो-ठूलो श्वरमा भने- कति टाढादेखि आएका छौं। यहाँ आएर पनि डाक्टरलाई देखाउन नपाउने? यति टाढादेखि आएर पनि सिस्टरलाई देखाउनुपर्ने? सिस्टरलाई देखाउनुपर्ने भए त उतै देखाइहालिन्थ्यो नि।

पुरुषको गाली गरिरहँदा उनी बोल्नै सकिनन्। साह्रै चित्त दुख्यो। त्यसपछि शिलुले ‘केहीबेर बस्नुहोस्। डाक्टरसाबलाई बोलाइदिन्छु’ भन्ने जवाफ दिइन्।

त्यो गालीपछि शिलुले थप बिरामी जाँच्नै सकिनन्। उठेर डाक्टर बस्ने कोठामा पुगिन्। आँशु रोक्नै सकिनन्। केही मिनेटपछि आँसु पुछेर अरु डाक्टर साथीले खाजा खाइरहेको ठाउँमा पुगेर ती पुरुषले झपारेको प्रसंग उनीहरुलाई सुनाइन्। सबै चिकित्सक गलल हाँसे। 

पुरुष डाक्टर साथीहरुको हाँसोले झन् उनको चित्त दुख्यो। सान्त्वना पाउनुको सट्टा हाँसोको पात्र पो बनिन् उनी। त्यो दिन उनी निक्कै रोइन्। न बिरामीले पत्याउँछन्। न डाक्टरले। यस्तो विषय किन पढ्ने भन्ने उनको मनमा आयो। 

तर, डा. शिलुले हार भने खाइनन्। उनले अठोट लिइन्, म अर्थोपेडिक्स सर्जरी नै गर्न जन्मेको हुँ। अझै राम्रो गर्नुपर्छ। पुरुष डाक्टरको भीडमा स्थापित हुनु थियो। उनको यात्रा रोकिएन। 

शल्यक्रिया गर्न केही शारीरिक शक्तिको पनि आवश्यक हुन्छ। त्यसैले पुरुषजस्तै शारीरिक रुपमा समेत मजबुत बन्नका लागि उनी जिम समेत गर्न थालिन्। ४/५ महिना उनले जिम गरिन्। त्यसपछि शारीरिक तथा मानसिक दुवै किसिमले मजबुत भएको उनले महसुस गरिन्। 

चिरफार गर्ने डाक्टर बन्ने इच्छा
काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस (काठमाडौं विश्वविद्यालय) धुलिखेलमा सन् २००६ मा एमबिबिएस अध्ययन पूरा गरेकी डा. शिलुलाई अर्थोपेडिक्स सर्जरी विषयको अध्ययन गर्ने रहर कम थिएन। 

एमिबिबिएस अध्ययनपछि डा. शिलुले बीएण्डबी अस्पतालमा करिब एक वर्ष काम गरिन्। त्यसपछि उनले काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको अर्थोपेडिक्स विभागमा काम थालिन्। बाल अस्पतालमा काम गर्दा अर्थोपेडिक्स सर्जनले साना बालबालिकाको हात-खुट्टाको शल्यक्रिया गरेको उनले नजिकबाट देखेकी थिइन्। जसले गर्दा झन् यो विषयतिर आकर्षित हुँदै गइन्।

सन् २००८ देखि सन् २००९ सम्म दुई वर्ष अपांग बाल अस्पतालमा मेडिकल अधिकृतका रुपमा उनले काम गरिन्। 

डा. शिलुलाई जति काम गर्दै गयो उति नै अर्थोपेडिक्स सर्जरी विषयमा काम गर्ने इच्छा जागृत हुँदै गयो। 

अर्थोपेडिक्स सर्जरी विषयलाई विज्ञान तथा कला मिश्रित विषय लाग्थ्यो उनलाई। हात-खुट्टा ठिक ठाउँमा ल्याउने ‘रिकन्स्ट्रक्टिभ’ कला मन पर्थ्यो। 

