उकेरा कोलम

डा. वंशदीपको उपचार अनुभव : सुत्केरीलाई घिउ उपहार, स्वास्थ्य चौकीबाट कर्णाल फुकेर बिदाइ


तस्बिर : कृष्पा श्रेष्ठ

आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका लागि हेल्थ असिस्टेन्ट हुँदाका कयौं क्षणहरु यादगार छन्। उपचार गर्न गाउँ-गाउँ पुग्दाको सम्झना उनको मानसपटलमा अझै ताजा भएर आउँछन्।

डा. वंशदीप करिब ३० वर्षअघि कास्कीको सिल्दुजुरे गाउँ विकास समितिको तप्राङ स्वास्थ्य चौकीमा काम गर्दाको एउटा घटना कहिल्यै भुल्दैनन्। 

तप्राङमा सुत्केरी व्यथा लागेकी परियार थरकी एक महिलालाई उपचारका लागि जाँदा उनले घीउ किनेर दिएका थिए।

करिब २२ वर्षकी महिलालाई प्रसूति व्यथाले च्यापेपछि केही व्यक्ति डा. वंशदीपलाई बोलाउन तप्राङ स्वास्थ्य चौकी पुगे।

उपचारका लागि मान्छे लिन पुगेपछि स्वास्थ्य चौकीमा उपलब्ध केही औषधि तथा केही आफैंले किनेका औषधि र औजारहरु झोलामा बोकेर उनी महिलाको उपचारका लागि हिँडे। स्वास्थ्य चौकीबाट करिब पाँच घण्टाको हिँडाइपछि उनी बेलुका करिब पाँच बजे त्यहाँ पुगे।

डा. वंशदीप पुग्दा महिला प्रसव पीडाले छटपटाइरहेकी थिइन्। उनले तुरुन्तै प्रसूति गराउने औषधि उपचार सुरु गरे। औषधि उपचारपछि महिलाले बेलुका करिब साढे सात बजे बच्चा जन्माइन्। त्यो उनको पहिलो बच्चा थियो।

बच्चा जन्मिएपछि पनि महिलाको स्वास्थ्य समस्या कम भएन। रक्तश्रावको समस्या भयो। जुन समस्यालाई चिकित्सकीय भाषामा पोष्ट नेटल इन्टरनल ह्यामोरेज भनिन्छ। 

रक्तश्राव भएर महिला कोमामा नै जाने अवस्था आयो। त्यहाँबाट बोकेर बिरामीलाई पोखरा ल्याउन कठिन थियो। पोखरा पुग्न त्यहाँबाट एक दिन लाग्थ्यो। 

अर्कातर्फ सुत्केरीको परिवारको आर्थिक अवस्था दयानीय थियो। सुत्केरीको परिवारले डा. वंशदीपलाई अन्त लाने अवस्था नभएकाले त्यहीं उपचार गरेर बचाउने कोशिस गरिदन अनुरोध गरे। 

निरन्तर औषधि उपचार गरिरहे पनि अध्यधिक रक्तश्रावका कारण सुत्केरी अर्धचेतन अवस्थामा नै पुगिन्। तर भाग्यवश रातभरको औषधि उपचारपछि भने विस्तारै महिलाको रक्तश्राव कम हुँदै गयो। भोलिपल्ट बिहानसम्ममा पूर्ण रुपमा रक्तश्राव नियन्त्रणमा आयो।

रक्तश्राव रोकिएर सुत्केरी महिलाको स्वास्थ्य सामान्य भएपछि डा. वंशदीपले बिहान स्वास्थ्य चौकी फर्कने तर्खर गरे। उनले आफूले किनेका केही औषधि पनि महिलाको उपचारमा चलाएका थिए। तर त्यो परिवारसँग डा. वंशदीपलाई औषधिको पैसा दिने सामर्थ्य नै रहेनछ। 

ती सुत्केरीका करिब ५०/५५ वर्षका सासु-ससुराको अनुहारको भावले भनिरहेको थियो- डाक्टरसाबले बुहारी त बचाइदिनुभयो तर पैसा कसरी दिने!