डा. शिलुलाई थाहा भएअनुसार त्यो बेलासम्म नेपालमा अर्थोपेडिक्स सर्जरी विषय अध्ययन गरेका महिला चिकित्सक नै थिएनन्। त्यो बेलासम्म महिलाले अर्थोपेडिक्स विषय अध्ययन गरेर कामै गर्न नसक्ने धेरैको  सोच हुन्थ्यो रे।

कसैले पनि अर्थोपेडिक्स सर्जरी विषय अध्ययनका लागि उनलाई न स्वीकार्थे न सल्लाह नै दिन्थे। अर्थोपेडिक्स सर्जरी विषय अध्ययन गर्छुभन्दा अधिकांशबाट उनी एउटै प्रश्न सुन्थिन्, केटै केटा भएको फिल्डमा किन जानुपर्‍यो? 

त्यसो त पुरुष चिकित्सक मात्रै हुने भएकाले पहिले-पहिले अर्थोपेडिक्स सर्जरी विभागका कोठामा छिर्न पनि महिला चिकित्सकलाई असहज हुन्थ्यो रे।

तर, मन-मनमा उनलाई लागिसकेको थियो, म अर्थोपेडिक्स सर्जरी विषयमा नै भविष्य बनाउँछु।

अर्थोपेडिक्स सर्जरीको नसा
शिलु अर्थोपेडिक्स सर्जरी विषय नै अध्ययन गर्ने निर्णयमा पुगिन्। त्यसैले काठमाडौं विश्वविद्यालयमा एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिइन्। लिखितमा छनोट भइन्। तीन वटा छनोट गर्नुपर्ने विषयमध्ये तीन वटै अर्थोपेडिक्स विषय छनोट गरेकी थिइन्।

लिखितमा छनोट भएपछि मौखिक परीक्षा दिन गइन् उनी। तर त्यो छनोट परीक्षामा बसेका विज्ञहरु महिलाले अर्थोपेडिक्स सर्जरी विषय छनोट गरेको देखेर चकित भएछन्। उनीहरुले शिलुलाई अर्थोपेडिक्स सर्जरी विषय कठिन हुने भएकाले यो विषयको सट्टा अन्य विषय छनोट गर्न सुझाव दिए। 

शिलुले अर्थोपेडिक्स सर्जरी विषयमा रुचि भएको बताउँदा मौखिक परीक्षा लिन बसेका विज्ञहरु नै गलल हाँसे। उनीहरुले महिलालाई शल्यक्रिया गर्ने विषय ठिक हुँदैन भन्ने सुझाव दिए। 

मौखिक परीक्षा हलबाट निस्कँदा शिलुलाई अर्थोपेडिक्स सर्जरी विषयमा अध्ययनका लागि छनोट हुन्छु भन्ने आत्मविश्वास थियो। तर एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट भइनन्।

त्यसपछि भने उनी निरास भइन्। तर शिलु लामो समयसम्म निरासामा बसिनन्। उनले फेरी अठोट लिइन्, म जसरी भए पनि अर्थोपेडिक्स सर्जरी विषय नै पढ्छु।

केही महिनापछि उनलाई फेरि काठमाडौं विश्वविद्यालयबाट फोन आयो। फोनमा भनियो, तपाइँको वेटिङ लिष्टमा नाम थियो। पढ्न पाउनुहुने भयो।

शिलुले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा अर्थोपेडिक्स सर्जरी विषयमा अध्ययन गर्न पाउने भइन्। तर त्यहाँ अध्ययन गर्न मन लागेन। बीएण्डबीमा डा. अशोक बास्कोटाको निगरानीमा नै पढ्ने इच्छा थियो उनको। 

धेरैले अर्थोपेडिक्स सर्जरी विषय अध्ययन गर्न पाउन कठिन हुने भएकाले उनलाई नेपाल मेडिकल कलेजमा नै भए पनि पढ्न सुझाव दिए। तर त्यहाँ पढिनन्। त्यहाँ पढ्न नमान्दा परिवार पनि असन्तुष्ट भयो। 

फेरि अर्को वर्ष शिलुले काठमाडौं विश्वविद्यालयमा एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिइन्। त्यो वर्ष भने आफूले चाहेकै काठमाडौं विश्वविद्यालय अन्तर्गत बीएण्डबी अस्पतालमा स्नातकोत्तर तहको अध्ययन गर्न पाइन्। अर्थोपेडिक्स पढ्न पाएको त्यो दिन उनको जीवनकै आनन्दको क्षण थियो।

डा. शिलु सन् २०१० मा अर्थोपेडिक्स सर्जरी विषय अध्ययन गर्न थालिन्। सन् २०१३ मा तीन वर्ष एमएस अर्थोपेडिक्स सर्जरी विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा भयो। एक वर्ष अर्थोपेडिक्स विषय नपढेकी हुनाले उनी नेपालमा अध्ययन गर्ने दोस्रो महिला अर्थोपेडिक्स सर्जन् भइछन्।

डा. शिलुले सन् २०१३ देखि सन् २०१४ सम्म सिंगापुर नेसनल युनिभर्सिटी अस्पतालमा ह्याण्ड एण्ड रिकन्स्ट्रक्टिभ माइक्रो सर्जरी विषयमा एक वर्षे क्लिनिकल फेलोसिप गरिन्। जसले सर्जरी सम्बन्धी थप ज्ञान तथा सिपको विकास भयो।

सिंगापुरबाट फर्केपछि उनले बीएण्डबी अस्पतालमा नै काम गर्न थालिन्। बीएण्डबी र बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र गरी दुवै ठाउँमा उनले करिब-करिब चार वर्ष काम गरिन्। उनी हप्ताको ३/३ दिन बीएण्डबी र अपांग बाल अस्पतालमा काम गर्थिन्। 

अपांग बाल अस्पतालमा काम गर्दा उनलाई बालबालिको हातमा हुने विभिन्न समस्याका लागि सर्जरीको ज्ञान तथा सिपको थप अध्ययन गर्नुपर्ने महसुस भयो।

त्यसैले डा. शिलुले सन् २०१६ मा अमेरिका पुगेर ६/७ वटा विभिन्न अस्पतालमा ह्याण्ड तथा माइक्रो सर्जरी सम्बन्धी विषयको ज्ञान तथा सिपको विकास गरिन्। त्यहाँ उनले विशेषगरी बालबालिकाको हातको सर्जरी तथा नसा सम्बन्धी थप ज्ञान तथा सिपको विकास गरिन्।

समय क्रमसँगै डा. शिलु सफलताको भर्‍याङ चढ्दै गइन्। काम गरिहेकै थिइन्। ११औं तहको चिकित्सकको माग गर्दै लोकसेवा परीक्षा खुल्यो। परीक्षा दिइन्। परीक्षाको नतिजा राम्रो आयो। डा. शिलु सन् २०२० मा लोकसेवामार्फत सिधै ११औं तहको अर्थोपेडिक्स सर्जन चिकित्सकका रुपमा सरकारी स्थायी जागिरमा प्रवेश गरिन्। 

सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (राष्ट्रिय ट्रमा सेन्टर) मा भयो। दुई वर्ष यता उनी ट्रमा सेन्टरमा प्रमुख कन्सल्टेन्ट सर्जनका रुपमा कार्यरत छन्। तीन हप्तायता भने उनी ट्रमा सेन्टरको अर्थोपेडिक्स विभागको युनिट–२ को विभागीय प्रमुखको जिम्मेवारीमा छन्। 

अहिले पनि ट्रमा सेन्टरमा पुग्ने कतिपय बिरामीले सोचेका हुँदारहेछन्, शिलु त अलि पाको उमेरकी होलिन्। तर भर्खर ३८ पुग्दै गरेकी। त्यसैले उनलाई भेट्न पुगेका कतिपय बिरामी शिलु हैन भन्ठानेर देखेको नदेख्यै जस्तो गरेर बस्छन्। ‘म नै शिलु हो’ भनेपछि निक्कै धरमराउँदै बिरामीले स्वास्थ्य जाँच गराउने गरेको उनले सुनाइन्।

शल्यक्रियाका क्रममा असफलता भएका घटना पनि नभएका हैनन्। अस्पतालमा ढिला आइपुग्दा उपचारमा असफलताका घटना हुने उनले सुनाइन्। 