सासु-ससुरा डाक्टरले उपचार गरेको पैसा कहाँबाट दिने भनेर चिन्तित देखिन्थे। सुत्केरीका श्रीमान् केही महिनाअघि मात्रै भारतमा मजदूरी काम गर्न गएका रहेछन्।

सुत्केरीको घरमा एउटा कुखुराको भाले रहेछ। डा. वंशदीपलाई औषधि उपचार गरेर बुहारी बचाइदिएवापत त्यही भाले लिएर जान अनुरोध गरे सासु-ससुराले। उनले यसो हेरे। जम्मा एउटा भाले देखे। सुत्केरीका सासु-ससुराले त्यही भाले पनि लानु भनेपछि डा. वंशदीप भावुक बने। उनको मन अमिलो भयो। आँखा रसाए। तप्लक्क आँसु खसे। 

भाले च्यापेर हिँड्न डा. वंशदीपको मनले मानेन। मानोस् पनि कसरी? सुत्केरीले खाने मिठो-मसिनो घरमा नभएको उनले रातभरि उपचारको क्रममा नै महसुस गरिहाले। त्यसैले सुत्केरीका सासु-ससुराई डा. वंशदीपले भने- यो भाले उहाँ(सुत्केरी)लाई नै दिनुहोस्, मलाई पर्दैन। 

उनले बरु भुजेल थरका छिमेकीको घरबाट एक किट्ली घिउ किनिदिएर ती सुत्केरीको घरमा ल्याउन लगाए। कति रुपैयाँको घिउ किनें भन्ने उनलाई यकिन छैन। याद भएसम्म यस्तै ५०/६० रुपैयाँको थियो होला।

उपचारपछि घीउ किनिदिएर उनी बिहान करिब आठ बजे स्वास्थ्यचौकीतर्फ बाटो लागे। 

आमाको पाठेघरमा एकै प्रकृतिले बस्ने भ्रूण जन्मिएपछि कतिपयले भने कुन हदसम्म आर्थिक जर्जरतामा जिउनुपर्ने बाध्यता हुन्छ भन्ने उनले त्यो दिन नजिकबाट महसुस गरे। 

यसरी उपचारमा जाँदा पैसै नलिएका, उल्टै बिरामी तथा बिरामीका परिवारलाई आर्थिक सहयोग गरेका धेरै प्रसंग डा. वंशदीपसँग छन्। त्यसरी स्वास्थ्य चौकी बाहिर उपचारका लागि जाँदा आर्थिक रुपमा सबल परिवारमा भने उनी हिँडेर पुगेको पनि शुल्क लिन्थे। तर आर्थिक अवस्था कमजोर भएकासँग उनी औषधि उपचार गरेवापत सकभर पैसा लिँदैनथे।

डा. वंशदीपले कास्कीमा हेल्थ असिस्टेण्टका रुपमा काम गर्दा उनी कार्यरत स्वास्थ्य चौकी वरिपरिका १८ वटा तत्कालीन गाउँ विकास समितिमा स्वास्थ्यका कुनै युनिट नै थिएनन्। विशेषज्ञ चिकित्सकले दिने सेवा हेल्थ असिस्टेन्टले दिनुपर्ने बाध्यता थियो। महिलामा प्रसूति लगायतको समस्या हुँदा गाउँगाउँ पुगेर तिनै हेल्थ असिस्टेण्टले सेवा दिनुपर्थ्यो। 

सामान्यतया स्वास्थ्य चौकीमा काम गर्ने कार्यालय समय बाहेकको समयमा अन्यत्र गएर काम गर्न पाइन्थ्यो। जसवापत न्यून शुल्क लिएर बिरामीको औषधि उपचार गर्ने गरेको उनले सुनाए। तर आकस्मिक उपचारका लागि जतिखेर पनि दौडनुपर्ने हुन्थ्यो। 

कर्नाल फुकेर बिदाइ
त्यो बेला गाउँका डाक्टर भनेकै हेल्थ असिस्टेन्ट हुन्। अझै हेल्थ असिस्टन्ट नै छन् गाउँका डाक्टर। त्यसैले हेल्थ असिस्टेन्टले समाजबाट पाउने सम्मान पनि कम हुँदैनथ्यो। 

समाजबाट डा. वंशदीपले पाएको सम्मानका प्रसंग कम रोचक छैनन्। हेल्थ असिस्टेन्टको जागिरको सिलसिलामा स्वास्थ्य चौकीहरुबाट बिदाइ हुँदा उनले सम्मान नपाएको ठाउँ छैन। कास्कीको सार्दी खोलामा काम गरेर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २०४८ सालतिर सरुवा हुँदा गाउँलेहरुले बाजागाजासहित बिदाइ गरेको डा. वंशदीपलाई आजै जस्तो लाग्छ।