छोरा बोकेर कार्यस्थलमा 
डा. शिलुको करिब चार वर्षअघि चिकित्सक डा. पारसमणि श्रेष्ठसँग प्रेम विवाह भएको रहेछ। उनीहरुको ६ महिनाको छोरा छन्। उनी छोरालाई अस्पतालमा नै ल्याउँछिन्। दिनभर ट्रमा सेन्टरकै एउटा कोठामा छोराको देखदेख गर्छिन् शिलुकी आमाले। दिनभर बिरामीको सेवामा व्यस्त हुने शिलु घरीघरी समय मिलाउँदै अस्पतालमा नै छोरालाई स्तनपान गराउँछिन्। 

एचआइभी संक्रमितको त्यो शल्यक्रियाको चुनौती
काम गर्दै जाँदा शल्यक्रिया गर्ने क्रममा पुरुष सर्जनलाई मात्रै प्राथमिकता दिने सिनियर डाक्टरले समेत डा. शिलुको सहयोग लिन थाले। 

एक जना विश्वास गर्ने सिनियर डाक्टरले त शल्यक्रिया गर्न भनेपछि विश्वास नै नगरेको उनको मानसपटलमा ताजै छ। तर स्नातकोत्तर तहको अर्थोपेडिक्स सर्जरी विषयको दोस्रो वर्षमा अध्ययन गर्दा बीएण्डबी अस्पतालमा शिलु खटिरहेका बेला एक जना घाइते पुरुषलाई  अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो। ती पुरुषको तिघ्राको हड्डी दुई ठाउँमा भाँचिएको थियो।

ती बिरामी एचआइभी संक्रमित रहेछन्। त्यसैले शल्यक्रिया गर्दा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) राम्रोसँग लगाएर मात्रै शल्यक्रिया थाल्नुपर्थ्यो। डा. शिलुका सिनियर ती चिकित्सक ओपिडिमा व्यस्त थिए। बिरामीलाई अप्रेसन थिएटरमा शल्यक्रियाका लागि तयार गरिसक्दा समेत ती सिनियर चिकित्सक सल्यक्रियाका लागि आउन सकेनन्। त्यसैले शिलुले उनलाई भनिन्, सर तपाई आउँदै गर्नुहोस्। म अप्रेसन सुरु गर्छु। 

विकल्प नै नभएपछि ती चिकित्सकले डा. शिलुलाई शल्यक्रियाका लागि अनुमति दिए। शिलुलाई भने आत्मविश्वास थियो।

सिनियरको अनुमतिपछि डा. शिलु नेतृत्वको टिमले ती पुरुषको तिघ्रोको शल्यक्रिया थाल्यो। बीच-बीचमा सिनियरलाई शल्यक्रियाको अवस्थाको बारेमा खबर गरिरहिन्। पुरुषको भाँचिएको तिघ्राको भागमा उनले रड हालिन्। केही बेरको मिहिनेतपछि शल्यक्रिया सकियो।

शल्यक्रिया सफल भइसकेपछि सिनियर चिकित्सक अप्रेसन थिएटरमा पुगे। शिलु नेतृत्वको चिकित्सकको टिमले शल्यक्रिया नै सकेको देखेर उनी छक्कै परे। दुई ठाउँमा भाँचिएको त्यसमाथि पनि एचआइभी संक्रमित बिरामी भएकाले त्यो शल्यक्रिया डा. शिलुका लागि निकै चुनौतीपूर्ण थियो।

त्यो जटिल शल्यक्रिया सफल रुपमा गरेपछि भने ती सिनियर चिकित्सकले डा. शिलुलाई विश्वास गरेको उनले सुनाइन्। 

बुवा-आमाको अन्तरजातीय विवाह
शिलुका बुवाआमाको अन्तरजातीय प्रेम विवाह रहेछ। बुवा पाटनका नेवारका छोरा, आमा राईकी छोरी। दुवै पक्षको परिवारले उनीहरुको विवाह स्वीकारेन। 

बुवाको घरमा भित्रिन नपाएपछि आमाले शिलु र उनकी बहिनीलाई डेरामा बसेर निकै दुःखले हुर्काइन्। पढाइन्। सामान्य लेखपढ गरेकी आमाले कपडामा लगाउने स्टीकर कटिङको काम गरेको शिलुलाई याद छ। 

कहिलेकाहीं मात्रै बुवा आफूहरु बसेको कोठामा पुग्ने गरेको शिलुलाई सम्झना छ। सानोमा त बुवा देख्दा शिलुलाई यो को मान्छे होला? जस्तो लाग्थ्यो रे।

बुवाको पाटनमा २/३ वटा घर भए पनि शिलु, बहिनी र आमाको बास भने डेरामा नै थियो। कोठा भाडा तिर्न पैसा नभएको समेत शिलुलाई अझै याद छ।

शिलु सात कक्षामा पढ्दा मात्रै बुवाले उनीहरुलाई पाटनको घरमा सारेछन्। शिलु र उनकी बहिनी सानैदेखि पढाइमा तीक्ष्ण थिए। 

शिलुले ललितपुरकै मानभवनस्थित ‘आदर्श विद्या मन्दिरबाट’ २०५५ मा एसएलसी उत्तीर्ण गरिन् भने क्याम्पियन एकेडेमीबाट प्लसटु अध्ययन गरेकी हुन्।

आमा थला परेपछि डाक्टर पढ्ने अठोट
प्लस टुपछि उनले एमबिबिएस अध्ययन थालिन्। डा. शिलुले डाक्टर पढ्नुको एउटा प्रसंग छ। ९ कक्षामा पढ्दा उनकी आमा बिरामी भएर थला परिछन्। दिसा-पिसाब पनि ओछ्यानमा नै भइसकेको थियो। आमा नबाँच्ने हुन् कि भन्ने चिन्ताले शिलु र उनकी बहिनी निकै तनावमा परे।

आमा बिरामी भएर थला परेपछि एक दिन त बहिनीले शिलुलाई भनिछन्, दिदी, आमा नबाँचेपछि हामी कसरी बाँच्नु! बरु विष ल्याएर तीनै जनाले खाउँ। एकै  पटक गइन्छ।

बाहिनीको बालमस्तिष्कबाट निष्केको त्यो भनाइले शिलुको मन चिसो भयो। आमालाई कसरी बचाउने भनेर चिन्ता पर्‍यो। त्यसपछि उनीहरुले आमालाई उपचारका लागि पाटन अस्पताल लगे। 

आमाको मेनेन्जाइटिसका कारण स्वास्थ्य अवस्था जटिल भइसकेको रहेछ। पाटनमा आमाको उपचार भइरहेको थियो। 

अस्पतालको वार्डमा उपचारको क्रममा ओल्लो-पल्लो बेडका ३/४ जना बिरामीको मृत्यु भएको शिलुले नजिकबाट देखिन्। जसले शिलु झन् आत्तिइन्। हतास भइन्। आमालाई अस्पतालमा भर्ना गरेर उपचार गर्दा डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीले बिरामी तथा बिरामीका आफन्तसँग गर्ने व्यवहारले उनको मन छोयो। बिरामी तथा बिरामीका आफन्त तनावमा परेका बेला केही डाक्टर तथा नर्सले गरेको टर्रो व्यवहारले उनको मन अमिलो हुन्थ्यो। केही डाक्टर तथा नर्सले भने राम्रो व्यवहार गर्थे। जसले उनलाई केही आत्मबल मिल्थ्यो।  

भाग्यबस लामो समय अस्पतालमा उपचार पछि उनकी आमाको रोग सञ्चो भयो। ज्यान बाँच्यो। आमा अस्पतालबाट डिस्चार्ज भइन्। डिस्चार्ज भएकी आमालाई लिएर अस्पतालबाट निस्कँदा नै शिलुले मनमनै अठोट लिइन्, म जसरी डाक्टर नै बन्छु। 

त्यसपछि पूरा भयो डाक्टरमात्रै होइन, अर्थोपेडिक्स सर्जन बन्ने शिलुको सपना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....