सार्दी खोला स्वास्थ्य चौकीबाट बिदाइ हुँदा धेरै गाउँलेहरु जम्मा भएका थिए। उनको बिदाइमा सहभागिताका लागि गाउँलेले उर्दी नै जारी गरेका थिए। सार्दी खोलाबाट बिदाइ हुँदाको त्यो क्षण डा. वंशदीपले कहाँ भुल्न सक्नु र!

बिदाइको त्यो क्षणमा गाउँलेले उनलाई फूल, माला, अबिर पहिरिदिएका थिए। बिदाइमा केहीले कर्णाल फुके। बेहुली लिन गएको दुलाहजसरी बाजागाजासहित स्वास्थ्य चौकीभन्दा निक्कै वरसम्म गाउँलेहरु बिदाइका लागि आएको उनी सम्झन्छन्। 

गाउँ-गाउँमा एचए डाक्टर
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकास्थित फलाँटेमा २०२५ सालमा जन्मिएका डा. वंशदीपले २०४१ मा स्थानीय सारदा माविबाट एसएलसी उत्तीर्ण गरेका हुन्। जुन विद्यालयको संस्थापक उनका बुवा  शिवराज शर्मा पनि थिए। 

काभ्रे लगायतका जिल्लाहरुमा विद्यालय स्थापनदेखि खानेपानी तथा बाटोघाटोको विकासका लागि उनका बुवाले योदान गरेको वंशदीप सम्झन्छन्। बुवाकै सेवाभावको प्रेरणाका कारण आफू चिकित्सा सेवामा प्रवेश गरेको उनले सुनाए।

उनले त्रिभूवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पसबाट २०४५ मा तीन वर्षे ‘विषारत आयुर्वेद तथा जनरल मेडिसिन’ विषयमा प्रविणता प्रमाणपत्र तह अध्ययन गरे।

डा. वंशदीप २०४५ मा हेल्थ असिस्टेण्टको रुपमा सरकारी स्थायी जागिरे भए। उनले करिब १४ वर्ष हेल्थ असिस्टेन्टका रुपमा काम गरे। उनमा हेल्थ असिस्टेन्टका रुपमा कास्की, काठमाडौं, काभ्रेका विभिन्न स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालमा काम गरेको अनुभव छ।

डा. वंशदीपले कास्कीमा २०४६ देखि २०४८ सम्म करिब तीन वर्ष काम गरे। जसमध्ये एक वर्ष तत्कालीन सिन्दुजुरे गाविसको तप्राङ र दुई वर्ष सार्दीखोला स्वास्थ्य चौकीमा काम गरे। हेल्थ असिस्टेन्टका रुपमा जागिरे भएपछि उनी पहिलोपल्ट तप्राङ पुगेका थिए। 

उनले हेल्थ असिस्टेन्टका रुपमा कास्कीपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएर करिब दुई वर्ष काम गरे। टेकुपछि उनी काभ्रेको बेखसिम्ले स्वास्थ्य चौकी पुगे। काभ्रेपछि काठमाडौंको सतुंगल स्वास्थ्य चौकीमा काम गरे। त्यसपछि काभ्रेकै जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल पुगे। 

त्यो भन्दा पछि भारत पुगेर उनले सन् १९९३ मा आयुर्वेद विधाको बिएएमएस (ब्याचुलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी) विषय अध्ययन थाले। ‘जिवाजी विश्वविद्यालय’बाट सन् १९९९ मा उनले बीएएमएस अध्ययन पूरा गरे। 

उनले राजनीतिशात्र र शिक्षा विषयमा पनि स्नातक तहको अध्ययन गरेका छन्। 

बिएएमएस अध्ययनपछि केही समय काभ्रेको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयमा उनले काम गरे। 

हेल्थ असिस्टेण्टबाट चिकित्सक
२०६० सालमा डा. वंशदीप लोकसेवामार्फत आयुर्वेद चिकित्सकको रुपमा सरकारी जागिरे भए। सरकारी चिकित्सकका रुपमा जागिरे भएपछि उनको पहिलो पोष्टिङ सिन्धुपाल्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौतारामा भयो। सिन्धुपाल्चोकमा उनले २०६६ सम्म करिब ६ वर्ष काम गरे।

त्यसपछि उनी काठमाडौंको टेकुस्थित तत्कालीन आयुर्वेद विभाग सरुवा भए। त्यहाँ २०६८ सम्म दुई वर्ष काम गरे। जहाँ योजना शाखाको प्रमुखको रुपमा रही जनपदोध्वंस, जेष्ठ नागरिक कार्यक्रमको सुरुवात गर्नुका साथै स्थानीय तहमा नै बजेट पठाउने कामको सुरुवात गरेको उनले सुनाए।

त्यसपछि डा. वंशदीपले २०७३ सम्म आयुर्वेद चिकित्सालय नरदेवीमा आयुर्वेदिक चिकित्सकको रुपमा काम गरे। नरदेवीमा आफूले पञ्चकर्मसम्बन्धी राम्रो सेवा दिएको उनले सुनाए।

२०७३ देखि २०७७ सम्म चार वर्ष उनले सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशकको रुपमा काम गरे। २०७७ यता भने उनी टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छन्। उनी अहिले विभागको नागरिक आरोग्य स्वास्थ्य प्रवर्धन शाखा प्रमुखको भूमिकामा छन्। उनले नेपाल आयुर्वेद चिकित्सक संघको उपाध्यक्ष लगायतको भूमिकामा बसेर काम गरिसकेका छन्।

चिकित्सकका रुपमा स्वीकार्नै कठिन
त्यो बेला आयुर्वेद चिकित्सकलाई चिकित्सकको दृष्टिकोणले हेर्ने जमात न्यून भएको डा. वंशदीपको अनुभव छ। भर्खर-भर्खर आयुर्वेदिक चिकित्सकको रुपमा स्थापित हुन निकै संघर्ष गर्नुपरेको उनले सुनाए।

त्यो बेला आयुर्वेदिक चिकित्सकलाई झारफुक गर्ने व्यक्तिका रुपमा लिने जमात कम थिएन। पढे-लेखेकाहरुले समेत आयुर्वेदिक चिकित्सकलाई शास्त्रीय मेडिकल चिकित्सा सम्बन्धी पढेकाले ज्ञान त्यति हुँदैन भन्ने सोच राख्थे रे। त्यसो त पढलेख नगरेका भन्दा शिक्षित वर्गले आयुर्वेदिक चिकित्सकलाई चिकित्सकका रुपमा स्वीकार्न कठिन मानेको उनले सुनाए।

कतिपय ठाउँमा एउटै कार्यक्रममा जाँदा एलोपेथी र आयुर्वेदिक चिकित्सकलाई गर्ने व्यवहार तथा हेर्ने दृष्टिकोण नै फरक भएको उनको अनुभूति छ। डा. वंशदीपले सुनाए, 'एकै ठाउँको सरकारी कार्यक्रममा जाँदा एलोपेथी चिकित्सकलाई डाक्टरसाब भन्थे। हामीलाई ‘फलानो जी’ भन्थे।' 

कयौं ठाउँमा सरकारी कर्मचारीले नै डा. वंशदीपलाई तपाइँ त कहाँ डाक्टर हो र! आयुर्वेद डाक्टर हैन? भनेका छन्। आयुर्वेदिक चिकित्सक भनेपछि नाक खुम्च्याउने जमात पनि कम थिएन। तर अहिले भने विस्तारै यस्तो दृष्टिकोण कम हुँदै गएको उनले सुनाए। 

हुन त अहिले पनि यो विधा नयाँ पुस्ताले खुला दिलले स्वीकार गर्न मुस्किल परिरहेको देखिएको उनले सुनाए। आयुर्वेद क्षेत्रको विकास राम्रो नभएकैले यस्तो समस्या भएको उनको तर्क छ। नेपालमा आयुर्वेद क्षेत्रको राम्रो भविष्य हुँदाहुँदै पनि यो क्षेत्र ओझेलमा परेको उनले सुनाए।

डा. वंशदीपसँग जनरल स्वास्थ्य र आयुर्वेद दुवै विधाको अनुभव छ। हेल्थ असिस्टेन्टको रुपमा काम गर्दा उनले एलोपेथी चिकित्सा विधा अनुसार काम गरे भने आयुर्वेदिक चिकित्सा विधि पढेपछि आयुर्वेदिक चिकित्सकका रुपमा काम गर्न थाले।

त्यसो त त्यो बेला हेल्थ अस्टिेन्टका रुपमा पाएको सम्मान जस्तै उनले आयुर्वेदिक चिकित्सकका रुपमा पाएको सम्मान पनि कम छैन। उनले विभिन्न ठाउँमा जाँदा समाजबाट पाएको सम्मान अविस्मरणीय भएको बताए।

हेल्थ अस्टिेन्टका रुपमा दुर्गम ग्रामीण क्षेत्रमा पुगी गरेको सेवा सम्झँदा अहिले पनि उनलाई आनन्द लाग्छ।

सेवा भाव उस्तै
सेवा भावका दृष्टिकोणले हेल्थ असिस्टेण्टको रुपमा काम गर्दा र चिकित्सकका रुपमा काम गर्दा डा. वंशदीप खासै फरक पाउँदैनन्। तर हेल्थ असिस्टेन्टको रुपमा काम गर्दा पाएको सम्मान भने उनी कहिल्यै भुल्दैनन्। त्यो बेला आफूले हेल्थ असिस्टेन्टका रुपमा काम गर्दाको समर्पण भाव पनि गहिरो भएको उनको अनुभूति छ। 

आनन्दकै कुरा गर्ने हो भने पनि हेल्थ अस्टिेन्टको रुपमा काम गर्दा नै बढी आनन्द तथा सन्तुष्टि मिलेको उनले सुनाए। गाउँ-गाउँमा पुगेर बिरामीको उपचार गरेर बिरामी ठिक हुँदा बिरामीको ओठमा छाएको मुस्कानले वर्णन गरिनसक्नु आनन्द मिलेको उनी अहिले पनि सम्झन्छन्।

त्यसो त उनी बिरामीको अवस्था अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिले ठिक नहुने भए एलोपेथी चिकित्सककहाँ बिरामी रिफर गर्छन्। उनीकहाँ पनि एलोपेथी चिकित्सकले बिरामी रिफर गर्छन्।

त्यतिमात्रै हैन, विशेषगरी छालाको रक्तविकार सम्बन्धी समस्या भएका चिकित्सकहरु समेत आयुर्वेदिक उपचारका लागि आफूकहाँ आउने गरेको उनले सुनाए। छालाको यस्तो समस्यालाई आयुर्वेद चिकित्सा भाषामा त्वचागत विकार भनिन्छ। 

कतिपय एलोपेथी चिकित्सक छाला सम्बन्धी त्वचागत विकार, श्वासप्रश्वास सम्बन्धी तथा बाथ रोग सम्बन्धि समस्या लिएर डा. वंशदीपकहाँ पुग्ने गरेका छन्। छालाको यस्तो रक्त विकार सम्बन्धी उपचारका लागि उनी विभिन्न प्रकारका आयुर्वेदिक रस औषधि दिन्छन्। त्यसैगरी आवश्यकता अनुसार पञ्चकर्म उपचार विधि अपनाउँछन्।
विशेषगरी यस्तो समस्या भएका धेरै बिरामीहरु एलोपेथी चिकित्सकले आफूकहाँ रेफर गर्ने गरेको उनले सुनाए। उनी आफैं पनि रक्तचापको औषधि उपचारका लागि एलोपेथी चिकित्सकको परामर्श लिन्छन्।

आयुर्वेद चिकित्सा पद्धति ग्रामीण क्षेत्रमा बसोबास गर्नेका लागि अपनाउन सहज भए पनि सहरिया जीवनशैलीमा यो पद्यतीको पालना गर्न कठिन हुने उनी बताउँछन्।

आफ्नो स्वास्थ्यका लागि डा. वंशदीप सामान्यत बिहान साढे पाँच बजे उठ्छन्। बिहान दैनिक करिब एक घण्टा योग तथा व्यायाम गर्छन्। बिहान करिब आधा घण्टा हिँड्छन्। बेलुका भ्याए र मिलेसम्म योगासन गर्छन्। खानपानमा उनी निकै सचेत हुन्छन्। उनी मद्यपान, धुमपान र सूर्तिजन्य पदार्थ सेवन गर्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....